कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पटनामा टिपेका टिप्पणीहरू

बसन्त बस्नेत

सात सालको क्रान्तिका बेला नेपाली कांग्रेसले भारतको पटनामा केन्द्रीय कार्यालय राखेको थियो । सशस्त्र लडाइँका सूचना आदानप्रदान गर्ने आन्तरिक सञ्चार सञ्जाल ‘गुप्त बेतार केन्द्र’ का अपरेटर पटनामै बस्थे ।

पटनामा टिपेका टिप्पणीहरू

सात सालको क्रान्तिमा वीरगति पाउनेहरूमध्ये बिहारका कुलदीप झा पनि एक थिए । पछि गएर भारतका प्रख्यात साहित्यकार बन्न पुगेका बिहार, औरही हिगनाका फणीश्वरनाथ रेणु बीपी कोइरालाको आह्वानमा बन्दुक बोकेर लडाइँमा होमिएका थिए ।

त्यस बेला भर्खरै खुलेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले संगठन निर्माण तथा पार्टी पाठ्यसामग्री प्रकाशनको आधारभूमि पटनालाई बनाएका थिए । सन् १९४२ को ब्रिटिस राजविरोधी आन्दोलनमा लखेटिएका समाजवादी नेता जयप्रकाश नारायण र राममनोहर लोहिया पटनाबाट भाग्दै नेपाल आए । सप्तरीको हनुमान नगरमा थुनिएका उनीहरूलाई स्थानीय जनताले जेल तोडेर भगाइदिएका थिए । पञ्चायतकालमा सुशील कोइराला र चक्रप्रसाद बास्तोला भागलपुर जेलमा बसे । २०३० सालमा कांग्रेसले अपहरण गरेको विमान फारबिसगन्जमा उतारिएको थियो ।
शताब्दी लामो जहानियाँ राणाशाही हटाउँदै आधुनिक नेपालको दैलो खोल्ने नेपालको राजनीतिक परिवर्तनमा सीमाञ्चल बिहार र उत्तरप्रदेशका नागरिक अगुवा, अनि जनता साथी रहे । काठमाडौं र नयाँ दिल्लीका संस्थापनहरूबीच संविधानको विषयलाई लिएर डेढ वर्षयता तिक्त सम्बन्ध अझै सुधार भइनसक्दा हाल बिहारको राजधानी रहेको पटना सहरले अघिल्लो साता एक कार्यक्रम गरी पुरानो इतिहास सम्झायो । अनि दुवैतिरको केन्द्रबाट चल्ने राज्य–राज्यको सम्बन्धभन्दा पहिले स्थानीय स्तरका जनता–जनताबीचको घनिष्ठ नाता जोडिइसकेको विगत दोहोर्‍यायो । नेपाल र भारतबीच अक्सर रोटी बेटीको सम्बन्ध चर्चामा आउने गर्छ । पटनाका बौद्धिकहरूले भने नेपालसँग क्रान्तिको सम्बन्ध रहेकोमा जोड दिए । अनि नयाँ पुस्ताले त्यो इतिहास बिर्सदै गएकोमा चिन्ता पनि जाहेर गरे । 
पटना विश्वविद्यालय कलेजका पूर्वप्रिन्सिपल अर्थशास्त्री नवलकिशोर चौधरीले आफ्नो सक्रियतामा केही वर्षअघि ‘बीपी कोइराला सेन्टर फर नेपाल स्टडिज्’ खोले । हालसम्म पटना कलेजकै सेरोफेरोमा सञ्चालित उक्त सेन्टरलाई अब व्यापक दायरामा ल्याउने प्रयासका रूपमा ‘नेपालमा २००७ सालको प्रजातान्त्रिक क्रान्ति र पटना’ शीर्षकको दुईदिने अन्तक्र्रिया कार्यक्रम आयोजना गरेका हुन् । दुई देशका केही राजनीतिकर्मी, बौद्धिक, सञ्चारकर्मी अनि प्राध्यापकहरूको त्यो सम्मेलनमा ७२ वर्षीय चौधरी यसरी प्रभावी भए कि, त्यो एक प्रकारले ‘वन म्यान सो’ जस्तै थियो । विद्वान् प्रँध्यापक चौधरी कतिसम्म एकसुरे रहेछन् भने, कार्यक्रम चलाउँदा चलाउँदै ड्यासनेर आएका टीभी पत्रकारलाई अन्तर्वार्ता पो दिन थाले ।
‘अब म यसअघिको सत्र समाप्त भएको घोषणा गर्छु र नयाँ सत्र सुरु भएको घोषणा गर्छु,’ एकल जीवनका सात दशक काटेका सन्त प्राध्यापक बीचैमा माइक्रोफोन कब्जा गर्थे, अनि हिन्दीमा हँसाउँथे, ‘र, यस सत्रको अध्यक्षता म आफैं गर्नेछु । अघिसम्म त म सीके लाल साहबको कार्यवाहक अध्यक्ष मात्रै थिएँ । नराम्रो नमान्नुहोला, मैले बीच–बीचमा जसको समय काटें अनि अर्को वक्तालाई समय दिएँ, ती सबै मैले होइन, लाल साहबको तर्फबाट गरेको थिएँ ।’ नेपालबाट बीपी कोइराला मेमोरियल लेक्चर दिन गएका बौद्धिक लाल भने पक्क परे— त्यस्तो निर्देशन त आफूले दिएको थिइनँ ।
चौधरीले आफू बिहारको वामपन्थी भएको भन्दै साहित्यकार रेणुका रचनावली पढेपछि बीपीप्रति असीम श्रद्धा उर्लेको बताए । अनि पछिल्लो पुस्ताले महात्मा गान्धी, जयप्रकाश नारायण, बीपीजस्ता मनीषीलाई उपेक्षा गरेको देखेर केही गरिहाल्ने मनसुबा पूरा गर्न सेन्टर खोलेको प्रस्टयाए । ‘पहिले त सेन्टर विश्वविद्यालयभित्रै थियो, तर त्यसरी नै चलाइरहँदा ‘ब्युरोक्रेटिक सेट अप’ मा जाला भनेर समाजमा लैजान खोजेको हो,’ चौधरीले भने, ‘अहिलेसम्म बीपी सेन्टरका लागि कसैबाट वित्तीय सहयोग लिएको छैन, यसलाई समाजले नै आफ्नो जिम्मामा राख्नुपर्छ ।’
अनि थपे, ‘बीपी सेन्टरको काम बीपीका मूर्तिहरू बनाउँदै हिँड्नु, बीपीवाणी सुनाउँदै हिँड्नु होइन, यो त एक अर्काको भावना बुझ्ने हिजोको संस्कृतिको निरन्तरता मात्रै हो ।’
पटना : बीपीको दोस्रो घर
महात्मा गान्धीको भव्य संग्रहालय छेवैमा खुला चउरको बीचमा बीपीको भव्य सालिक ‘जय नेपाल’ गरिरहेको छ । पटनालाई बीपीले आफ्नो दोस्रो घर भन्ने गरेका थिए । राजनीतिका सुरुवाती दिनहरूमै उनी पटनाबाट उदाएका समाजवादी नेता जयप्रकाश नारायणको गहिरो सान्निध्यमा पुग्न पाएका थिए । पछिसम्मै पटना आउजाउ गर्दा उनैसँग हुन्थे बीपी । ‘फेरि सुन्दरीजल’ पुस्तकको पहिलो डायरीमा बीपीले लेखेका छन्, ‘आरएनएसीको विमान चढेर पटनाबाट काठमाडौं विमानस्थल आइपुग्यौं । परिवारका सदस्य र जयप्रकाशजी हामीलाई बिदाइ गर्न आएका थिए । हामीमध्ये धेरैका आँखा रसाएका थिए । मप्रति देखाइएको यत्रो ठूलो स्नेहले मेरो मनलाई साह्रै छोयो । अघिल्लो दिन पटना आइपुगेदेखि नै थुप्रै मित्र र शुभच्छुकहरू मलाई भेट्न आइरहेका थिए । काठमाडौं पुगेपछि मेरो भविष्य अनिश्चित र चिन्ताजनक हुन्छ भन्ने कुरा थाहा पाएर उनीहरू चिन्तित थिए ।’ (२०३३ पुस १६)
रेणुको पुस्तक ‘नेपाली क्रान्ति कथा’ को भूमिकामा बीपीले हिन्दीमै लेखेका छन्, ‘आठ वर्षको निरन्तर आत्मनिर्वासनपछि म १९७६ डिसेम्बर (२०३३ पुस) मा काठमाडौं फर्कने (मेलमिलापको नीति लिएर) कार्यक्रम थियो । रेणु पटनाको स्थानीय अस्पतालमा उपचाररत थिए । भोलिपल्ट बिहानै काठमाडौं फर्कने भएकाले म जसरी पनि राति नै रेणुलाई भेट्न चाहन्थें । डाक्टरका अनुसार निको नहुने रोगले हाडछाला मात्रै रहेका रेणु उठे, मेरो पाउ छोए । अनि भने, ‘बिरामी भएकाले तपार्इंको संघर्षलाई साथ दिन सकिनँ । छिटै निको भएपछि सारनाथ गएर सुशीला भाउजूको सेवा गर्नेछु ।’
