गर्मी

फूलमान वल

चैत–वैशाखमा

घामले पोल्नु त ठीकै थियो
बगायौं– केही थोपा नुनिलो पसिना
डढाइयौं– अनुहारका केही पाटा

यसरी नै बित्यो जेठ
आयो असार
केही भेलहरु दु:खका
उर्लेर आए साउनमा
र, नथाम्दै ती भेल
भागेर गयो भदौ
तर, अचम्म !
मौसम बदलिने छाँटकाँट नै देखिएन

असोज त फूलहरूको याम
बास्न चल्यो या चलेन ?
भेउ पाउनै छाड्यो यो नाकले
के माहुरीहरु भुन्भुनाए होलान् ?
होस नै भएन यी कानहरुलाई

कात्तिक कट्यो
मंसिर पनि गयो
लौ ! छेकछन्दै छैन चिसोको
पुस–माघमा त जम्थ्यो ठिही
पथ्र्यो तुसारो
कठयाँग्रिन्थ्यो मुटु

ओ आस्याङ ?
के भएको हो यस्तो ?
किन महसुस हुँदैन चिसो ?
स्याँठ कता हरायो ?
यो तातो भुंग्रो हिउँको हो कि गर्मीको
छालाले किन गुमाउँदै छ संवेदना ?

आँखा खोल आस्याङ, आँखा खोल !
उल्टो झुन्डयाएर हामीलाई
यो देशका शासकहरु
हाम्रा टाउकामुन्तिर
युगौंदेखि तेल पो उमालिरहेका रहेछन् ।

प्रकाशित : माघ २२, २०७३ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?