३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चीनकी इन्दिरा !

चेतनाथ आचार्य

विश्वविद्यालयमा पढाइ हुनेमध्ये भाषाविज्ञान सबैभन्दा नीरसिलो विषय हो । भाषाविज्ञानलाई ओखरको उपमा पनि दिइन्छ ।

चीनकी इन्दिरा !

ओखरबाट बाहिरको बोक्रा उक्काएपछि हड्डीजत्तिकै चाम्रो खबटो आउँछ । त्यसलाई पनि फुटाएपछि कताकति च्यापमा गुदी लुकेको हुन्छ । त्यो गुदीलाई सानो पिनले घोचेर निकाल्नुपर्छ । कडा मिहिनेत गरेर न्यून फल पाइने भएर नै भाषाविज्ञानलाई ओखरसँग तुलना गरिएको हुन सक्छ ।

त्रिभुवन विश्वविद्यालयबाट यस्तो अप्ठ्यारो विषयमा विद्यावारिधि अर्थात् पीएचडी गर्ने विद्यार्थीमा एक जना चिनियाँ महिला पनि छिन् । गत वर्षदेखि त्रिविबाट नेपाली भाषाविज्ञानमा पीएचडी गरिरहेकी चिनियाँ युवती सिङ युनको नेपाली नाम इन्दिरा हो । चीनको साङतोङ प्रान्तबाट बेइजिङ आएकी ३४ वर्षीय इन्दिरा विगत १६ वर्षदेखि नेपाली भाषासँग जोडिएकी छन् । उनी सन् २००० मा सान्तोङबाट माध्यमिक शिक्षा उत्तीर्ण गरी बेइजिङको सञ्चार विश्वविद्यालयमा नेपाली भाषामा स्नातक गर्न आएकी थिइन् । त्यसपछि निरन्तर रूपमा नेपाली भाषा अध्ययन र अध्यापन गरिरहेकी छन् ।
बेइजिङको सञ्चार विश्वविद्यालयबाट नेपाली भाषामा स्नातक गरेर उनी सन् २००४ देखि त्यही विश्वविद्यालयमा चिनियाँ विद्यार्थीलाई नेपाली भाषा शिक्षण गर्न थालिन् । उनले अहिलेसम्म ४४ जना चिनियाँ विद्यार्थीलाई नेपाली भाषामा स्नातक गराइसकेकी छन् । उनका केही विद्यार्थीहरू चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा कार्यरत छन् भने एकजना चिनियाँ परराष्ट्र मन्त्रालयअन्तर्गत काठमाडौँस्थित चिनियाँ दूतावासमा कार्यरत छन् । त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा एक जना कार्यरत छन् । अन्य विद्यार्थी चीनका विभिन्न प्रान्तहरूमा छरिएर रहेका विभिन्न क्षेत्रमा कार्यरत छन् ।
सञ्चार विश्वविद्यालयमा स्नातक तह अध्यापन गराउँदै आफू पनि अन्तर्राष्ट्रिय पत्रकारितामा स्नातकोत्तर तह पूरा गरिन् । सञ्चार विश्वविद्यालयमा उनी दक्षिण एसियाली भाषा अध्ययन विभागकी प्रमुख थिइन् । अहिले त्यो विश्वविद्यालयबाट उनी बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा पुगेकी छन् । उनी त्यहाँ पुगेसँगै बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयले स्नातक तहमा चिनियाँ विद्यार्थीलाई नेपाली भाषा अध्ययनको नयाँ व्यवस्था गरेको छ । उनी सो विश्वविद्यालयको नेपाली भाषा विभागकी प्रमुख हुन् ।
इन्दिरा पहिलो पटक सन् २००७ मा आफूले बेइजिङमा नेपाली भाषा पढाएका चिनियाँ विद्यार्थी लिएर नेपाल गएकी थिइन् । भाषाबाट नेपालसँग नजिएकी इन्दिरा प्रत्यक्ष रुपमा नेपाल पुगेपछि अझै पुलकित भइन् । उनलाई नेपालका हरेक कुराले आकर्षित गरे । उनी दोस्रो पटक सन् २०१३ मा विश्वभाषा क्याम्पसमा एक सेमेस्टर पढ्न गइन् । त्यही समयमा उनले थुप्रै नेपाली उपन्यास र कथाका किताबहरू पढिन् । अनि उनलाई नेपाली भाषाविज्ञानमा पिएचडी गर्ने हुटहुटी चल्यो ।
डेढ वर्षअगाडि नेपालमा गएको विनाशकारी भूकम्पका अगाडि उनी नेपालमा थिइन् । उनले त्यति बेलै त्रिविमा पीएचडी दर्ता गराएकी हुन् । नेपालमै बसेर अनुसन्धान गर्नेहरूका लागि त तीन–चार वर्षमै पीएचडी सकिन्छ तर उनी चीनमा कार्यरत भएकाले पाँचदेखि ६ वर्षभित्र पीएचडी सक्ने योजनामा छन् । पीएचडी गर्नका लागि उनले त्रिविलाई हरेक वर्ष एक हजार डलरभन्दा बढी शुल्क तिर्नुपर्छ । चीनबाट नेपाल जाने–आउने खर्चसँगै नेपाल बसेर गरिने अनुसन्धानको खर्चले उनको पीएचडी निकै महँगो पर्दै छ । चिनियाँ विश्वविद्यालयमा दक्षिण एसियाली भाषाविज्ञानमा पीएचडी गर्ने अवसर न्यून छ त्यसमाथि नेपाली भाषाविज्ञानमा सम्भव नभएकाले उनले चिनियाँ विश्वविद्यालयको सट्टा त्रिवि रोजेकी हुन् । पीएचडीको सबै खर्च उनले व्यक्तिगत रूपमा जुटाउनुपर्छ । नेपाली भाषाविज्ञानभित्र उनको पीएचडी अनुसन्धानको विषयचाहिँ चिनियाँ ‘मेनस्ट्रिम मिडिया’ र नेपाली मेनस्ट्रिम मिडियामा प्रयोग भएको भाषाको तुलनात्मक अध्ययन हो । यसका लागि उनले चिनियाँ र नेपाली मुख्य तीन–तीनवटा सञ्चारमाध्यम छनोट गरेकी छन् । इन्दिरा सीसीटीभी, सीआरआई र चाइना डेलीसँगै नेपाल टेलिभिजन, गोरखापत्र र रेडियो नेपालका समाचारमा एक वर्षभित्रका समाचारको एक मिनेटको भाषाको शब्द, वाक्य र संरचनागत तुलनात्मक अध्ययन विश्लेषण गर्दै छिन् । उनले थेसिस अंग्रेजीमा लेख्दै छिन् । भाषा विज्ञानअनुसार शब्द, वाक्य र कोर्स विश्लेषण गर्दा संस्कृत र नेपाली भाषासँगै चिनियाँ भाषाको शब्दहरूको तुलनात्मक अध्ययन गर्नुपर्छ । त्यसकारण अहिले उनले संस्कृत भाषा पनि अध्ययन गर्नुपर्ने बाध्यता आइपरेको छ । नेपाली भाषामा राम्रो दख्खल भएकी हुनाले संस्कृत भाषाका शब्द र वाक्य उच्चारण गर्न उनलाई त्यति कठिन छैन तर संस्कृत व्याकरणले उनको टाउको खाएको छ । उनी अहिले संस्कृत भाषा पढिरहेकी छन् । उनको संस्कृत सिकाइ देवनागरी र ल्याटिन लिपिमा हुने गरेको छ भने पाली भाषा पनि अध्ययन गर्नुपरेको छ ।
नेपालीहरूको दसैँजस्तै परम्परागत चिनियाँ नयाँ वर्ष वसन्त चाड चिनियाँहरूको सबैभन्दा ठूलो पर्व हो । यो समयमा चीनमा लामो बिदा हुने भएकाले टाढाटाढा पुगेका आफन्तहरू परिवारमा सामेल हुन आइपुग्छन् । तर इन्दिरा भने वसन्त चाडको बिदा हुनासाथ नेपाल जान्छिन् र आफ्ना सुपरभाइजर प्राध्यापक डा. माधव पोखरेलसँग आफ्नो पीएचडीको अध्ययनमा जुट्छिन् ।

प्रकाशित : पुस १६, २०७३ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?