कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘भारतले यसरी गर्‍यो, उपयोग’

भारतको बठयाइँपूर्ण खेलको गोटी बने, राजा ज्ञानेन्द्र । भारतले ज्ञानेन्द्रलाई माओवादी तह लगाउन उचाल्थ्यो । उनी भारतको साथ पाएको छु भन्ने भ्रममा दंग पर्दै दलहरू र माओवादीलाई एकैसाथ दमन गर्न सक्रिय भए ।

‘भारतले यसरी गर्‍यो, उपयोग’

भारतले बाहिर देखाउन मात्रै आफ्नो शासनको विरोध गरेको तर भित्री रूपमा चाहिँ समर्थन रहेको भ्रममा रमाएका थिए, राजा । अर्कातिर माओवादीले भारत वा चीन कुनै एकलाई मध्यस्थकर्ता बनाएर राजासँग वार्ता गर्न चाहेका थिए । सुमा माओवादीले भारत मार्फत वार्ता अगाडि बढाउन खोजेको थियो । भारतले धेरै महत्त्व नदिएपछि चीनमार्फत वार्ताको योजना बनाएका थिए । माओवादी द्वन्द्वको समाधान राजनीतिक तवरबाट मात्रै सम्भव थियो । तर राजा मन्त्रिपरिषद्मा रहेका राजनीतिक व्यक्तिका कुरा रत्तिभर पत्याउँदैनथे । रमेशनाथ पाण्डे, जगत गौचन र सेनाका सीमित अधिकारीका कुराचाहिँ गम्भीर ढंगले लिन्थे । उनीहरूले ‘प्रचण्ड भन्ने मान्छे छैन’ भन्दासमेत पत्याउँथे । ज्ञानेन्द्रको स्वभाव धामीझाँक्री, ज्योतिषीमा विश्वास गर्ने पुरातनवादी थियो ।

डा. तुलसीले भनेजस्तै राजा ज्ञानेन्द्र हीनताबोधी मानसिकताका महत्त्वाकांक्षी व्यक्ति रहेछन् । विश्वासिला आसेपासेहरूले ‘सरकार ! पराक्रमी, बुद्धिमत्ता, एकदमै शूरवीर सम्राट् होइबक्सन्छ भनेर महत्त्वाकांक्षा एवं प्रशंसा बढाइदिए प्रफुल्ल हुने बानी रहेछ । चाटुकारहरूले माओवादीहरूले एक दिन मौसुफको अगाडि शरण परेर हतियार बुझाउनेछन्, दलहरूले पनि आत्मसमर्पण गर्नेछन्’ भनेर उचालेकाले उनी कसैसँग वार्तामा नबस्ने मनस्थितिमा पुगेछन्, जुन कुरा मैले पछि मात्र जानकारी पाएँ । त्यस बेला दलहरूको शक्ति र आफ्नो यथार्थ हैसियत राजालाई पत्तो भएन ।
भारतकै सल्लाहमा राजा देशको पूर्व–पश्चिम क्षेत्रीय भ्रमणमा निस्किएका थिए । आफ्नो जनसमर्थन देखाउन उनलाई भारतले यस्तो सल्लाह दिएको थियो । भारतले नै माओवादीलाई राजाको भ्रमणमा अवरोध नगर्न सुझाएको थियो । जिल्ला सदरमुकाम, सेनाका ब्यारेक र सामान्य प्रहरी चौकीमा आक्रमण गर्न पछि नपर्ने माओवादीले देशका विभिन्न स्थानमा भएको राजाको भ्रमणमा सामान्य अवरोध पनि नगर्नु आश्चर्यजनक लाग्छ । राजा हेर्न सोझा सीधा जनताको बाक्लै उपस्थिति भएपछि ज्ञानेन्द्र आफ्नो पक्षमा व्यापक समर्थन रहेको भ्रममा परे । जसले गर्दा उनी माओवादी र राजनीतिक दल दुवैलाई दमन गर्न हौसिए । खासमा भारतले चाहेको पनि त्यही थियो । राजाले उपहास र दमन गरेपछि माओवादी र राजनीतिक दल दुवै शक्ति आफ्नो शरणमा आइपुग्छन् । त्यही मौकामा राजाविरोधी मोर्चा बनाइदिएर राजतन्त्र फाल्न सकिने भारतीय संस्थापन पक्षको योजना थियो ।
राजाको शासनको अन्तिम कालखण्डमा मण्डले चरित्रका मन्त्रीहरू रमेशनाथ पाण्डेलगायतले उनलाई यस्ता रिपोर्ट गर्न थाले कि ‘फलानो ठाउँमा सरकारको समर्थनमा जुलुस निस्कादा गिरिजाप्रसाद कोइरालालाई निद्रा लागेन सरकार ।’ राजा यस्ता सतही प्रचार सुनेर दंग पर्थे । मैले राजालाई धेरै पटक भनें, ‘यस्ता व्यक्तिका कुरा सुनेर मुलुकको समस्या समाधान हुन्न सरकार । पूर्वपञ्चहरू त यसै पनि सरकारका पक्षमा छँदै छन् । नयाँ मानिसहरूको समर्थन जुटाएर नयाँ ढंगले राजनीतिक समाधान खोजेर मात्र शासन लोकप्रिय बन्छ ।’ तर दरबारियाहरू राजाको हितैषी भनेकै मण्डलेहरू मात्रै भएको अनौठो ठम्याइमा थिए । तिनै मण्डले, आसेपासेहरूको सहारा लिए मात्र समस्या समाधान हुने विश्वासमा थिए, राजा ज्ञानेन्द्र । शान्ति प्रक्रियामा आएपछि जसरी माओवादी प्राधिकारजस्तो ठानिएका प्रचण्ड गलाभरि फूलमाला पहिरिने आकर्षणमा लोभिए, त्यसैगरी सत्तामा रहादा राजा ज्ञानेन्द्रमा पनि मण्डले समर्थकहरूको अन्ध प्रशंसाको भोक देखियो । समयक्रममा यी दुवै पात्र साझा रोगका कारण राजनीतिक शक्तिकेन्द्रबाट किनारा लाग्दै गए । हुन त यति बेला प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बिराजमान छन् तर उनको भविष्य पनि उज्ज्वल देखिन्न ।
भारत नेपालबाट राजतन्त्र उन्मूलन गर्न २००८ सालदेखि नै लागिपरेको कुरा छर्लंग छ । २०६२/०६३ मा भने नेपालभित्रै दोहारो भूमिका खेलेर राजतन्त्र हटाउन सफल भयो । भारतले दूरदृष्टिविहीन महत्त्वाकांक्षी राजा र अवसरवादी प्रचण्डलाई राजनीतिक रूपमा खेलाएर लामो समयदेखिको आफ्नो अभीष्ट पूरा गर्‍यो । भारत नेपाललाई आफूअनुकूल चलाउन चाहन्थ्यो । नेपालका राजाहरू २००७ सालबाटै कांग्रेसलाई मुख्य शत्रु मान्दै उसका विरोधीहरूलाई देशभक्त ठान्ने विश्लेषणमा रमिरहे । अन्तत: दरबारको यही गलत मूल्यांकनले आफ्नो अवसान आफैं निम्त्यायो ।
ज्ञानेन्द्रले राजनीतिक व्यक्तिहरूलाई समेटेर भारत वा चीनको मध्यस्थतामा माओवादीसँग वार्ता गरेका भए द्वन्द्वको सहज समाधान निस्कन सक्थ्यो । किनभने माओवादीहरूले आफ्नो सिद्धान्तभन्दा सत्तालाई प्रिय बनाएर वार्ता प्रसंग अघि बढाएका थिए । माओवादीका केही नेताहरूको उद्देश्य, सिद्धान्त साँच्चिकै सामाजिक विभेद, अन्याय, शोषणको अन्त्य गर्ने, मुलुकलाई समृद्धिको बाटोमा लैजाने, जनगणतन्त्र ल्याउने थियो होला । तर, उनीहरूका प्राधिकार प्रचण्डको महत्त्वाकांक्षाले छिट्टै प्रधानमन्त्री बन्ने, सत्ताको सुखसयलमा जीवन कटाउने सपना मात्र देखिरहेको थियो । उनी केही हदसम्म राजाको अधिकार कटौती गरेर शक्तिशाली प्रधानमन्त्रीको कुर्सी मात्र खोजिरहेका थिए ।
प्रचण्ड सिद्धान्तवादीभन्दा तीव्र महत्त्वाकांक्षी र प्रयोगवादी व्यक्ति हुन् । आफ्नो महत्त्वाकांक्षा पूरा गर्न जस्तोसुकै हथकण्डा अपनाउन पछि नहट्ने नेता हुन्, उनी । प्रचण्डको यही महत्त्वाकांक्षी स्वभावलाई बुझेर राजतन्त्र अन्त्यपछि तिमी चीनको माओ शैलीको राष्ट्रपति, बाबुराम भट्टराई चाओ एनलाई शैलीको प्रधानमन्त्री भनेर भारतीय शक्तिकेन्द्रहरूले उचाल्दा फुर्केर भुइा न भाँडो बनेका थिए । पहिलो संविधानसभापछि प्रचण्डको नाम भित्ते राष्ट्रपतिको रूपमा चर्चा हुनु उनको महत्त्वाकांक्षा माथि भारतीय खेलको प्रतिबिम्ब थियो ।
सक्रिय राजकाजपछि राजासँग भेट
सक्रिय शासनबाट किनारामा धकेलिएपछि राजा ज्ञानेन्द्रसँग दुई पटक भेटघाट भयो । पहिलो भेट २०६४ सालको संविधानसभा चुनाव हुनुभन्दा अघि भएको थियो । दोस्रो भेट गणतन्त्र घोषणा हुने समयको आसपास भयो । राजालाई मैले पहिलो पटक नारायणहिटीमै र दोस्रो पटक नागार्जुनमा भेटें । यी दुवै भेटमा मैले के अनुभव गरें भने दरबारमा चाकडीको प्रथा उही थियो । दरबारका कर्मचारीहरू राजा अत्यन्त व्यस्त भएजस्तो देखाउन भित्र–बाहिर दौडधुप गरिरहन्थे । तर राजालाई भेट्न जाने मान्छे दिनमा एक–दुई जनाभन्दा बढी हुँदैनथे ।
नागार्जुनको भेटमा राजाले पुराना कुरा खोतलेनन् । मैले पनि त्यसलाई उप्काइना । तत्कालीन राजनीतिक अवस्थाबारे उनले जिज्ञासा राखे । ‘देश गणतन्त्रतिर गइसक्यो,’ मैले भनें । राजाले निन्याउरो अनुहार लगाए । नेपालमा गणतन्त्र स्थापना हुने कुरालाई छिमेकी मुलुकद्वय भारत र चीनले कसरी लिएका छन् भन्ने विषयमा चासो व्यक्त गरे । त्यसबाहेक लामा राजनीतिक कुरा गर्ने मानसिकता र अवस्था दुवै थिएन, राजासँग ।

(पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक ‘नलेखिएको इतिहास’बाट ।)

प्रकाशित : माघ २२, २०७३ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?