संसारलाई सरसर्ती चियाउने झ्याल

पर्यटकहरूमा आफ्नो अनुभूति लिपिबद्व गर्ने न जाँगर हुन्छ, न कला नै । ‘सरसर्ती संसार’ मार्फत जीवा लामिछानेले आफूलाई ती थोरैमा पारेका छन् जो आफ्ना यात्रा अनुभव र अनुभूतिलाई पुस्तकाकार रूप दिएर लोभलाग्दो आवरणमा पाठकमाझ आएका छन् ।
अखिलेश उपाध्याय

भनिन्छ— यात्रा गर्दा आफ्नै छाया देखिन्छ । त्यो छायाले आफूलाई सदा पछयाइरहन्छ । यात्रा साहित्यको विशेषता पनि त्यही नै हो । हामी आफ्नो संसारलाई, आफ्ना वरिपरिका घटनाक्रमलाई, भेट भएका पात्रहरूलाई अत्यन्त व्यक्तिगत तवरले हेर्छौं, देख्छौं ।

एकातिर छोटो समयमा धेरै कुरा हेर्नुपर्ने र गर्नुपर्ने चापले घच्घच्याइरहेको हुन्छ भने अर्कातिर बिरानो ठाउँको नवीनताले साधारण घटनाक्रम र दृश्यलाई असाधारण मौलिकताबाट अवलोकन गर्ने अवसर दिइरहेको हुन्छ । यति नभए, पर्यटन आज सबैभन्दा द्रुततम गतिमा विस्तार भएका उद्योगमध्ये कसरी पथ्र्याे र !

