लेखनमा राजनीति : कति सफा, कति मैलो ?

लेखनमा कला भनेको के ? कति लिटर राजनीतिमा कति लिटर कला घोलेपछि त्यो साहित्य बन्छ ? अनि यो मात्रा ठिक्क भयो भनेर भनेर निर्धारण गर्नेचाहिं को ?
सावित्री गौतम

‘लेखनका नाममा ‘राजनीति’ गर्न पाइँदैन । साहित्यका नाममा नारा ‘ओकल्न’ पाइँदैन । लेखनमा ‘कला’ हुनुपर्छ ।’ साहित्यिक सम्मेलन वा सामाजिक सञ्जालमा ‘गन्यमान्य’ हरूका यस्ता अभिव्यक्ति सुने/पढेपिच्छे मेरो दिमागको ढोका गोपालप्रसाद रिमालको यही कालजयी गीतले ढकढक्याउँछ ।

‘एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ...’

 
‘यो गीत थियो कि नारा ? यसले राजनीति गर्‍यो कि गरेन ? उनले यो गीत राजनीति नै गर्छु (आफ्नो दलविशेषको प्रचार गरौंला वा गीतकै बलमा कुनै सार्वजनिक लाभको पद धारण गर्न पाउँला भनेर) भनेर लेखे वा यो उनको चेतनाबोधको समयसापेक्ष र स्वाभाविक अभिव्यक्ति थियो ? अझ रिमाललाई ‘यसले राजनीति गर्नका लागि नारा लेखेको हो’ भनेर उनका समकालीन र अग्रजहरूले सार्वजनिक मञ्चहरूमै तेजोबध गरे वा गरेनन् होला ? विक्रम संवत् १९७७ मा ‘मकैको खेती’ लेखेका सुब्बा कृष्णलाल अधिकारीले पनि उक्त किताब राजनीति गर्नका लागि लेखे वा किताबले आफैं राजनीति गर्‍यो ? आफूले अनुवाद गरेका वामपन्थी राजनीतिका किताबहरूकै ‘बदौलत’ नेपालमा व्यवस्था परिवर्तनका आन्दोलन नै भए भन्ने लेखक खगेन्द्र संग्रौलाको भनाइलाई के मान्ने ? किताब अनुवाद गरिदिएर अरूलाई राजनीति गर्न सघाउने उनको लेखन आफैंमा राजनीति थियो कि थिएन ? ‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ’ भनेर देशभरि चेतनाका गीत गाउँदै घुम्ने राल्फा समूहका गीतले देशमा पञ्चायती व्यवस्था ढाल्न विशिष्ट योगदान दिए । ती गीतहरू के थिए ? चिलीका कवि पाब्लो नेरुदा राजनीतिमा जति सक्रिय थिए, कवितामा उत्पीडितहरूका मुद्दा उठाउनमा त्योभन्दा बढी मुखर थिए । उदाहरणका लागि स्पेनी गृहयुद्ध, गार्सिया लोर्काको हत्या र स्पेनी जनतालाई विषय बनाएर नेरुदाले लेखेको ‘स्पेन इन द हार्ट’ लाई नारासंग्रह भन्ने कि कवितासंग्रह ? अरबको तेल राजनीतिबारे प्रश्न उठाउने असरफ फयादका कविता नारा थिए कि कविता ? उनलाई सुनाइएको मृत्युदण्डको विरोधमा कविता लेखेकै भरमा मृत्युदण्ड नै रोक्न सफल संसारभरिका कविहरूले गरेको अभियान राजनीति थियो कि थिएन ? त्यति बेला फयादको पैरवी गरेर लेखिएका विश्वभरका कविका कविताहरू नारा थिए कि कविता ?
लेखनमा कला भनेको के ? कति लिटर राजनीतिमा कति लिटर कला घोलेपछि त्यो साहित्य बन्छ ? अनि यो मात्रा ठिक्क भयो भनेर भनेर निर्धारण गर्नेचाहिं को ? मेडिकल काउन्सिलजस्तै साहित्य काउन्सिल पनि हुन्छ कि जाँच लिने ? ‘उड्ने पन्छीजस्ता स्वतन्त्र हुन्छन्’ भनेर बारम्बार व्याख्या गरिइने कवि लेखकहरूको चारित्रिक विशेषता यो कला र राजनीतिको पारिभाषिक रस्सी तानातानमा कहाँनिर अटाउँछ ? अभिव्यक्तिका कुनै पनि शास्त्रीय परिधिमा कैद हुन नसक्ने साहित्यकारका अभिव्यक्तिलाई फेरि ‘लेखनका यति–यति शास्त्रीय मापदण्ड पालना गरेर लेखे मात्र तेरो यो चीज कला भयो नत्र राजनीति’ भनेर उनै शास्त्रीय मान्यता भत्काउँदै आएका अग्रजहरूले नै भन्नु त्यसो भए शास्त्रीयतातर्फकै ‘प्रतिगमन’ हो भनेर बुझ्न पाइने कि नपाइने ? कुनै पनि राजनीतिक दल, तिनका भ्रातृ वा पेसागत संगठनसँग कहिल्यै आवद्धता रहेन । तर लेखन र राजनीतिबारे यी सबै कुरा मेरो दिमागले मलाई सोध्नै छोड्दैन । 

Yamaha

मैले बुझेको राजनीति 
राजनीतिबारे पढिंदै सुनिंदै आएको अर्थ हो राज्यको नीति । राज्य चलाउने नीति भएकाले यसले सर्वश्रेष्ठ नीतिको दर्जा पाएको हुनुपर्छ । राज्यका बासिन्दाको जन्मदेखि जीवनयापन र मृत्युसम्मका सम्पूर्ण व्यवस्था, सुव्यवस्था र अव्यवस्था निर्धारण गर्ने प्रमुख प्रणाली नै यही भएकाले राजनीति सर्वश्रेष्ठ अर्थात् प्रमुख नीति हो । कुनै पनि राज्यको प्रचलित व्यवस्था आफैंमा राजनीति हो जसले राज्यका सम्पूर्ण संयन्त्र सञ्चालनका लागि नीति–नियमहरू बनाउँछ । मानवले जन्मनासाथ चुस्ने आमाको छातीदेखि मृत्युपश्चात् उसको दाहसंस्कारका लागि गरिने प्रबन्धसम्मका सम्पूर्ण प्रक्रिया राजनीति अर्थात् देशको शासन व्यवस्थाले निर्धारण गर्छ । कुनै विकट गाउँमा जन्मेको बच्चालाई पुग्ने गरी उसकी आमाको छातीबाट बग्ने दूधको धाराको अवस्था उसकी आमाको पोषणले निर्धारण गर्छ र यो पोषणको अवस्था निर्धारण गर्छ देशको राजनीतिले । त्यस्तै अरबमा जीवन गुमाएको कुनै कामदारको कुनै कामदारको दाहसंस्कार परिवारले समयमा गर्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरा उसको शव कति छिटो आइपुग्छ भन्ने कुरामा भर पर्छ जुन देशको राजनीतिले निर्धारण गर्छ । 
राजनीति कुनै न कुनै वाद (‘इज्म’) हो । कुनै सिद्धान्त वा विचारको पालना गरेर फरक–फरक व्यक्तिहरू फरक–फरक जनसमूहको नेतृत्व गर्छन् । फरक–फरक चुनाव चिन्ह बनाउँछन् (लोकतन्त्रमा) । शासनसत्ताको बागडोर सम्हाल्छन् र आफूले अँगालेको वादअनुसारको प्रणाली राज्यमा लागू गराउँछन् । जनसाधारणलाई त्यहीअनुसारको जीवनशैली पालना गर्न लगाउँछन् । राजनीति नामक सिक्काकै अर्को पाटो हो प्रचलित व्यवस्थामाथि निरन्तर प्रश्न गर्ने काम । विश्वको इतिहासको हरेक कालखण्डमा समयक्रमसँगै प्रचलित व्यवस्थाको विरोध वा सुधारका माग गरिंदै आएका छन् । लोकतान्त्रिक व्यवस्थामा अनिवार्य मानिने सत्तापक्ष र प्रतिपक्षको सर्वकालीन उपस्थितिले पनि ‘प्रश्न गर्ने काम, विरोध वा खबरदारी पनि राजनीतिकै अंग हो’ भन्ने सिद्धान्तलाई पुष्टि गर्छ । आधुनिक संसद्मा ‘प्रतिपक्ष’ उपाधिका साथ उभिएर प्रचलित व्यवस्था, शासक वा शासन प्रणालीमाथि निगरानी राख्ने, प्रश्न गर्ने र परिवर्तनका लागि आवाज उठाउने विपक्षी दलहरूको हैसियत सत्ता सञ्चालकहरूकै बराबरको हुनु पनि यसको थप प्रमाण हो । 

पुनर्जागरणका लागि राजनीति
युरोपको इतिहासको एउटा महत्त्वपूर्ण कालखण्ड हो पुनर्जागरण जो फ्रेन्च भाषामा ‘रेनेसा’ अर्थात् पुनर्जन्म नामले परिचित छ । समाजका स्थापित मान्यताहरूलाई चुनौती दिइनु वा ती मान्यताहरूमाथि प्रश्न गर्नु पनि राजनीति हो भन्ने कुराको सबैभन्दा दरिलो प्रमाण हो पुनर्जागरण । पुनर्जागरणकालीन युरोपमा सायदै कुनै यस्तो चेतनशील व्यक्ति बाँकी हुँदो हो जो राजनीति गर्नबाट अछुतो रहयो । स्थापित मध्ययुगीन मान्यता र संस्थाहरूप्रतिको घट्दो विश्वासले धर्म, संस्कृति, कला, साहित्य र वास्तुकला, दर्शन र संगीतजस्ता सबै क्षेत्रमा जागरण र चेतनाको लहर उठयो । यति बेला मान्छेहरूमा आएको व्यक्तिगत चेतनाको विकासले मध्ययुगीन सामन्ती व्यवस्थाको अन्त्य गर्‍यो । भौतिक विकासप्रति आकर्षण जगायो र युरोपलाई नयाँ–नयाँ आविष्कारतर्फ डोर्‍यायो । यही कालखण्डमा युरोपमा व्यापारको विकास भयो, प्रिन्टिङ प्रेस र सामुद्रिक कम्पासको खोज भयो । 
यो राजनीतिको बिँडो सबभन्दा पहिला कोपर्निकसले उठाए । दार्शनिक, वैज्ञानिक र गणितज्ञ र खगोलशास्त्रीसमेत रहेका कोपर्निकसले तत्कालीन ‘जियोसेन्ट्रिक’ भौगोलिक मान्यतालाई चुनौती दिए ‘सूर्यले पृथ्वीलाई होइन पृथ्वीले सूर्यलाई घुम्छ’ भनेर । ‘पृथ्वीले सूर्यलाई घुम्छ’ भनेर ठाउँ–ठाउँमा प्रवचन दिंदै हिंड्ने कोपर्निकसको बारम्बारको देशनिकालापछि अन्तत: हत्या नै भयो । कालान्तरमा टेलिस्कोपको आविष्कार गरेर ग्यालिलियोले कोपर्निकसको यही सिद्धान्तलाई प्रमाणित गरिदिए । यसर्थ प्रचलित स्थापित मान्यतामाथि प्रश्न गरेर उनीहरूले वैज्ञानिक भईकन पनि राजनीति गरे । त्यसैगरी मार्टिन लुथरले परम्परागत मध्ययुगीन चर्चका शिक्षा र अभ्यासलाई चुनौती दिए जसले सिंगो क्रिस्चियन समुदायलाई नै ‘क्याथोलिक’ र ‘प्रोटेस्टेन्ट’ गरी दुई धारमा विभाजित गरिदियो । सेक्सपियरले आफ्ना कृतिहरूमा समकालीन र नि:सर्त प्रेमकथाहरूको वर्णनमार्फत ग्रीको–रोमन शास्त्रीय कथाहरूमा जेलिएको युरोपलाई त्यो जालोबाट मुक्ति दिलाए । लियोनार्दो दा भिन्ची, माइकलेन्जेलो, मेकियाभेली, जोन मिल्टन, क्रिस्टोफर मार्लोजस्ता कवि, कलाकार र दार्शनिकको योगदान झिकिदिने हो भने सिंगो पुनर्जागरणको परिभाषा नै अपूरो हुन जान्छ ।

राजनीतिज्ञ लेखकहरू 
‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्दछन् कवि ।’ हाम्रै समाजमा प्रचलित यो उक्तिको पनि सीधा अर्थ हो रवि अर्थात् सूर्य नपुगेको ठाउँमा समेत कविहरू (उनीहरूको प्रसिद्धि वा विचार) पुगेका हुन्छन् । संसारका हरेका परिवर्तनका इतिहास अध्ययन गर्दा कवि लेखक र कलाकारको चेतना सधैं सर्वसाधारणको भन्दा सशक्त देखिन्छ । उनीहरूले सधैं प्रचलित व्यवस्थाका विसंगतिमाथि प्रश्न गरेका छन् र सर्वसाधारणको सुषुप्त चेतनालाई बिउँझाएका छन् । आजको जमानामा पनि शासकहरूले स्थापित गरेका मान्यतालाई चुनौती दिइराख्ने तस्लिमा नसरिन, अरुन्धती रोय, नोम चोम्स्की , रोमिला थापर, उदय प्रकाश वा अरू थुप्रै लेखक छन् जो लेखनमार्फत राजनीति गर्छन् । कुनै पनि ‘वाद’ भनेको पार्टीहरूका दस्तावेजबाहेक अरू पनि केही हो भन्ने उदाहरण नेपालकै लेखकहरूले प्रशस्तै प्रस्तुत गरेका छन् । ‘आइमाईले बोल्नु हुँदैन’ भन्ने सामाजिक मान्यतालाई व्यंग्य गरिएको कुन्ता शर्माको कविता ‘पोथी बास्नु हुँदैन’ र युगौंदेखि महिला भान्साको चौघेरामा कसरी जकडिएका छन् भन्ने वर्णन गरिएका सरिता तिवारीको कविता ‘दैनिकी’ पुरुषवादमाथिका सशक्त प्रहार हुन् ।

विजेताहरूको इतिहासको गाथाभित्र नभेटिएको आफ्नो पहिचानको निरन्तर खोजी गरिराख्ने, इतिहास निर्माणमा खर्च भएको आफ्नो समुदायको श्रमको लगातार हिसाब–किताब माग्ने राजन मुकारुङ, हाङयुग अज्ञात, भूपाल राई, चन्द्रवीर तुम्बापो, उपेन्द्र सुब्बा, राजु स्याङतानहरू एकातिर छन् । अर्कोतिर बेचबिखनको चपेटामा पर्ने तामाङ चेलीहरूको अभिशप्त कथालाई कवितामा उतार्ने बिना थिङजस्ता कवि छन् । उनीहरूको सबैको लेखन आफैंमा राजनीति हो । प्रचलित राज्य व्यवस्थामाथिको प्रश्न हो ।
त्योबाहेक लेखकले कुनै राजनीतिक दस्तावेजमा आधारित ‘वाद’ समातेर सक्रिय राजनीति गर्नै नपाउने भन्ने कुनै लिखित नियम–कानुन पनि छैन । लेखक आफैंमा सार्वभौम नागरिक हो र उसलाई पनि अरू नागरिकलाई झैं सक्रिय राजनीति गर्ने अधिकार अवश्य रहन्छ । बरु नेपालमा यस्ता राजनीतिज्ञ लेखक प्रशस्तै छन् । बीपी कोइराला, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, मञ्जुलजस्ता राजनीतिज्ञ/लेखकलाई लेखनमा उनीहरूले उठाएका मुद्दाको आधारमा पनि शुद्ध राजनीतिज्ञ मान्न सकिन्छ । कुनै समय कवि कुन्ता शर्मा आफैं सक्रिय राजनीतिमा थिइन् । आजको पुस्तामा आहूतिजस्ता सक्रिय राजनीतिज्ञ छन् जो ‘गहुँगोरो अफ्रिका’ वा ‘दलन’ जस्ता कृतिहरूका माध्यमले दलितहरूका पक्षमा लेखनमार्फत पनि राजनीति गर्छन् । लेखनमा यदि कसैले आफ्नो वैचारिक पक्षधरता स्पष्ट उल्लेख गर्छ भने त्यो उसको वैयक्तिक अधिकार र अभियक्ति स्वतन्त्रताको कुरा हो । जब मान्छेको चेतनाको स्तर बढ्दै जान्छ उसले त्यहीअनुसारको लेखन बनाउँदै लैजान्छ । कुनै कविको विचारको स्तर सधैं ‘गाई हाम्री माता हुन्— गोरु हाम्रा पिता हुन्’ भन्ने स्तरका कविता लेख्नेकै रहिरहनुपर्छ भनेर उसलाई कसैले बाध्य पार्न वा नियन्त्रण गर्न खोज्नु आफैंमा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।
राजनीतिकै बारेमा जर्मन साहित्यकार ब्रेक्तले भनेका छन्, ‘निरक्षरमध्येको सबैभन्दा निकृष्ट निरक्षर हो— राजनीतिक असाक्षर । ऊ सुन्दैन, बोल्दैन र राजनीतिक प्रदर्शनहरूमा कहिले भाग पनि लिंदैन । ऊ दालचामलको मूल्यबाट अनभिज्ञ रहन्छ, घरभाडाको, जुत्ता–चप्पलको, औषधिको र समग्रमा जीवनकै मूल्यबाट अनभिज्ञ रहन्छ किनकि यी सबैका मूल्य राजनीतिक निर्णयहरूले तय गर्छन् । उसको यही राजनीतिक अज्ञानका कारण नै सबैभन्दा खराब चोरहरू र बहुराष्ट्रिय कम्पनीको इसारामा नाच्ने भ्रष्ट राजनीतिज्ञहरूको उदय हुन्छ । र पनि मूर्खतापूर्ण गौरवका साथ छाती फुलाएर ऊ भनिनै रहन्छ— म राजनीतिलाई घृणा गर्छु ।’
राजनीतिको वैकल्पिक प्रजाति ‘डर्टी पोलिटिक्स’
‘राजनीति डर्टी गेम’ हो भनेर कलेजअगाडिको चियापसलमा बसेर गफ ‘जोतिरहेको’ कुनै विद्यार्थीलाई थाहा नहुन पनि सक्छ— आज उसले पढिरहेको कलेज भएको ठाउँमा कुनै समय घना जंगल थियो । राजनीतिक व्यवस्था परिवर्तनका लागि उसका पितापुर्खाले लडेर, मरेर शिक्षा प्राप्त गर्ने हक शासकहरूको हातबाट खोसेर आफूमा ल्याए । राजनीति गरे, नारा लगाए र उनीहरूलाई शिक्षण संस्था खोल्न बाध्य पारे । कलेजमा छात्रवृत्ति पाएकाले शिक्षण शुल्क तिर्न नपरेको पैसालाई चियापसलमा धूवाँ बनाएर उडाइरहेको उसलाई यो पनि थाहा नहुन सक्छ उसले पाएको छात्रवृत्ति शिक्षा मन्त्रालयदेखि कलेज हुँदै ऊसम्म आइपुगेको छ जुन शिक्षा मन्त्रालयलाई राजनीतिले नै चलाउँछ । ‘लेखनमा राजनीति’ गरेकाहरूको कटाक्ष गर्दै तेजोबध गरेका ट्वीटले सय नाघेर ‘हन्ड्रेड आरटी क्लब’ को गर्विलो सदस्य बनेको कुनै ‘फुल टाइम’ लेखकलाई आज यो थाहा नहुन पनि सक्छ— कथंकदाचित भोलि मृगौला फेल वा क्यान्सरजस्ता खर्चिला बिमारले ग्रस्त बनेमा ‘जीवनभर लेखेर देश सेवा गरेका व्यक्तिलाई बचाऔं’ भन्दै उनै कटाक्ष पीडितहरू नाराले जलप गरिएका सयौं कविता लेखेर उसैका लागि राजनीति गर्नेछन्— सरकारलाई दबाब दिनका लागि जुन सरकार राजनीतिमार्फत नै चल्छ ।
‘एक जुगमा एक दिन एकचोटि आउँछ’ जस्ता जुरुक्कै उचाल्ने गीत लेख्ने गोपालप्रसाद रिमाल अन्तत: मानसिक असन्तुलनका कारण उठ्नै नसक्ने गरी अस्वस्थ भए । ‘मकैको खेती’ लेखेबापत सुब्बा कृष्णलाल जेल परे, यातना पाए र जेलभित्रै उनको चोला उठयो । तर आफ्ना कृतिमार्फत उनीहरूले गरेको राजनीति र त्यसबापत आएको व्यवस्था परिवर्तनको फाइदा सबैले उठाए । दुर्भाग्यवश, हाम्रो देशमा प्रकट रूपमा वा विचारमार्फत कहिले राजनीति गर्न नसक्ने, भित्रभित्रै अनेकखाले ‘राजनीतिक’ भने तिकडम गरिरहने, खुलेर व्यवस्थाको विरोध गर्न नसक्ने तर व्यवस्था परिवर्तनमार्फत आएको अनुकूलनको फाइदा उठाउन सधैं अग्रपंक्तिमा रहनेहरूको जमात इतिहासका हरेक कालखण्डमा रहयो । अफसोस ! ‘वाङमयिक योगदान पुर्‍याएबापत’ भन्दै चुनाव चिन्हका आधारमा प्रदान गरिने राजनीतिक नियुक्तिका लागि सधैं ‘ओपन’ रहने र विचारमार्फत लेखनमा राजनीति गर्नेहरूलाई सधैंभरि लज्जित गरिरहने प्रवृत्तिलाई सुशोभित गर्न ‘डर्टी पोलिटिक्स’ बाहेक अर्को नाम म फेलै पार्दिनँ ।

फ्रान्सेली प्रगतिशीलता, जर्मन पाइपर र नेपाली मुसा
इतिहासमा पढेको— फ्रान्सेली राज्यक्रान्तिपछि त्यहाँको सदनमा प्रगतिशील विचारधारा राख्ने सांसदहरू सदनको बायाँतर्फ बस्न थाले । यसैकारण उनीहरूलाई वामपन्थी वा ‘लेफ्टिस्ट’ भन्न थालियो । यही क्रम संसारभर चल्दै आयो । त्यही परम्पराअनुसार वामपन्थलाई आधार बनाएर लेख्न सुरु गरेका लेखकहरूलाई प्रगतिशील लेखक भन्न थालिएको होला । अर्थात् स्वाभाविक रूपमा उनै लेखकहरू ‘प्रगतिशील’ बने जो वामपन्थी विचारधारा राख्छन् । नेपालमा पनि वर्षौंदेखि प्रगतिशील लेखनकै धार समातेर हिंडेका अग्रज लेखकहरूको एक हूल छ र उनीहरूकै दौराको फेर समातेर हिंडिरहेका अनुजहरूको अर्को जमात पनि । अर्को प्रसंग— जर्मनीको लोककथा छ पाइड पाइपर र मुसाको । सहरभरि मुसा र प्लेगको आतंकले ग्रसित हयामलिन सहरका बासिन्दाले एक जना पाइप (एक प्रकारको बाजा) बजाउनेलाई भेट्छन् । उसले सहरका सबै मुसालाई सहरबाहिर पुर्‍याइदिन सक्ने आश्वासन दिन्छ । सहरबासीसँगको मोलमोलाइपछि पाइपरले पाइप बजाउँदै सहर घुम्छ, मुसाहरू लठ्ठिंदै उसको पछि लाग्छन् । अन्तत: उसले सबै मुसालाई सहरबाहिर लगेर फालिदिन्छ । एकातिर प्रगतिशील लेखनलाई नै आधार बनाएर लेखिरहेका समकालीन साथीहरूको आँखामा हेछर््ुु, लेखनमार्फत नै दुनियालाई ‘अपसाइड डाउन’ गर्न सकिन्छ भन्ने विश्वास देख्छु । अर्कातिर प्रगतिशील वा वामपन्थी लेखनमा आधारित रहेर वर्षौं लेखिसकेपछि अहिले त्यही लेखनको ‘ब्याज’ खाइरहेका अग्रजहरू भन्छन्, ‘आजकालकाहरू नारा लेख्छन् ।’ अभिव्यक्ति स्वतन्त्रताको नाममा लामो लडाइँ लडिएको नेपालजस्तो देशमा ‘लेखनमा राजनीति गर्‍यो, नारा लेख्यो’ भनेर कसैको वैचारिक लडाइँलाई बारम्बार हतोत्साही गर्न ‘डर्टी पोलिटिसियन’ हरूको जमात त पहिल्यै छँदै थियो । ‘जीवनभर यस्तै लेख्नुपर्छ’ भनेर आफ्नो पछिपछि लाग्न आफैंले प्रेरित गरेका ‘अनुज प्रगतिशील’ हरूलाई जब कुनै भूतपूर्व ‘अग्रज प्रगतिशील’ ले पनि सार्वजनिक मञ्चबाटै ‘तिमीहरू कवितामा नारा लेख्छौ’ वा ‘लेखनमा राजनीति गर्छौ’ जस्ता टिप्पणी गर्छन्, त्यति बेला ठयाक्कै पाइड पाइपर र मुसाको जर्मन कथा याद आउँछ । लाग्छ अग्रजहरू पाइपर हुन् र अनुजहरू मुसा ।

Esewa Pasal

प्रकाशित : माघ २२, २०७३ ०९:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शनिबारीय: ‘टाप कस्नेहरू’ कै नाममा

हास्यव्यंग्यका नाममा महिला निन्दा गर्ने कार्यक्रमहरू एउटा–दुइटामा मात्र सीमित छैनन् । यही सिलसिलालाई ‘सदर’ गरेको छ हालसालै प्रदर्शित चलचित्र ‘छक्कापन्जा’ले ।
सावित्री गौतम

खसिस्नुपानी नेपालको यो वर्षको देउसी–भैलो कार्यक्रममा कलाकार सीताराम कट्टेल र मनोज गजुरेलले क्रमश: पूर्वप्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल बनेर प्रस्तुति दिएका थिए ।

-सिस्नुपानी नेपालको यो वर्षको देउसी–भैलो कार्यक्रममा कलाकार सीताराम कट्टेल र मनोज गजुरेलले क्रमश: पूर्वप्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल बनेर प्रस्तुति दिएका थिए ।भैलो सुरु गर्न अनुरोध गर्दै प्रचण्ड बनेका मनोज गजुरेलले केपी ओली बनेका सीताराम कट्टेलतिर हेर्दै भने, ‘तपाईं सुरु गर्नुस्... उखान नै छ, लेडिज फस्र्ट ।’ कलाकार कट्टेल पुरुष थिए र पुरुष वेशमै अभिनय गरिरहेका थिए, त्यसैले उनलाई ‘लेडिज’ भन्नुको कुनै अर्थ थिएन । उक्त प्रहसनभरि ‘लेडिज’ शब्दको प्रयोगको अरू सान्दर्भिकता पनि खुल्दैन । स्पष्ट छ, कलाकारद्वयले होच्याउने शब्दका रूपमा मात्रै प्रयोग गरेका हुन् ‘लेडिज’ अर्थात् महिलालाई । देशका प्रत्येक क्षेत्रका ‘विकृति औंल्याइदिएबापत’ लोकप्रियता कमाएका कलाकारहरूले कुनै पुरुषलाई होच्याउनकै लागि सार्वजनिक मञ्चमा उसलाई महिला भन्नु विकृतिको परिभाषाभित्र पर्छ कि पर्दैन ? प्रश्न उक्त कार्यक्रम प्रत्यक्ष हेरिरहेका देशका वर्तमान र पूर्व सरकारप्रमुखलगायत थुप्रै ‘विशिष्ट’ मध्ये कति जनाले यसलाई याद गरे वा कति जनालाई यो आपत्तिजनक लाग्यो होला ।

- बौद्धिक भनि चिनिएका नेता बाबुराम भट्टराईले तीन वर्षअघि बर्दियाको एक घरमा भारतीय सुरक्षाकर्मीले गरेको खानतलासीको सन्दर्भमा टिप्पणी गर्दै नेपाल छिमेकीहरूको अगाडि कमजोर छ भनेर जनाउन ‘नामर्दकी जोई सबैकी भाउजू’ भन्ने उखान प्रयोग गरेका थिए । त्यसअघि नै उनले अर्को राजनीतिक दललाई होच्याउन ‘तेस्रोलिंगी’ शब्दको प्रयोग गरिसकेका थिए । त्यो भनिरहँदा उनले आफ्नो पहिचान र अधिकारका लागि संघर्षरत अल्पसंख्यक नेपाली तेस्रोलिंगीहरू मात्र होइन पहिलो संविधानसभामा उनीहरूको प्रतिनिधित्व गरिरहेका आफ्नै समकक्षी सुनीलबाबु पन्तको मर्यादाको हनन भएको हेक्कासमेत राख्न सकेनन् ।

- कुनै लोग्नेमान्छेलाई होच्याउनुपरेमा ‘आइमाईजस्तो’ भन्ने मात्र होइन सार्वजनिक रूपमै कुनै पुरुषलाई अपमानित गर्नुपरे महिलाले प्रयोग गर्ने सामग्री चुरा–पोते वा पेटिकोटसमेत लगाइदिने प्रचलन नेपालमा पुरानै हो । नेताहरूलाई नालायक देखाउन उनीहरूले लुगा सिलाइरहेका वा सारंगी बजाइरहेका वा राउटेका वेशमा फोटोसप गरिएका तस्बिरहरू पहिलो संविधानसभाको असफलतादेखि नै सामाजिक सञ्जालहरूमा भाइरल छन् । वर्षौंदेखि नेपाली टेलिभिजनमा लोकप्रिय बनेका हास्यव्यंग्य टेलिसिरियलहरूले कुनै शारीरिक वा मानसिक अपांगता भएको पात्रलाई हास्यास्पद व्यक्तिका रूपमा प्रयोग गरिरहेका छन् । अर्थात्, यसरी देखाइने गरेको छ कुनै पात्रमा जन्मजात अपांगता छ भने त्यो पात्र त्यत्ति आधारमै खिसी उडाउनलायक हो ।

हास्यव्यंग्यका नाममा महिला निन्दाको यो प्रसंग यस्ता एउटा–दुइटा कार्यक्रममा मात्र सीमित छैनन् । यही सिलसिलालाई ‘सदर’ गरेको छ हालसालै प्रदर्शित चलचित्र ‘छक्कापन्जा’ ले । यसले नेपाली फिल्म उद्योगमै सबभन्दा धेरै बीस करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको भनिएको छ । फिल्ममा भगवान उर्फ राजाको केन्द्रीय भूमिका गरेका दीपकराज गिरीसँग अभिनेत्री वर्षा राउत अर्थात् विनीताको कथित अवैध सम्बन्ध हुन्छ ।

अविवाहित दीपकसँग सम्बन्धमा रहेकी अभिनेत्री विवाहित हुन्छिन् । उनीहरूको सम्बन्धलाई समानान्तर रूपमा त्यही दृश्यसँगै देखाइन्छ जुन बेला वर्षाका पति बनेका नवविवाहित अतीत अर्थात् शिवहरि पौडेलले अमेरिका पुगेर आफ्नी पत्नीलाई फोन गर्छन् ।

उता, पतिलाई लाजले ‘आई लभ यू’ समेत भन्न नसकेकी नवविवाहिता पत्नीले फोन काटी नसक्दै दर्शकले उनलाई आफ्ना प्रेमीसँग बिछ्यौनामा ‘निर्लज्ज’ अवस्थामा देखिसकेपछि फिल्मको कहानीले ‘ट्वीस्ट’ लिन्छ । पत्नीलाई विदेश लान सबै कानुनी प्रक्रिया ठिक्क पारेर नेपाल आएको पतिचाहिं आफ्नै साथी र पत्नीबीचको सम्बन्धले रन्थनिन्छ । उसले अर्को पात्र आर्यन सिग्देल भेट्छ जो आफू विदेश गएर फर्केको बेला धोका दिएर टाप कसेकी पत्नीको कारण आत्महत्या गर्न ठिक्क परेको हुन्छ । ऊ र गाउँकी अर्की केटी चम्पा यानिकी प्रियंका कार्कीको मद्दतले अतीतले राजालाई ‘पाठ’ सिकाउँछन् ।

फिल्मका अरू सहायक प्लटहरू पनि छन्— जस्तै देशमा व्याप्त बेराजगारीको कारण खाडीमा बिदेसिन अभिशप्त युवाहरू, दिनभरि हल्लेर बेलुका जाँड खाएर घर पुग्ने पतिहरू आदि । तर फिल्मको पूरै कथाको बेस अर्थात् थिम हो ‘लोग्ने विदेशमा स्वास्नीको यता अर्कै सँग मस्ती...’ । यो नै फिल्मको ‘थिम’ हो भन्ने कुरा अन्तिम दृश्यले प्रमाणित गर्छ जुन सबैभन्दा आपत्तिजनक छ । जसमा फिल्मका एक कलाकार बुद्धि तामाङले विदेश जाने बेला गाउँका सबै तन्नेरीलाई भेला पार्छन् । पत्नी बनेकी कलाकारलाई पालैपालो सबै तन्नेरीलाई भाइटीका र सयपत्रीको माला लगाउन लगाएर ‘अबदेखि तिमीहरू दिदीभाइ भयौ’ भनिसकेपछि दर्शकतिर फर्केर भन्छन् ‘यति भएपछि ढुक्कले विदेश जान पाइयो ।’

फिल्मका निर्माता दीपकराज गिरीले फिल्मले महिला निन्दा गरेको भन्ने टिप्पणीको प्रतिरोध गरेका छन् । गीतकार राजेन्द्र थापाले फिल्मकै तारिफमा लेखेको फेसबुक स्टाटसमा फिल्मको विषयवस्तु आपत्तिजनक छ भन्ने कमेन्टबारे गिरीले दिएका केही तर्क यस्ता छन्— मारधाड र यौनबिनाको ‘क्लिन’ फिल्म देखाएर पनि यतिविधि दर्शक उतारेर हामीले चमत्कार नै गर्‍यौं । फिल्मवालाहरूको काम नैतिक शिक्षा पढाउनु हैन र नैतिक शिक्षा दिने फिल्म बनाएर हलमा दर्शक निदाउने गरी सिनेमा हललाई गेस्टहाउस बनाउनु पनि हैन । ‘फिल्मको बारेमा नकारात्मक टिप्पणी गर्ने तिमीहरूजस्ता ‘विद्वान्’ सही, त्यसरी उर्लिएर फिल्म हेर्ने सारा नेपाली दर्शक गलत ?’ आदि ।

गिरीले सञ्चारमाध्यमहरूमा भनेअनुसार विनीताले राजालाई पहिल्यै मन पराएकी हुन्छे । अर्थात् विनीताको ‘च्वाइस’ थियो राजा । त्यसैले आफूले मन पराएको केटासँग विवाहेत्तर सम्बन्ध रहनु स्वाभाविक हो । यदि विनीताको चरित्रचित्रण सही भएको छ भन्ने गिरीको तर्क हो भने उक्त पात्रले पहिल्यै बाबुले खोजिदिएको केटासँग विवाह गर्न इन्कार गरेको देखाइन्थ्यो । र, कुनै युवतीले आफ्नो जीवनसाथी चुन्ने अधिकारको वकालत गरिएको हुन्थ्यो । तसर्थ, फिल्ममा महिलाको जित देखाइएको भनेर गरिएको दलिल तर्कसंगत देखिंदैन ।

फिल्मका लेखकमध्येका एक अभिमन्यु नीरवीले एउटा अनलाइनमा लेखेका छन्, ‘फिल्मको सुरुआती स्क्रिप्ट सुनेपछि दीपा दिदीले भन्नुभो— महिला हिंसा अलि बढी भो । ‘फिल्म समाजको ऐना हो समाज जस्ताको तस्तै देखाइदेको’ दीपक दाइले हाँसो गर्नुभो ।’ ‘जालझेल पुरुषले गर्छ महिलालाई कसरी नराम्रो देखाइयो ।’ निर्देशकीय अदबका साथ फेरबदल गरौं भनेर दीपाश्रीले भनेपछि पटकथामा सामान्य फेरबदल भएको भनिएको अन्तिम स्वरूप नै यस्तो रूपमा रिलिज भएको छ ।

‘पहिला रक्सी खाने पात्रले पछि छोड्छ’ वा ‘सीधासाधा पात्रलाई सताउने बदमास खालको पात्रले नसताउने वाचा गर्छ’ जस्ता चल्तीका फर्मुला पनि देखाइएकै आधारमा फिल्मको थिमलाई नजरअन्दाज गर्न मिल्दैन । महिला निर्देशकको रूपमा तपाईंको ‘स्वतन्त्र धारणा’ के हो भनेर सोध्दा निर्देशक दीपाश्री निरौलाले कुनै जवाफ दिइनन् । निर्देशकको शरीर मात्रै महिलाको हुनुले अर्थ राख्दैन । उनको निर्णय क्षमता वा अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण हो ।

यस्ता श्रव्यदृष्य सामग्रीको असर धेरैको मस्तिष्कमा एकै पटक, छिटो र गहिरो गरी पर्छ । किनकि यस्ता सामग्रीलाई ग्रहण गर्न लेख्ने–पढ्नेजस्तो विशेष सीप आवश्यक पर्दैन । लेखक/पत्रकार अभय श्रेष्ठका अनुसार भारतमा विवाहेत्तर सम्बन्धको कथामा बनेको महेश भट्टको १९८२ को फिल्म ‘अर्थ’ को रिलिजपछि फिल्मकी अभिनेत्री शबाना आजमीसँग परामर्श लिन जाने महिलाहरूको ताँती लागेको थियो जसले आफ्ना पतिसँग सम्बन्धविच्छेद गरिसकेका थिए वा गर्न चाहन्थे ।

त्यस्तै चिनियाँ चलचित्र ‘फ्लावर्स अफ वार’ ले सांस्कृतिक क्रान्तिका कारण चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका सदस्यहरूको देशभक्तिबारे जनमानसमा रहेको भ्रम निवारण गर्न ठूलो भूमिका निर्वाह गर्‍यो । जापान र चीनबीचको युद्धको विषयमा बनेको फिल्मको अन्तमा चिनियाँ नगरवधूहरूले जापानी सेनासमक्ष खुसीसाथ बलिदान गर्न जाँदै गरेको दृश्य देखाइन्छ । फिल्मले एकातिर देशभक्ति जोसुकैको मनमा पनि उत्तिकै बलियो गरी रहेको हुन्छ भन्ने देखाएको छ भने अर्कोतिर नगरवधूहरूप्रति राखिने अपमानजनक धारणालाई बदल्ने कोसिस गरेको छ ।

चार्ली च्याप्लिनको सर्वाधिक सफल मानिने चलचित्र ‘द ग्रेट डिक्टेटर’ ले प्रजातान्त्रिक मूल्य र मान्यताको महत्त्वलाई स्थापित गरेको छ । हास्यव्यंग्यात्मक प्रस्तुति रहेको फिल्म राजनीतिक विषयमा छ जसले नाजीहरूले गरिरहेको तानाशाहीको र फासिज्मको निन्दा गरेको छ । च्याप्लिनले यो फिल्म बनाइसकुन्जेलसम्म अमेरिकी सरकारलाई पनि जर्मनीमा हिटलरको तानाशाही चरम अवस्थामा पुगेको थाहा थिएन । ऊ नाजी—जर्मनीसँग शान्तिपूर्ण सम्बन्धमै थियो ।

उता च्याप्लिनले भने फिल्ममार्फत जर्मनीमा बढिरहेको हिंसा र दमनलाई सम्बोधन गरिसकेका थिए । फिल्ममा हिटलर बनेर अभिनय गरेका च्याप्लिनको छोटो जुंगावाला ‘हिटलर लुक’ त्यही फिल्मबाट मान्छेहरूको मनमा यति गड्यो र पछि ‘चार्ली च्याप्लिन लुक’ बन्न पुग्यो— जीवनपर्यन्त उनले त्यही लुकमै अभिनय गरिरहे ।

भारतमा रामानन्द सागरको टेलिसिरियल रामायण र बीआर चोपडाको महाभारतमा सीता र द्रौपदीको भूमिका गरेका अभिनेत्रीहरू क्रमश दीपिका र रूपा गांगुलीको फिल्मी करियर यही कारण असफल रह्यो किनकि ‘आदर्श नारी’ को धार्मिक चरित्रमा देखिएका उनीहरूलाई दर्शकले ग्ल्यामरस रोलहरूमा स्विकार्न सकेनन् । त्यस्तै निर्माता निर्देशक दीपा मेहताको चलचित्र ‘वाटर’ मा विधवाहरूको कथालाई अन्टसन्ट रूपमा देखाइएको भनेर उक्त चलचित्र विवादास्पद र प्रतिबन्धितसमेत भयो । यिनै कुरालाई आधार मान्ने हो भने ‘छक्कापन्जा’ मार्फत नेपाली दर्शकको मनमा पर्न सक्ने छाप यही हो—‘बिदेसिएका सम्पूर्ण नेपाली पतिहरूका पत्नी बेइमान छन् र अर्को लोग्नेमान्छेसँग मस्ती गरिरहेका छन् ।’

‘रेमिट्यान्सको महँगो सामाजिक मूल्य’ शीर्षकमा खोज पत्रकारिता केन्द्रको गत पुस ११ गतेको रिपोर्टमा उल्लेख दुई व्यक्तिका प्रतिक्रियाका ‘टोन’ उल्लेखनीय लागे । पहिलो—‘पाँचथर यासोक–५ की राजकुमारी लावती (३०) अहिले शिशु हत्या अभियोगमा पाँचथर कारागारमा छिन् । उनका श्रीमान् इन्द्रकुमार २०६५ सालदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । जेठाजु नाताका मुखराम लावतीसँगको शारीरिक सम्पर्कपछि जन्मिएको छोरो मारेर सामुदायिक वनमा गाडेको अभियोगमा ३० चैत २०७२ मा राजकुमारी र मुखरामलाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेपछि राजकुमारीले भनेकी थिइन्, ‘पैसा पठाउनुहुन्थ्यो, के गर्नु लोग्नेसँग साटिने सबै दु:खसुख पैसासँग साट्न मिलेन । उमेरकी श्रीमती सम्झेर बेलाबखत घर आउनुभएको भए म यो हालतमा पुग्ने थिइनँ ।’

अर्को छ— पाँचथरको रानीटार–२ की चन्द्रमा (नाम परिवर्तन) लाई एचआईभी पोजिटिभ भएको छ । श्रीमान् चन्द्रेश्वर (नाम परिवर्तन) वैदेशिक रोजगारीबाट फर्किएपछि २७ वर्षीया चन्द्रमालाई एचआईभी संक्रमण भएको हो । २०६३ सालयता दुई पटक कुवेत गएका चन्द्रेश्वरलाई आफूलाई कसरी एचआईभी संक्रमण भयो भन्ने पनि थाहा रहेनछ । उनले भने, ‘कुवेत जान दिल्लीमा भेला हुँदा रमाइलो गर्न भनेर साथीहरूको लहलहैमा लागियो, त्यही बेला भयो होला ।’

पहिलोमा राजकुमारीले भनेकी छन्, ‘लोग्नेबाट पाउने सुख पैसाले दिन सकेन ।’ दोस्रो घटनामा चन्द्रेश्वरले एचआईभी आफूलाई सरीकन पत्नीलाई सरिसकेको कुराको समेत हेक्का नरहेको कुरा अत्यन्त हल्काफुल्का तरिकाले बताएका छन् । उनको टोनअनुसार उनले दिल्लीमा जे गरे त्यो पत्नीप्रतिको ‘बेइमानी’ नभईकन ‘रमाइलो’ थियो ।

यसले दिल्लीमा जहाज कुरुन्जेल नै पनि ‘रमाइलो’ गरिहाल्न हतारिने लाखौं नेपाली पतिबाट हामीले वर्षौंवर्ष लामो ‘पत्नीव्रत’ को आस कसरी गर्ने भन्ने प्रश्न उठाउँछ । त्योभन्दा अझ हास्यास्पद छ उनीहरूका पत्नीहरू उनीहरूप्रति इमानदार रहुन् भनेर समाजले एकांगी रूपमा गर्ने अपेक्षा । अर्को प्रश्न हो— चन्द्रेश्वरलाई यति हुँदा पनि नछोडीकन बसेकी चन्द्रमाजस्ता लाखौं पत्नीको मूल्यांकन हामीले कत्तिको गरेका छौं ।

हिजोआज घर धान्नका लागि कैयौं महिला पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । यदि चन्द्रेश्वरकै बयानलाई उल्ट्याएर सोच्ने हो भने कति जना महिलाले यसरी नै निर्धक्क भन्न सक्लान् दिल्लीमा बसेर आफूलाई खाडी उडाउने जहाज कुरुन्जेलका केही दिनमै पनि ‘रमाइलो’ गरेका कारण एचआईभी संक्रमण भयो र पतिलाई समेत सर्‍यो । कति जना नेपाली पतिले यस्ता पत्नीहरूलाई आफूलाई एचआईभी संक्रमण भइसकेपछि पनि नत्यागी बस्न सक्लान् ।

रेमिट्यान्सको कस्मेटिक मूल्य नगण्य छ । योभन्दा कैयौं गुणा चर्को रूपमा सामाजिक र मानवीय मूल्यको क्षय हुँदै गएको कुरा सत्य हो । यसका थुप्रै अरू कारण पनि छन् । तर यसको सम्पूर्ण दोष केही वर्षअघिदेखि नेपाली महिलाको काँधमा मात्रै थोपरिएको छ जुन एकपक्षीय र अन्यायपूर्ण छ । वर्षौंदेखि लोग्ने बिदेसिएका लाखौं महिलाले लोग्नेको घरको पारिवारिक जिम्मेवारी र उसकै प्रतिनिधित्व गरेर सारा सामाजिक जिम्मेवारी धानेका छन् ।

बिदेसिएका सबै पति अथाह पैसा पठाउने मात्र हुँदैनन् जसलाई बटुलेर उनीहरू टाप कस्न सकुन् । कतिपय पतिहरू जेल परेका छन्, वर्षौंदेखि एक रुपैयाँ पठाउन सकेका छैनन् र पनि महिलाले पतिका परिवारको सम्पूर्ण आर्थिक जिम्मेवारी बहन गरेका छन् । अंगभंग भएर वा कोमामा गएर समेत घर फर्केका कैयौं पतिहरू छन् जसलाई क्षतिपूर्ति दिलाउनका लागि कहिले घरबाहिरको संसार नै नदेखेका निर्दोष पत्नीहरू म्यानपावर कम्पनी र सरकारी कार्यालयका चक्कर काटिरहेका छन् ।

घरभित्रका सारा धन्दाका साथमा बालबच्चा हुर्काउने वा बिरामी र वृद्ध सासू–ससुरा स्याहार्नेजस्ता उनीहरूले गरेका दर्जनौं कामको त अझ कुनै गणना नै हुँदैन । बिदेसिएका पतिका पत्नीहरू छरछिमेकका अभद्र पुरुषका गिद्देदृष्टिबाट बच्न के–केसम्म गर्छन् । महिलाका यी सबै योगदानको सधैं अवमूल्यन हुँदै आएको छ । र, हामी ‘लोग्ने उता स्वास्नी यता अर्कैसँग टाप’ भन्ने कथा भएका फिल्म देखाएर पैसा कमाइरहेका छौं ।

कलाकार पनि समाजका अंग हुन् र उनीहरूको पनि सामाजिक उत्तरदायित्व अरू नागरिकको जस्तै हुन्छ । यो कुरालाई कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेले भूकम्प प्रभावितहरूका लागि बस्ती बसाल्ने काम गरेर स्वयं प्रमाणित पनि गरिसकेका छन् । श्रव्यदृश्य सामग्री र त्यसमा सहभागी कलाकारको प्रभाव कतिसम्म हुन्छ भन्ने कुरा देश–विदेशबाट उनीहरूको अभियानमा साथ दिइरहेका नेपालीहरूको सहयोगले पनि प्रस्ट पार्छ ।

दशकौं लामो राजनीतिक अस्थिरता र त्यसका लागि जिम्मेवार राजनेताहरूको निकम्मापनबाट वाक्क बनेका नागरिक यसै पनि कुनै सकारात्मक समाचार वा अभियानको पर्खाइमा छन् जसले उनीहरूलाई छोटो समयका लागि भए पनि यो निराशाबाट बाहिर निकालोस् र ‘इंगेज’ राखोस् । कमेडी सिरियलहरू वर्षौंदेखि टेलिभिजनमा लोकप्रिय हुनुको कारण पनि यही हो ।

सर्वसाधारण जनता निराशाजनक राजनीतिबाट वाक्क छन्, विरक्तिएका छन् र उनीहरूलाई हास्यव्यंग्यको माध्यमबाट नै भए पनि राजनेताहरूलाई गरिएको अप्रत्यक्ष गाली सुन्दा त्यो विरक्तिले केही निकास पाएको महसुस हुन्छ । ‘छक्कापन्जा’ हिट हुनुको कारण पनि धेरै हदसम्म यही मान्न सकिन्छ । राजनीतिको छक्कापन्जाबाट, बेरोजगारीबाट र देशको बेहाल स्थितिबाट आक्रान्त नागरिकलाई हाँस्ने कुनै कारण चाहिएको छ ।

योबाहेक वर्षौंसम्म हास्यव्यंग्य सिरियलको ‘एडिक्ट’ बनेका नेपाली दर्शक केही समयअघि ती सिरियलहरू बन्द भएपछि हेर्नबाट बन्चित थिए । एकातिर बन्द भएका सबै सिरियलका कलाकार एकै ठाउँमा थुप्रिएको र अर्कोतिर हप्ताका हरेक बार ती सिरियल हेर्नका लागि मिलाउन पर्ने समय र त्यसलाई खाइदिने लोडसेडिङको झन्झटबिना हेर्न पाएका यस्ता चलचित्रहरूलाई दर्शकले रुचाउनु स्वाभाविक हो । फिल्म राम्रो नै भएर दर्शकले हेरेका होलान् । संगीत वा प्रविधि पक्ष उत्कृष्ट होला ।

महिलाले निर्देशन गरेको फिल्मले व्यावसायिक रूपमा रेकर्डब्रेकिङ कमाइ गरेको भनेर यसलाई उल्लेखनीय पनि मानिन सक्ला । तर पैसा कमाउनुले मात्रै सबै कुरा ‘जस्टिफाई’ गर्दैन । बिकेकै आधारमा कुनै चीजको श्रेष्ठताको मापदण्ड निर्धारित हुँदैन । धेरै बिकेकै आधारमा कुनै चीजको सफलताको मापदण्ड निर्धारित गर्ने हो भने बजारमा के–के सम्मका चीज बिक्छन् तिनको छुट्टै लिस्ट बन्न सक्ला ।

धेरै नागरिकको मष्तिस्कमा अत्यन्त छिटो र गहिरो गरी सम्प्रेषण हुने फिल्मजस्तो असरदार माध्यमको कथा बनाउँदा न्यूनतम रिसर्चसम्म गर्नु वा समाजको हरेक वर्गको मर्यादाको ध्यान राख्नु नागरिककै रूपमा जोसुकै फिल्मकर्मीको जिम्मेवारीभित्र जरुर पर्छ । ‘छक्कापन्जा’मा एउटा सिंगै वर्गको, जनसंख्याको आधा हिस्साको मर्यादाको धज्जी उडाइएको छ र सारा देश बिनाप्रश्न त्यसमा मजा लिएर हाँसेको छ ।

वरिष्ठतम राजनीतिज्ञ वा कलाकारहरू गएर हेरेका छन् तर कसैले पनि फिल्मको विषयवस्तुको बारेमा प्रश्न उठाएको सुनिएन । सारा देश हाँस्नुलाई सफलताको मापदण्ड अवश्य मान्न सकिन्न । कुनै चीजलाई चाहे त्यो फिल्म नै किन नहोस्, बिकेकै आधारमा त्यसमाथि प्रश्न गर्नका लागि प्रश्नकर्ताको हैसियत वा अधिकार समाप्त हुँदैन । ‘हाम्रो काम नैतिक शिक्षा पढाउने होइन’ भनेर ओठे जवाफ दिने ‘छक्कापन्जा’ निर्माताको टिमबाट कुनै गहन विषयमा ‘इन्टेलिजेन्ट फिल्म मेकिङ’ को अपेक्षा गर्न नसकिएला तर एउटा सिंगै वर्गलाई लाञ्छित गरेकोमा प्रश्न उठाउन अवश्य सकिन्छ ।

प्रकाशित : पुस २३, २०७३ १४:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT