गौंथली

अखबार बासी थियो । दुई साता पुरानो । तर, मेरा लागि सर्वथा नयाँ थियो । किनभने, मैले पढेकै थिइनँ । अखबारमा यो पनि लेखिएको थियो, ‘नेपाललाई निडर नागरिक आन्दोलनको खाँचो छ । त्यो तेस्रो नागरिक आन्दोलन हुनेछ ।’
किशोर नेपाल

कटारीबाट हिंडेका थियौं । हिंड्दाहिंड्दै ठाँटीमा रोकियो हाम्रो यात्रा । पहिरोले बाटो बन्द थियो । मैले सहयात्रीसँग सोधें, ‘कति बेला पुगिन्छ हलेसी ?’ उनले जवाफ दिए, ‘खोइ के भन्न सकिन्छ र ? पहाडको उकालो बाटो । लाग्ला कि अझै चार घण्टा ।’

गौंथली

ठाँटीमा छाडनुपर्‍यो मोटर ।
आधा घण्टा हिंडेपछि पहिरोबाट पार पाइयो ।
त्यसपछि आयो त्रिचालीस । त्रिचालीसमा मोटर त थिएन । मोटरजस्तै केही थियो । हामी त्यसको क्याबिनमा बस्यौं । सहायक भन्दै थियो, ‘क्याबिन तपाईंहरूकै लागि रिजर्भ राखिएको हो ।’
ऊ फ्यावलेटमा रमाएकी थिई । केही पढ्दै थिई कि केही हेर्दै थिई । सुनाई— दु:खलाई त हाँसोले थिचिदिने हो । त्यसपछि खुसी आफैं खोज्ने हो ।
थाहा भयो ऊ केही पढ्दै थिई । कसैको फेसबुक प्रोफाइल । कसैको फेसबुक पोस्ट । कुड बी एनी थिङ ।
त्यसपछि ऊ हाँसी । खुलेर हाँसी । ऊ हाँसेको देखेर सहयात्रीहरू अचम्ममा परे । उसले मलाई सुनाई ‘हेयर स्टाइल भनेको चेन्जेवल र अस्थायी हुनुपर्छ । स्थायी त शिक्षक पनि हुन्छ, मजस्तै ।’
‘ल, अब तिमी पढ । मलाई पुग्यो ।’ उसले फ्याबलेट र ब्याट्री चार्जर मेरो हातमा राखिदिई ।
म पढ्ने मनस्थितिमा थिइनँ । उसको पछिल्लो वाक्यले मलाई हल्लाइदिएको थियो वैशाख १२ को भुइँचालोले हल्लाए जसरी । ऊ खिन्न थिई स्थायी सरकारी शिक्षक भएकोमा । त्यही नपाएर कति मानिस धरधरी रोएका छन् । ऊचाहिं भन्छे, ‘मानिस र गौंथलीमा फरक छ नि ।’ 
मन नगर्दा नगर्दै फेसबुकले आँखा तानिहाल्यो । एक जना महानुभावको फेसबुक पोस्टमा आँखा पर्‍यो, ‘चार–पाँच दिनदेखि हात–खुट्टा गल्ने र टाउको दुख्ने समस्याले सताइरहेको छ । तर, आजचाहिं बिस्तराले बढी नै प्रेम गर्न थाल्यो ।’ 
संयोग होला । यो पोस्टसँगै एउटा स्पोन्सर्ड लिंक थियो डा. विजय राघवनको । लेखिएको थियो, ‘थाइरोइडका मेटावोलिक उपचारके लिये सम्पर्क करें ।’ 
नेपालमा वसेर डा. राघवनलाई सम्पर्क गर्नुको कुनै अर्थ थिएन । हाम्रो आफ्नै शहरमा हजारभन्दा बढी नै क्लिनिक खुलेका थिए थाइरोइडका । अर्काको शहरमा किन जानु । थाइरोइड एकप्रकारको पोषिलो रोग थियो । डाक्टर, पेसेन्ट, फार्मासिस्टलगायत सबैका लागि– बहुउपयोगी पोषिलो रोग– डाक्टरहरूले मानिसको रुद्रघण्टी जाँच गरेर पत्ता लगाउने रोग । ‘थुक निल्नुस् त’ बिरामीले थुक निल्न नपाउँदै डाक्टरले निक्र्योल गरिहाल्ने– थाइरोइड । त्यसपछि रक्त परीक्षण । हिजोआज ‘इन्डोक्रिनोलजी’ को ठूलो व्यापार फैलिएको छ, र पनि, शहरको औषधि व्यवसायमा यो टर्म भर्खर शुरु भएको हो ।
जयरामघाट पुगेर यात्रा रोकियो । यसपछिको बाटो मोटरबाटै तय हुने निश्चित थियो । ‘मोटरजस्तो’ मा यात्रा गर्दा धेरै धपेडी पर्ने । ढाड दु:ख्ने । गर्धन बटारिने । मोटर चेन्ज भयो । जयरामदेखि हलेसीसम्मको बाटो सोचेको भन्दा धेरै सहज रहेछ । सहयात्रीले झन्डै तर्साइ नै दियो चार घण्टा लाग्छ भनेर ।
मेटामर्फोसिस । रूपान्तरण । हलेसी पुगियो । बल्लतल्ल होइन । सहयात्रीले चार घण्टा भने पनि साढे दुई घण्टामा सजिलै आइपुगियो । 
होटल राम्रो थियो । मुड फ्रेस हुने खालको । बुकिङ गर्दा शहरमा नै भनेको थियो, ‘राम्रो छ । भिक्षु–भिक्षुणी वस्ने होटल हो । अलि महँगो छ । तैपनि, टेन पर्सेन्ट डिस्काउन्ट दिन्छ । त्यत्तिको लाई सस्तै भन्नुपर्दछ ।’
काउन्टरमा एउटी केटी कामदार थिई । उसको मुख नराम्रो थियो कुच्चिएको बाटाजस्तो । उसका कानका बाला भने साँझको पहेंलो उज्यालोमा टलक्क टल्किरहेका थिए । उसको अगाडि एउटा अखबार थियो । मैले त्यसको एउटा समाचार नियालेर हेरें । शीर्षक थियो, ‘नेपाल कब्जामा छ ।’
मैले कामदारसँग सोधें, ‘म पढौं यो अखबार ?’
उसले जवाफ दिई, ‘ए, भइहाल्छ नि । किन नहुनु ?’ 
त्यो केटीको अनुहार नराम्रो भए पनि मन साह्रै राम्रो र रमाइलो रहेछ । आवाज पनि सुरिलो र रसिलो । उसले हामीलाई कोठासम्म गाइड गरी । तातो पानी, चिसो पानी र चिया–कफीका बारेमा बताई । चिया–कफीका लागि इलेक्ट्रिकल वाटर ब्वाइलर थियो । साथको ट्रेमा चिया, कफी, डेरी क्रिमर र चिनीका स्याचेट थिए । खाना खानका लागि एक घण्टाअघि खबर गर्नुपर्ने । सोधी, ‘आज खाने कि नखाने ?’
‘खाने’ मेरो सट्टा ऊ बोली । मलाई खुसी लाग्यो । ऊ मेथोडिकल थिई । मैले सोच्दै नसोचेको काम उसले गरी, ‘बहिनीको नाम के नि ?’
‘यमुना । यमुना लामा । म त यहाँको होइन, सल्लेरीबाट आएको । यो मामाघर हो मेरो’ बहिनीले जवाफ दिई ।
हामी कोठामा सेटल भयौं । म अखबार पढ्न थालें, ‘नेपाल कव्जामा छ । नेपालमा राजनीति व्यक्ति केन्द्रित वन्दै गएको छ । राजनीतिक अस्थिरताले सार्वजनिक नीतिमा अवरोध सिर्जना गरेको छ । सेवा प्रवाह हुन सकेको छैन । आर्थिक सम्भावना खुम्चिएको छ । यसको फाइदा कथित सम्भ्रान्त वर्गले मात्रै उठाएका छन् ।’
अखबार बासी थियो । दुई साता पुरानो । तर, मेरा लागि सर्वथा नयाँ थियो । किनभने, मैले पढेकै थिइनँ । अखबारमा यो पनि लेखिएको थियो, ‘नेपाललाई निडर नागरिक आन्दोलनको खाँचो छ । त्यो तेस्रो नागरिक आन्दोलन हुनेछ । खाँचो त्यसैको छ ।’ 
बिस्तारै साँझ पर्‍यो । हलेसीबाट देखिए जति सम्पूर्ण आकाशमा एक प्रकारको अलग र अद्भुत चमक थियो । मलाई त लाग्यो पूरै भौगोलिक र प्राकृतिक वातावरण रूपान्तरित भएको छ । 
मैले उसलाई जिस्क्याएँ, ‘गौँथली, वाहिर आकाशमा हेर त ।’
ऊ कौसीमा निस्किई र भनी, ‘तिमीले आज फेरि मेरो नाम राख्यौ होइन ? म गौंथलीजस्ती काली छु ? भन त । भन न भन ।’ 
त्यसपछि आकाशतिर हेरेर रमाई र कविताको भाषामा बोली, ‘फूललाई सन्ताप लाग्यो भने वास्नाहरू पग्लिएर जान्छन् । मलाई सन्ताप लाग्यो भने के हुन्छ ? कहिल्यै सोचेका छौ ?’