तर सबै पर्यटकहरूमा आफ्नो अनुभूति लिपिबद्व गर्ने न जाँगर हुन्छ, न कला नै । ‘सरसर्ती संसार’ मार्फत जीवा लामिछानेले आफूलाई ती थोरैमा पारेका छन् जो आफ्ना यात्रा अनुभव र अनुभूतिलाई पुस्तकाकार रूप दिएर लोभलाग्दो आवरणमा पाठकमाझ आएका छन् ।
‘सरसर्ती संसार’ को २ सय २० पेजभित्र मैले लेखक जीवा लामिछानेलाई छर्लंग हेर्ने मौका पाएँ, उनमा बहुप्रतिभाशाली व्यक्तित्वको छनक भेट्टाएँ । २९ अध्यायमा टुंगिएको यस नियात्रामा मैले जीवालाई एक युवा–विद्यार्थी, एक नव–उद्यमी, अनि पछिल्लो समयमा सफल गैरआवासीय नेपाली अभियन्ताको रूपमा देखें । 
सन् १९८३ मा इन्जिनियरिङ अध्ययन गर्न तत्कालीन भीमकाय सोभियत संघ पुग्दादेखि सन् २०१० को दशकसम्मका विभिन्न छोटा–लामा यात्राका अनुभव र अनुभूतिको संगालो हो— ‘सरसर्ती संसार’ । पुस्तकमा युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया र एसियाली मुलुकहरूमा गरिएका यात्राका विषमतालाई लेखनको दह्रिलो कडीले जोडिएको छ । 
लेखकको नेपालप्रतिको प्रगाढ प्रेम पनि पुस्तकमा प्रस्टै झल्किन्छ । विकसित सहरहरूको सुव्यवस्थापन र भौतिक पूर्वाधारको अद्वितीय प्रारूपको तारिफ गर्दागर्दै उनी करिब–करिब हरेक भ्रमणको क्रममा आफ्नो देशको दुर्गतिप्रति भावुक हुन्छन् । ‘यसो गर्नुको अर्थ मैले हाम्रा क्षमताहरू तुलना गरेर कमजोर देखाउन खोजेको नभई,’ उनी लेख्छन्— ‘एक दिन हाम्रो देश पनि विकसित होस् भन्ने सपना हो ।’ उनले भनेझैं पहिलो पुस्ताका गैरआवासीय समुदायका सदस्य भएर होला, ३५ वर्षको लामो विदेश बसाइपछि पनि उनको मन नेपालसँग दर्‍हो गरी जोडिएकै छ ।
‘सरसर्ती संसार’ का भिन्न–भिन्न सन्दर्भहरू पढिरहँदा थाहा हुन्छ— ठाकुरप्रसाद गुरागाई, टंकध्वज नेपाल, नन्दराम न्यौपाने, घनश्यामराम भण्डारी, डा।कृष्ण कायस्थ, हरि मल्ल, राजु श्रेष्ठ, जयन्त नेपाल, टिटोम थापा, तेन्जी शेर्पा, पशुपति भण्डारी, रमेश अर्यालजस्ता विभिन्न देशमा बसेका नेपालीहरूले आ–आफ्नै पहिचान बनाएका छन् । तर आफ्नो नेपालीपनमा उनीहरू उत्तिकै गर्व गर्छन् ।
गैरआवासीय नेपाली संघको पैंसट्ठीऔं राष्ट्रिय समन्वय परिषद् स्थापनाका लागि चेक गणराज्यको राजधानी प्रागको एक रेस्टुरेन्टमा राति ३ बजेसम्म बियरमा गफिँदै हाम्रो नयाँ वर्ष २०७० को स्वागत गरेको रमाइलो प्रसंग जीवा उल्लेख गर्छन्, ‘बियर पारखीको देश’ शीर्षकमा । प्राग र इस्टोनियाको राजधानी ता:लिनको अत्यन्त छोटो बसाइ– अनुभवलाई पनि उनले पाठकले अनुभूत गर्ने गरी उतारेका छन् । खासमा योजना राम्ररी गरिएको भ्रमण रमाइलो मात्र हुँदैन, निकै उपलब्धिमूलक पनि हुने गर्छ । 
रमाइलो कुरा, सारा संसार घुमेका जीवा अमेरिका भने सन् २००४ मा मात्रै पुगेछन् । अमेरिकी बानी व्यहोराले उनलाई प्रभावित तुल्याएछ । खासगरी अमेरिकीहरूको नचिनेका मानिससँग पनि चिनेसरी बोल्ने चलन र शिष्टताबाट निकै मोहित भएका रहेछन् उनी । एक घटनाले अमेरिका भ्रमणलाई अझ अविस्मरणीय बनाएछ । एक पटक साँझ ५ बजे क्यालिफोर्निया (सहरको नाम उनी उल्लेख गर्दैनन्) बाट हयुस्टन उड्नुपर्ने जहाज राति ११ बजे मात्रै उडेछ । भ्रमणमा साथै रहेका घनश्यामले रिसको झोंकमा लिखित उजुरी ठोकिदिए । जीवाले पनि देखासिखी गरे, हल्का हिसाबले, ‘हामी आज समयमा जानु एकदम जरुरी थियो, जहाज डिले हुनाले हामीलाई ठूलो असुविधा भयो’ भन्ने भावमा । केही महिनापछि उक्त अमेरिकी एयरलाइन्सले उनीहरूलाई क्षमायाचना मात्रै मागेन, मस्कोको ठेगानामा पत्रै पठायो जसमा डेढ सय अमेरिकी डलर पनि रहेछ— क्षतिपूर्तिबापत । 
यसैसँग तुलनायोग्य अर्को प्रसङ्ग, सपरिवार गोवा भ्रमण गर्दा पनि आइपरेको रहेछ । उनी उल्लेख गर्छन्— होटल होलिडे इनमा राति चेक–इन गर्दा आफ्नो कोठा इलेक्ट्रोनिक कार्डले नखुलेपछि बाल्कोनी हुँदै झ्यालबाट पसेर होटलका स्टाफले एक घन्टापछि बल्ल–बल्ल खोलेछन् । जीवाले अमेरिकामा झैं यहाँ पनि लिखित रूपमै गुनासो गरेछन् । पछि सोही होटलमा क्यामेरासमेत हराएछ । तर, न गुनासोको कुनै जवाफ आयो, न कसैले ‘सरी’ भन्यो । 
यात्रामा कहिलेकाहीं आफ्नो लापरबाहीले, कहिले अरूको कारणले सरसामान हराउँछ । तर विभिन्न देशमा हराएका सामान आफूकहाँ फर्किन्छ कि फर्किंदैन भन्ने सबैको आआफ्नै अनुभव छ । अधिकांश यात्रुको अनुभवमा जापान त्यस्तो देश हो, जहाँ हराएका सामान हकदारकहाँ फर्किन्छ । जहाँ हरेक जापानी नागरिक आफ्नो देशको इज्जत नबिग्रोस् भनेर अति नै होसियारी अपनाउने गर्छन् । जीवाजीको अनुभव पनि त्यस्तै रहयो । हराएको झोला फर्किएर आयो । अर्को एउटा सन्दर्भमा बाटो हराइरहेको यात्री जीवाजीलाई रेलवे स्टेसनमा एक जापानीले ४० मिनेट लगाएर सही गन्तव्यमा पुर्‍याइदिएका थिए । 
मेरो व्यक्तिगत अनुभव पनि जापानमा त्यस्तै रहयो । २०१५ को महाभूकम्प आउनु केही अगाडिसम्म कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष र म टोक्योमा थियौं । हामी टोक्योबाट बैंकक हुँदै थाई विमानबाट काठमाडौं अवतरण गर्ने क्रममा उक्त भूकम्पको पहिलो र सबैभन्दा ठूलो झट्का आएको थियो । हाम्रो विमानचालकले करिब ४० मिनेट आकाशमा जहाज उडाएर काठमाडौं विमानस्थलको स्थिति आकलन गर्न नसकेपछि अन्तत: जहाज पुन: बैंकक फिर्ता लगे । बैंकक एयरपोर्टमा इन्टरनेटको कनेक्सन पाउनासाथ हामी दुवै आ–आफ्नो फोनमा इमेल हेर्न थाल्यौं । जहाँ हाम्रै हालखबरबारे जानकारी लिन अत्यन्त आतुर हुनेमा तिनै जापानीहरू थिए, एक दिनअगाडि मात्र चिनजान भएका त्यहाँका पत्रकार र रेस्टुरेन्टमा प्लेन