कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रोकियो एउटा इन्द्रावती

जीवन र रंगमञ्च दुवैमा इन्द्रावतीजस्तै बाङ्गो–टिङ्गो संघर्षका छालहरू बेहोरेका कला साधक विष्णुभक्त फुयाँल ‘याज्ञवल्क्य’ नाटकमा राजा जनक बन्दाबन्दै दिवंगत भए ।
फूलमान वल

गाउँबाट कलेज पढ्न काठमाडौं आए पनि यो नामसित जोडिएको हुलियालाई लामो समय भुल्न सकिनँ । च्यात्तिएको कपडा, फाटेको टोपी र मैली धोती अनि दु:खका थुप्रै धर्सो पोतिएको अनुहार ।

रोकियो एउटा इन्द्रावती

‘गम्भीरे माझी’

यही हुलिया बोकेर गम्भीरे माझी इन्द्रावतीछेउ उभिएको झुपडीको दलानमा बसेर एकसुरले बिँडी तान्थ्यो र इन्द्रावतीको छालहरू हेर्दै टोलाउँथ्यो । हाम्रो गाउँमा भर्खरै श्यामश्वेत टीभी भित्रिएको थियो, आठ बजेको समाचारपछि रमेश विकलको उपन्यास आधारित बद्रि अधिकारीको टेलिशृंखला ‘अविरल बग्दछ इन्द्रावती’ पर्खिबस्थ्यौं हामी । 
सदियौंदेखि उत्पीडन खेप्न बाध्य सिन्धुपाल्चोक इन्द्रावती किनारका माझीहरूको कथाव्यथाले मन त त्यसै छोइहाल्थ्यो । गम्भीरे माझीको जीवन्त चरित्र त्योभन्दा माथिको लाग्थ्यो । यही चरित्रसित भावनात्मक निकटता महसुसु हुनुको अर्को एउटा कारण पनि थियो । इन्द्रावतीबाट पूर्वतिर काभ्रेमा पर्ने हाम्रो डहुन्हान गाउँमा गम्भीरेजस्तै एक वृद्ध हुनुहुन्थ्यो– फतङ काका । हामी बच्चाहरू उहाँसित तिहारमा मारुनी नाच्थ्यौं । 
पछि थाहा भयो गम्भीरे माझीको भूमिका गर्ने कलाकार हुनुहुँदोरहेछ– विष्णुभक्त फुयाँल । एक दिन संस्कृतिविद् सत्यमोहन जोशीको कीर्तिपुर उत्पत्तिबारेको मिथकमा आधारित नाटक ‘बाघ भैरव’ हेर्न जाँदा पुरानो बानेश्वरस्थित गुरुकुलमा उहाँसित भेट भयो । फेरि गाउँकै फतङ काका सम्झें, तर उहाँ दमको उपचार गर्न नसकेर बितिसक्नुभएको थियो । त्यो एक दु:खद संयोग थियो । तर, त्यसको झन्डै एघार वर्षपछि मंगलबार साँझ गम्भीरे माझीको भूमिका गर्नुहुने वरिष्ठ रंगकर्मी विष्णभक्त फुयाँल दिवंगत हुनुभएको समाचार लेख्नुपर्‍यो । सत्यमोहन जोशीकै नाटकको क्रममा भेटिनुभएका उहाँ जोशीकै अर्को नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गर्दागर्दै बित्नुभएको थियो । अर्को संयोग के भने बद्री अधिकारीकै टेलिफिल्म ‘अविरल बग्दछ इन्द्रावती’ बाट बढी चर्चामा आउनुभएका उहाँ अधिकारीले नै निर्देशन गरेको नाटक खेल्दाखेल्दै दिवंगत हुनुभयो । 
त्यो बेला रंगकर्मका लागि ख्याति कमाएको पुरानो बानेश्वरको त्यो सानो थुम्कोमा सम र रिमाल नाटकघर थिए । नर्वेली नाटककार हेनरिक इब्सेनको ‘मास्टर विल्डर’, ग्रिसेली वियोगान्त नाटककार सोफोक्लेसको ‘इडिपस रेक्स’ र डा. संजीव उप्रेतीको ‘घनचक्कर’ मञ्चन क्रममा पनि गुरुकुलको त्यही डाँडोमा विष्णुभक्त फुयाँलको अभिनय हेर्ने मौका जुर्‍यो । उमेरकै लेखाजोखा गरेर होला धेरै जनाले उहाँलाई ‘बुवा’ सम्बोधन गर्थे । मचाहिँ दाइ भन्थें । नाटकपछि थिएटरबाहिर काठको कुर्सीमा बसिरहने एउटा वृद्ध र उदास अनुहार उहाँकै हुन्थ्यो । लाग्थ्यो कि– अभिनयमा मात्रै हैन, विष्णुभक्त दाइको वास्तविक अनुहारमै दु:खका थुप्रै किरिङमिरिङ धर्साहरू छन् । 
ती धर्साहरूले मलाई लामो समय तानिरहे । एक दिन मैले नै फोन गरेर उहाँसित भेटें, सानो प्रोफाइल स्टोरी गर्ने गरी । बानेश्वरको एउटा चियापसलमा भेट भएको थियो हाम्रो । उहाँलाई मैले गम्भीरे माझी र फतङ काकाको संयोग सुनाएँ । उहाँ फिस्स हाँस्नुभयो । त्यसरी हाँस्दा पनि उहाँका अनुहारमा संघर्षका धर्साहरू देखिन्थे । कुराकानी क्रममा थाहा भयो— उहाँको जिन्दगी इन्द्रावतीको बगाइजस्तै रहेछ । कहिले ठूलठूला ढुंगाहरूबीच च्यापिएर छहरा झर्नुपर्ने, कहिले समथर मैदान त कहिले नागबेली घुम्तीहरूमा मोडिनुपर्ने । 

फ्लासब्याक इन्टरभ्यु 
भक्तपुरको बागेश्वरीमा ७९ वर्षअघि जन्मिनुभएको थियो उहाँ । सानैमा कलाप्रतिको उत्कण्ठा । तर, त्यति बेला नेपाली रंगमञ्च सर्वसाधरणको पहुँचमा थिएन । तैपनि उहाँ देहातजस्तै लाग्ने त्यो बेलाको बागेश्वरीबाट काठमाडौं सहर आउनुभयो अवसर खोज्न । उहाँका अनुसार अहिलेको निर्वाचन आयोग रहेको बहादुर भवनमा त्यो बेला होटल रोयल थियो । त्यहीँ वेटरको जागिर पाउनुभयो । नाटकको तिर्खा त छँदै थियो । तिनताक पब्लिक थिएटरको रूपमा डबली रंगमञ्च अभ्यासमा थियो उपत्यकामा । खासगरी नेवारी सांस्कृतिक प्रदर्शनीको यो थलोमा परम्परागत नाटकहरू मञ्चन हुन्थे । २०१९ मा पहिलो पटक गाईजात्राको बेला नेवारी नाटक ‘कर्मया भोग’ खेल्नुभयो उहाँले । 
‘नेवार भाषा जानेको फाइदा भयो नि’ कुराकानी क्रममा चिया पिउँदै उहाँले भन्नुभएको थियो, ‘यो नाटक हामीले काठमाडौं र ललितपुरमा गरेर २० सो देखाएका थियौं । हरेक सोबाट ४० रुपैंयाँ आम्दानी हुन्थ्यो । त्यति बेला केटीको भूमिका पनि केटाले नै गर्नुपथ्र्यो । मेरो दोहोरो रोल थियो । नेवार केटी र पुरेत बाजेको ।’ 
यसपछिको लामो समय उहाँ हराउनुभयो । पारिवारिक जिम्मेवारी, जागिरजस्ता अप्ठ्याराहरू आइपरे । ‘यही क्रममा ल्होत्से होटलको हेडकुक बनें म’ उहाँले भन्नुभएको थियो, ‘होटलकै फ्रन्ट अफिसर मुकुन्दकिशोर भट्टराईसित संगत बढ्यो । नाटकको योजना बनायौं ।’ यो समूहले केही डबली नाटक गर्‍यो । पछि २०३१ को गाईजात्रामै मुकुन्दकिशोरको लेखन र निर्देशनमा एउटा प्रतियोगी प्रहसन तयार भयो– ‘सुकुलगुन्डा’ । राष्ट्रिय सभागृहमा देखाइएको यो प्रहसनमा विष्णुभक्त दाइ दोस्रो हुनुभयो । 
यसको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय नाटक महोत्सवमा ‘भत्केको सपना’ मा देखापर्नुभयो उहाँ । राजाको उपस्थितिमा राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठानमा नियमित नाटक र कलाजन्य गतिविधि बाक्लै हुने त्यो समय विष्णुभक्त भने भूमिगत जस्तै बनेर श्रमजीवी जनताको पक्षमा उभिनुभयो । प्रजातन्त्रको पक्षमा उभिने विद्यार्थीहरूसहित सहरका विभिन्न कलेजमा चेतनामूलक नाटक लिएर पुग्नुभयो । 
यही क्रममा २०४२ मा अग्निशिखाको नाटक ‘इज्जत’ उहाँले नै निर्देशन गर्नुभयो त्रिवि कीर्तिपुरमा । यो निकै क्रान्तिकारी नाटक थियो । दरबारियाको आडमा प्रधानपञ्चहरूले गरेका मूर्ति चोरी र चेलीबेटी बेचबिखनको कथा बोकेको । ‘पछि गलैंचा मजदुर संगठनमा काम गर्दा मजदुरहरूको कथा–व्यथामा थुप्रै नाटक लेखेर निर्देशन र अभिनय गरें’ चियाको चुस्कीसँगै उहाँले भन्नुभएको थियो । 
चालीसको मध्यदशकपछि भने उहाँ आरोहण समूहसँग जोडिनुभयो । सुनील पोखरेलको निर्देशन रहेको ‘श्रद्धालु बेश्या’ ‘न्यायप्रेमी’ खेल्नुभयो । गुरुकुल डाँडामा उहाँसितको भेट यही आरोहणसितकै सम्बन्धको निरन्तरता थियो । ‘घनचक्कर’ को टोलीसित दिल्ली र ‘मास्टर विल्डर’ को टोलीसित बंगलादेशको यात्रासमेत गर्नुभएका उहाँ पछिल्लो समय कुसुम थिएटर समूहको अध्यक्ष हुनुहुँदोरहेछ । त्यो दिन उहाँले आरोहणसँगै कुसुम थिएटरसँग जोडिएर थुप्रै चेतनामूलक सडक एवं कचहरी नाटकमा गरेको अनुभव पनि सुनाउन भ्याउनुभयो । 

हास्य छवि 
गम्भीरे माझीको गम्भीर चरित्रका रूपमा चिन्नेहरूका लागि विष्णुभक्त दाइको पछिल्लो टेलिसिरियल छवि ‘इन्टरल्युड’ जस्तै बन्यो । उहाँ एकाएक ‘यु आर माई लभ’ भन्दै छाउनुभयो बालबालिकादेखि तन्नेरी दर्शकसम्म । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘तीतो सत्य’ टेलिसिरियलमा उहाँको हास्य चरित्र साँच्चिकै रोचक/घोचक थियो । मोर्डन गेटअप र डान्स स्टेपसहित ‘यु आर माई लभ’ भन्दै टीभी स्क्रिनमा प्रस्तुत हुँदा थुप्रै नयाँ पुस्ते फ्यान बढे । स्कुलका वार्षिक उत्सवहरूमा पनि उहाँको माग बढ्न थाल्यो । उहाँ अब पछाडितिर क्याप फर्काएर स्कुलका स्टेजहरू पनि नाच्न थाल्नुभयो । उमेरले भने मध्य सत्तरी पार गर्दै थियो । 
यस्तैमा २०७१ को भुइँचालो गयो । सहरदेखि गाउँसम्म भय र निराशा फैलिरहेका बेला उहाँ उल्टो क्याप भिरेरै बच्चाहरूको माझ पुग्नुभयो हँसाउन । एक दिन इन्द्रावतीकै आसपासको एउटा भूकम्प पीडित बस्तीबाट कुसुम थिएटरका वैकुष्ठ भण्डारीले फोन गरे– ‘हामी कला थेरापीको क्रममा काभ्रे र सिन्धुपाल्चोकको गाउँबस्ती डुल्दैछौं, ‘माई लभ’ बुबा पनि सँगै हुनुहुन्छ ।’ 
वैकुण्ठजीले फोन ‘माई लभ’ दाइलाई दिए । 
‘काठमान्डुमा भेट्नु छ है समय मिलाउनुस्’ उताबाट विष्णुभक्त दाइ बोल्नुभयो । 
लामो समयदेखि उहाँ मलाई भेट्न खोज्दै हुनुहुन्थ्यो । सायद, मिडियामार्फत केही भन्न चाहिरहनुभएको थियो । 

कला र राजनीति 
फोन राखेपछि केही वर्ष अघिको क्षण सम्झें । एक दिन सेलो थिएटरले भक्तपुर कमलविनायकमा गरेको ‘रंग–कार्यशाला’ मा उहाँसित भेट भएको थियो । प्रशिक्षकका रूपमा हुनुहुन्थ्यो उहाँ । त्योबेला उहाँले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानबारे ठूलै गुनासो गर्नुभएको थियो । त्यतिबेला उहाँ पनि प्रज्ञासभाको सदस्य हुनुहुन्थ्यो सायद । 
‘सरकारले मान्छे नै चिन्दैनन्’ उहाँले भन्नुभएको थियो– ‘यहाँ राम्रो कामभन्दा पनि नेताको चाकडी गर्नुपर्दोरहेछ ।’ 
त्यतिबेला ठीकै भन्दै हुनुहुन्थ्यो उहाँ । चाकडी पनि पार्टीको हैन, नेता विशेषको । पार्टीभित्र पनि कुन गुटको कुनचाहिँ नेता संस्कृति मन्त्री छ, त्यही अनुरूपको सम्बन्धहरू पहिल्याएर, नाता जोडेर घरमै पुग्नुपर्ने । छिपछिपे ज्ञान नै नभएकाहरू प्राज्ञ बने, लामो योगदान भएकाहरूचाहिँ पाखामा । पाइहाले पनि थुम्थुम्याउन प्राज्ञसभाको सदस्य मात्र । २०५४ को स्थानीय चुनावमा व्यवस्था गरिएको जस्तो ‘पानी सदस्य’ । 
विष्णुभक्त दाइको यसैमा गुनासो थियो । साढे पाँच दशक उमेर नेपाली रंगमञ्चलाई सुम्पिनुभएका उहाँको खास मूल्यांकन हुन सकेको थिएन । कुनै बेला काठमाडौं महानगरपालिका ६ बाट वडा सदस्यसमेत जित्नुभएका उहाँको सामाजिक–राजनीतिक योगदान पनि उत्तिकै थियो । तर, उहाँ प्रयोग मात्रै हुनुभयो । सायद नेपाली राजनीतिले कलाको गम्भीर दर्शन हैन, ग्ल्यामर चाहन्छ । 
काभ्रे–सिन्धुको यात्राबाट फर्केपछि लामो समय उहाँसित भेट हुन सकेन । निकैपछि शिल्पी थिएटरको एउटा कार्यक्रममा जम्काभेट भयो । नेपाली कला, साहित्य र रंगमञ्चमा भइरहेको राजनीतिक बेथितिप्रति उहाँ केही बोल्न चाहनुहुन्थ्यो । समय अभावले त्यो दिन कुरा हुन सकेन । पछि कुनै दिन भेट्ने गरी छुट्टियौं । बीचमा एकाधपटक वैकुण्ठजीले फोन पनि गर्नुभयो– ‘बुबाले भेट्न खोज्दै हुनुहुन्छ ।’ तर ‘हतारको साहित्य’ ले उहाँको घरमै पुगेर बात मार्ने फुर्सद दिलाएन । 
यस्तैमा राष्ट्रिय पुरस्कार घोषणा भयो । रंगमञ्चबाट उहाँ छानिनुभएछ, उमेरले असी छुनै लाग्दा । पत्रिकाहरूमा फोटोबिनाको समाचार मात्रै आएकोप्रति भोलिपल्ट बिहानै उहाँले फोन गरेर भन्नुभयो– ‘यो उमेरमा पुरस्कार पाएँ, तर कसैले फोटो छापिदिएनन् बाबु ।’ 
‘तपाईंको त इन्टरभ्यु नै गर्नुपर्छ, समय मिलाएर म घरमै आउँछु’ मैले भनें । 
दुर्भाग्य ! त्यो समय नआउँदै उहाँको चोला उठ्यो । जीवन र रंगमञ्च दुवैमा इन्द्रावती जस्तै बाङ्गो टिङ्गो संघर्षका छालहरू बेहोर्नुभएका वरिष्ठ कला साधक विष्णुभक्त दाइ ‘याज्ञवल्क्य’ नाटकमा राजा जनक बन्दाबन्दै दिवंगत हुनुभयो । राजा जनकको भूमिका र नेपाली रंगमञ्चमा उहाँको आदर्श र इमानदारिताको सायद कहीँकतै तादाम्यता रहनेछ । 
 दिवंगत हुनुभएकै साँझ सामाजिक सञ्जालहरूमा नेताहरूले पनि लेख्न भ्याए– 
‘नेपाली रंगमञ्चले आदर्श अभिभावक गुमायो’ 
‘उहाँ इमानदार रंगकर्मी हुनुहुन्थ्यो’ 

रमेश विकलको इन्द्रावती अविरल बगी नै रहेको छ । तर, गम्भीरे माझीहरूको जुनी फेरिएको छैन । ‘चेपाङमाथि दाताहरूले नै चौपट’ गरेजस्तै कलामाथिको यो राजनीतिक विडम्बना कहिलेसम्म ? विष्णुभक्त दाइ दिवंगत नहुनुभएको भए, अन्तर्वार्तामा सायद उहाँले उल्टै यो प्रश्न सोध्नुहुन्थ्यो होला ।

प्रकाशित : पुस २३, २०७३ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?