मोहनी मुस्ताङ

फोटो
कुमार पौडेल

एकै दिन, माच्छापुच्छ्रेसँग ब्रेकफास्ट, धवलागिरिसँग लन्च र साँझमा नीलगिरिसँग स्थानीय अर्गानिक स्याउको ब्रान्डीमा स्याउकै फ्रेस जुसको साथ डिनर खाने मौका जीवनमा बिरलै मिल्छन्। माथिल्लो मुस्ताङको हुटहुटीले सताएको वर्ष दिनपछि यस्तो साइत जुर्‍यो।

घरकै झ्यालबाट हिमाल देखिने तर पुग्न महिनौँ लाग्ने ठाउँमा हुर्केको मजस्तोलाई, हिमालकै आँगनको बाटो हिंड्न पाउँदा, छाती ढक्क फुल्छ र मनका आवेश, रिस, मोह, खोज सबै सलक्क पग्लिन्छन्। झन् यो यात्रा त हिमालपारिको थियो, जोमसोमबाट माथिल्लो मुस्ताङको बाटो नलाग्दै मन भने कोरला नाका पुगिसकेको थियो।
कागबेनीको बतास छल्दै लोमाङथाङको यात्रा तय भयो। नाङ्गा डाँडाको एकपछि अर्को शृंखला नाघ्दै अघि बढ्यौं। धूलाम्मे मोटर बाटो पछ्याउँदै अघि बढिरहँदा, हावा चलेको कालिगण्डकीको कालो बगरमा एक हूल घोडा दौडिरहेको थियो। ताङ्बेबाट ओरालो झर्दै हिँडिरहँदा बाक्लै लहरै घोडाको जुुरजस्तै लाग्ने बालुवाको आकृतिले त्यही पहाड चढिरहेको भान दिन्थ्यो। दिनभरिको हिँडाइपछि साँझ ढल्केपछि छुकसाङ भन्ने सुन्दर गाउँमा पुग्यौँ। तिजी मेलाका पर्यटकहरूले भरिभराउ छुकसाङका होटलमा बास पाउन हामीलाई साह्रै मुस्किल पर्‍यो। साँझ झिमिक्क पर्नै लाग्दा एउटा गेस्टहाउसमा बस्ने व्यवस्था मिल्यो।
बिहान मस्त निद्रामै थिएँ म। एक सहयात्रीले झकझकाउँदै झ्यालबाट पारितिर देखाए। पारितिर उभिएको छुकसाङ भीर अत्यन्त सुन्दर रहेछ। हस्याङफस्याङ घामको झुल्कोमा नै सुन्दर भीरको पूर्ण तस्बिर कैद गर्न क्यामारा झिकी डाँडातिर लागेँ म।
छुकसाङ र चैलेका बीचमा धेरै गुफा रहेछन् तर तीव्र गतिको हावा, भारी हिमपात र पानीले खिइँदै गएको थाहा पायौँ। चैलेमा बिहानको खाना खाएर धीमा गतिमा उकालो लाग्यौँ। चैलेको माथिल्लो डाँडामा पुगेर हेर्दा एउटा अर्को मनमोहक दृश्य देखिए। तल पिँधमा ग्यागर गाउँ र माथितिर काँडाका थुम्काले भरिएको डिल र नाङ्गा डाँडाहरू र अझ माथि सेता हिमालका पंक्ति। 
कुनै समय हिमनदीले बगाएर ल्याएको गेगरले भरिएका ससाना उपत्यका, बालुवाको थुप्रो, कतैकतै पानीको मुहान र त्यही मुहान वरिपरि हरिया देखिने बाली, कहीं भोटे पीपल र यी सबका साक्षी बनेर बसेका केही घर नियाल्दै हाम्रो गति बढिरह्यो।
स्याङबोचे पुग्नै लाग्दा नाङ्गा पहाडको बीचमा अलिअलि पानी भएको सानो पोखरी बनेको रहेछ। एक्कासि मेरो आँखा एक हूल जनावरका भीडमा पुगेर अडिए। १०/१५ वटा नाउरको बथान त्यही पोखरीवरिपरि चरिरहेका थिए। नाउर जंगली भेडाको एक प्रजाति र हिउँचितुवाको मुख्य आहार हो। नाउरको त्यो हूललाई बिदाइ गर्दै हामी स्याङबोचे पुग्यौँ।
स्याङबोचेमा बेलुकाको खाना फापरको ढिँडो र कुखुराको मासु असाध्यै मीठो लाग्यो। दिउँसो घरघरका ढोकामा भोटे खरायोको टाउको झुन्डाएको देखेको भए पनि केका लागि भन्ने ठम्याउन सकेको थिइनँ। ती ढोकामा टाँसिएका खरायोलाई स्थानीय भाषामा भोरुङ भनिंदोरहेछ। यसले बाघ, मुसा, गधालगायत विभिन्न नौ जनावरको प्रतिनिधित्व गर्ने र घरको सुरक्षा गर्ने विश्वासले ढोकामा टाँस्ने गरेको होटलकी साहुनीले एकै सासमा बताइन्।
स्याङबोचेको डाँडा कटेपछि अर्को एउटा सुन्दर गाउँले हाम्रो स्वागत गर्‍यो। त्यो उराठ मरुभूमिको बीचमा हरियाली चउर र त्यस चउर घोडाहरू निर्धक्क चरिरहेका थिए। त्यही घिलिङ गाउँबाट एउटा जिप भेटियो र त्यसैमा चढेर अगाडि बढ्यौँ।
जिपको पछाडि झोला च्यापेर बसेको थिएँ। एक्कासि आँखा पिरो भयो। सास रोकिएलाजस्तो भयो। निकै डराएँ। मेरो अघिल्तिर एक ६०/७० की स्थानीय शेर्पिनी आमै टाउकोमाथि पारी नाकलाई हातले छोपेर बसिरहेकी थिइन्। पछि सोध्दा थाहा भयो, उनले नादाक लिएको अरे। उत्तरी हिमाली भेगमा ज्वरो, रुघाखोकीलगायतका बिरामी पर्दा सुर्ती, खरानी र स्थानीय जडीबुटी मिसिएको धूलो नाकले तान्ने गरिँदो रहेछ। घिलिङबाट चराङ हुँदै लोमान्थाङ नपुगन्जेल बाटोमा भेडाचौरीका बथान देखिरह्यौं। साँझ पर्नै लाग्दा पर्खालभित्रको सहरमा बास खोज्न पुग्यौं।
एका बिहानै दुई गिलास भोटे चिया पिएपछि हामी मुस्ताङी राजाको दरबार हेर्न निस्कियौं। पन्ध्रौं शताब्दीमा बनेको पर्खालभित्रको सहरमा राजाको दरबारसहित करिब २ सय घरहरू रहेछन्। माग्दी र तल्लो मुस्ताङबाट महिनौं लगाएर बोकेर लगिएका काठका खम्बाहरू कुँदेर ज्वलन्त मण्डल र गुम्बाहरू बनाइएका रहेछन्। ती गुम्बाका भित्ता भित्तेचित्रहरूले भरिएका छन् जुन लामो समय नियाल्दा पनि सतही दिमागले बुझ्न सकेन।
माथिल्लो मुस्ताङ बसाइको अन्तिम दिन छोसर जाने निधो भयो। छोसर चार हजार वर्षभन्दा पुराना गुफाहरूको राजधानी नै रहेछ। अहिलेका अग्लाअग्ला कम्ल्पेक्स र तिनका चोटा–कोठाहरू बिर्साउने प्राचीन मानव निर्मित गुफाहरूभित्र पसेर नियालेपछि मानव इतिहास र सभ्यता विकासका हजारौं प्रश्न मनमा उठे। त्यो छोटो समयको भ्रमणमा न त म ती प्रश्नका जवाफ खोज्न सक्थेँ न त चित्त बुझाउन। ती अनुत्तरित प्रश्नका चाङ बोकेर हामी त फर्कियौं। 

प्रकाशित : श्रावण ८, २०७३ २०:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दिल्लीका मेरा पाहुना

दिल्ली आउने कतिपय पाहुनाजन काठमाडौंबाट माछा खान मलेखु झरेसरह ‘स्वच्छन्द र स्वतन्त्र’ बनेर आउँथे। लाग्थ्यो– प्लेन वा गाडीबाट होइन, यी पाहुनाहरू केही दिन चिउरा–भटमासको सामल बोकेर पैदल मार्दै दिल्ली आइपुगेका हुन्।
देवेन्द्र भट्टराई

हात्तीगौंडाबासी मेरी सासूआमा सधैं भन्ने गर्नुहुन्छ, ‘ज्वाइँसाप, लाएको देखिन्छ। खाएको देखिन्न। अलिक राम्रा लुगा लगाएर हिंड्नुभए बेस हुन्थ्यो।’

पेसाका पत्रकार ज्वाइँको सधैंको आइरन नलगाएको सर्ट–पेन्ट र उस्तै सपाट जिन्दगी देखेर हुन सक्छ, सासूआमाले योपालि साउने संक्रान्तीका साइतमा फेरि दोहोर्‍याउनुभयो, ‘ज्वाइँसाप, खाएको देखिन्न, लाएको मात्रै देखिन्छ है।’
