कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पहिलो किताब

केशव दाहाल

मैले परिवारका सबै सदस्यहरूलाई वरिपरि राखेर सुनाए, ‘म किताब लेख्दै छु ।’ खासमा म यो खबर विशेष उत्सवमा सुनाउन चाहन्थें ।

पहिलो किताब

जस्तो कि साँझको समय होस । आकाशमा ताराहरू हुन् । जूनको छहारीमा बस्नका लागी सुन्दर बगैंचा होस् । बगैंचाको ठीक पश्चिमपट्टि सुमद्र होस् र त्यसमाथि कावा खाँदै उडेका मलेवाहरू हुन् । हामी ठीक त्यही बिन्दुमा हौं कि जहाँ आकाश र धर्तीको मिलन होस् । त्यो ठाउँमा म, मेरो परिवार, प्रिय मान्छेहरू र साथीसंगीहरूबीच भन्न पाऊँ ‘म किताब लेख्दै छु’ । मेरो यो घोषणासँगै पर कतैबाट संगीतको लहर चलोस् । म आकाश र धर्तीका सबै देवताहरूलाई यो कुरा सुनाउन चाहन्थें । म ‘रोमान्टिक’ क्षण चाहन्थें । म भन्न चाहन्थें किताब लेख्नु कुनै चानचुने कुरा होइन । तर त्यस्तो भएन । बिनाकुनै उत्सव, एक साधारण बिहान मैले मेरो परिवारलाई यो खबर दिए । त्यो क्षण म अधैर्य र चञ्चल थिए सायद, त्यसैले बिस्तारै बोले । मेरा शब्दहरू मन्दमन्द निस्किए । मानौं कि लेकाली पाखाहरूमा शीतको थोपा झर्दै छ । मानौं कि म भेडा गोठालाहरूको बीचमा छु र कुनै हिमाली देवताको रहस्य खोल्दै छु । मैले यति अकस्मात आफ्नो कुरा भनें कि त्यसलाई सुन्न छोराले सबैलाई चुप लाग्न इसारा गर्‍यो । जब सबै शान्त बने अनि मात्र मलाई आफूले सुनाएको खबरमा विश्वास भयो । मैले मनको चञ्चलतालाई नियन्त्रण गर्दै एक्कासि महान् गम्भीरता धारण गरें । म आफूलाई किताबजस्तै गह्रुङ्गो बनाउन चाहन्थें । यो ०७१ पुस २३ गतेको कुरा हो ।

पछिल्लो महिनादेखि मेरो मनमा केही प्रश्नहरू थिए । जस्तो कि यो धर्तीको पहिलो किताब कुन होला ? संसारमा आजसम्म कति किताब छापिए होलान् ? यो पक्का छ मेरो किताब अन्तिम हुनेछैन । त्यसो भए भविष्यमा अझै कति किताबहरू लेखिएलान् ? म कहिलेकाहीं कफी टेबलमा आफ्ना प्रियजनहरूसँग यस्ता प्रश्नहरू सोध्ने गर्छु । आज भने मेरो छोरा थियो मसँग । ऊ निकै चाख दिएर मेरो कुरा सुन्दै थियो । मेरा प्रश्नहरू सुनेर उसले थप प्रश्नहरू सिर्जना गर्‍यो । पहिलो किताब लेख्ने मान्छे को होला ? उसले सबैभन्दा पहिले कुन–कुन अक्षरहरू जोडेर के कस्तो शब्द बनायो होला ? उसको किताब पढ्ने पहिलो पाठक को थियो होला ? प्रेमिका कि आमा ? कतै किताब लेखेबापत उसलाई जेल पो हालियो कि । हुन सक्छ, सुलीमा पो चढाइयो कि । त्यसो त सोच्नका लागि अरू पनि प्रश्नहरू छन् । तर हामी बाबुछोरा भने चिन्दै नचिनेको आदिम लेखकको सम्झनामा त्यो दिन चिया पिउँदै थियौं । हामी त्यो मान्छेलाई सम्झिँदै थियौं जसको न त हामीलाई नाम थाहा छ, न अनुहार, न रंग, न त जात नै । हामीलाई यति थाहा छ ऊ महान् थियो, जसले पहिलो किताब लेख्यो । 
मैले ती पुराना मान्छेहरूको आकृति मनमा बनाउन खाजें । तर उनीहरूको अनुहारलाई मैले कुनै आकार दिन र स्थिर राख्न सकिनँ । ती मान्छेहरू जसले अक्षरको रचना गरे, शब्दहरू बाँध्न सिकाए, वाक्यहरूको गठन गरे र सुन्दर किताबहरू बनाए । उनीहरूको अक्षर हाम्रो दिमागमा छ तर अनुहार छैन । कति भयंकर कुरा हो यो । कहिलेकाहीं मलाई लाग्छ इतिहास भयंकर गुफाजस्तै हो, रहस्य र रोमान्सको । मानौं गौंडागौंडामा उभिएका राक्षसहरूलाई मारेर लोककथाको नायक खजानातिर लम्कँदै छ । खजाना भनेका किताबहरू हुन् । आज हामी हिजोका किताबहरू पढ्दै छौं । भोलि हाम्रा किताबहरू अरूले नै पढ्लान् । तर भोलि हाम्रा किताब पढ्नेहरूले हामीलाई कसरी सम्झिन्छन् होला ? मानौं कि अबको लाख वर्षपछि के उनीहरूले आजका लेखकहरूका रहस्य, रेखा र आँखालाई चिन्लान् ? कहिलेकाहीं लाग्छ, कतै महाप्रलय भएर हाम्रा किताबहरूको सम्पूर्ण अस्तित्व नै सकिने त हैन । 
अघिल्ला वर्षहरूमा मलाई किताबको इतिहास जान्ने तीव्र लालसा थियो । एक दिन छोरालाई भनें, ‘छोरा किताबको इतिहास खोज र मलाई सुनाऊ । तिमी सरासर पुरानो ग्रीस, रोमतिर जाऊ र त्यहाँको बालुवामा हेर ।’ उसले केही भनेन । सायद छोरालाई लग्यो होला ‘सठियागेले’ । जे होस् यो विषयमा छोरो तथ्यहरूमा बोल्न चाहन्थ्यो, म भने भावनामा किताबको कुरा गर्दै थिएँ । एक दिन छोराले सुनायो, ‘सुरुमा किताबहरू लेख्नु सजिलो थिएन । मान्छेहरूसँग कागज पनि थिएन, छापाखाना पनि । त्यस्तो बेला या त कुराहरू कण्ठ गर्नुपथ्र्यो अथवा माटोमा लेख्नुपथ्र्यो’ । निश्चय नै ठूलाठूला काठमा फलेकहरू बनाउनु र माटो राखेर अक्षरहरू लेख्नु कति अप्ठयारो हुन्थ्यो होला । काठका मोठा पन्नाहरू र माटोका अक्षरहरूको किताब । सायद एउटा किताबलाई फिँजाउँदा सहरजत्रो विशाल बन्थ्यो होला । मान्छेले मैन, पात, हड्डी, बोक्रा, बाँसका खपटाहरूमा शब्दहरू लेखेको कुरा मलाई पनि थाहा छ । तर सोच्न मन लाग्छ कतै किताबहरू भगवान्को आशीर्वाद त होइनन् । मानौं सबैभन्दा पहिलो लेखकले भगवान्को आराधना गर्‍यो होला । जसबाट खुसी भएर आकाशका देवताहरूले अक्षरको वर्षा गरे हुन् । अथवा स्वर्गबाट परीहरू धर्तीमा आएर सुटुक्क अक्षरको रूपमा किताबमा बसेका पो हुन् कि । सायद जतिखेर इतिहास नै जन्मिएको थिएन त्यतिखेरै अक्षर, शब्द, वाक्य र भावनाहरू थिए । त्यसैले भन्न मन लाग्छ अक्षरहरू इतिहासभन्दा माथि छन् । लेखकहरू इतिहासका पनि इतिहास हुन् । 
किताब लेख्न सुरु गरेको चार महिनापछि मैले उनलाई भेटें । उनी अर्थात् मेरी माधवी । जसलाई मैले मदनमणिको माधवीमा भेटेको हुँ । मैले पहिले नै भनेको छु म उनलाई प्रेम गर्छु । एक दिन म, मेरी श्रीमती र माधवी सँगै थियौं । माधवीले सोधिन्, ‘किताब कति लेख्यौ ?’ भन्नुपर्दैन, मेरी श्रीमती र माधवीको सम्बन्ध आफैंमा ‘इगोलेस’ छ । पूरापूर ‘स्पिरिच्युअल’ । माधवीले भनिन्, ‘उपन्यास लेख, त्यो तिमीलाई सुहाउँछ ।’ मेरी श्रीमती मैले राजनीति लेखेकोमा बेखुसी छैनन् । यसरी त्यो दिन फेरि सुरु भयो शब्दसंवाद । मैले मेरा दुई महान् महिलाहरूलाई सोधें मान्छेले सबैभन्दा पहिले के–के लेख्यो होला ? माधवीले भनिन् ‘सायद मान्छेले हावामा अक्षरहरू लेख्यो होला । अथवा माटोमा पनि हुन सक्छ । मसिनो बालुवामा अक्षरहरू लेख्नु, त्यसलाई फेरि मेट्नु, फेरि लेख्नु, शब्दहरू मिलाउनु र मिलाइरहनु ऊर्जा र सामथ्र्यको काम हो । म त भन्छु मान्छेले सबैभन्दा पहिले ‘केशव’ लेख्यो होला । किनभने त्यो मलाई मन पर्ने नाम हो ।’ मेरी श्रीमतीको कुरा अलिक फरक छ । उनी असल आमा हुन् । त्यसैले भन्छिन्, ‘मान्छेले आमाको छातीमा साना औंलाहरू चलाउँदै अक्षर लेख्न सिक्यो । उसले लेखेको पहिलो शब्द सायद आमा हो ।’ यो विषयमा मेरो छोराको कुरा अर्कै छ । ऊ भन्छ, ‘मान्छेले पानीमा अक्षरहरू लेख्न सुरु गरेको हो । सुन्दर युवा र युवतीका हातले पानीमा प्रेमका कविताहरू लेख्दै र मेट्दै किताबहरूको सृष्टि भएको हुनुपर्छ ।’ 
मेरो एक जना साथी छ आर्मीको कर्णेल, ऊ भन्छ ‘सबैभन्दा पहिले मान्छेले आफ्नै शासकहरूको नाम लेख्यो होला । त्यो युद्धभूमिमा हुनुपर्छ ।’ उसको तर्क छ, ‘त्यसैले त शब्दहरूको इतिहासमा शासकहरू सबैभन्दा अम्मर छन् ।’ मेरा एक जना गुरु छन् । जसले मलाई गायत्री मन्त्र सुनाए । उनी भन्छन्, ‘किताबको पहिलो अक्षर ईश्वरको नाममा समर्पित छ बाबु । यो हिमालय पर्वतमालाको पवित्र माटोमा लेखिएको हो । ईश्वर नै शब्दसंसारको मालिक हो ।’ अहंकारी मान्छेहरू भन्छन् मान्छेले लेखेको पहिलो अक्षर म हो । उसले यसलाई तरबारले लेखेको हो । मेरा महिला मित्रहरू भन्छन् आमा मान्छेले रचना गरेको पहिलो ‘शब्द’ हो । हामी पुरुषहरूको एउटा दोष यो छ कि हामी बाबु हुनुको कतै पनि दाबी गर्न सक्दैनौं । अन्यथा कुनै पुरुषले भन्नुपर्ने हो संसारमा सबैभन्दा पहिले लेखिएको शब्द ‘बुबा’ हो । 
०००

गत असोजमा हाम्रो सानो पारिवारिक भेटघाट थियो । त्यो भेटमा भने मसँग तीन उत्कृष्ट महिलाहरू थिए मेरी आमा, मेरी श्रीमती र माधवी । मैले पुरानो शब्दसंवादलाई निरन्तरता दिन चाहें । मेरो प्रश्न थियो— नेपालमा सबैभन्दा पहिलो किताब पढ्ने को थिए होलान् ? उनले कुन किताब पढे होलान् ? यो विषयमा हामी तीन जना कसैसँग पनि कुनै तथ्य थिएन । जब तथ्यहरू हुँदैनन् त्यहींबाट कल्पनाको राजमार्ग सुरु हुन्छ । अत: मैले मेरो कल्पना सुनाएँ कि नेपालको पहिलो पुस्तक पढ्ने कुनै आर्यपुत्र हुनुपर्छ । ऊ सायद कोसीको किनारमा बसेर किताब पढ्थ्यो होला । मोटो किताब । मृगचर्मको गाता भएको । त्यो पुरुषको नजिकै मृगहरूको चरन थियो होला र छेउमा उसकी सुम्निमा हुनुपर्छ । मेरो कल्पनामा बीपी कोइराला र सुम्निमा पो आए । 
त्यही दिन माधवीले सोधिन्, ‘तिमीले सबैभन्दा पहिले के बोल्यौ, के लेख्यौ र के पढ्यौ ?’ आमाले भन्नुभयो मैले सबैभन्दा पहिले बोलेको शब्द ‘आमा’ हो रे । यो झन्डै ४५ वर्षअगाडिको कुरा हो । तर बुबा भन्नुहुन्थ्यो मैले लेखेको पहिलो अक्षर ‘म’ हो । त्यसैले मान्छेहरू भन्छन् ‘म घमण्डी छु ।’ मेरी छोरी भन्छे कि आफ्नो ‘म’ प्रति सबैले गौरव गर्नुपर्छ । त्यो घमण्ड होइन, आफू हुनुको अनुभूति हो । कहिलेकाहीं खास्सा कुरा गर्छे मेरी छोरी ।
मैले आफ्नो अक्षरसँगको पहिलो सत्संग सम्झिएँ । त्यो श्रीपञ्चमीको दिन थियो । हाम्रो घरको पश्चिम उत्तरमा मकालु हिमाल पथ्र्याे । त्यही हिमालको ठीक काखमा घरको पश्चिमतिर ठूलो दुधिलाको रूख थियो । म ४ वर्षको हुँदो हुँ । मैले दौरा र सुरुवाल लगाएको थिएँ । दौराको बाउलामा सिँगान कट्कटिएको थियो र नाकका दुवै प्वालबाट पानीको मैलो समुद्र बग्थ्यो । मेरो हातमा सानो घाउ थियो र म घाउ हेरिरहन्थें । त्यो दिन बिहानै हामी उठयौं । आमाले सानो पाटीलाई बेट्रीको कालो दलेर चम्किलो पारिदिनुभयो । मैले खरी–पाटीलाई पूजा गरें । त्यो बेला बुबाले स्वर मिलाएर सरस्वतीको मन्त्र उच्चारण गरेको अझै मलाई याद छ । दिउँसो बुबा गुन्द्रीमा बसेर चोया काड्दै हुनुहुन्थ्यो । उहाँ बेला–बेला मलाई पाटीमा क ख ग लेख्न सिकाउनुहुन्थ्यो । साँझसम्म म पाटीमा क, ख, ग लेख्दै गएँ । यी सबै लेखिरहँदा मलाई पटक्कै मजा आइरहेको थिएन । जब म ‘म’ मा पुगें त्यो अक्षर मैले बहुत सुन्दर ढंगले लेखें । यसरी मेरो म जाग्रित भयो । 
बुबा भन्नुहुन्थ्यो, ‘म पाटीमा राम्रो चित्र बनाउँथें ।’ प्राय: म बलियो घोडाको चित्र कोर्थें । मेरो गाउँमा कसैको पनि घोडा थिएन । तर त्यस्तो चित्र बनाउन मैले कसरी सिकें, बुबालाई पनि थाहा छैन । हाँसमाथि बसेकी, सेतो साडी, सोतो ब्लाउज र किताब बोकेकी सरस्वती माता मेरो लागि आमाजस्तै प्रिय थिइन् । उनको तस्बिर हेर्न र प्राथर्ना गर्न मलाई मजा लाग्थ्यो । यद्यापि मैले पढेको पहिलो किताब कुन हो सम्झना छैन । सायद त्यो मधुमालतीको कथा, बुलबुल चरीको कथा, चण्डी, रामायण, कृष्णचरित्र यस्तै केही हुनुपर्छ । जसलाई पढ्न र सुन्न आमा खुबै मन पराउनुहुन्थ्यो । आमा भन्नुहुन्थ्यो किताबमा कथा हुन्छ । कथामा जीवन हुन्छ । यसैले कथा र जीवन कुन सत्य हो आज पनि बेला मौका म अलमलमा हुन्छु ।
०००
किताबका बारेका केही अनौठा सत्यहरू रहेछन् । जसलाई मैले १२ वर्षको हुँदा मात्र थाहा पाएँ । हाम्रो घरमा एक जना भूमिगत नेता पाहुना आएका थिए । म ठूलठूलो स्वरमा चिच्याएर इतिहासको कुनै पाठ पढ्दै थिएँ । उनले भने— त्यो इतिहास नै गलत छ । यो ०३९ साल तिरको कुरा हो । त्यही दिन मैले थाहा पाएँ किताबमा लेखेको सबै सत्य हुँदैन । किताब हामीजस्तै मान्छेले लेख्ने हो । त्यसपछि मलाई लाग्यो म पनि किताब लेख्छु, छाप्छु र बाँड्छु । समयक्रममा किताब लेख्ने, पैसा हालेर छाप्ने र भिडाउनेहरू भेट्न थालें । त्यसपछि किताब लेख्ने, सरकारी प्रकाशकको चाकडी गर्ने र छाप्नेहरू पनि देखें । निकै पछि मात्र मैले किताबको पाठक, बजार र अर्थराजनीतिको भेउ पाएँ । अहिले सुन्छु किताब लेखेर मान्छेहरू करोडौं कमाउँछन् रे । यस्तो सुन्दा मेरो मन पनि त्यसै–त्यसै बतासिएर उड्न पो थाल्छ, आकाशमा । 
यो ०७३ पुस २३ गतेको कुरा हो । दुई वर्षअगाडि सगर्व किताब लेख्ने घोषणा गरेथें । आज किताब छाप्ने घोषणा गर्दै छु । रोचक कुरा अक्षर लेख्न थालेको ४१ वर्षपछि मेरो पहिलो किताब छापिँदै छ । सुरुमा मलाई लागेको थियो मेरो पहिलो किताब त उपन्यास नै हुनुपर्छ । तर परिस्थितिले राजनीतिक विषयमा लेख्न प्रेरित गर्‍यो । माधवी भन्छिन्, ‘यो उपन्यासजस्तै छ ।’ उनी मेरो किताबकी पहिलो पाठक हुन् । मैले किताबको नाम दिएको छु, ‘नेपाली राजनीतिको पुनर्गठन’ । खासमा यसको शुद्ध नाम पुनर्गठन मात्र हो । सुरुमा यसको नाम ‘विनिर्माण’ राख्ने मेरो योजना थियो । म ज्याक डेरिडाको पाठक जो परें । तर मित्र डम्बर खतिवडा र डा. बाबुराम भट्टराईले किताबलाई धेरै क्लिष्ट नबनाउन सल्लाह दिए । किताबको डिजाइन गरिरहँदा टाइम्स क्रिएसनका मित्र सुन्दर बस्नेतले नाममा निकै गनगन गरे । उनी कुनै उपन्यासको जस्तै नाम चाहन्थें । तर मैले यही नामलाई उपयुक्त ठानें । जसलाई सही थप्दै सांग्रिला बुक्सका मित्र मणि शर्माले भने, ‘यो ठीक छ दाइ । यो पुस्तकका लागि अर्को कुनै उपयुक्त नाम छैन ।’
आफूले पहिलो अक्षर लेखेको एकचालीस वर्षपछि किताब लेख्नु कति भयंकर अनुभव होला । सायद योभन्दा छिटो लेख्नु मेरा लागि हतार हुन्थ्यो र योभन्दा ढिला गर्नु पनि सारै लोसे पारा हुन सक्थ्यो । त्यसैले मैले यही समयलाई छनोट गरें । यो मेरो लागि सबैभन्दा उपयुक्त समय हो । अहिले म माघ १६ गतेको व्यग्र प्रतीक्षामा छु । मानौं कि त्यो दिन मेरो आफ्नो सूर्य उदाउँदै छ । 

प्रकाशित : माघ ८, २०७३ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?