१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्लाइमेक्स अर्थात् नयाँ सुरुआत

पटक–पटकका केटी देखाउने/हेर्ने कार्यक्रम भएपछि उही बाचाल अर्थात् ‘गुगल सर्च इन्जिन’ सँग मेरो विवाह लगभग पक्का भयो । अब कुरो मिलिसकेपछि ‘शुभकार्यमा किन ढिलाइ’ भन्दै एक हप्तापछि नै बिहे छिन्ने दिन तय गरियो ।

क्लाइमेक्स अर्थात् नयाँ सुरुआत

अब मेरो मोबाइल फोन धेरैजसो व्यस्त हुन थाल्यो त्यो पनि लगातार एउटै नम्बरबाट आउने फोनले । 

बिहे हुने नै निश्चित भइसकेपछि आफूलाई मानसिक रूपमा तयार पार्न सक्दो कोसिस गर्न थालेँ । विगतलाई विगतमा नै छोडिदिनु थियो । महेन्द्ररत्न क्याम्पस ताहाचलमा भेटिएको श्याम वर्णको त्यो चञ्चल अनुहार बिस्तारै बिर्सनु थियो । बिर्सन नसके पनि कमसेकम त्यसलाई विगतमा सीमित गर्नु थियो । उसबाट पाएका सबै उपहारहरूलाई जम्मा गरें । मायाले सुम्सुम्याउन मन थियो, अँगालोमा लुकाउन मन थियो । अन्तिम पटक भए पनि एक एक सबैलाई हेर्दै ती दिनहरू ‘रिकल’ गर्न मन थियो । तर केही दिनमा नै हुन लागेको ‘इन्गेजमेन्ट’ र त्यसको लगत्तै हुने बिहेले ‘नोस्टाल्जिक’ हुँदै गरेको मनलाई रोक्न बाध्य गरायो । हतार–हतार सबै उपहारलाई एउटै पोको बनाएर गोठमाथिको पुराना सामानहरू थन्क्याउने कोठामा हुर्‍याइदिएँ । त्यो कोठा सायद यस्तै प्रयोजनका लागि उपयोगमा थियो । जुन कुरा न प्रयोजनमा आउँछ न फाल्न सकिन्छ यस्तै चीजबीजले भरिएको थियो त्यो कोठा । र, विगतका ती प्रेमिल उपहारहरू यसै कोठामा हुर्‍याएको थिएँ मैले । कति निष्ठुर है म ? तर बाध्य थिएँ । मैले बाँचेको समाज र मेरो अन्तरंग मनबीच कुनै तादात्म्य थिएन । मेरा भावनाहरू परिवार, समाज र संस्कारको नाममा बलि चढिसकेका थिए ।
साटिएका उपहारहरू कुनातिर हुर्‍याए पनि हृदयको केन्द्रबाट उसले टसमस गरेको थिएन । मन अपराध वोध र ग्लानिले भारी भएको थियो । यस्तैमा उसले फेसबुकमा पठाएको म्यासेजले मन भारी बनाइदियो । ‘छिट्टै सुरु हुने वैवाहिक जीवनको शुभकामना’ को साथमा लेखेको थियो ‘अल्पायुमै दिवंगत हाम्रो प्रेमलाई श्रद्धाञ्जलि !’ र अझ अन्त्यमा लेखिएको थियो ‘मेरो प्रेमले तिम्रा आगामी दिनमा कहिल्यै नपोलोस् !’ खै बुझ्नै सकिनँ यो शुभेच्छा थियो या श्राप ! प्रेमिकाको अर्को कसैसँग बिहेको कुरा चल्दैमा प्रेमको श्रद्धाञ्जलि (!) त्यो कस्तो प्रेममा थिएँ म ? त्यसो त प्रेमिकाको अर्कैसँग बिहे हुने कुरा चल्दा उसका मनमा कस्ता कुरा खेलिरहेको होला, म अनुमानसम्म गर्न सक्थें । ऊ पनि यही समाजको थियो, उसले पनि त मेरो बाध्यता बुझ्न सक्थ्यो । जे होस् परिस्थिति मेरो बसमा थिएन । कमसेकम ममा विद्रोह गर्ने आँट थिएन । केही समय निरुत्तर रहें र फेसबुकबाट उसलाई ‘अनफ्रेन्ड’ गरिदिएँ ।
प्रेम के हो ? मलाई थाहा थिएन/छैन । स्कुले जीवनका पछिल्ला दिनहरूमा कुनै केटालाई देख्दा हुने कुतकुतीलाई नै प्रेम सोच्थें । कलेजका सुरुवाती दिनहरूमा तिनै ‘कुतकुती’ मा भ्यालेन्टाइन्स डे, केही थान उपहार, कलेज बंक र मुभी यस्तै–यस्तै कुरा थपिएका थिए प्रेमको परिभाषामा । पछिल्ला दिनहरूमा थोरै गम्भीरता र अलि–अलि भविष्यका योजनाहरू पनि प्रेममा पर्थे । तर म जुन सामाजिक र पारिवारिक संरचनामा हुर्किएको थिएँ, माथिका मेरा प्रेमका परिभाषा वर्जितजस्तै थिए । ती सब उच्छृंखल र अनुशासनहीन गतिविधिमा पर्थे । परिवारको इज्जत फाल्ने वा जोगाउने सीमारेखा प्रेम गर्नु वा नगर्नुले निर्धारण गथ्र्यो । त्यसैले उमेरजन्य भावनासँगै विकसित भएका सम्बन्धहरूलाई बिर्सिएर परिवार र समाजले कोरिदिएको लक्ष्मणरेखाभित्र सीमित हुनु नै इज्जत जोगाउनु थियो सायद । 
‘...दिवंगत प्रेमको श्रद्धाञ्जलि’ म्यासेजसँगै वर्तमानबारे निर्णय गर्न केही सहज पनि भएको थियो । घटनाक्रमहरू केही असहज लागे पनि स्वाभाविक तुल्याउनैपथ्र्यो । भन्दाभन्दै इन्गेजमेन्टको दिन पनि आइपुग्यो । किनमेल सकिसकिएको थियो । पहिलेदेखि नै सुरु भएको तयारीले अन्तिम रूप लिँदै थियो । तयारीमा कुनै खोट नदेखियोस् भनेर सबै लागिपरेका थिए । बिहान १० बजेर २५ मिनेटको साइत आइपुग्न अब १० मिनेट पनि थिएन । तयारीको चटारो सकाएर सबै जना बाटोतिर आँखा लगाउँदै थिए । भनिएको समयसम्म पनि कोही नआइपुग्दा सबैको मन हतास थियो । 
फोन गर न एक पटक ! दाइले भन्यो । गर्दिनँ, मैले झर्को मानेजस्तो गरें । तर किन–किन मेरो पनि मन बेचैन थियो । ९८५१०... नम्बर डायल गरें । ‘तपाईंले सम्पर्क गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन’ एउटा उराठलाग्दो स्वरमा उत्तर आयो । र, यो क्रम पटक–पटक दोहोरिरह्यो । अरू सम्बन्धित नम्बरमा पनि फोन सम्पर्कको प्रयास भयो कसैको ‘अफ’ छ त कसैको ‘रिसिभ’ हुँदैन । बाटोमा कुनै दुर्घटना पो पर्‍यो कि वा अरू केही । आँखा टट्टाए तर अपेक्षा गरेको कोही आएन न कुनै खबर । 
झन्डै १२ बजेतिर कुरा लिएर आउने छिमेकी फुपूको फोन आयो, केटो हिजोदेखि घर आएकै छैन रे । घरबाट पनि सम्पर्क हुन सकेको छैन रे । 
अब के गर्ने ? बा खुइय गर्दै पिँढीमा बस्नुभयो । आमा भित्र जानुभयो । भयंकर सन्नाटा छायो घरमा । समय टक्क अडिएको जस्तो भएको थियो । वातावरण गह्रुंगो भएको थियो । घरकाहरू यो सबको जिम्मेवार म नै हुँ जसरी मतिर घृणा ओकल्दै थिए । 
ठीक यो समय मलाई मेरो पूर्वप्रेमीको खुब याद आयो । ऊसँग सबै कुरा भनेर खुब रुन मन लाग्यो । त्यसो त मेरो परिबन्द बुझ्न नसकी प्रेमको श्रद्धाञ्जलि दिइसकेको थियो उसले । घरमा चलेको बिहेको कुरा नभनेको पनि होइन मैले । तर ऊ पढाइ करिअर यस्तै–यस्तै कुरा गथ्र्यो । हुन पनि समाजमा केटाहरू २८/३० वर्ष पुग्दासम्म पनि बिहेका लागि आत्तिई हाल्नुपर्थेन तर छोरीहरू २० वर्ष आसपास पुग्नेबित्तिकै बोझ भइहाल्थे घरका लागि । यता मेरो बिहेलाई लिएर घरकाहरूमा उखरमाउलो गर्मी थियो भने उता ऊ बेफिक्री हाँसिदिन्थ्यो । 
र, यो तनावै तनावको बीच घरमा खासखुस चल्यो, फोनहरू भए र अर्को अचिनारुको नामले ठाउँ पायो । मैले केही सोच्नै सकेको थिइनँ । झन्डै ५ बजेतिर ४ जनाको समूह घरमा आयो । एउटा दुब्लो र अग्लो मान्छेलाई देखाउँदै एक भलाद्मी बोले— ऊ उही हो केटो ! 
मलाई भित्र पठाइयो । खै के–के कुरा चले । सुन्ने मन पनि गरिनँ । एक छिनमा फेरि बाहिर बोलाए । आएँ । बा, दाइहरूको अनुहार केही उज्यालो थियो । 
केटाकेटी छुट्टै गफ गर्छन् कि ? एउटा बोल्यो । मलाई रत्तिभर रहर थिएन । सायद उसले चाह्यो कि ! आमा दाइले दलिनतिरको कोठा देखाउनुभयो । तर मैले चाहिनँ । त्यसको एकै छिनमा घर नजिकैको चौतारो छेउछाउमा त्यो दुब्लो केटोको बगलमा म पनि हिँडिरहेको थिएँ । 
‘केही सोध्नु छ भने सोधे हुन्छ,’ म नजानेरै रूखो भइरहेको थिएँ । 
‘छैन,’ ऊ बिस्तारै बोल्यो । लगभग सबै कुरा थाहा पाएरै आएको हो । ‘सम्झना’ होइन त नाउँ ? अनि सोसियोलोजीमा मास्टर्स पढ्दै । होइन त ? 
हो । मैले मुन्टो उठाएँ । 
बरु तपाईंले केही बुझ्नुपर्ने भए— सोध्नुस्, ऊ बोल्यो । 
केही छैन— मेरो उत्तर । 
मेरो सोध्नुपर्ने पनि केही थिएन । न सोधेर नै हुनेवाला केही थियो । तनावमा बितेको आजको दिनभरिमा मैले थाहा पाएको यत्ति थियो— म ‘डेट एक्स्पायर’ हुन लागेको वस्तु हँ र मलाई जतिसक्दो छिटो मूल्य घटाएरै भए पनि कुनै ग्राहकको हातमा सुम्पिनुपर्छ । 
त्यसैले मैले केही बोलिनँ । ऊ मुस्कुरायो मात्र । यो कुसमयको मुस्कान देखेर मलाई झन् घृणा लाग्यो । तर मूल्यहीन लागेर यो पनि भित्रभित्रै दबाएँ । 
न उसले केही सोध्यो, न मैले नै । 
हामी चौताराबाट फर्कियौं । सबैको अनुहारमा कौतूहल देखिन्थ्यो । 
हुन्छ नि ? भलाद्मीले उसलाई सोधे ।
उसले सानो स्वरमा ‘हुन्छ’ भन्यो । 
अनि नानीलाई ? भलाद्मी मतर्फ फर्किए । सबैको आँखा मतर्फ सोझियो ।
म को हो ?— मैले बिर्सिएँ । कक्षा १० सम्म कहिले पहिला त कहिले दोस्रा हुँदै सकेको स्कुले जीवन बिर्सिएँ । स्कुल पढ्दै गर्दा कठिन प्रश्नको उत्तर दिने पालोमा तिमीले नसके कसले सक्छ भनेर सरले भन्दा हो नि ‘मैले नसके कसले सक्छ’ भनेर बढेको आत्मविश्वास बिर्सिएँ । प्लस टु पढ्दा मनमोहन कलेज होस् वा बीएड पढ्दा महेन्द्ररत्न क्याम्पसमा उत्कृष्ट भएको पनि बिर्सिएँ । 
हाम्रो सामाजिक संरचनासम्म बुझ्न नसकेर घरमा केटा आए रे भन्ने थाहा पाउनेबित्तिकै प्रेमको श्रद्धाञ्जलि दिने ‘सो कल्ड’ प्रेमी, सजिलो विषय पढाएर पास भएपछि बिहे गरिदिन हतारिने अभिभावक र बिहे भएपछि हुने इन्टिमेसीको नाममा ब्रेस्ट र बेस्टको साइजसम्म सोधेर इन्गेजमेन्टका दिन गायब हुने केटो र उसको परिवार सम्झिएँ ।
र, मैले ‘नो’ भन्न सकिनँ ।
हाम्रो समाजमा, बिहे छिन्ने निश्चित भइसकेपछि केटो गायब भएको परिस्थितिमा आएको अर्को सुवर्ण (?) मौकामा मेरो ‘नो’ को मूल्य के हुन सक्थ्यो म अनुमानसम्म गर्न सक्दिनथेँ । आमाको ‘हाई ब्लडप्रेसर’, बुबाको इज्जत मलाई थाहा थियो । परिवारको तथाकथित इज्जत उसको र मेरो कृत्रिम नै सही स्वीकृतिमा अडिएको थियो । र, मैले अनिच्छामै सकारात्मक मुन्टो हल्लाएँ । 
दुवै जनाको स्वीकृतिपछि छिप्पिँदै गएको साँझमा मेरा अभिभावकको अनुहारमा भर्भराउँदो घाम उदाएको थियो तर मेरो आँखा भने आँसुले भरिएको थियो । एक्काइसौँ शताब्दीको त्यो साँझ ‘छोरीको जीवन’ नामको अभिशाप बोकेर म एक–एक थोपा माटोमा मिस्सिँदै थिएँ । 
टीकाटालो सकियो । यसरी तोकिएकै दिनमा मेरो ‘अनसेडुल्ड इन्गेजमेन्ट’ सम्पन्न भयो । 
त्यसो त, मेरो बिहेलाई आधार बनाएर लेखिएको लेख र सन्दर्भमा त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागको एमफिलका विद्यार्थीहरूसँग अन्तरक्रिया पनि भयो । गुरु चैतन्य मिश्रले यसको चाँजोपाँजो मिलाइदिनुभएको थियो । एमफिल अन्तरक्रियामा बिहेका सन्दर्भमा धेरै प्रश्नहरू उठे । छलफलमा समाज रूपान्तरणका विभिन्न चरणहरू प्रतिबिम्बित भए । 
कुनै धेरै अगाडि पुगिसकेका थिए भने कुनै निकै पछाडि । सायद रूपान्तरणका चरणहरू सबै तहमा एकसाथ लागू हुँदैन । प्रेम र मागी बिहेका बीचमा चेपिएको बिहे सन्दर्भदेखि जातीयताको पर्खालले अवरुद्ध प्रेमसम्मका विषयमा चर्चा भए । मैले आइन्स्टाइन सम्झें र उनको ‘थ्यौरी अभ रिलेटिभिटी’ । समाजका हरेक गतिविधिहरू, त्यसलाई हेर्ने र बुझ्ने दृष्टिकोणहरू सापेक्षतामा हुने गर्छन् । 
बिहेको सन्दर्भमा लेखिएको यो मेरो तेस्रो लेख हो । म किन यी सब लेख्दै छु ? परिवारले लुकाउन चाहेका यी कुराहरू अहिले सार्वजनिक गर्दा मेरा धेरै आफन्तहरूले नमीठो मान्नुहुन्छ । तर नमीठो यो कथा म र मजस्तै धेरैको साझा कथा हो । हाम्रो समाजको कथा हो । हाम्रो समाज बुझ्नकै लागि पनि यी सब बाहिर आउनैपर्छ । समाजशास्त्री सी राइट मिल्स भन्छन्— समाजको इतिहास र व्यक्तिको जीवन दुवैको अध्ययनबिना यी दुवैको अध्ययन अपूरो हुन्छ । मिल्स भन्छन, ‘जब यस्ता कुराहरू सार्वजनिक हुन्छन् तब कसैको (एक वा धेरैको) व्यक्तिगत समस्याहरू सामाजिक इस्यु बन्छन्, आम चासोका विषय बन्छन् ।’ तब न यस्ता समस्याहरूको समाधान खोजिन्छ । र म लेखिरहन्छु । 

प्रकाशित : माघ ८, २०७३ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?