तर होइन, हुँदै होइन। सुरुमै सासूआमाको कुरो काटेर म यो मन्थन सुरु गर्दै छु। आदरणीय ध्रुवचन्द्र सरका लयमा बोल्ने हो भने यसलाई ‘अनुभवन्यास’ भने पनि हुन्छ। 
यो मन्थनको साइनो छ दिल्ली दिल्लगीसँग जहाँ आफन्तजन, इष्ट वा पराइ पनि रक्त–समूहसम्मको मिहिन साइनो खोज्दै आइरहन्थे। कति कारणले आउँथे, कति अकारणै आउँथे।
घुमघाम, मनोविनोद हुँदै उपचारसम्मको मेसो लिएर पछिल्ला वर्षहरूमा दिल्ली आइरहने अन्तरंग र वरिष्ठ पत्रकारमध्ये हुनुहुन्थ्यो— किशोर नेपाल। उहाँको परिपक्व उमेरको त यहाँ कुरो नगरौं तर सधैंभर रिपोर्टरझैं कुदाकुदमा रमाइरहने पत्रकार किशोर नामअनुसार सोचाइ र स्वभावमा पनि मलाई सधैं ‘किशोर’ लाग्छ। उहाँले लगाएको ‘ब्रान्डेड’ लुगाफाटो देश–दुनियाँमा प्रचलित छ नै, खानपिन पनि कम्ती ब्रान्डेड रहेनछ— यसपाला थाहा लाग्यो। 
‘ए भाइ, म करोलबाग आइपुगेको छु। अलिकति तातो भात, दाल, पालकको साग पकाइराख है। भएमा थोरै टमाटरको अचार अथवा पायौ भने खसीको सिकार चटक्क बनाइराख है,’ किशोर सरले संक्षेपमा मनसुवा राख्नुहुन्थ्यो। (भातमा चामल पनि अमिताभ बच्चनले विज्ञापन खेलेको ‘दावत ब्रान्ड’ भइदिए हुन्थ्यो भन्ने किशोर सरको आशय हुन्थ्यो।) म पनि आज्ञाकारी बालकझैं ब्रान्डेड चामल, खसीको सिकार र पालक साग खोज्न आईएनए मार्केट दगुरिहाल्थें। 
यो त भयो दिवाभोज। जसोतसो सम्पन्न हुन्थ्यो, भनौं न।
साँझ नपर्दै राजीव चोक जान्थ्यौं, किशोर सरका पछिपछि। साथमा कहिले उज्ज्वल (प्रसाईं) वा कहिले स्वरूप (आचार्य) रहन्थे। स्टारबक्स वा इन्डियन कफी हाउसमा पुगेर कम्तीमा २५ सय भारुसम्मको कफीपान हुन्थ्यो, कहिलेकाहीं किशोर–तमन्नाको स्टारबक्स ‘कफीमग’ खरिदेर त्यसमै ‘अमेरिकानो’ सेवन गर्दावर्दाको हिसाब त अझ चर्कै निस्कन्थ्यो। साथमा, मार्लबोरो–लाइट वा कुनै स्पेसल ब्रान्डेड धूवाँ हुन्थ्यो नै।
जसोतसो साँझ छिप्याउने काम हुन्थ्यो, खान मार्केट वा सेलेक्ट–सिटीसम्म चक्कर मारेर। रातमा हायात रिजेन्सी हो अथवा ले–मेरिडियनमा हामी पुग्थ्यौं। ‘एउटा सहरको कथा’की नवयौवना पात्रको रोमाञ्चक कथा अथवा कान्तिपुर–गाथाका कामोत्तेजक कहानी साथमा हुन्थे नै। 
‘लु भन केटा हो, आज डबल–ब्ल्याक कि गोल्डतिरै जाम्?’ त्यो पाँचतारे होटलको विशिष्ट भान्सामा पुग्नासाथै किशोर सरको चखिलो–स्वर फुट्थ्यो। तर, फर्माइस गर्ने ह्याउ कसैको थिएन। झन् जेएनयू परिसरका ढावाप्रेमी उज्ज्वल र स्वरूप बढीमा भन्थे, ‘हाम्लाई त किङ्फिसर स्ट्रङ–बियर भए पुग्छ।’
‘हैट, हुतीहारा... यहाँ दाजु छ नि सामुमा। अन्तिम इच्छा के छ, त्यो भन,’ किशोर सरले यति भनेपछि केटाहरू अलिक आँटिला हुन्थे। अनि, बंगालको माछा खाने कि टर्कीको चरो? जापानी सुसी हो वा कोरियन सोजु? बँदेल फ्राई वा बेकन सलाद?
रातको १२ बजेसम्म यो होड जारी रहेपछि अथवा अर्को दिन लाग्नै आँटेपछि भने अब पाँचतारे पिर्काबाट उठ्नुपर्ने सूचना आइसकेको हुन्छ। त्यो रात धेरै त होइन, २९ हजार ७ सय ५५ भारुको बिल उठेको रहेछ— टिप्सबाहेक। त्यो घडी किशोर सरले आँखा चहकिला पार्दै र सेताम्मे जुँगामा ताउ लाउँदै आफ्नै ज्यानको ‘होल–बडी–चेकअप’मा ल्याएको पैसो एकमुष्ठ तिर्नुभएको थियो। त्यही कारण, एकाएक आइपरेको मन्दीका कारण किशोर सर ‘होल–बडी चेकअप’को अर्को किस्ता लिएर यो जुलाई महिनामा फेरि दिल्ली जाँदै हुनुहुन्छ भन्ने सुनेको छु। 
‘खाएको होइन, लाएको मात्रै देखिन्छ’ भन्ने मेरी सासूआमाको कुरोमा कहिलेकाहीं ‘तलबितल’ पर्न सक्दो रहेछ भन्ने तथ्य–तथ्यांकसहितको आँट भरेर म यो वृत्तान्त सम्झिरहेको छु।
योभन्दा कडा र तिख्खर सम्झना पनि आदरणीय किशोर सरसँगै गाँसिएको छ। महावीर जयन्ती अथवा यस्तै विशिष्ट जयन्तीको साँझ किशोर सर एकाएक जंगपुरा एक्स्टेन्सनमा झुल्किनुभयो र, गर्नुभयो— उही सनातनी अर्डर। थोरै तातो भात, कालो दाल, पालक साग र दुई पिस खसीको सिकार। त्यो साँझ पनि अन्नपानीको जेनतेन जोहो भयो। तर, रात छिप्पिएपछि फेरि कुरो उब्जियो— ब्ल्याक कि गोल्ड भाइ?
‘सर आज त ड्राई–डे हो, ठूलो खालको जयन्ती रे। कतै पाइन्न,’ मैले मिहिन स्वरमा बिन्ती बिसाएँ।
‘ड्राई न फ्राई, त्यो प्रमोदलाई फोन लगाऊ त,’ सरको आदेश आयो।
‘को प्रमोद सर? होटलवाले प्रमोद खरेल कि फाटक नजिकै बस्ने प्रमोद सरावगी? दिल्लीमा बहुत प्रमोद छन् नि...,’ मैले सोधें।
‘हत्तेरी, त्यो ड्राइभर प्रमोद क्या, प्रमोद यादव।’ अनि छिनभरमै फोनवार्ता हुन्थ्यो। हौसखासमा ट्याक्सी अड्याएर बसेको हितैषी प्रमोद ‘ड्राई–डे’को केजरीवाल कडाइका माझ ब्ल्याक–लेबल खोज्न निस्किहाल्थ्यो, आदेशानुसार। बिचरोले झन्डै १ सय किलोमिटर दूरी आइजाइ गरेर मेदान्त हस्पिटल पारि (हरियाणा) को छोटी मार्केटबाट ‘ब्ल्याक’ मूल्यमा ल्याइछाड्थ्यो— ब्ल्याक लेबल। एक बोतललाई झन्डै ६ हजार भारुको हिसाब बेहोर्नुपर्दाको ऐठनले मलाई त्यो रात मात्रै होइन, धेरै रात निद्रा पातलै आइरह्यो। फेरि गाढा बन्नै सकेन। यसकारण पनि, ए मेरी सासूआमा— लाएको मात्रै होइन, खाएको पनि यसरी देखिने रैछ है।

दिल्ली बसाइका तीन वर्ष सम्झ्यो कि सासूआमाको कुरो काट्न यहाँ साइत पर्खिएजस्तो हुन्छ। त्यो पनि आफ्ना कारणले होइन, जंगपुरामा आइलाग्ने पाहुनाजनको गोलोका कारण। 
‘ए भाइ, म पहाडगन्जको रोक्सी डिलक्स होटलमा छु। तँलाई अलिकति आलो सिन्की र भाउजूले बनाइदिएको घरेलु बिस्कुट ल्याइदिएको छु। तँ किन दु:ख पाउँछस्, म त्यतै आइहाल्छु,’ पानीपँधेरोझैं दिल्ली आइरहने आत्मीय दाजु माधव शर्माको फोन आउनासाथै परदेशमा ‘अपनत्वबोध’ हुन्थ्यो। अनि, छोटो कुराकानी सकिएको केही घन्टामा माधव दाजु हातमा सानो प्लास्टिके झोला र साथमा ३/४ जना सहयात्रु लिएर जंगपुरा आइपुग्थे। 
‘लु भाइ, अलिकति भात बसाइहाल त। अनि कालो दाललाई झापाली घिउ र ओलाङचुङको जिम्बुले झान्नु, धनियाको अचार अलिक कम पिरो हालेर पिस्नु, यसो करेला–आलु हल्का भुट्नु’ भन्दै दाजु र सँगै आएका मीतदाजुहरू माइत–मावल आएसरी सोफामा बसेका हुन्थे। ‘ए भाइ, सुरुमा बाक्लो दूधमा कडा रंग हालेर एक–एक कप चिया है’ भन्दै अर्का अपरिचित (दाजुका साथी) को फर्माइस आइहाल्थ्यो।
हन, यो परदेशमा म पत्रकार पेसा धानेर बसेको एक्लो पुरुष हुँ अथवा ज्याठा गल्लीतिरको हरियो पर्दा रेस्टुराँ खोलेर बसेको कुनै दुकानदार? यो जिज्ञासाले मलाई हरघडी छोपिरहन्थ्यो। दाजुसहितका अतिथिजनलाई कसोकसो खानपिन गराएपछि आफू भने आलो सिन्कीको पशुपति–प्रसाद पाएर हरदम रमाइरहेको हुन्थें।
फेरि अर्को साइतमा फोन आउँथ्यो— काठमाडौंको कुनै अभ्यन्तरबाट। ‘तिमी टेकनाथ पण्डितका छोरो होइनौ ? लु है, म मेरा साढु दाइलाई लिएर गंगाराम अस्पताल आउँदै छु। चारजना छौं, हेरदेख चाहियो नि...’
अर्को साइतमा बिहानै पहाडगन्ज रेल्वे स्टेसनबाट फोन आउँथ्यो, ‘हामी राजधानी एक्सप्रेसबाट उत्रियौं, अब कता पो पर्खिबस्नु?’  
श्रीराम कलेज वा जेएनयूमा सीधा एडमिसन चाहिएको भन्दै नेतागणको ठाडो सिफारिस बोकेर आउने पाहुनाहरू पनि उत्तिकै हुन्थे। कुनै जमानामा एम्स अस्पतालमा पढाइ गरेका डा.शेखर कोइरालाको सिफारिस बोकेर कुनै क्यान्सर संक्रमण वा पित्तथैलीको अप्रेसन गराउन अस्पताल ताक्दै आउनेहरू उत्तिकै हुन्थे। जेठको उग्र धुप (४५ डिग्री) नभनी लालकिल्ला र कुतुबमिनार घुमाइमाग्न आउने ठमेलका बुद्ध गुरुङहरूको हूलमूल एकातर्फ हुन्थ्यो भने दरियागन्ज पुगेर १० रुपैयाँ किलोका दरमा बाल पुस्तक किनेर काठमाडौंमा चर्चा गर्ने दिनेश रेग्मी र प्रकाश पाण्डेहरूको दर्गादिशा अर्कै हुन्थ्यो। तर, यो भीडमा कोही पाहुना भने निकै साधु आनीबानीका पनि हुन्थे। जस्तो, ‘माइसंसार मित्र’ उमेश श्रेष्ठ दिल्ली उत्रिएकै दिनदेखि खानपिनमा बहुत आम–आदमी निस्किएका थिए। बिहानै नाङ्लोजत्रो अफगानी नान र दूधचिया पिएर जंगपुरा डेराबाट निस्केको उमेश बेलुकासम्मै सन्तोकी बनिरहन्थ्यो। सभा–सेमिनारको अवसर पारेर दिल्ली धाइरहने बागलुङे दिनेश रेग्मी सात्त्विक आहारका थिए, दिनमा ५/७ प्याकेट ‘छास’ (प्याकेट मोही) पिएकै भरमा दिन कटाउन सक्थे। काबुल बस्ने पत्रकार मित्र सुवेल भण्डारी पनि ‘ट्रान्जिट’ पारेरै दिल्ली उत्रिरहन्थ्यो। इन्दिरा गान्धी एयरपोर्ट झर्नासाथै सुवेल अर्डर गथ्र्यो, ‘बासमती चामलको तातो भात र आधा माना घिउ ठीक पारिराख्नु। अनि एउटा सेमी–पोच्ड अमलेट...’
दिल्ली आउने कतिपय पाहुनाजन काठमाडौंबाट माछा खान मलेखु झरेसरह ‘स्वच्छन्द र स्वतन्त्र’ बनेर आउँथे। लाग्थ्यो— प्लेन वा गाडीबाट होइन, यी पाहुनाहरू केही दिन चिउरा–भटमासको सामल बोकेर पैदल मार्दै दिल्ली आइपुगेका हुन्। राज्यले तोकिदिएको पहिचान पत्र, नागरिकता वा पासपोर्ट साथमा केही नलिई दिल्ली उत्रन्थे अनि कड्केर भन्थे, ‘के मैले यहाँबाट घर फिर्नै नपाउने? के म अब जन्तरमन्तरमा गएर धर्ना बसौं? यहाँ त रेल्वे टिकट किन्नै पनि अथवा प्लेनमा घर फिर्नै पनि नागरिकता वा पासपोर्ट मागिँदो रहेछ, यो कस्तो अन्याय हो? खोइ, १९५० को सन्धि कहाँ लागू भयो?‘
कुरो सन्धि–सम्झौतामा पुगेपछि ती चर्काचर्कीमा उत्रने जनकपुरतिरका पाहुनालाई नेपाली दूतावास पुर्‍याउनैपर्‍यो। अनि, धीमा स्वरमा दूतावासका अधिकारीलाई बिन्ती बिसाएँ, ‘हजूर, यी मेरा मीत सालो हुन्। यिनको नागरिकता/पासपोर्ट भएको ब्याग हिजो पहाडगन्जमा चोरिएछ। एउटा ट्राभल डकुमेन्ट चाहियो, लौ न...।’ दूतावासका अधिकारी पनि दोहोरिंदै आउने यो मीत सालो–भेना प्रकरणबाट वाक्कै भइसकेका थिए–छन् क्यार। अधिकारीको कडो कुरो थियो, ‘तपाईं पत्रकारहरू पनि अनेक गर्नुहुन्छ। अस्ति प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणमा साथै आएका एक वरिष्ठ पत्रकार पनि नागरिकता/पासपोर्टबिनै यता उत्रिएका रहेछन्। मुम्बई पुगेपछि ती पत्रकारलाई काठमाडौं लैजान कम्ती हम्मे पर्‍यो र?’

दिल्ली एनसीआरभित्रैका पाहुनाजन पनि कम्तीका थिएनन्— रसिला र भरिला। तीमध्ये एक थिए— साकेतबासी प्रमोद खरेल। कुनै जमानामा नेपाली कांग्रेसका परमभक्त भए पनि अहिले भने जे काम–कुराको पनि विरोध गर्ने (मजदुर किसान पार्टी) खेमामा थिए उनी। रारा–ड्रागन नाम राखेर साकेतमा रेस्टुराँ थापेका प्रमोद समाज सेवा भनेपछि दिनरात नभनी हाजिरमा आइपुग्थे। तर, त्यस्तो हाजिर जनाउनै पनि प्रमोद एक्लै आउँदैनथे— हूलहुद्धा साथै हुन्थ्यो।
‘दाजु, तपाईंका पुराना इष्टजन अनिल गिरी नि यता आएका छन्। अनिलले भाउजू राधिकाका नाममा लाखामरी र छुर्पी प्रसाद ल्याइदिएका छन्। आज साँझ जंगपुरा आउनुहोला, मकैको च्याँख्ला र गुन्द्रुक खाम्ला,’ प्रमोदकहाँ निम्तो पुगिसकेको हुँदैनथ्यो, उनी जंगपुरा उत्रिसक्थे। जंगपुरा निवासको चौथो तलामा प्रमोद छिरिसक्दा अर्को कसैले ढोकामा ‘बेल’ बजाउँथ्यो, यसो ढोका खोलिहेर्‍यो, ‘म प्रमोदजीको सालो परें’ भन्दै कोही ङिच्च हाँसिरहेको हुन्थ्यो। उसलाई कोठामा भित्र्यायो, फेरि छिनभरमै बेल बज्थ्यो। यसो ढोकामा हेर्‍यो, ‘हामी प्रमोद दाइले बोलाएर आएको’ भन्दै ४/५ जवान (यदाकदा स्त्रीगणसमेत) भर्‍याङ क्युमा उभिएका हुन्थे। ‘प्रमोद’ नाममा जोडिएर आउने नाबुलाए–मेहमानहरू जंगपुराको मेहरा निवासबाट देखिने निजामुद्दिन रेल्वे फाटकसम्मै हत्तारिंदै यतैतिर आइरहेका हुन्थे, ‘दूरदुहाई’ भन्नै नसकिने गरी।
पाहुनाको सूचीमा कतार–दिल्ली ट्रान्जिट पारेर दीपेन्द्र (भेटवाल), युबराज (पाठक) सहितका आफन्तहरू आइरहन्थे— चाँदनी चोकको ‘करिम’मा गएर चिकेन–कोरमा नखाई नछाड्ने सदिच्छा लिएर। अमेरिकादेखि ट्रान्जिटमा उत्रेका झापाली आफन्त (चख) उतैको टाइम्स–स्क्वायर झल्को मनैमा गाढेर भन्थे, ‘इन्डिया गेट त मध्यरातमा पो जानुपर्छ, दिनमा त जो पनि जान्छ नि।’ 
नाइजेरियाबाट ट्रान्जिटमा आएका हितैषी हिक्मत (थापा) लाई भेट्न वसन्तकुञ्जको चाइनिज–ड्रागन पुग्नुपथ्र्यो भने अर्का उद्यमी चिरञ्जीवी (लेगोस) सँग चिनारी जोड्न सीपीको ‘माइबार’मा हुक्का–धूवाँबीचमा मध्यरातसम्मै रुमल्लिनुपथ्र्यो। वरिष्ठ पत्रकार अतिथिहरू दिलभूषण, प्रशान्त, उज्ज्वल (आचार्य), बिनाज तथा उद्यमी छविशंकर (सिलवाल) र नकुल (शेरचन) दिल्ली अभ्यन्तरका गल्लीहरू चहार्दै यति धेरै लत्ताकपडा खरिद्थे, लाग्थ्यो— ती अब भृकुटीमण्डपमा ठाडै उत्रिएर ‘होलसेल’ थाप्दै छन्। यस्ता ‘मनमौजी’ पाहुनाको इच्छा भने अलिक मनमौजी काइदाको हुन्थ्यो। यिनको फर्माइस पनि खासै मुस्किलको हुन्नथ्यो। सबैभन्दा मुस्किलका पाहुना भने अनेक दर्गादिशाबाट आउने ‘मरिज’ नै थिए। कोही स्वयम्पाके हुन्थे, कोही लसुन–अदुवा नहाली चिकेन–सुप खाने सदिच्छा राख्थे। दिल्ली उत्रिएर कुनै ‘मरिज’ रायोको साग (अप्राप्यसरह) खोजिरहेका हुन्थे भने कोही क्वाँटी–दाल। तैपनि, एउटा पत्रकारका लागि घरमा बसीबसी समाचारको खुराक पाएजत्तिकै अवसर ‘मेहमान–मरिज’का रोगका लक्षण र बिशेषता सुन्नुमा हुन्थ्यो। तर, यससँग जोडिएको हैरानीको लम्बेतान कहानी भने यहाँ नजोड्दै बेस होला। यसरी बिराम र बिरामीका अनेक आकारप्रकार पहिल्याइसकेपछि तदनुसार सन् २०१६, जुन ४ तारिखको साँझ ६ बजे एउटा अर्थपूर्ण फोन आयो, सोचाइमा ‘टर्निङ–पइन्ट’ ल्याउने खालको। 
लामो पृष्ठभूमि नजोडी सीधै संवादमा प्रवेश गरौं : ‘सर, म नेपाली सेनाको जवान हुँ, सेनापतिज्यू नजिकको मान्छे। म मेदान्त अस्पताल आइपुगेको छु। मैले सबैंतिर कुरो बुझिहेरें, सरलाई सब कुरा थाहा हुन्छ रे। डा.चित्र वाग्लेले सरका बारेमा बोलेको टफटक–अन्तर्वार्ता पनि हेरेको थिएँ, विपत्मा परेका व्यक्तिको उपचारमा सरले निकै भरथेग गर्नुभएको मैले सुनेको छु। मलाई नि निकै बिघ्नको समस्या आइपरेको छ। लौ न सर...‘
‘के होला, भन्नुस् न। मैले गर्न सक्ने केही भएमा भनम्ला...’
‘सर, भन्नै पनि गाह्रो । खोइ के भन्नु?’ 
‘भन्नुस् न, यहाँसम्म आइसकेपछि।’
‘सर, मेरो ऊ चल्दैन। तीन महिना जति भो। तर, के भो के भो— ऊ चल्दैन। म के गरूँ? कता जाऊँ? कसलाई देखाउँm?’
‘ओहो, कुरो गजब रैछ। ऊ त ऊ, के ऊ?’
‘सर, भन्नै पो अप्ठेरो लाग्छ। भेटेर कुरो गर्न पाए हुन्थ्यो बरु... ’
‘होइन, ठीकै छु। म अलिक टाढा बस्छु मेदान्तबाट। भन्नुस् न समस्या के हो?’
‘सर त्यही क्या त..कसरी पो भनौं? लिङ्ग क्या सर, लिङ्ग चल्दैन।‘
‘ओहो, कुरो चर्को रहेछ,’ लामो सुस्केरा छाडें। हत्तेरी, गर्न सकिने पनि केही थिएन। 
यसरी छिनभरमै सैन्य जवानको कुरो राम्रैसँग बुझियो। अनि, मैले हतपत्त फोन राखें। र, दिल्लीमा धेरै इष्टजनले पत्तो नपाएकै साइतमा भोलिपल्टै म काठमाडौं फिरें। 
आज दिल्ली–दिल्लगीमा मिसिन पत्रकार मित्र कमलदेव भट्टराई जंगपुरा पुगिसकेका छन्। दिल्ली पुग्नेमध्ये धेरैमा रोगब्याध गडेझैं कमलदेवमा पनि जन्मजात ‘टन्सिल’ व्यथा रहेछ। त्यसमाथि हिन्दी लवज बोल्नुपर्दा कमलको टन्सिल झन् टन्किने गर्दो रहेछ। (आदरणीय अभि (सुवेदी) सरका लवजमा भन्ने हो भने कमलदेवलाई हिन्दी बोल्नुपर्दा लिङ्ग (आता है/आती है) को कठिनाइ मात्रै होइन, नाम/सर्वनाम/उच्चारणसहितको सारा तन्तु कमजोर बन्ने व्यथासमेत रहेछ।)
र, यो अनुभवन्यासको अन्तिम प्लटमा जोडिन आएका कमलदेवले टन्सिलले बसेको गला खोल्दै हिजो साँझ मात्रै सुनाएका छन्, ‘हाँ दाइ, दिल्लींमें और तो अच्छा–लेकिन है। लेकिन, बिरामी–लोगका फोन आएको–आयै कर्ता है... कहिले अस्पताल से आता है... कहिले रेल्वे स्टेसन से आता है... बहुत तनाव होता है। मैं क्या करुँ?’ 
म मौन मात्रै रहें।   

प्रकाशित : श्रावण ८, २०७३ २०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT