३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इतिहासका गुरु

बाबुराम आचार्यले नेपालको इतिहासलाई अनुश्रुति, किंवदन्ती र वंशावली मात्रको तहबाट माथि उठाए र ठोस प्रमाणित स्रोत तथा साधनको सहयोगले इतिहास लेखे ।
हिमेश

राणाकालमा नेपालको इतिहास उहाँसँगै थियो,’ इतिहास शिरोमणि बाबुराम आचार्यलाई लिएर त्यसै यस्तो भनिएको थिएन । राणाकाल इतिहासलाई लिएर कलम चलाउने समय नै थिएन । त्यतिबेला राजनीतिक स्थिति नै बेग्लै थियो ।

इतिहासका गुरु

जति बेला बाबुराम आचार्यलाई पहिलोपल्ट इतिहासबारे रुचि उत्पन्न भएको थियो, ठीक त्यही बेला उनलाई भनिएको थियो, ‘इतिहासका विषयमा आँखा चिम्ल र आँ पनि नगर ।’ त्यति बेला इतिहासबारे जिज्ञासा राख्नुलाई पनि अपराध मानिन्थ्यो । यही परिस्थितिमा उनले नेपालको इतिहास संकलन गर्ने प्रयास सुरु गरे ।
त्यति बेला नेपालको इतिहासलाई बुझ्न पूर्णत: विदेशीले लेखेका वृत्तान्तमा भर पर्नुपथ्र्यो । विशेषत: अंग्रेजी लेखकहरूमा । बाबुराम आचार्यले आफ्नै प्रयासले कागजपत्रको अध्ययन गरे । आपैंm अनुसन्धान गरे । उनले नेपालको इतिहासलाई अनुश्रुति, किंवदन्ती र वंशावली मात्रको तहबाट माथि उठाए र ठोस प्रमाणित स्रोत तथा साधनको सहयोगले इतिहास लेखे । यस काममा पनि उनी नै अग्रणी छन् ।
उनको सबैभन्दा ठूलो विशेषता थियो, तीक्ष्ण स्मरण । उनी एकपल्ट सुनेको कहिल्यै बिर्संदैनथिए । घटना र तिथिमिति उनलाई कण्ठस्थजस्तै हुने गथ्र्यो । लगातारको मिहिनेतले गर्दा उनका आँखा सुरुमै कमजोर भइसकेका थिए ।
यिनै इतिहास शिरोमणि बाबुराम आचार्यको आज १ सय २८ औं जन्म दिवस । उनको जन्म विक्रम संवत् १९४४ फागुन २९ मा भएको थियो । नेपाली इतिहास लेखनमा अद्वितीय योगदान दिएका यिनै बाबुराम आचार्यलाई अहिलेको पुस्ताले बिर्सेका त छैनन् ? अथवा उनलाई सम्झिने यो दिन कतै खालि सामान्य औपचारिकतामा मात्र सीमित रहेको त छैन ? उनलाई सुनेका र पढेका पुराना पुस्ताका इतिहासकारहरूको गुनासो यस्तै छ ।
नेपाली इतिहासमा जसले कलम चलाउने प्रयास गरे, त्यसमध्ये उनी अग्रज साधक थिए । प्राय: पुराना पुस्ताका इतिहासकारमा योगी नरहरि नाथ, नयराज पन्त, सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी र धनवज्र वज्राचार्यको नाम आउने गर्छ । त्यसमध्ये पनि नेपालको इतिहासलाई प्रामाणिक ढंगले लिपिबद्ध गर्ने कामको सुरुआत पहिलोपल्ट बाबुराम आचार्यले नै गरेका थिए ।
निजामती सेवाका पहिलो टपर
उनको जन्म काठमाडौंको गौचर सिनामंगलमा भएको थियो । अहिले त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत भइसकेको छ । विक्रम संवत् २०१७ सालमा गौचरमा विमालस्थल विस्तार गर्ने क्रममा उनी बस्दै आएको घर र खेत सरकारी अधिग्रहणमा परेको थियो । उनको आफ्नै पुरानो इतिहास मेटिएको स्थिति थियो, त्यो । त्यसयता उनी बत्तीसपुतलीमा आएर बस्न थालेका थिए ।
चन्द्रशमशेरको पालामा विक्रम संवत् १९६७ मा पहिलोपल्ट निजामती सेवामा प्रवेशका लागि खुला परीक्षा लिइएको थियो । त्यसमा उनले पनि भाग लिएका थिए र पहिलो स्थानमा रहेर खरदार पदमा छनोट पनि भए ।
बाबुराम कसरी इतिहासतर्फ आकर्षित भए त ? यसबारे रोचक घटना रहेको पाइन्छ, जुन उनी आपैंmले सुनाएको मानिन्छ । यो विक्रम संवत् १९७७ तिरको घटना हो । उनी आफ्ना स्वर्गीय बुबाको अस्थि सेलाउन बनारसतर्फ गएका बेला पश्चिमी विहारको आरा सहरमा पुगे । त्यहाँ उनको हातमा एउटा त्रैमासिक पत्रिका पर्‍यो । त्यसमा लिच्छवी राजा जयदेव द्वितीयको शिलाखेलबारे लेखिएको थियो । त्यो शिलालेख पशुपतिमा रहेको थियो । उनले त्यति बेलासम्म जयदेव नामका राजा थिए भनेर पनि सुनेका थिएनन् । तर, यो घटनाले उनमा नेपालको पुरातत्त्वबारे अध्ययन र अनुसन्धान गर्ने रूचि बढेको थियो । त्यसको चार वर्षपछि उनले एउटा वंशावली हात पारे र यसले उनमा नेपाली इतिहासमा ध्यान मोडियो ।
काठमाडौं फर्केयता उनले पाएसम्मका पुराना शिलालेख, वंशावली र अन्य कागजपत्रको खेजेर पढ्न थाले । यसका लागि उनी काठमाडौं सहरका भित्री गल्ली गल्ली पुगे । पुराना भारदारहरूको घरघर पुगे । जति पुराना सामग्री पाए, त्यसको संकलन गरे । यसै क्रममा उनी गोर्खा पनि पुगेका थिए । यही अध्ययनको क्रममा उनको दुवै आँखा निकै कमजोर भए ।
उनले २३ वर्षको उमेरमा जागिर खाएका थिए । लगभग ३० वर्ष जागिर खाए र खरदार पदमै सेवानिवृत्ति पनि भए । त्यसयता उनको आर्थिक स्थिति खस्केको थियो, उनको जीवनमा दु:ख र विपत्तिका दिन सुरु भए । उनी आँखा नदेख्ने स्थितिमा पुगिसकेका थिए ।

अनुसन्धानका प्रेरक
बाबुराम आचार्यले धेरै इतिहासकारलाई नेपाली इतिहासको अध्ययन र अनुसन्धानका लागि प्रेरित गरे । उनको सम्पर्कमा आउने पहिलो अनुसन्धानकर्ता सूर्यविक्रम ज्ञवाली नै रहेको मानिन्छ ।
सूर्यविक्रम ज्ञवालीले चर्चित कृति पृथ्वीनारायण शाहको रचना गर्दा आफूले लेखेको खाममा बन्द गरेर दार्जिलिङबाट काठमाडौं पठाउँथे । बाबुराम आचार्यले त्यसलाई परिमार्जित गरेर फेरि फिर्ता पठाउने गर्थे । उनका समकालीन र त्यसपछिका पुस्ताका लगभग सबै इतिहासकार उनको सम्पर्कमा रहे । त्यति मात्र नभएर नेपालको अध्ययनका लागि आएका विदेशी पनि उनकै निरन्तर सम्पर्कमा रहने गर्थे ।

सगरमाथाको नाम, पृथ्वीनारायणको जीवनी र खस राज्यको खोजी

नेपालका लागि उनको सबैभन्दा ठूलो योगदान विश्वको सर्वोच्च शिखरको नेपाली नामकरण हो, सगरमाथाका रूपमा । नेपालको पहिलो नक्सामा सगरमाथालाई एभरेस्ट भनिएको थियो । त्यसबाहेक तिब्बती नाम चोमोलोङमा उल्लेख थियो । यसलाई ‘सगरमाथा’ नामकरण आचार्यले नै गरे । यसै विषयमा उनले शारदा पत्रिकामा एउटा लेख पनि लेखेका थिए । त्यसै कारणले उनको जागिर जानेसम्मको स्थिति आएको थियो । यस्तै उनको अर्को योगदान पृथ्वीनारायण शाहबारे विस्तृतमा लेख्नु थियो ।
पृथ्वीनारायण शाहका दिव्य उपदेश उनकै संकलन हुन् । बाबुराम आचार्यको पालामा काठमाडौंबाहिर गएर इतिहासको अध्ययन र अनुसन्धान गर्नु कुनै पनि अर्थमा सजिलो थिएन । तर, उनी त्यस काममा पनि पछाडि परेनन् । नेपालको सुदूरपश्चिममा विस्तार भएको खस राज्यको अस्तित्वलाई सबैभन्दा पहिले बाहिर प्रकाशमा ल्याउने श्रेय पनि बाबुराम आचार्यलाई जान्छ । उनको जीवनकालमा छ कृति प्रकाशित भए । त्यसमध्ये इतिहासका पुस्तक प्रजातन्त्र प्राप्तिपछि मात्र सम्भव भएको थियो ।
त्यसमा ‘तुलनात्मक सुन्दरकाव्य’, ‘पुराना कवि र कविता’, ‘श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश’, ‘चीन र तिब्बतसँगको इतिहास’, ‘नेपालको संक्षिप्त वृत्तान्त (खण्ड १)’ तथा ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (भाग १–४)’ रहेका छन् । पृथ्वीनारायण शाहको जीवनी लेख्दा बाबुराम आचार्य ८२ वर्षका भइसकेका थिए । त्यसैबाट उनी कति मिहिनेती थिए, अनुमान गर्न सकिन्छ ।
उनको मृत्युपछि भने ‘नेपालको सांस्कृतिक परम्परा’, ‘अब यस्तो कहिल्यै नहोस्’, ‘चीन, तिब्बत र नेपाल’, ‘श्री ५ प्रतापसिंह शाह’, ‘प्राचीनकालको नेपाल’, ‘जनरल भीमसेन थापा : यिनलाई मैले यस्तो देखें’, ‘जनरल भीमसेन थापा : यिनको उत्थान तथा पतन’ र ‘हाम्रो राष्ट्रभाषा नेपाली’ प्रकाशित भएका छन् । यी सबै उनका कान्छा छोरा श्रीकृष्ण आचार्यले प्रकाशनमा ल्याएका हुन् । त्यस क्रममा उनले आफ्ना बुबाका लेखलाई सम्पादनसमेत गरेका थिए ।
बाबुराम आचार्यका कृतिको पर्याप्त आलोचना पनि हुने गरेको छ । उनका सुरुआती किताबमा पर्याप्त कमजोरी रहेको पनि मानिन्छ । उनका सुरुका कृतिमा ऐतिहासिक स्रोत र त्यसको विवरणको अभाव पाइन्छ । उनी आपैंmले पनि किताबमा कमजोरी रहेको स्विकारेका छन् । उनको मुख्य कृति पृथ्वीनारायण शाहको जीवनी हो । यसमा उनले ऐतिहासिक स्रोत खुलाउन प्रशस्त मिमिहेन गरेका छन् । तर यसमा पनि धेरै कमजोरी रहेको मानिन्छ ।
उनले यसमा पृथ्वीनारायण शाहका धेरै कमजोरीलाई लुकाएका छन् । तात्कालीन युवराजाधिराज वीरेन्द्रकै आग्रहमा बाबुराम आचार्यले नेपालको संक्षिप्त वृत्तान्त र पृथ्वीनारायण शाहको जीवनी लेखेका हुन् । यसमा पृथ्वीनारायण शाहका कमजोरी ढाकछोप गरिएको छ । दरबारलाई खुसी पार्न त्यति बेला बाबुराम आचार्यलाई अगाडि सारिएको पनि भनिन्छ ।
यस्तै नेपाली इतिहासमा भीमसेन थापाबारे दुई धार पाइन्छ, एउटा अत्यधिक सकारात्मक र अर्को नकारात्मक । त्यसमध्ये बाबुराम आचार्यले पनि एक धारको प्रतिनिधित्व गर्छन्, जसमा उनले भीमसेन थापाको पर्याप्त आलोचना गरेको पाइन्छ । उनले विशेषत: भीमसेन थापाले अंग्रेजविरुद्ध गरेको युद्धबारे बढी आलोचना गरेको पाइन्छ । तर पनि आज उनको जन्म दिवसमा नेपालको इतिहास लेखनमा उनको अद्वितीय र अतुलनीय योगदानलाई बिर्सन सकिन्न ।

प्रकाशित : फाल्गुन २९, २०७२ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?