जिन्दगीको के भरोसा !

पश्चिमेली संगीत क्षेत्रमा एउटा नमीठो संयोग छ– ठ्याक्कै २७ वर्षको उमेरमै जीवन गुमाउनेहरू धेरै छन् ।
हिमेश

यस्ता प्रश्न फेरि–फेरि दोहोर्‍याएर सोधिनेछन् र सम्भवत: यसको चित्तबुझ्दो जवाफ कहिले पनि आउने छैन् । ‘रक एन्ड रोल’ जीवनशैली अपनाउने अधिकांश प्रसिद्ध गायक गायिकाको जीवन आफैं किन छोटो हुन्छ ?

जिन्दगीको के भरोसा !

‘डाइङ टु बी फेमस ?’

‘ड्रग्स एन्ड सेक्स’ वरिपरि घुमेको संगीत जीवनमा किन चाँडै पूर्णविराम लाग्ने गर्छ ? प्रश्न जति सजिलो हुन्छ, उत्तर उत्तिकै गाह्रो पनि । तर प्रत्येकपल्ट जब कोही नाम चलेका गायकगायिका यो दुनियाँबाट बिदा हुन्छ, उनी प्रश्न साँच्चै दोहरिन थाल्नेछन् । 
दाबी गर्न सकिने तथ्य त होइन, तर नेपालतिर सबैभन्दा बढी बजाइएको एउटा गीतमा पर्छ, ‘केयरलेस ह्विस्पर’ । जब यो गीतको सुरुआतसँगै सेक्सोफोनको धुन बज्न थाल्छ, त्यसले दिने मादकता खुबै बढ्छ । यो गीत उनै ह्वाय्म र यसका गायक जर्ज माइकलको हो । सन् अस्सीतिर धुम मच्चाएका जर्ज माइकल बितेको पनि अब महिना दिन हुन थालेको छ । तर उनको मृत्युलाई लिएर अहिले पनि धेरै प्रश्नहरू अगाडि आइरहेका छन् । 
बाहिरबाट हेर्दा उत्तिकै ग्ल्यामर्स लाग्ने जर्ज माइकलको जीवनलाई भित्रबाट देख्नको दाबी मान्ने हो भने त्यो निकै ह्दयविदारक थियो । उनी ‘अल्कोहल एन्ड ड्रग्स’ मा यति धेरै डुबेका थिए कि उनी आफैं यसबाट वाक्क दिक्क भइसकेका थिए । यस जीवनलाई त्यागेर उनी एकदमै सामान्य जीवन बिताउन चाहन्थे । तर सकेनन् । सक्ने पनि कसरी र ? यो उनले तय गरेको बाटो पनि ‘वान वे’ न थियो । गएपछि फर्कन नपाउने, फर्कन खोजे पनि अरूले नदिने । 
उनका नजिकका साथीहरूले केसम्म भनेका छन् भने जर्ज माइकल किन हो, आफ्नो मृत्यु पर्खन थालेका थिए । ‘लास्ट क्रिसमस’ ह्वाय्मको अर्को नामी गीत हो । जर्ज माइकल साधारण जीवन बिताउन पछिल्लो तीन वर्षदेखि लगातार प्रयास गरिरहेका थिए । तर वास्तवमै सकेनन् । लगातारको असफलतापछि उनी फेरि उही पुराना मस्त दिनमा फर्के र त्यत्तिकै चाँडै जीवनबाट पनि बिदा लिए । भनिएको छ, उनका केही नजिकका साथी उनलाई साधारण जीवनमा फर्कनै दिइरहेका थिएनन् । 
जति बेला जर्ज माइकल रहेनन्, सबैले ‘ओहो’ बाहेक अरूथोक भन्न सकेनन् । नेपालमा उनलाई पछयाउने जति छन्, उनको जीवनशैलीलाई कहींकतैबाट नक्कल गर्न खोज्ने संगीत वृत्त पनि नेपालमा नभएको होइन । हाम्रोतिर यस्तै भयो भनेर ठोकुवा गर्न मिल्ने स्थिति रहन्न । तर जर्ज माइकलको जस्तै उदाहरणहरू हाम्रैतिर पनि देखिन थालेका छन्, अझ दोहरिने थालेका छन् । केही वर्ष बिताएर यस्तै घटना दोहोरिन थालेका छन् । साँच्चै किन यस्तो हुन्छ होला ?
अमेरिका र युरोपतिर ५० वर्षयता यसबारे समय–समयमा भएको अनुसन्धानले पनि के देखाएको छ भने आम मानिसभन्दा संगीतको भड्किलो जीवन जिउनेहरूले चाँडै ज्यान गुमाउने सम्भावना धेरै हुन्छ । सेक्स, ड्रग्स र रक एन्ड रोलको ककटेल लोभिलो हुन्छ, यसमा कुनै शंका छैन् । तर, धेरैको हकमा नतिजा उही, युवामै जीवनबाट बिदाइ । 
जर्ज माइकल अगाडि दुई अरू ठूला स्टार पनि चाँडै बिते, ती त महिला थिए, एमी वाइनहाउस र ह्विट्नी हुस्टन । त्यसैले उतातिर एउटा शब्दावली बारम्बार दोहरिने पनि गरिन्छ, ‘डाइङ टु बी फेमस’ । अझ मनै बिझाउने तथ्य के छ भने ब्यान्ड भएका गायक गायिकाभन्दा ‘सोलो’ गइरहेकाहरू अझ यो वास्तविकताबाट गुज्रिने सम्भावना बढी हुन्छ । अनुसन्धानले के पनि भन्छ भने जति स्टार चाँडै ज्यान गुमाएका छन्, त्यसमध्ये एक तिहाई सानोमा यौन दुव्र्यवहारको सिकार पनि भएका छन् । 
खासमा ‘रक एन्ड रोल’ जीवन बाहिरबाट हेर्दा जति रंगीन देखिन्छ, त्यो वास्तवमा त्यस्तै हुन्न । यसमा उत्तिकै तनाव हुन्छ । एकपल्ट सफलताको शिखरमा पुगेपछि त्यसभन्दा अगाडि बढ्नु त गाह्रो छ नै, बराबरीमा रहन पनि गाह्रो हुन्छ । प्रत्येकपल्ट उत्तिकै सफल गीत कहाँ दिन सकिन्छ र ? त्यसमाथि आफ्नै आँखाअगाडि अरूले गरेको प्रगति देखिनसक्नु हुन्छ । नतिजा, तनाव र अरू धेरै तनाव । अनि त्यसमा ड्रग्सको साथ, निकै बेमज्जाको साभेदारी सुरु हुन्छ । 
मान्छे डिप्रेसनमा जाने गर्छन् । यही बाटोले धेरैलाई आत्महत्यासम्म डोर्‍याउने पनि गर्छ । आत्महत्या नभए, निकै शंकास्पद मृत्यु । पश्चिमेली संगीत क्षेत्रमा त्यसै ‘क्लब २७’ बनेको पनि होइन । नमीठो संयोग कस्तो भने ठयाक्कै २७ वर्षको उमेरमै जीवन गुमाउनेहरू धेरै छन् । त्यसैले यो उमेरलाई उतातिर संगीत क्षेत्रमा राम्रो पनि मानिन्न । यसैको पछिल्लो सिकार भएकी थिइन्, निकै प्रतिभाशाली गायिका वाइनहाउस । ‘ब्याक टु ब्लाय्क’ उनको गज्जब अल्बम थियो । 
उनी जति राम्री गायिका थिइन, उत्तिकै राम्री गीतकार पनि । यो क्लबमा निकै नाम चलेका अरू गायक गायिका पनि छन् । त्यसमा पनि कहलिएका तीन नाम हुन्, ब्रायन जोन्स, जिम्मी हेनरिक्स, जिम मोरिसन । ब्रायन जोन्सले सुरुमा रोलिङ स्टोन्सको नेतृत्व गरेका थिए, पछि उनलाई उछिनेर मिक ज्यागर र किथ रिचर्डस अगाडि आए । स्थिति कस्तोसम्म भयो भने जोन्स ब्यान्डबाटै निकालिए । यसले दिएको तनाव, अनि ड्रग्सको साथ, २७ वर्षमै शंकास्पद मृत्युको सिकार भए । 
अनि, जिम्मी हेनरिक्स । उनी कति गजबले गितार बनाउने गर्थे, सधैं सुनिरहन पाएजस्तो हुन्छ । उनी पनि ड्रग्स ओभरडोजकै बीचमा बिते । र, जिम मोरिसन । डोर्स ब्यान्डका गायक हुन्, उनी । उनका प्रत्येक गीत, गीत मात्र होइन, सुन्दर कविता हुने गर्छन् । कन्सर्टतिर उनी गीत गाइरहेका हुन्थे, अथवा गम्भीर कविता पाठ गरिरहेका, त्यो पनि छुटयाउने गाह्रो हुन्थ्यो । उनले पनि २७ वर्षमै जीवन बिताए, उही ‘रक एन्ड रोल’ जीवनका कारण । फेरि साँच्चै, ‘डाइङ टु बी फेमस’ किन हुन्छ ? 

प्रकाशित : माघ ८, २०७३ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?