२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जेठो पुस्ता सिकाउँदै कान्छो सिक्दै

घनश्याम खड्का

म्याग्दीमा लोकप्रिय रहेको ख्याली नृत्य लोप हुन नदिन यहाँका मगरहरू कान्छो पुस्तालाई संस्कृति हस्तान्त्रणमा जुटेका छन ।

जेठो पुस्ता सिकाउँदै कान्छो सिक्दै

युवा पुस्तामा पश्चिमा संस्कृतिको बढ्दो प्रभावले बचेको मगर संस्कृतिसमेत लोप हुन थालेपछि नेपाल मगर संघ पुख्र्यौली ख्याली र सरस्वती जगाउने नृत्यलाई युवा पुस्तामा हस्तान्त्रण गर्न हालै ख्याली नृत्य प्रतियोगिता नै गर्‍यो ।
ख्याली नृत्यको सुर, मादलको ताल र गीतको भाका टिप्ने शैली युवा पुस्तालाई सिकाउन बाबु, छोरा र नानी तीन पुस्तालाई सँगसँगै गाउने, नाच्ने र बजाउने गर्दा प्रभावकारी भएको छ । मगरहरूको न्वारान, पास्नी, छेवर, विवाह, चौरासी पूजाजस्ता पवित्र खुसियालीमा समेत ख्याली नृत्य गरिन्छ ।
‘ख्याली/मारुनी नाच मात्र होइन धार्मिक विधि पनि हो । नयाँको चासो नहुँदा बूढापाकासँग मात्र सीमित रह्यो । त्यसैले पुख्र्यौली कला, संस्कृतिको पुस्ता हस्तान्त्रण गर्न किशोर, युवा र बूढापाकाको मिश्रित मगर पुख्र्यौली गीत/नृत्य प्रतियोगिता गराएका हौं’ नेपाल मगर संघका सल्लाहकार राजकुमार थापाले भने, ‘१३ सदस्य रहने हरेक टिममा कम्तीमा ५ जना किसोर/युवा अनिवार्य गरेका थियौं ।’
पुन मगरहरूको लोकप्रीय पुख्र्यौली नृत्य ‘ख्याली’ लोपउन्मुख छ । ख्याली गीत सुरु गर्नेलाई थाल्ने, गीत गाउनेहरूलाई छोप्ने र महिलाको वेशमा सजिएर नाच्ने पुरुषलाई मारुनी तथा पुरुषकै वेशमा मादल बजाउंदै नाच्नेलाई मादले भनिन्छ । यहाँका मगरहरूको जन्म, न्वारान, पास्नी, छेवर, विवाह, चौरासी पूजा तथा अन्य महत्त्वपूर्ण चाडपर्वजस्ता शुभकार्यमा ख्याली गीत/नृत्य अनिवार्य छ ।
वैदेशिक रोजगारीले भने गाउँलेको आयस्तरमा वृद्धि भएपछि बिस्तारै सहरबजारतर्फ बसाइ सर्नेको ताँतीले गाउँघर शून्य र परम्परागत संस्कृति लोप हुँदै गएको छ । ‘बसाइ सराइले हाम्रो पुख्र्याैली संस्कृति मासिँदै गाएको छ । बूढापाकासँग ख्याली, सरस्वती र मारुनी नृत्यका पुख्र्यौली संस्कृति जीवित भए पनि युवा बेखवर छन्,’ पाउद्धार माध्यमिक विद्यालयकी प्रध्यानाध्यापक थममाया शेरपुजा मगरले भनिन्, ‘छोरानातिहरूले पुख्र्यौली नृत्य र गीत जान्दैनन् । विदेश जाने परम्पराले झन् संस्कृति संकटमा छ । त्यसैले हामी बालबालिकालाई किताब मात्र पढाउने मात्र होइन आफ्नो कला र संस्कृतिमा सक्रिय सहभागी गराउनुपर्छ ।’
पुन मगरहरूले पुख्र्यौली नृत्य गर्दा मारुनीहरूले नीलो/पहेंलो पटुका, मखमली चोलो, छिटको गुन्यु, कालो/रातो मखमली टेकी, कम्मरमा बर्को, टाउकोमा मजेत्रो बाँध्ने तथा जन्तर, हम्मेल, शिरफूललगायतका गहना लगाउँछन् । त्यसैगरी टाउकोमा सेतो फेटा गुथेका मादलेहरूले मुगको माला, सेतो कछाड, पटुका, भोटो, इस्टकोटमाथि भाङ्ग्रा भिरेका हुन्छन् । परम्परागत वेशभूषामा सजिएको मादलेले ‘थान फुती नाका धाङ, नाका धाङ, नाका धाङ’ ख्याली नृत्यको ताल । यो तालमा महिलाको वेशमा सजिएका मारुनीहरू नाच्दै मादलेको अघिअघि दायाँ घुम्छन् । ख्याली नृत्यमा मादलका २२ ताल हुन्छन् । पुनमगरहरूको अर्को पुख्र्यौली नृत्य हो, सरस्वती जगाउने नृत्य । सरस्वती जगाउँदा भने मादलको सात ताल बजाउने गरिन्छ । यस्तो ताल बजाउँदा कोही–कोही काप्नेसमेत गर्छन् ।

प्रकाशित : माघ ८, २०७३ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?