तिनै रेणुले त्यसअघि नै बीपीको उपन्यास नरेन्द्र दाइको हिन्दी अनुवाद गरे । अनि रामवृक्ष बेनीपुरीले त्यसताका सम्पादन गर्ने हिमालय पत्रिकामा बीपीका रचना रेणुले लगेर छपाउथे । बिहारका समाजवादी चिन्तक बेनीपुरीको सम्पादनमा पटनाबाट त्यसअघि जनता साप्ताहिक प्रकाशित हुन्थ्यो । पत्रिकाको ‘नेपालकी चिठी’ स्तम्भमा राणाविरोधी पत्रहरू छापिन्थे । भारतीय पत्रिकाले नेपाली राज्यविरुद्ध अभियान चलाएको भन्दै राणाहरूले अंगेजलाई प्रतिबन्ध लगाउन आग्रह गरे । अंग्रेज शासकले बेनीपुरीलाई एक वर्ष गिरफ्तार गरे, अनि पत्रिका नै बन्द गराए । यिनै बेनीपुरीबारे बीपीले आत्मवृत्तान्तमा पनि वर्णन गरेका छन् । हेर्दाखेरि केही मित्रहरूको मित्रको कथा लाग्ने यो समयखण्डले नेपाल र पटनाका नागरिकको राजनीतिक भाइचारालाई प्रतिनिधित्व गरेको थियो ।
बीपीको सालिक उठाउने यो पटना सहरमा तर कांग्रेसजन मात्रै भेटिँदैनथे । नेपाल कम्युनिस्ट पार्टीका एक संस्थापक निरञ्जनगोविन्द वैद्यले वामपन्थी पुस्तकहरू पटनाका छापाखानामा छाप्थे । अनि कम्युनिस्ट पार्टीका कतिपय बैठकहरू कोलकाता, गोरखपुर र बनारससँगै पटनामा पनि आयोजना हुने गर्थे । पत्रकार चन्द्रकिशोरले भने, ‘एमालेका दुई नेताहरूसग म केही वर्षअघि पटना आएको थिएँ । राजकमल प्रकाशनगृहमा पुस्तक चहार्दै गर्दा एक युवती आइन् र एक नेताको खुट्टा छोइन् । उनले भनिन्, ‘अंकल तपाईं ईश्वर पोखरेल होइन, तपाईं पहिले म सानो छदा हाम्रो घरमा छ महिनासम्म बस्नुभएको थियो । मलाई चिन्नुभयो ?’
ती नेताले आफू पोखरेल नभए पनि एउटै कमिटीको नेता भएको बताए । अनि उनको अभिवादन पोखरेललाई सुनाइदिने वाचा गरे । 
सञ्जय थापाको उपनामबाट थुप्रै पुस्तक लेखेका एमाले नेता प्रदीप नेपालको मुक्त आकाशको खोजीमा पुस्तक नख्खु जेलब्रेकपछि भारतमा उन्मुक्ति लिएका क्षणहरूमा टुंगिएको छ । मोहनविक्रम सिंह, मोदनाथ प्रश्रित, मदन भण्डारीलगायत थुप्रै नेताले भारतमा लामो अवधि आश्रय लिएका छन् । माओवादी उपल्लो नेतृत्वले त जनयुद्धको आधाभन्दा बढी अवधि पटना, सिलिगुढी, कानपुर, गुढगाउँजस्ता ठाउँमा बिताएको थियो ।
पछिल्लो अवधि राष्ट्रवादी लाइन समातेको एमालेलाई आलोचकहरूले दक्षिणपन्थी अतिराष्ट्रवादबाट ग्रस्त रहेको भनी आरोप लगाउँदै आएका छन् । एमालेको पूर्वरूप माले स्वयंले भारतीय क्षेत्रका जनताबाट ठूलै सहयोग र समर्थन पाएको भए पनि हाल उक्त विगत बिर्सेर जनता–जनताबीचको सम्बन्ध उपेक्षा गरेको पटनाका केही शुभेच्छुकले टिप्पणी गरे । ‘दशगजा क्षेत्र दुई देशबीच सीमा छुट्याउने ठाउँ हो, तर यसलाई प्राविधिक ढंगले मात्रै बुझियो भने यथार्थबोध हुँदैन,’ एक पत्रकारले कुराकानीका क्रममा भने, ‘नाकाबन्दीका बेला म रक्सौल वीरगन्ज जाँदा गाडी चलेका थिएनन्, तर सर्वसाधारणले निर्बाध सामान लगिरहेका थिए । एमालेका नेताहरू लामो समय तराई मधेसमा बसेर पनि यो यथार्थ किन मनन गर्नुहुन्न ?’
जवाफ दिनलाई एमाले वा माओवादीका नेता भने त्यहा उपलब्ध थिएनन् । आयोजकले निम्ता नगरेको हो कि उनीहरू नगएका हुन्, बुझ्न सकिएन ।
‘अरू देशझैं नेपाल–भारत सम्बन्ध औपचारिक तहमा सीमित छैन, तर राजनीतिक खटपटले यी सम्बन्धहरूका काफी दरार उत्पन्न गरिदियो,’ विश्वविद्यालयका पूर्वकुलपति प्रोफेसर रामजी सिंहले भने, ‘इतिहास भने अहिले चर्चा गरिएजस्तो चिसो मात्रै छैन, भारतको स्वतन्त्रता संग्राममा नेपालीले लडेका छन् । नेपालको क्रान्तिमा भारतीयहरू सहिद भएका छन् ।’
उसो भए दुई देशबीच एक, दुईपल्ट होइन, किन वारम्बार असमझदारी उत्पन्न भएको त ?
‘बीपीले नै भन्नुभएको थियो, बिग ब्रदर एटिट्युड होइन, एक अर्काको सम्प्रभुतालाई समान आदर गर्ने परम्परता बसाल्नुपर्‍यो, हो त्यसैको कमी भएकाले खटपट परेको हो,’ सिंहले भने ।
बाल्यकालको लामो अवधि पटनामा बिताएकी पूर्वउपसभामुख कांग्रेस नेतृ चित्रलेखा यादव सेमिनारमा मुख्य अतिथि बनेर आइपुगेकी थिइन् । उनले पटनामा सानो छदाका सम्झनाहरू भावुक हुँदै सुनाइन् । दुई देश जोड्ने सम्बन्धका सेतुहरू इतिहासमा अनेक भेटिए पनि हिजोआज त्यस्ता पात्रहरूको कमी भएको बताइन् । युरोप अमेरिका जान बरु सजिलो हँुदै गए पनि खुला सिमाना भएको भारत आउन नेपालीलाई परेको कठिनाइ राख्दै उनले थपिन्, ‘सम्बन्धमा झन्झट पैदा गर्ने कुराहरू घट्दै जानुपर्ने हो, तर थपिँदै गएका छन् ।’
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले त अझै थपेर पटनावासीलाई सम्बोधन गर्दै सोधे, ‘तपाईंहरूले बीपीले नेतृत्व गरेको क्रान्तिलाई मन फुकाएर सघाउनुभयो, तर त्यसपछि किन त्यो सहयोग टुट्यो ?’ मधेसवादी नेताहरू मोहम्मद लालबाबु राउत, जितेन्द्र सोनल, कृष्ण सिंहले पनि यसै तर्कलाई सघाए । कांग्रेस नेता अजय चौरसिया, अजय द्विवेदीले मधेसकै मुद्दा सम्बोधन गर्न संविधान संशोधन प्रयास भइरहेको भन्दै सहभागीलाई आश्वस्त पार्न खोजेका थिए । त्रिविका राजनीतिशास्त्री धनप्रसाद पण्डित, अर्थशास्त्री सुष्मा तिवारीले सात सालयताको सम्बन्धका उतारचढावहरूबारे आफ्ना धारणाहरू राखेका थिए । 
सद्भावना नेता कर्णले त्यसो भने पनि पोहोर वीरगन्जमा नाकाबन्दीको बेला सीमापारि रक्सौलमा स्थानीय भारतीय व्यापारीले हप्तौंसम्म खाना खुवाएर मधेसी प्रदर्शनकारीलाई सहयोग गरेका थिए । त्यस बेला सीमा क्षेत्रमा भएका गतिविधिहरू हालसम्म अस्पष्ट र विवादित छन् । नेपाललाई एकातिर खुला सीमाको सहज लाभ छ, अर्कातिर त्यही खुलापन नेपालका लागि समस्याको सर्जक बनिदिन्छ । मधेसका क्षेत्रमा मात्रै होइन, भारतसग जोडिएका नेपालका पहाडी क्षेत्रका बासिन्दाको पनि साझा पीडा छ— सीमाञ्चलमा ।
गान्धी म्युजियमका डाइरेक्टर डा. रजी अहमद, समाजवादी नेता अरुण दास, सुस्मिता गोस्वामी, प्राध्यापक महेन्द्रनारायण कर्ण, रत्नेश्वर मिश्रलगायतले धारणा राखे । उनीहरूको सार थियो, ‘नेपाललाई हेर्ने दिल्ली र पटनाको नजर एउटै होइन, अब राजनीतिक संस्थापन र कर्मचारीतन्त्रबाट मात्रै यो सम्बन्धलाई परिभाषित गर्न खोजियो भने अपूरो र गलत हुन जानेछ ।’
अहमदले त कतिसम्म भने भने, ‘दिल्लीले नेपाललाई शासकीय आँखाबाट हेर्छ, तर पटनाले बन्धुत्वको आँखाले । नेपालसग हामी जति नजिक छौं, त्यति त दिल्ली पनि छैन ।’
सीमाञ्चलको सम्बन्ध
‘सिमाना क्षेत्रका जनताको संवेदनशीलता कस्तो हुन्छ भन्नेबारे दिल्ली र काठमाडौं दुवै संवेदनशील छैनन्, त्यसैले अब सम्बन्ध राजधानीहरूबाट होइन, गाउँबाट उठाउनुपर्छ,’ हिन्दुस्तान हिन्दी दैनिकका राजनीतिक सम्पादक विनोद बन्धुले पटनास्थित निवासमा नेपालबाट गएका केही पत्रकारसँग कुरा गर्दै भने, ‘केन्द्रमा बस्ने केही नेता र केही कुण्ठित कर्मचारीले आफ्नो आकांक्षा लाद्न खोज्दा जनताले धेरै दु:ख पाए । मिडिया पनि सत्यतथ्य रिपोर्टिङ गर्ने मामिलामा अलिकति बहकिएको छ ।’ यसो भन्दै उनले वर्षायाममा कोसीको बाढी आउँदा भारतीय मिडिया कसरी रिपोर्ट गर्छन् भन्ने उदाहरण दिए । उनले भने, ‘नेपालले सप्तकोसीको पानी भारततिर छोडिदियो भनेर सबै मिडियामा आउँछ, नेपालले चाहिँ त्यो पानी कहाँ लैजाओस् ?’
राजनीतिक सम्पादक बन्धु पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकार नहुने कुरै भएन । संविधान जारी गर्ने बेला काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत जयशंकरको भ्रमण गलत भएको उनले बताए । अनि भारतीय शैलीलाई थपथाप गरी नेपालमा राजनीतिक वर्गले सिर्जना गरेको मनोवैज्ञानिक त्रासको लाभबारे पनि चर्चा गरे । ‘समस्या पक्कै छ, तर कसले सिर्जना गरेको हो ? भारतको मात्रै कुरा नगरौं, नेपालको संविधान जारी हुँदा संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, युरोपेली युनियन आदिले पनि समर्थन गरेका छैनन्,’ समस्याको समाधान नेपाली नेतृत्वमै रहेको सम्झाउँदै उनले थपे, ‘नेपालको मूल समस्या आन्तरिक कारणले उत्पन्न भएको हो । त्यसलाई अरूतिर पन्छाएर समाधान गर्न सकिँदैन ।’
मुख्य वक्ता लालले लेक्चर सुरु गर्दै दुई देशका जनताको भावनालाई दिल्ली र काठमाडौंले सही ढंगले प्रतिनिधित्व गर्न चुकेको टिप्पणी गरे । नेपालमा ‘राष्ट्रवादी लहर’ पछिल्ला दिनमा उठे पनि ‘राष्ट्रियताको भावना’ ले मात्रै मर्काहरू सम्बोधन गर्न सक्ने उनको भनाइ थियो । ‘नेपालमा सबै नागरिक एकसाथ नेपालीय कसरी हुन सक्छन् भन्ने बहस चलिरहेको छ, हामी नेसन् स्टेटबाट स्टेट नेसन् बन्नुपर्छ भन्ने प्रस्ताव राखिरहेका छौं,’ उनले सोधे, ‘बीपीले हाँकेको २००७ को क्रान्तिमा तपाईंहरूको ठूलो योगदान थियो, त्यो प्रजातन्त्रकै परिकल्पनाबारे अब फेरि सोच्नुपर्ने भयो । तपाईंहरू पछिल्लो अवधि नेपालमा मधेसीले चलाएको प्रजातान्त्रिक क्रान्तिबारे किन बोलिराख्नुभएको छैन ?’ लालले रोटीबेटीको सम्बन्धबारे जति चर्चा गरे पनि हुर्कंदै जाँदा रक्तसम्बन्ध भन्दा आवश्यकताले निर्माण भएका अन्य सम्बन्धहरू बढी घनिष्ठ हुन सक्ने भन्दै अब दुई देशका जनताबीच हार्दिकताको खोजी गर्न अपिल गरे ।
भारतीय बुद्धिजीवीहरूले भने नेपालको पछिल्लो विकासक्रमबारे आफूहरू जानकार रहेको भन्दै मधेसको मुद्दा राजनीतिको नाभिमा प्रवेश गरेको टिप्पणी गरे । संविधानले मधेसीलाई नागरिकता र प्रतिनिधित्वमा विभेद गरेको उनीहरूको तर्क थियो । ‘नेपालका वामपन्थी पार्टीले बुझेकै छैनन् वर्गस्वार्थ र जातिस्वार्थमा के फरकपना र समानता छ,’ आफ्नै खर्चमा श्यामश्वेत लघुपत्रिका ‘फिलहाल’ चलाइरहेकी वामपन्थी प्रीति सिन्हाले यो पंक्तिकारसँग भनिन्, ‘म नेपालका घटनाक्रमलाई एकदमै नजिकबाट नियालिरहेकी छु । मधेसीको समस्या उपेक्षा गरेर आजको मितिमा नेपाल अगाडि जानै सक्दैन । मधेस आजको नेपालमा उत्पीडित जाति र वर्ग हो । म दर्जनौं दृष्टान्त दिन सक्छु ।’
पटना भ्रमणको ठूलो लाभ के भयो भने, क्रमश: बिलाउँदै गएका जयप्रकाश नारायणका समाजवादी अनुयायीहरू भेटिँदै गए । तीमध्ये केहीको त म घरमै पुगें । उनीहरूको जीवनशैली, लवाइखुवाइ, रहनसहन हेरें । पहुँचवाला पदहरूमा पुगेर पनि अति सामान्य जीवनशैलीमा अविचल उनीहरू देख्दा नेपालका समाजवादी र साम्यवादीको रातारात बदलिएको वर्गीय हैसियतका दृश्यावली मानसपटलमा दगुरे । 
गंगा नदीको किनारमा निर्मित विश्वविद्यालय गेस्टहाउसबाट हामी विभिन्न नेता, बौद्धिक तथा नागरिक भेट्न निस्किरहन्थ्यौं । तीमध्ये एउटा रोचक भेट थियो सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता सञ्जय पासवानसितको । अटल विहारी वाजपेयीका बेला मानव संसाधनमन्त्री रहेका यी दलित नेता पासवान कुनै बेला नक्सलवादी कम्युनिस्ट पो रहेछन् । उनको निवासमा डिनरका लागि निम्त्याइएका हामी नेपालीहरूले सोध्यौं, ‘कट्टर कम्युनिस्टबाट उस्तै कट्टर हिन्दुवादी भाजपा ? वैचारिक रूपमा कसरी एड्जस्ट हुनुभयो ?’
पटना विश्वविद्यालयका एसोसिएट प्रोफेसर हुँदै राजनीतिमा हाम फालेका नेता पासवानले भने, ‘दोस्रो बिहे गरेपछि कान्छी पत्नीसँग कसरी एड्जस्ट हुनुपर्ने हुन्छ ? त्यसरी ।’
धर्मनिरपेक्ष बीपी र जयप्रकाशका अनुयायीहरूको व्याख्यानबाट सुरु हाम्रो पटना यात्रा हिन्दुवादी दलित नेता सञ्जय पासवानका तर्कहरूमा गएर टुंगियो । तीन दिनयताको बाक्लो तुवाँलो पन्छाउँदै छेवैको गंगा नदी चौथो बिहान आँखा अघिल्तिर खुल्न आयो ।

प्रकाशित : पुस २, २०७३ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?