फूलै संसार !

किरण पाण्डे

फूलको घर, मयूर, विमान, पानीजहाज, पुतली अनि चराहरू । यस्तै–यस्तै अरू धेरै मन हर्ने चीजहरू । यी सबै आकृतिलाई ढकमक्क ढाकेका रंगीचंगी फूलले जीवन दिएका छन्, दुबईको मिराकल गार्डेनभित्र ।

दुबई ल्यान्ड डिस्ट्रिकस्थित ७२ हजार स्क्वायर मिटरमा फैलिएको गार्डेनमा साढे ४ करोड फूलहरू छन्, जसले यहाँको संसारलाई मनमोहन बनाएको छ । अग्ला घर, फराकिलो सडक र खचाखच गाडीले भरिने दुबई आफैं पनि मरुभूमिको बीचमा अवस्थित छ । त्यसैले मरुद्यान जस्तै छ यो गार्डेन । अक्टोबरदेखि अप्रिलसम्म खुला रहने यो बगैंचा बाँकी महिना भने अध्यधिक तापक्रमका कारण बन्द हुन्छ ।
२०१३ भ्यालेन्टाइन डेका दिन उद्घाटन गरिएको गार्डेनको अधिकांश द्वार मुटु आकारका छन् । यहाँ छिर्न ४० दिराम अर्थात् करिब एक हजार दुई नेपाली रुपैयाँ शुल्क लाग्छ ।

यो बगैंचामा फूलमा हाल्न मात्रै दैनिक सात लाख ५७ हजार लिटर पानी चाहिन्छ । यसका लागि सहरमा खेर गएका पानी संकलन गरिन्छ । बगैंचामा हालिएको पानी पुन: प्रयोग गर्ने गरी प्रणाली तयार पारिएको छ ।


Yamaha

Esewa Pasal

प्रकाशित : माघ ८, २०७३ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

असुरक्षित !

दिनेश यादव

इन्टरनेटको यो युगमा धेरैले आफ्नो दिनचर्याको अभिन्न अंग कम्प्युटर, ल्यापटप, टयाबलेट, फयाबलेट र आईफोनसहित स्मार्टफोनलाई बनाएका छन् ।

यी वैज्ञानिक आविष्कारबिना धेरैको दैनिकी अस्तव्यस्त र सुस्त हुने अवस्था छ । मनोरञ्जनदेखि जानकारीसम्म र पठनपाठनदेखि मनभित्रका उकुसमुकुस उजागर गर्नसम्मका लागि इन्टरनेट प्रयोग गर्नेहरू धेरै छन् । अझ फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जालमा मानिस यति अभ्यस्थ हुँदै गएका छन् कि उनीहरू सानातिना विषयहरूको जानकारी लिन वा दिनसमेत यसको प्रयोग गर्छन् । भनिन्छ, अति सर्वत्र वर्जते अर्थात् बेलगाम कुनै पनि कुराको अति प्रयोगले क्षतिसमेत गर्छ । विज्ञानका आविष्कारहरू मानवलाई जाति सजिलो बनाएको छ, नकारात्मक पक्ष र असरहरू पनि उत्तिकै छन् । केही मानिस त इन्टरनेटमा यसरी घोत्लिने गरेका छन् कि मानौं ऊ यसका दुव्र्यसनी हो । यो आलेख मानिसका प्रभावित दिनचर्याबारेमा केन्द्रित नभई बिनालगामको फराकिलो बन्दै गएको इन्टरनेटको सुरक्षामा केन्द्रित छ । 

इन्टरनेटको अनियन्त्रित व्यापकताले चुनौतीसँगै विश्व समुदायको चिन्ता पनि बढाएको छ । अध्ययनहरूले विश्वका कुनै पनि कम्प्युटर सुरक्षित नरहेको देखाएको छ । अंग्रेजी महिनाको नयाँ वर्ष २०१७ को शुभकामना मन्तव्यमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनले पनि यसको थोरबहुत पुष्टि गरिदिएको छ । उनले भनेका थिए, ‘विश्वका कुनै पनि कम्प्युटर सुरक्षाको दृष्टिले सुरक्षित छैन ।’ भलै, उनी इमेल या कम्प्युटरको प्रयोग कमै गर्छन् । अमेरिकीहरूलाई सम्बोधन गर्नुपर्‍यो भने ट्रम्पले सामाजिक सञ्जाल ‘ट्वीटर’ को उपयोग गर्ने गर्छन् । आफ्नो सम्बोधनका क्रममा उनले भनेका थिए, ‘तपाईंले आफ्नो कुनै महत्त्वपूर्ण तथ्य कसैलाई पठाउँदै हुनुहुन्छ भने पुराना प्रचलन ‘करियर सेवा’ उपयोग गर्नुहोस् । इन्टरनेट प्रयोग गर्दा मैले अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा यहाँका गुप्तचर संस्थाको चर्को आरोपको खेप्नुपर्‍यो ।’ गुप्तचर संस्थाले अमेरिकी निर्वाचन प्रक्रियामा रुसले ‘अवरोध’ सिर्जना गरेको आरोप उनीमाथि लगाएको थियो । त्यसको पुष्टि जनवरी ७ मा सम्प्रेषित ‘रोयटर्स’ को समाचार, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पका पक्षमा साइबर अभियान चलाएको’ ले पनि गर्छ । यसअघि अमेरिकी निवर्तमान राष्ट्रपति बाराक ओबामाले पनि रुसमाथि यस्तै आरोप लगाइसकेका छन् । बाराकले एक सम्बोधनमा भनेका थिए, ‘गुप्तचर संस्थाहरूको माध्यमबाट रुसले अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्ने प्रयास गरेको थियो ।’ जनवरी पहिलो साता अमेरिकी गुप्तचर संस्थाले सार्वजनिक गरेको रिपोर्टले ओबामाको आरोपलाई प्रमाणित गरिदिएको छ । त्यसैले उनले रुसी राजदूतलाई जनवरी २० सम्म मुलुक छाड्न समयावधि तोक्दै निर्देशन दिएका छन् । इन्टरनेट अर्थात् साइबर सेवा असुरक्षित रहेको बलियो प्रमाण योभन्दा अरू के हुन सक्ला ? विश्वकै सर्वाधिक शक्तिशाली मुलुक अमेरिकाको महत्त्वपूर्ण निर्वाचनलाई प्रभावित पार्ने हैसियतमा पुगेको इन्टरनेट बाँकी विश्वका लागि सुरक्षित छ भन्नु बेतुक कुरा हुन सक्छ । 
‘लाइभ ट्रेडिङ न्युज’ ले हालै इन्टरनेट मामिलाका जानकार पउल एबलिङ्गलाई उद्धृत गर्दै एउटा रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा अनलाइन संवादलाई सुरक्षाको दृष्टिले अति असुरक्षित भएको उल्लेख छ । इन्टरनेटले मानिसको काम गर्ने तौरतरिका, उत्पादन, व्यापार र उपभोगको शैलीलाई परिवर्तन गरिदिएको एउटा यथार्थ नै हो । अव्यवस्थित रूपमा विस्तार हुँदै गएको यसको क्षेत्रले डिजिटल प्रविधिलाई बढावा मिलेको छ । तर, यो वर्तमान कारोबारी र शासन–प्रशासन व्यवस्थाको मोडेलसम्मलाई परिवर्तन गर्ने हैसियतमा समेत पुगिसकेको छ । सञ्जालहरूमा भाइरल हुने जानकारी र फोटाहरू त्यसैको परिणाम हो । किनभने सबै क्षेत्र, तप्का, वर्ग र समुदायका मानिसको धारणामा यसले परिवर्तन गरिदिएको छ । स्मार्टफोन मार्फत उपयोग हुने इन्टरनेटको भने यसमा अहम् भूमिका छ । इन्टरनेटद्वारा सञ्चालित प्रविधि रूपान्तरणको चरणमा आज मानिस चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको छ । ई–बैंकिङ, ई–डकुमेन्टेसन, ई–बिजनेसलगायतका सेवा औद्योगिक क्रान्तिलाई सहयोग पुर्‍याएकै छ । यस्तो अवस्थामा इन्टरनेटको स्थिरतालाई बनाइराख्न र सकारात्मक रूपमा यसको व्यवस्थापन गर्नु सबैभन्दा चुनौतीको विषय बन्दै गएको छ । 
वास्तवमै, इन्टरनेटको केन्द्र मुख्य रूपमा तथ्यांक नै हो । ‘वल्र्ड इकोनमिक फोरम’ ले सार्वजनिक गरेको एक रिपोर्टमा ‘इन्टरनेटमाथि तथ्यांकको प्रवाह प्रतिवर्ष ४० प्रतिशत’ ले बढ्दै गएको र अबको तीन वर्षपछि (सन २०२० सम्म) यो ५० गुणासम्म बढ्ने उल्लेख छ । व्यापारिक प्रविधिहरूबारे विश्लेषण गर्ने संस्था ‘औरा एनालिटिक्स’ ले त विश्वको तथ्यांकको झन्डै ९० प्रतिशत हिस्सा विगत दुई/वर्षभित्रै यसले ओगटेको जनाएको छ । मोबाइलको प्रयोग बढेसँगै व्यक्तिगत तथ्यांक (पर्सनल डेटा) को आयतन पनि बढ्दो छ । विश्वको ५१ प्रतिशत इन्टरनेट प्रयोगकर्ता सिंगो एसियामै छन् । चीनमा मात्रै मोबाइल प्रयोगकर्ता १ दशमलव ३ अर्बको हाराहारीमा छन्, जबकि त्यहाँको जनसंख्या १ दशमलव ३६ अर्ब छ । भारतमा भने मोबाइल उपयोगकर्ताको संख्या ९१ करोड हाराहारी छ, त्यहाँको जनसंख्या १ दशमलव २५ अर्बभन्दा बढी छ । 
यति मात्रै होइन, औद्योगिक तथ्यांकहरूमा पनि इन्टरनेटको प्रयोग, उपयोग र प्रवाह बढ्दो छ । बिक्रेता र उद्योगहरूबारे विश्लेषण गर्ने विशेषज्ञ संस्था ‘गार्टनर’ ले ‘कार, भवन र विभिन्न एप्लायन्ससहित औद्योगिक उपकरणलाई मिलाएर झन्डै ४ दशमलव ९ अर्ब डिभाइस इन्टरनेटमा कनेक्टेड भइसकेको’ जनाएको छ । उक्त संस्थाले सन २०२० सम्म यसको क्षेत्र झनै बढ्ने लख काटेको छ । यसमा स्मार्ट मिटरदेखि सडक बत्तीलगायतका उपकरणहरूलाई समेत समावेश हुने उसले जनाएको छ । 
इन्टरनेटको व्यापकताले हामीलाई डिजिटल युगमा पुर्‍याएको छ । हाम्रा लागि ई–गभर्नमेन्ट र डिजिटल वालेटलगायतका सेवा दैनिक हिस्सा बन्दै गएका छन् । अझ भारतमा पछिल्लो समय नोटबन्दीपछि यसको व्यापकता बढ्दै गएको चर्चा दक्षिण एसियाली मुलुकहरूमा बहसको विषय बनेको छ । ‘क्यासलेस’ युगमा प्रवेश गरिरहेको वर्तमान समयमा इन्टरनेटका चुनौतीहरूको तत्काल समाधान नगरिए ठूलो संकट निम्तिने सम्भावनालाई नकार्न सकिन्न । फेरि, खुद्रा बैंकिङदेखि डिजिटल भुक्तानी प्रक्रियामा संवेदनशील तथ्यांकको संख्या पनि बढेकै छ, यसलाई सुरक्षित बनाउनतिर लाग्नैपर्ने देखिन्छ । चीन, भारत र नेपालमा एटीएमबाट रकम उठाएर ठगी गर्नेहरूको बिगबिगी बढेको समाचार आएको धेरै भएको छैन । यो क्रम जारी रहेकै छ । ‘दी फाइनेन्सियल एक्सप्रेस’ ले हालै एउटा रिपोर्टमा डिजिटलाइजेसनले सरोकारवालालाई आफ्नो संस्था/संगठनहरूको विस्तार गर्न र इनोभेसन (नयाँ सोचसहित) बाटोमा अगाडि बढ्ने अवसर दिएको छ, तर विश्वमा एक विशेष खालका सुरक्षाको नियामक बनाउनुपर्नेमा जोड दिइएको छ । उक्त रिपोर्टमा झन्डै ७१ प्रतिशत ‘बिजनेस लिडर्स’ ले साइबर सुरक्षाका लागि आफ्नो संस्था/संगठनमा व्यापक इनोभेसनको प्रक्रिया अपनाउन पनि भनिएको छ । यसका लागि एउटा बलियो साइबर सुरक्षा फाउन्डेसन अति आवश्यक भएको औंल्याइएको छ । 
इन्टरनेट कनेक्टिभिटी गतिमा दक्षिण कोरिया विश्वकै एक नम्बर मुलुक हो । ‘वल्र्ड इकोनोमिक फोरम’ का अनुसार दक्षिण कोरियाको ‘कनेक्सन स्पिड’ प्रतिसेकेन्ड २६ दशमलव ३ मेगाबाइट्स छ । त्यसपछि हङकङ २० दशमलव १, नर्वे २०, स्विडेन १९ दशमलव ७, स्विजरल्यान्ड १८ दशमलव ४, सिंगापुर १८ दशमलव २, जापान १८, फिनल्यान्ड १७ दशमलव ३, नेदरल्यान्ड १७ दशमलव ३ र लात्भिया १६ दशमलव ९ मेगाबाइट्स छ । यसैगरी दक्षिण एसियाली मुलुकहरू श्रीलंकाको ६, भारतको ४ दशमलव १ र चीनको ५ दशमलव ७ एमबीपीएस छ । प्रयोगकर्ता बढेसँगै इन्टरनेट कनेक्टिभिटी गति पनि त्यही अनुपातमा वृद्धि भइरहेको छ । यसैगरी हयाकर र कन्टेन्ट चोरी गर्नेहरूसमेत बढेका छन् । नियन्त्रण गर्न प्रयास गरिनुपर्छ । आतंकवाद, अतिवाद, हिंसा, गालीगलौज, व्यक्तिगत अपमान र अपराधमा वृद्धि हुने प्रवृत्तिलाई रोक्नैपर्छ । साइबर क्राइम केही समययता बढेको अनुभूति धेरैलाई भएको छ ।
(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : माघ ८, २०७३ ०९:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT