१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बिर्सिइएका जितेन्द्र

सन् २०१४ मा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया एकाएक चर्चा बाहिर रहे । त्यसयता उनले केवल दुई अन्तर्राष्ट्रिय प्रतियोगितात्मक खेल खेले ।
विनोद पाण्डे

मार्च २०, २०१४ । बंगलादेश स्थित चित्तागोङको जाहुद अहमद चौधरी रंगशाला । विश्व ट्वान्टी–२० मा नेपाल समूह चरणको अन्तिम खेल खेलिरहेको थियो ।

बिर्सिइएका जितेन्द्र

दोस्रो चरण प्रवेशको समीकरणका हिसाबले मात्र नभई अफगानिस्तान प्रतिद्वन्द्वी परेकाले पनि नेपाल आफ्नो क्रिकेट इतिहासमै सबैभन्दा ठूलो खेल खेलिरहेको थियो । 

ट्वान्टी–२० मा १ सय ४१ रन सामन्य स्कोर जस्तै हो । पहिलोपटक विश्वकपमा उपस्थित जनाइरहेको नेपालका सामु त्यही स्कोर रक्षा गर्नुपर्ने चुनौती थियो । अफगानिस्तानको आक्रामक खेल्ने शैलीअनुसार नेपालले छाडेको लक्ष्य खासै केही थिएन । विश्व क्रिकेटमा आफ्नो बलियो उपस्थिति देखाउन पनि नेपाललाई यो खेल जित्न जरुरी थियो । 
जितेन्द्र मुखिया त्यसको एक वर्षअघि मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिएका थिए । छनोट चरणमा पनि उनले प्रभावशाली प्रदर्शन गर्दै ११ विकेट लिएका थिए । त्यसैले नेपालको धेरै आशा उनीमाथि नै थियो । जितेन्द्र त्यही आशामाथि खरो उत्रिए । उनले ३ विकेट लिइ म्यान अफ द म्याच प्रदर्शन गर्दै अफगानिस्तानमाथि नेपाललाई ९ रनको विजय दिलाए । अफगानिस्तान २००४ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न आउँदा नेपाल एसियाली एसोसिएट राष्ट्रमा जमिसकेको देश थियो । 
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा अफगानिस्तानका यात्रा नेपालसँग पराजय भएर टुंगिएको थियो । अफगानिस्तानमाथि अर्को विजय हात पात पार्न नेपाललाई त्यसपछि १० वर्ष लागेको थियो । जितेन्द्रले मोहम्मद सेहजादसहित अर्को २ विकेट लिनेक्रममा ४ ओभरमा १८ रनमात्र खर्चेका थिए । उनको बलिङको अर्को विशेषता योर्कर बलिङ थियो । उनले विपक्षीलाई यही बलिङमा बाँधेर राखेका थिए । उनले एकोहोरो योर्कर बर्साइरहँदा प्रत्यक्ष प्रसारणमा कमेन्ट्री गरिरहेका वेस्ट इन्डिजका पूर्व फास्ट बलर इयान विसप भन्दै थिए, ‘क्यारेबियन प्रिमियर लिगमा जितेन्द्रलाई कसैले लिए हुन्छ, चार ओभर नै योर्कर फाल्नु निकै नै मूल्यवान हो । उनी २१ वर्षका मात्र छन्, कल्पना गरौं उनले एक्सपोज पाएको भए ।’
०००

त्यो उचाँइमा पुगेका जितेन्द्र एकाएक चर्चा बाहिर रहे । त्यसयता उनले केवल दुई अन्तर्राष्ट्रिय प्रतियोगितात्मक खेल खेले । यसबीचमा उनी अधिकांश समय हराउन पुगे । घरेलु प्रतियोगितामा पनि फाट्टफुट्ट मात्र देखा परे । केही समय देखा परेपछि उनी हराइहाल्थे । विसपले क्यारेबियन प्रिमियर लिगमा खेल्नयोग्य खेलाडी भनेका जितेन्द्रले एभरेस्ट प्रिमियर लिगका केही खेल दर्शकदीर्घामा बसेर बिताए । धनगढी प्रिमियर लिगको अक्सनमा उनी पहिलो चरणमा बिक्री नभएको खेलाडीमा रहे । अन्तिममा मात्र उनलाई विराटनगर किंग्सले न्यूनतम रकम ५० हजारमा खरिद गर्‍यो । 
‘धेरै दिन भइसक्यो चोट लागेको, मलाई पनि दिक्कै लागिसकेको थियो, निराशा पनि निकै थियो । चोट यस्तो थियो कि चाँडै निको भइरहेको थिएन । ढाँडमा चोट लागेको थियो । दु:खाइ यस्तो थियो जुन बलिङ गर्दा मात्र थाहा हुन्थ्यो । बलिङ गर्दा जीउ घुमाएपछि मात्र दुख्ने । दौडिँदा, फिल्डिङ गर्दा, ब्याटिङ गर्दा केही हुँदैन, तर बलिङ गकी दुखिहाल्छ,’ हालै मात्र घरेलु क्रिकेटमा देखा परेका जितेन्द्रले भने । 
ढाँडको चोटले सताइँदा जितेन्द्रको खेल जीवन नै अन्धकार बन्यो । यसको उपचारका लागि उनी मुम्बई पनि पुगे, एक महिना त्यही उपचार गरे । काठमाडौंमै फिजियोहरूलाई देखाए, परामर्श गरे । तर त्यो उपचार स्थायी भएन । एउटा प्रतियोगितासम्म खेल्दा केही नहुने, त्यसपछि भने फेरि पीडा हुने ढाडको समस्याले उनी थलिए । चोटबाट पूरा निको नभई नै उनी २०१४ मा एसियाली खेलकुद खेल्न दक्षिण कोरिया गए, तर कुनै खेल खेल्न सकेनन् । २०१५ उनले युरोपेली भूूमिमा ट्वान्टी–२० विश्वकप छनोटको दुई खेल खेले । 
फेरि उही रोग बल्झियो । जितेन्द्रलाई धेरै भुल्न थाले । जितेन्द्र हिम्मतिला छन्, आफैंले आफंैलाई चाहिँ भुलेनन् । ‘मेरो चोट यस्तो थियो, सायद म फेरि मैदानमा फर्किन सक्दैनजस्तो भएको थिएँ,’ जितेन्द्रले भने, ‘विश्वकपमा त्यो प्रदर्शन दिएर कहाँ पुगेको मान्छे अहिले कहाँ पुग्दा निकै दु:ख लाग्थ्यो । एकैचोटि उदाएको सूर्य एकै पटक अस्ताउन लागेको जस्तो लाग्थ्यो । नेपाल टिम विदेश खेल्न जाँदा होस् वा नामिबिया काठमाडौंमा खेल्न आएको बेला राष्ट्रिय टिमलाई निकै मिस गर्थें । प्रशंसकहरूले विदेश खेल्न जाँदा वा खेलिरहेको समयमा जुन हौसला दिन्थें मैदानबाहिर रहँदा म जहिले पनि मिस गरिरहेको हुन्थें । मिहिनेत गर्नुपर्छ नेपाललाई फेरि माथि पुर्‍याउनुपर्छ भन्ने थियो ।’ 
जितेन्द्रले मिहिनेत गर्नचाहिँ छाडेनन् । धेरै फिजियोहरूसँग परामर्श गरिरहे । आफैंले पनि केही हुन्छ भनेर जिम गर्न लागें । बिहान उठेर सामन्य योगा पनि सुरु गरें । त्यसको परिणाम निकै राम्रो भयो । यसले धेरै फरक पार्‍यो । त्यसैको फल उनी मैदानमा फर्किन सकेको बताउँछन् । सातौं राष्ट्रिय खेलकुदका लागि उनी नेपाल आर्मी टिममा पनि परे । पहिलो खेलपछि उनले खेल्नै पाएनन् । आर्मीको टोलीमा उसै पनि ६ जना तीव्र गतिका बलर छन् । उनी भन्छन्, ‘आर्मीको टिममा फास्ट बलर भएर पर्नै गाह्रो छ । सबैलाई म उत्कृष्ट हुँ भनेर प्रमाणित गर्नु छ । त्यसले पनि पुनरागमन गर्न मद्दत गर्‍यो । आर्मी टिममा परेन भने कसरी नेपाल टिममा पर्न सकुँला र भन्ने हुन्थ्यो ।’
रुस्लान कप उनका लागि एउटा अवसर भएर आयो । आर्मीको टिममा पहिलो रोजाइमा परेका उनी ९ विकेट लिँंदै उत्कृष्ट बलर बने । बढीभन्दा बढी विकेट लिन्छु भन्ने सोच उनको थियो, उत्कृष्ट बलर हुन्छु भनेर उनले सोचेका थिएनन । प्रयास भने जारी थियो । साढे दुई वर्ष हुन लागिसकेको थियो उनलाई चोटले सताउन लागेको । ‘धेरैले बिर्सिसकेका थिए जितेन्द्र मुखिया को हो भनेर । एकै पटक राम्रो गरौं भनेर एउटा सोच थियो, जसले जितेन्द्र मुखिया आयो भनेर थाहा होस् भन्ने हो । उत्कृष्ट बलर पाए अब धेरैले मेरो पुनरागमन भयो भनेर थाहा पनि पाउनेछन्,’ उनी भन्छन् । यही प्रदर्शनले उनलाई फेरि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पुर्‍याएको छ । दुई महिनापछि केन्यासँग नेपालले काठमाडौंंमै विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल खेल्दै छ । त्यसैका लागि उनलाई पनि बोलाइएको हो । 
चोटका कारण मैदानबाहिर बस्दाको समय उनका लागि निकै कठिन थियो । ‘शुभचिन्तकहरू सधैंं सोधिरहेका हुन्थे, के भयो ? टिमबाट निकालिदियो ? उनीहरूलाई भित्री पक्ष थाहा हुँदैनथ्यो । तर यस्ता प्रश्नले मलाई प्रेरणा पनि दिन्थ्यो । मेरा प्रशंसकहरूले मलाई खोजिराछन् भन्दा मलाई पनि हौसला हुन्थ्यो । उनीहरू सोसल मिडियामा खोजीनीति गरेर मेरो स्थिति बुझिरहेको हुन्थे । उनीहरू पनि मैले पुनरागमन गर्नुपर्छ भनेर भनिरहेका हुन्थे,’ उनी फेरि खेल्न सक्नुको कारण खोतल्छन्, ‘प्रशंसकहरूको शुभेच्छा भनौं वा मेरो आफ्नो शक्ति, त्यसले निकै काम गर्‍यो र म फेरि खेल्न सकें ।’ 
०००

चोट फेरि नबल्झियोस् भनेर उनले अहिले बलिङ एक्सनमा सामान्य परिवर्तन गरेका छन् । पहिला निकै घुमाएर बलिङ गर्थे । अहिले माथिबाटै बल फाल्ने गरेका छन्, जसले पिठयँुमा त्यत्ति असर पर्दैन । साइड आर्म हुँदा उनको कम्मर मर्किने गरेको थियो । अहिले सीधा फाल्ने कोसिस गरिरहेका छन् । यो एक्सनमा खासै अभ्यास नगरेर होला उनी पहिलाजस्तो लय नभेटिएको बताउँछन् । नेटमा बलिङ गरेर, फिटनेसमा ध्यान दिएर पहिलाजस्तै हुने उनको प्रयास छ । 
प्रशंसकले जितेन्द्र मुखिया यस्तो, उस्तो भनेर गरेको चर्चा उनलाई जहिले प्रेरणा बन्ने गरेको छ । यही शब्दहरू फेरि सुन्नका लागि अहिले धेरै मिहिनेत गरिरहेका छन् । छनोट खेलहरूमा राम्रो गरे केन्यासँगको खेलमा नेपाली टोलीमा पर्छु भन्ने उनलाई छ । सजिलो केही छैन उनले बुझेका छन् । किनभने अहिले फास्ट बलरहरू पनि धेरै भइसके । उनको एउटा लक्ष्य छ, ‘छनोट खेलहरूमा 
मैले आफु यो स्त्तरमा खेल्नका लागि योग्य छु भनेर प्रमाणित गर्नु छ ।’ 
जितेन्द्रको चिन्ता उसको परिवारलाई पनि उस्तै थियो । उनले भने, ‘चोटले खेल्न नसक्दा बुवा, आमा पनि निराश भइसक्नुभएको थियो । खेल्दाखेल्दै अचानक के भयो ? ढाँड कसरी दुख्यो, कसैको नजर त लागेन भनेर परिवारका सदस्यहरू सोधिरहेका हुन्थे । मेरो चोट चाँडो ठीक होस् र फेरि खेल्न सकोस् भनेर उहाँहरूले त भाकल पनि गर्नुभएको थियो । मैले यो चोट हो ठीक भइहाल्छ, केही समयका लागि मात्र हो भनेर भन्ने गरेको थिएँ ।’ 
खेलाडीको जीवनमा चोट लाग्नु सामन्य हो । 
आफ्नो चोट निकै लामो समयसम्म रहयो यसमा उनी निकै दु:ख छन् । विश्वकप खेलेको नेपाल एकै पटक अहिलेको स्थितिमा आइपुग्दा उनी झन् दु:खी छन् । 

प्रकाशित : माघ ८, २०७३ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?