चढ्नुअगाडि साधारण चिनजान भएकाहरू (हामीले आफ्नो बिजनेस कार्ड दिएका थियौं) । पछिसम्म तीमध्ये एक जनाले मलाई इमेलमा हाम्रो अवस्था सोध्दै कस्तो खाले सहयोग गर्न सकिन्छ भन्ने जिज्ञासा राखिरहे । जीवा लेख्छन्, ‘मैले थाहा पाएका जापानीहरूका विशेषता थुप्रै रहेछन् । गोरा, होचा, चिम्सा आँखा भएका, विनम्र, विनम्रशील र शालीन व्यक्तित्वका धनी, असाध्यै सहयोगी, झुकेर मात्र कुरा गर्ने तर व्यवहारमा चाम्रा, आफ्नो कुरा हतपत नखोल्ने, बाहिरबाट हेर्दा सोझाजस्ता तर मनका उत्पात बाठा ।’ 
पुस्तकमा कतिपय ठाउँमा कुनै सहर र सभ्यताको तुलनात्मक हिसाबले सरसर्ती वर्णन गरेपछि लेखकले संक्षिप्त रूपमा सूक्ष्म दृष्टिले माथिका जस्ता मानवीय क्षमता पनि उजागर गरेका छन् । लेखकको विशेष दख्खलचाहिँ उनले लामो समय विताएका युरोप, त्यसमा पनि खास गरेर पूर्वी युरोप र तत्कालीन सोभियत संघको नियात्रामा देखिन्छ— ‘अस्थिरताको बादलमा युक्रेन’ मा । रुस र युक्रेनका जनताबीचको अत्यन्त अप्ठयारो सम्बन्ध, युक्रेनी प्रशासनमा हुने गरेको पदको दुरुपयोग र नेपाली कर्मचारीतन्त्रमा जस्तै देखिने नांगो भ्रष्टाचारलाई उनले उजागर गरेका छन् । युक्रेन यात्राको क्रममा उनले भोगेका अप्ठयारा सायद नेपाली पासपोर्टमा यात्रा गर्ने हामी सबैले कुनै न कुनै समयमा भोगेकै हौं, खास गरेर अध्यागमनको समयमा ।
‘देश टुक्रिँदाको दुर्दशा’ सोभियत संघको पन्ध्रवटा गणराज्यमध्ये सबैभन्दा पिछडिएको ताजकिस्तानबारेमा हो । १९८० को दशकमा सोभियत संघ पेरेस्त्रोइका र ग्लास्तनोस्तको असरमा वा अवसरमा आइसकेको थियो । र, संघको विखण्डनको दरार पनि सुरु भइसकेको थियो । रुसी जातिको प्रभाव विभिन्न गणराज्यमा घट्दो थियो भने उनीहरू रुस फर्कने क्रम बढ्दो । सोभियत संघका पूर्वी गणराज्यमा पनि विखण्डनपछि जातीय दंगा र गृहयुद्ध भएका हुन् । जीवा लख्छन्, ‘तर सबैभन्दा बढी चपेटामा परेको गणराज्य भने ताजिकिस्तान नै हो ।’ युरोपको सेरोफेरो पढ्ने क्रममा नै एउटा कुरा पनि थाहा भयो— जीबाको प्रथम पुँजी संकलनको रहस्य । उनी खुला अर्थतन्त्र अँगालेको तत्कालीन पश्चिम जर्मनीबाट सामान ल्याएर विदेशी सामग्रीका भोका रुसीहरूलाई बेच्थे । 
आफ्नो वर्तमान सफलता र विश्व दर्शनको ठूलो श्रेय खुलेर रुस र सोभियत संघलाई दिएका छन् उनले । 
जीवाले ३५ वर्षयता अनुशासित रूपले जेहनदार विद्यार्थीले जस्तै डायरी राखेका छन् । यिनको भाषामा राम्रो पकड छ । नयाँ कुरा सिक्ने, बुझ्ने जिज्ञासु स्वभाव पनि उत्तिकै देखिन्छ यिनमा । एउटा सफल नियात्रा लेखकका लागि यो आफैंमा ठूलो गुण हो । यिनै आधारमा विश्वास गर्न सकिन्छ, आउने दिनमा जीवाजीले रुसका प्रसंग सँगालेर अझ परिस्कृत नियात्रा निकाल्नेछन् ।