मेरो जवाफ थियो, ‘त्यस्तो हुनै सक्दैन । तिमी त मेटाग्यालेक्सी हौ । सुन्दर आकाशगंगा । तिमी फूलको वास्ना होइनौ । न बिर्स कि हामी दुवै एउटै मिसनमा छौं ।’
मैले उसको पाखुरा समाएँ । पिठयुँतिर सुमसुम्याएँ । ऊ लजाई । उसको अनुहार पूरै रक्तिम भयो ।
हामी थाकेका थियौं । किचनबाट बोलाउनेबित्तिकै हामी डाइनिङतिर लाग्यौं । खाइसकेपछि उसलाई निद्रा लाग्यो । ऊ सुती । म त्यत्तिकै अलमलिँदै थिएँ फ्याबलेटसँग । कति बेला निदाएँ पत्तै भएन । मस्त निदाइयो भने सपना देखिन्न भन्छन् । तर, मस्त ननिदाएसम्म म सपना देख्न सक्दिनँ । सपनाले हलेसीमा पनि छाडेन । त्यहाँ बृहत् नागरिक आन्दोलनको तयारी थियो । त्यसको संयोजक म आफैं थिएँ र भीडलाई निर्देशित गर्दै थिएँ ।
म झल्याँस्स बिउँझिदा झलमल्ल घाम लागिसकेको थियो । ऊ बिछयौनामा थिइन । बाथरुममा पनि थिइन । कहाँ गई ? मलाई चिन्ता लाग्यो । ऊ मानसिक रोगी त होइन । तर, केही दिनदेखि मानसिक हिसाबले ऊ बिरामी थिई । बेलाबेलामा एउटै वाक्य दोहोर्‍याउँथी, ‘स्थायी त शिक्षक पनि हुन्छ, मजस्तै ।’ उसलाई शिक्षक हुनुको कुनै गर्वबोध थिएन, ‘शिक्षकले त शिक्षा दिन्छ । हामी के दिन्छौं ? हामी त शिक्षाको नाउँमा बालबालिकालाई आतंकित तुल्याउँछौं ।’
उसको बारेमा धेरै बेर चिन्ता गर्नु परेन । ऊ आइपुगी । मर्निङवाकको पहिरनमा । उसको निधारमा टलक्क पसिना टल्किरहेको थियो । अनुहारमा चमक थियो । हलेसीमा ऊ खुसी थिई ।
‘ओहो, तिमी मर्निङवाक गएकी ?’ मैले यसरी सोधें कि ऊ मर्निङवाक जान नसक्ने वा ऊ मर्निङवाक जानै नहुने प्राणी हो । ऊ केही बोलिन । मैले सोधें, ‘चिया खाने होइन ?’ मेरो वाक्य पूरा नहुँदै यमुना चिया लिएर पसी कोठामा ।
‘तिमीले मलाई गौंथली भनेर बोलाएनौं नि,’ यमुना बाहिरिएपछि उसले मलाई जिस्क्याई । म मख्ख परें ।
‘गौंथली, राम्रो लाग्यो नाम ? त्यसो भए, अवदेखि म तिमीलाई सधैं गौंथली भनेर बोलाउँछु हुन्न ?’
‘राम्रो छ नि गौंथली नाम...’ ऊ जवाफ दिंदादिंदै चुप लागी । उसले चिया बनाई । चियाको कप मेरो हातमा दिंदै भनी, ‘तिमीले मलाई गौंथली भनेको धेरैलाई मन नपर्ला ।’
ऊ के भन्न खोज्दै थिई मैले संकेतमा बुझें । ती घरायसी कारण थिए । नामले घरायसी भए पनि जंगलीजस्ता । निकै बेर म केही बोलिनँ । अनि भनें, ‘आमालाई त पक्कै मन पर्ला ।’ 
नुहाइ–धुवाइ सकेर हामी मन्दिरतिर लाग्यौं । मन्दिर अर्थात् गुफा । सिंढी लामै थियो । तल खाल्डो परेको जमिनमा दुई भाग छुट्टिएका थिए, एकापट्टि बुद्ध र अर्कोपट्टि हलेश्वर महादेव । बुध्द धर्मावलम्बीहरू विदेशी थिए जो आफ्नो दीर्घायुका लागि ईश्वर गुहार्न आएका थिए । उनीहरूले ईश्वरलाई चढाउन उपहारको थुप्रो ल्याएका थिए । अगरबत्ती र घ्यूको बत्तीको चाङ ।
उता, हलेश्वर महादेव भने बेलपत्र गनिरहेका थिए । उनका भक्तहरू बिरामी, लुरे–लाम्रे र गरिब थिए । अक्षता पनि मन फुकाएर चढाउन नसक्ने । हामी महादेवको सम्मुख पुगेपछि मैले उसको कानमा भनें, ‘भाकल नबिर्सनु । आमाको चित्त दुख्छ ।’
ऊ हाँसी र बिस्तारै मेरो कानमा भनी, ‘बिर्सिन्नँ । म आमाको चित्त दुख्न दिन्नँ । बुढियालाई सन्तान चाहिएको छ । त्यसका लागि म योग्य छु ।’
हलेश्वर महादेवको दर्शन सकेर हामी बाहिर निस्कियौं । बाहिर बत्ती बाल्ने ठाउँमा उसले एक मुठा बत्ती बाली । त्यसपछि हामी चिया पिउन त्यहींको एउटा चियापसल अगाडि उभियौं । 
केही स्थानीय मानिस हलेसी मन्दिरको चर्चा गर्दै थिए, ‘बाघवंशी किरात राजाले पारुहांग अर्थात् महादेवलाई मृगको वेशमा यहाँ भेटेको कुरा राम्ररी बाहिरै आउनै सकेको छैन । मैले त्यो हाम्रो पत्रकारलाई कति पटक लेख भनें । त्यसले लेख्नै जानेको रैनछ । यो मन्दिरलाई राम्रो बनाउने हो भने वरिपरि सय मिटरको घेरो बनाउनुपर्दछ । त्यसै यो ठाउँ बन्दैन ।’
केहीबेरपछि उनीहरू उठेर हिंडेपछि चियापसले बोले, ‘गफ त ठूलै हाँक्छन् । चियाको पैसा कहिल्यै तिर्दैनन् । कति सित्तैं सेवा गर्नु ?’
कौतूहलवश मैले सोधें, ‘को हुन् त उनीहरू ?’
चियापसलेले जवाफ दिए, ‘को हुनु हजुर । हारेका पार्टीका नेताहरू हुन् ।’
हामी त्यहाँ चिया पिएर तल ओर्लियौं । होटलमा आएपछि गौंथली छटपटाउन थाली । मैले सोधें, ‘के भो तिमीलाई ?’ उसले जवाफ दिइन । मैले बिस्तारै उसको टाउको सुमसुम्याएँ र भनें, ‘तिमी स्थायी शिक्षकबाट राजीनामा देऊ । म तिम्रो लागि अर्को कामको प्रबन्ध गर्छु ।’
मेरो कुरा सुनेर ऊ अचानक उठी र भनी, ‘साँच्चै हो ?’
उसको अनुहारमा अलिकति चमक र अलिकति शक्ति देखा पर्‍यो । मैले जवाफ दिएँ, ‘हो । तिमी स्थायी शिक्षक होइनौ भन्ने कुरासँग म सहमत भएँ ।’
उसले भनी, ‘हाम्रा स्कुलहरू एकदमै असामाजिक र अराजक भएका छन् । हाम्रो विकास फेसबुकको व्यक्तिगत पोस्टजस्तो भएको छ । के म यसलाई बदल्न सकुँला ? सक्दिनँ । त्यसैले म यो स्थायी शिक्षकको पद ओगट्न पनि सक्दिनँ ।’
मैले ठट्टा गरें, ‘अहिले त हामी होटल छोड्दै छौं । कटारी पुग्नुअघि एक ठाउँमा मोटर बदलौंला । कटारी पुगेपछि मोटर नै बदलौंला । बाँकी के–के बदल्न सकिन्छ त्यो घर पुगेपछि सल्लाह गरौंला । हुन्न ?’
ऊ हाँसी । ऊ हाँसेको मलाई मन पर्छ । उसलाई यो थाहा छ । ऊ भन्छे, ‘हाम्रा जनता पनि जनता नै छन् । खालि कम्प्लेन गर्छन्, एक्सन लिंदैनन् ।’
म त्यो समाचार सम्झिन्छु । देशलाई निडर नागरिक आन्दोलनको खाँचो छ । तर देश डरैडरको साम्राज्य बनेको छ । डरैडरको यो खतरनाक भुमरीलाई कसले चिर्ने ? जनताले कम्प्लेन नगरेर एक्सन लिन थाले भने राज्यव्यवस्था चरमराउँदैन ?
गौंथली भन्छे, ‘हो । तिमीले भनेको सही हो ।’
त्यसो भए म आजदेखि तिमीलाई गौंथली भन्छु है ? ऊ हाँस्छे । म रमाउँछु ।

प्रकाशित : माघ ८, २०७३ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?