Yamaha

सरसर्ती संसार
विधा : नियात्रा
लेखक : जीवा लामिछाने
प्रकाशक : नेपालय
मूल्य : २५०/–

 

 

Esewa Pasal

प्रकाशित : माघ १५, २०७३ ०९:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिनेमाको अवसान

सन् १९९६ मा चर्चित लेखिका सुजन सोन्तेगले ‘द न्युयोर्क टाइम्स’ मा लेखेको लेख ‘द डिके अफ सिनेमा’ को नेपाली भावानुवाद :

सिनेमाको सय वर्षको इतिहास कुनै मान्छेको जीवनचक्रझैं लाग्छ । प्राकृतिक जन्म, निरन्तर उपलब्धिहरूको गौरवगाथा अनि अन्तिम दशकतिर आएर थकित वृद्ध र कमजोर शरीर अनि निरन्तर समाप्तिको बाटोतिर ।

यसको अर्थ यो होइन कि अब प्रशंसायोग्य सिनेमाको कुनै आस नै रहेन, सिनेमा निर्माणको भीडमा सुन्दर सिनेमाहरू बनि नै रहन्छन् । अपवादहरू निक्लिरहलान् तर अब के यस्तो सिनेमाको आस गर्न सकिन्छ, जो कलाको स्वरूप नै बनाउने गरी महान् उपलब्धि बोकेर आओस् । जो ऐलेको पुँजीवादी संसारले बनाएका नियम र संस्कारलाई ठाडै चिरेर एउटा स्वतन्त्र कलाको स्वरूपमा आओस् । यसको सम्भावना शून्यप्राय: छ । अधिकांश सामान्य फिल्महरू जो विशुद्ध मनोरञ्जनको उद्देश्यले बन्छन्, उनीहरू भयानक भद्दा छन् र निसानामा राखिएका निश्चित दर्शकहरूको मन जित्न असफल छन् । अत: सिनेमा विगतका उपलब्धिहरूलाई पुनर्जीवित गर्न पहिले नै आविष्कार गरिएका कुराहरूलाई जोडजाड र नक्कल गर्ने बाटोतिर लागेको छ । कुनै समय बीसौं शताब्दीको कलाको रूपमा हुर्किएको सिनेमा शताब्दीको अन्त्यमा एउटा क्षतिग्रस्त, घाइते स्वरूपमा देखिएको छ र निरन्तर समाप्तिको बाटोतर्फ लागेको छ ।

 सायद सिनेमा नै समाप्त भएको होइन बरु सिनेफिलियाचाहिँ समाप्त भएको हो । सिनेफिलिया— एउटा विशेष प्रकारको प्रेम हो, जुन सिनेमाले उत्पन्न गर्छ । प्रत्येक कलाले यसका प्रेमीहरू जन्माउँछन् नै तर सिनेमाले उजागर गरेको प्रेम संस्कृतिचाहिँ विशेष थियो । यो त्यही मान्यताको उपज थियो कि सिनेमा अरूभन्दा फरक र विशेष कला हो । पूर्ण आधुनिक, स्पस्ट रूपमा पकड हुन सक्ने, काव्यिक अनि अद्भुत, उत्तेजक अनि नैतिक । सबै एकै ठाउँमा । सिनेमासित यसका भक्तहरू थिए, यो धर्मजस्तो थियो । सिनेमा एउटा धर्मयात्रा थियो । सिनेफिलहरूका लागि सिनेमा सबथोक थियो । सिनेमा कलाको किताब थियो अनि जीवनको किताब पनि ।
सन् १८९५ ताका, सिनेमा हुर्कन थाल्दा यसका दुइटा रूपहरू देखिन थाले । दुई आयामहरू एकै पटक देखिन थाले । पहिलो, वास्तविक अनि फूलबुट्टा नभरिएको जीवनको खरो प्रस्तुति, जुन लुमियेर बन्धुले नेतृत्व गरे । दोस्रो, काल्पनिक भ्रम र जादू, जुन जर्ज मेलिएसले नेतृत्व गरे । हुन त लुमिएर बन्धुले बनाएका जिन्दगीका वास्तविक दस्ताबेज पनि जादूजस्तै थिए त्यो बेलाका लागि । बन्द कोठामा अचानक नजिक–नजिक आइरहेको रेल देखेर मान्छेहरू तीनछक परे होलान् । सिनेमा जादूको रूपमा सुरु भयो । एस्तो जादू जहाँ यथार्थ कैद हुन सक्थ्यो त्यो पनि जस्ताको तस्तै । सम्पूर्ण सिनेमाको इतिहास त्यही जादूको चेतलाई निरन्तरता दिन र पुनर्निर्माण गर्न लागिपरेको प्रयास हो ।
सिनेमामा भएको सबथोक त्यही बिन्दुबाट सुरु हुन्छ । सय वर्षअघि जब रेल धकेलिँदै स्टेसनको नजिक आयो, हलमा रोइरहेका र चिच्याइरहेका मानिसहरूले अचानक हात उठाएर रेल छेक्न थाले अनि टाउको तल गरेर आफूलाई बचाउन खोजे यो ठानेर कि रेल उनीहरूलाई किचेर जानेछ । रेल बोकेर आएको सिनेमाले उनीहरूलाई किचेन बरु उल्टो छातीभित्रैबाट गुडेर पो गयो । मानिसहरूले सिनेमालाई आफूभित्र ताने ।
टेलिभिजनको हस्तक्षेपले छोपेर सिनेमाहलहरू खाली नहुन्जेलसम्म, सिनेमाहलको निरन्तर भ्रमणले मान्छेहरू जीवनका तरिकाहरू सिक्थे, सिक्न खोज्थे । हिँड्ने तरिका, बोल्ने तरिका, चुरोट खाने तरिका, चुम्बन गर्ने तरिका, लड्ने तरिका, शोक मनाउने तरिका, रुने तरिका अनि हाँस्ने तरिका । सिनेमाले कसरी आकर्षक बन्ने भनेर टिप्स दिन्थ्यो । पानी नपर्दा पनि रेनकोट लगाएर हिँड्ने एउटा गजबको अनुभव हो जुन हामीलाई सिनेमाले सिकायो । तर सिनेमा सकिएपछि जे हामी घर बोकेर जान्थ्यौं— एउटा विशाल अनुभूतिको एउटा सानो पाटो, जहाँ हामीले भोगाइ डुबाउँथ्यौं जुन आफ्नो थिएन । आफ्नो जीवनलाई अरू कसैको भोगाइ र अनुहारमा पोख्ने एउटा इच्छा ! जुन विशाल भएर सिनेमामा आइदिन्थ्यो । सिनेमा अनुभवको संस्कृति सबैभन्दा बढी यही भोकमा निहित थियो ।
पर्दाको भोगाइमा आफूलाई समर्पण गर्नु र उसलाई बगाउने जिम्मा दिनु सिनेमा अनुभूतिको मुख्य पाटो रहयो । हामी सिनेमाद्वारा अपहरित हुन चाहयौं । र, त्यो अपहरण बन्द अँध्यारो कोठामा भीमकाय चित्रहरूले गर्थे । यही अपहरण संस्कृति नै सिनेमा संस्कृतिको चुरो थियो ।
टेलिभिजनमा कुनै सिनेमा हेर्नु, सिनेमा हेर्नु नै होइन । दृश्यको ‘डाइमेन्सन’ मात्र होइन, सिनेमा थिएटरमा देखिने आफूभन्दा ठूला मानब आकृतिहरू र घरको बाकसमा देखिने आफूभन्दा साना आकृतिहरूबीचको तात्त्विक फरक छ । घरको कुनोमा एउटा बाकसतिर केन्द्रित गर्नु वास्तवमै सिनेमा संस्कृतिको अनादर हो । हुन त घरघरमा, बैठक कोठा र सुत्ने कोठाका भित्ता आकारमा पनि अनुभव हुन थालेको छ सिनेमा । तर पनि घरको भिता घरकै भित्ता हो, यदि अपहरित नै हुनु छ भने सिनेमा थिएटरमै पुग्नुपर्छ । जहाँ हुन्छ— एउटा विशाल अँध्यारो कोठा अनि अपरिचितहरूको विशाल तर शान्त हूल ।
अब आएर जत्रो ठूलो शोकसभा गरे पनि, अँध्यारो थिएटरको उत्तेजक र गम्भीर संस्कृतिको क्षतिपूर्ति पुग्ने छैन । बढी ध्यान खिच्ने उद्देश्यले सिनेमाको स्वरूप छियाछिया हुन पुगेको छ । रंगरोगन थोपरिएको चित्र र सिद्धान्तहीन काटछाँट (फास्ट कटिङ) हाबी भएका छन् । स्वरूप गुमाएको हल्का सिनेमा निर्माण परम्परा सुरु भएको छ, जुन सिनेमाले गम्भीर ध्यानको अपेक्षै गर्दैन । चल्ने चित्रहरू आजभोलि अनेक आकारहरूमा अनेक सतहहरूमा छयापछयाप्ती भेटिन्छन् जसले गर्दा एकताका मानिसहरूले बनाएको सिनेमा कलाको रूप र लोकप्रिय मनोरञ्जनको रूप भन्ने मानक पनि भत्कन पुगेको छ ।
सुरुआती दिनहरूमा सिनेमा कला कि मनोरञ्जन भन्ने विभेद नै थिएन । मुक सिनेमाको जुगमा बनेका मास्टरपिसहरू कलात्मक स्वरूपमा पनि उच्च कोटिका थिए । चित्रले आवाजसँग बिहे गरेसँगै दृश्य भाषाको ओज र लय घट्दै गयो, बजारले च्याप्दै लग्यो । ‘हलिउड सिस्टम’ नाम गरेको यो तरिकाले २५ वर्ष भएंकर प्रभाव छोडयो । अर्सन वेल्स र एरिक भोन इस्त्रोहेमजस्ता मौलिक सर्जकहरू यो सिस्टमको अगाडि हारे र अन्तत: कलात्मक निर्वासनका लागि युरोपतिर हानिए, जहाँ अहिले यही सिस्टमको जगजगी सुरु भएको छ । सानो बजेटसहित फ्रान्समा मात्र उत्कृष्ट सिनेमाहरू बने तिनताका । केही समयपछि, एकफेर सिनेमा बचाउने विचारहरू सुरु भए । जुन विचारले इटालीको युद्धइतर सिनेमामा जरा गाड्न थाल्यो । मौलिक र गहिरा सिनेमाहरू थुप्रो बने त्यो बेला ।
अझ केही समयपछि, सय वर्षको इतिहासमा सिनेमा विशेष घडीमा पुगेको थियो । जुन बेला, सिनेमा हेर्नु, यसबारे कुरा गर्नु, विश्वविद्यालयका विद्यार्थी र अरू युवाका लागि विशेष चाखको विषय बनेको थियो । सिनेमाको कलाकारसँग मात्र हैन, सिनेमासँग नै मायामा फस्ने एउटा विशेष बेला आएको थियो । सिनेफिलिया पहिलो पटक स्पस्ट रूपमा देखियो सन् १९५० तिर, फ्रान्समा । यसको फोरम थियो चर्चित सिनेमा पत्रिका ‘कहेर्स डु सिनेमा’ र यही परम्परा फैलियो क्रमश: जर्मनी, इटाली, बेलायत, स्विडेन, क्यानाडा अनि अमेरिकामा । यसका मन्दिरहरू थिए— सिनेमा क्लब र सिनेमाथेगहरू जहाँ विगतका सिनेमा र सर्जकहरूबारे गम्भीर उत्खनन हुन थाले ।
सन् ६० र ७० का अघिल्ला वर्षहरूमा सिनेमा थिएटर जाने संस्कृति प्रचुर थियो । पूर्णकालीन सिनेफिलहरू, ठूलो पर्दाको सकेसम्म नजिक सिट पाउने सपना देख्थे । सन् १९६४ मा बनेको एक सिनेमाको पात्र घोषणा गर्छ— रोजेलिनी (इटालियन सर्जक) बिना कोही बाँच्नै सक्दैन । साँच्चै समय त्यस्तै नै थियो ।
सन् ५० पछिका १५ वर्ष सिनेमाको स्वर्णिम जुग थियो, जुन बेला हरेक महिना नयाँ मास्टरपिसहरू बन्थे । अहिले कति टाढा लाग्छ त्यो जुग । त्यो बेला सिनेमा उद्योगको रूप वा कलाको रूप भन्ने चर्को बहस हुन्थ्यो । सिनेमा एक नियमित प्रक्रिया वा प्रयोग भन्ने विषयमा गहिरो द्वन्द्व थियो । तर यो द्वन्द्वसँग त्यस्तो कुनै तागत थिएन जसले त्यो बेलाका उत्कृष्ट सिनेमाहरू बन्न रोकोस् । सिनेफिलिया संस्कृतिका गहिरा सिनेमाहरू बनि नै रहे । कहिले मूलधारभित्रैबाट कहिले बाहिरबाट । अहिले आएर यो सिनेमा नाप्ने तराजु ढल्किएको छ र सिनेमा उद्योगको रूप भन्ने पक्षको पल्ला भारी भएको छ । सन् ६० र ७० तिरका महान् सिनेमाहरू एक–एक गरी बिर्सिइँदै छन् क्रमश: ।
उद्योगइतर सिनेमाको बढ्दो प्रभावसँग डराएर, ७० को दशकतिरै हलिउड नयाँ युरोपियन सिनेमा र सीमान्तकृत अमेरिकन इन्डी सिनेमाहरूको कथ्यशैली र सम्पादन शैलीको चोरी सिकारीतिर लागिसकेको थियो । ८० मा आएर उनीहरूले महामारी ल्याउने गरी बजेट बढाए जसले विश्वव्यापी रूपमा बजार विकास गर्न र बजार सुरक्षित गर्न सहयोग पुर्‍यायो ।
अत्यधिक बजेटका कारण फिल्मले छिटोभन्दा छिटो पैसा जम्मा गर्नुपर्ने भयो । नाफा कमाउनु छ भने प्रदर्शनको पहिलो महिनामै लगानी उठाउनुपर्ने बाध्यता आइलाग्यो । अनि यही अभियानसँगै ब्लकबस्टर सिनेमाहरूको जगजगी सुरु भयो र कम बजेटमा बनेका सिनेमाहरू छायामा पर्न थाले । सिनेमाको हलमा बाँच्ने आयु घट्दै–घट्दै किताब पसलको सेल्फमा किताब बच्ने आयु जति हुन लाग्यो । धेरै फिल्महरू सीधै भिडियोमा जाने गरी डिजाइन हुन थाले । अनि बिस्तारै सिनेमा थिएटरहरू निरन्तर रूपमा बन्द हुन पुगे । धेरै सहरहरूमा एउटा सिंगो थिएटर भेट्न गारो हुन थाल्यो र सिनेमा घरायसी मनोरञ्जनको रूपमा बदलियो ।
अमेरिकामा गुणात्मक स्वरूपको अपेक्षा घट्दै जाँदा र नाफामुखी अपेक्षा बढ्दै जाँदा फ्रान्सिस फोर्ड कोपला र पौल स्क्रादरजस्ता कलात्मक रूपमा गम्भीर सर्जकहरूले आफ्नो उत्कृस्ट काम गर्न कहिल्यै पाएनन् । आफ्नो करिअरको अन्तिम दशकतिर दु:खी भाग्य बोकेर बिदा भएका महान् सर्जकहरूको नियतिले यसको दुर्दशा देखाउँछ । कहाँ ठाउा छ अब ? हाँस जुर्गेन साइबरबर्गजस्ता सर्जकहरूका लागि जसले सम्पूर्ण रूपमा फिल्म बनाउने कामबाट सन्न्यास लिइदिए । अथवा गोदार्दको दुर्दशा हेरौं जो सिनेमाको इतिहासबारे सिनेमा बनाइरहेका छन् जुन उनले भिडियोमा बनाइरहेका छन् । आफ्नो चामत्कारिक तर छोटो करियरको अन्तिम दुई सिनेमाको बजेट र कास्टलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो संकट खेपे, आन्द्रे तार्कोब्सकीले र रुसी पुँजीवादको नीरस छायामा आफ्ना सब्लाइम सिनेमाहरू बनाउन कहाँबाट पैसा पाइराख्लान् अलेक्जेन्दर सकुरोवले ? 
आदि–इत्यादि ।
वास्तवमै, सिनेमाको प्रेम धमिलो भएको छ । मान्छेहरू अझै पनि हल जान मन पराउँछन् र कोही अझै ध्यान दिन्छन् र केही विशेष अपेक्षा गर्छन् जुन सिनेमाबाट आउन आवश्यक छ र तिलस्मी सिनेमाहरू अहिले पनि बनिरहेका छन् ।
तर अहिलेका युवाहरूमा सिनेफिलिक प्रेमचाहिँ हराएर गएको छ । जुन एउटा विशेष स्वादको प्रेम मात्र होइन बरु सिनेमाको विगतको गाथालाई निरन्तर हेर्ने र अध्ययन गर्ने गहिरो भोक र प्रेम हो, जुन गजबले हराएर गएको छ । सिनेफिलिया आफैं आक्रमणको सिकार भएको छ । मिति नाघेको, पुरानो, भद्दा र तल्लो दर्जाको जस्ता हतियारहरूले हानेर सिनेफिलियालाई सिध्याएको छ ।
सिनेफिलिया यो संकेत गर्छ, कि सिनेमा अनुपम हुनुपर्छ । जुन ताजा र जादूमय अनुभूति हुनुपर्छ । सिनेफिलिया भन्छ हलिउडले रिमेक गरेको गोदर्दको ब्रेथ्लेस भन्ने सिनेमा, ओरिजिनलजस्तो राम्रो कुनै हालतमा हुन सक्दैन ।
यो महान् औद्योगीकरणको जुगमा सिनेफिलियाको कुनै अस्तित्व नै छैन । सिनेमालाई एक काव्यिक जिनिसको रूपमा स्थापित गराउने अभियानलाई हाँक्न सिनेफिलिया कमजोर भइसक्यो । अब सिनेफिलियासँग यत्रो बल छैन ताकि उसले सिनेमा उद्योगको बाहिर बसेर चित्रकार र लेखकले जसरी सिनेमा बनाउने इच्छालाई उजागर गर्न सकोस् । एउटा दृढ विश्वास र आस्था हारिसकेको छ ।
सिनेफिलिया मरेको छ भने सिनेमाहरू पनि मृत छन् । चाहे जतिसुकै सिनेमाहरू बनुन् । असाध्यै राम्रा सिनेमाहरू बन्दा र बनिरहँदा पनि सिनेफिलियाको अभावमा यो ‘नोसन’ मृतप्राय: छ । साँच्चै सिनेमालाई बिउँताउने हो भने अब एउटा नयाँ खालको सिनेफिलिया विश्वव्यापी रूपमा जन्मनु अत्यावश्यक छ ।
अनुवाद : मनोजबाबु पन्त

प्रकाशित : माघ १५, २०७३ ०९:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT