सावित्रीको ‘सविता’ सपना

अघिल्लो पुस्ताका महिलाले हजारवटा संघर्ष गरेर, लाखवटा लाञ्छना बेहोरेर, पारिवारिक र भौतिक जीवनकै मूल्यमा लडेर ल्याएका अधिकारको स्थापनाले हामी यत्तिको स्थानमा आइपुगेका हौं कि ।
सावित्री गौतम

गएको माघमा पोखरामा भएको नेपाल लिटरेचर फेस्टिबलमा म सहभागी भएको सत्र थियो, ‘नेपाली साहित्यमा महिला चित्रण ।’ लेखक रामलाल जोशी, सञ्चारकर्मी शिवानीसिंह थारू र मलाई सहजकर्ता प्रणिका कोयूले पहिलो प्रश्न सोधिन्, ‘नेपाली साहित्यका कुनचाहिं नारी पात्रले तपाईंहरूलाई छोएको छ ?’

सावित्रीको ‘सविता’ सपना

मैले नाम लिएका केही पात्रमध्ये एउटी थिई, ‘भिनाजुको स्वेटर’ कि ‘सविता ।’ १० कक्षामा हुँदा पढेको यो कथा त्यसपछि दोहोर्‍याउने मौका मिलेको छैन । तर अझै पनि कथाको पहिलो वाक्य ‘सविता उफ्रँदै उफ्रँदै आई’ स्मृतिमा ताजै छ । १७ वर्षकी सवितालाई त्यतिखेर पढ्दा म चौध पुगेर पन्ध्रमा हिंड्दै थिएँ । सविता चन्चल थिई, मेरो साथमा भने गम्भीर, शान्त, भलाद्मी आदि उपनामहरू थिए । तर हामी दुवैले यो दुनियालाई हेर्ने नजर निर्दोष थिए यतिचाहिं पक्का हो । हामी दुवैको नजरबाट यो दुनिया निकै सुन्दर र क्रूरताविहीन थियो । 

यही फागुन १२, १३ र १४ गते काकरभिट्टामा भएको ‘कला साहित्य उत्सव’ मा ‘नेपाली साहित्यमा नारीवाद’ शीर्षकको सत्रमा सहजकर्ता नारायण वाग्लेको पनि वक्ताहरूलाई पहिलो प्रश्न थियो, ‘मन पर्ने नारी पात्र को हो ?’ वक्तामध्येकी एक सीमा आभासले भनिन्, ‘हामीले आफूभित्रको आफूलाई खोज्ने र लेख्ने मौका नै पाएका छैनौं । त्योभन्दा अगाडि त हामीलाई छेकेका हजारवटा ढोका भत्काउँदैमा ठिक्क छ । त्यसैले मैले खोजेजस्तो नारी पात्र भेटेकै छैन ।’ सीमाकै ‘भत्काउने’ प्रसंगसँग जोड्दै भोलिपल्टको ‘आलोचनात्मक चेतना र बहस’ सत्रमा बोल्दै मैले भनें, ‘समाजले मलाई र मैले समाजलाई हेर्ने नजरियाले मलाई प्रश्न गर्ने बनायो । कुनै दिन बोल्दै नबोल्ने स्वभावकी म आज बोलेको बोल्यै गर्ने भएँ । प्रश्नहरूको पहाडमा मभित्रकी नरम र चुपचाप बस्ने सावित्री पुरिई ।’
पोषण पाण्डेको भिनाजुको स्वेटरलाई यौन मनोविज्ञानको कोणबाट लेखिएको कथा भनेर व्याख्या गरिन्छ । कथामा आफ्नी दिदीकहाँ आएकी सविताको चञ्चलता र यौवनबाट उनकी दिदी शान्तिलाई असुरक्षा महसुुस भएको देखाइएको छ भनेर हामीलाई नेपाली शिक्षक सरस्वती रिजाल बताउनुहुन्थ्यो । यो सबबाट बेखबर सविताको व्यक्तित्व भने आफ्नै धुनमा रहन्छ । कथाका अरू प्रसंगबाट बेखबर भएर हेर्ने हो भने रातो रिबन शिरमा सिउरेर फुरफुर गरी हिंड्ने सविता त्यही रिबनजस्तै रंगिली लाग्छे, ऊर्जावान लाग्छे । यौन भन्ने शब्दको त अर्थै थाहा थिएन मलाई त्यति बेला, कथामा प्रस्तुत ‘मनोविज्ञान’ सँग पनि खासै लेनादेना थिएन । रातो रिबन बाटेकी सफासुग्घर सविता कुनै गाउँको हरियालीले घेरिएको, ढुंगा–माटोले बनेको शीतल घरवरिपरि फुरफुर गर्दै हिंडेको दृश्य कल्पने मात्रै ध्याउन्न हुन्थ्यो । १० कक्षा पढ्दा आफूमुनि सात जना भाइबहिनी थिए । व्यस्त दैनिकी र अस्तव्यस्त रूपरंग हुन्थ्यो । सविताले झैं रिबन बाटेर उफ्रँदै हिंड्ने फुर्सत कमै हुन्थ्यो । हिंड्नलाई फुर्सत जसोतसो मिले पनि धेरै नबोल्ने स्वभावकी, ‘गम्भीर’ उपनामधारी म उफ्रने त कुरै भएन । नारायणगढको स्कुल र गैंडाकोटको बसाइ— दुवैतिर उखरमाउलो गर्मी । भिनाजुको स्वेटरको ‘सेटिङ’ लाई म बाग्लुङको आफ्नो पुख्र्यौली घर मूलपानीसँग जोड्थें । ८ वर्षको उमेरमा त्यहाँ बिताएको एक वर्षको शीतल र फुर्सदिलो समय सम्झिन्थें । बुवा–आमासँग हुँदाकी जेठी छोरी त्यहाँ भने हजुरबा हजुरआमाकी नातिनी । काकाकाकीलाई छिचोलेर मसम्म आइपुग्ने घरेलु जिम्मेवारीहरू निकै थोरै र कम बोझयुक्त हुन्थे । सविताजत्तिकै चञ्चल त होइन तर जिम्मेवारीमुक्त भने थिएँ । 
चेतनामा आएको पहिलो प्रश्न पनि मूलपानीसँगै जोडिएको छ । १० कक्षामा पढेकी सवितालाई माघमा एसएलसी दिएसँगै बिदाबादी गरिसकेपछि वैशाखमा हुने कुलदेवताको पूजामा म काका, ठूलाबा र अरू नातेदारको पछि लागेर नारायणगढबाट मूलपानी हिंडें । पोखरा–बाग्लुङको ट्रयाक खुलेको त थियो तर सार्वजनिक बसहरू चल्न सुरु गरेका थिएनन् । मालबाहक ट्रकहरू चढेर जानुपथ्र्यो । यस्तै दुई तीनवटा ट्रकमा हाम्रो डफ्फा चढयो । लोड ट्रकको माथि पोखरादेखि उफ्रेको उफ्रयै गरेर कुश्मा आइपुग्ने बेला मेरो मुखबाट अचानक निस्केछ, ‘ओहो घोडा हो कि गाडी ।’ सँगै रहेका बुवाका फुपाजुले भन्नुभयो, ‘बल्ल यो नानी बोलेको सुनियो ।’ (आजभोलि मान्छेहरू ‘अरूलाई नि बोल्ने पालो देऊ न’ भन्छन्) । गाउँ जानका लागि त्यति बेला बजारबाट अलिकति हिंड्नुपर्ने थियो । हिंडेर घर आइपुग्नुअघि नजिकैको मूलपानी स्कुलमा सब जना सुस्ताए । रातिको साढे नौ बजेको थियो होला । काका ठूलाबाहरू भन्न थाले ‘कस्तो थकाइ लाग्यो । अब भात पकाएर कसरी खाने ।’ एक छिनमा निकै ठूलो कुरा सम्झेजसरी एक जना काकाले भन्नुभयो ‘ए... सावित्री छे नि ।’ यति बलिष्ठ र जवान काका–ठूलाबाले मजस्ती फुच्चीलाई ‘भात पकाएर खुवाउने’ श्रमिकको रूपमा कति विजयपूर्वक आविष्कार गरे । दब्बु त छँदै थिएँ, १०–१२ जनाको टोलीलाई चुपचाप खाना पकाएर खुवाएँ । उनीहरूको मनमा मेरा लागि कुनै दुर्भावना थिएन यो पक्का हो । संयुक्त परिवारकी जेठी छोरीका रूपमा ‘पुतली’ बनेरै हुर्केको हो । तर पनि स्त्रीलिंगीले जस्तो अवस्थामा पनि घरभित्रका धन्दा गर्ने भन्ने मानसिकता त ‘पुतलीका बा’ हरूको मनमा नि गडेकै त हुँदोरहेछ । ‘यो सानी पुतली हामीभन्दा पक्का धेरै थाकेकी होली’ भन्ने त आउँदो रहेनछ । आज पत्रिकामा पोखिने आलोचनात्मक चेतको जन्म सायद त्यति बेलै भएको हो । सायद त्यही दिनदेखि मभित्रकी शान्त सावित्री स्थायी प्रश्नकर्तामा रूपान्तरित भई । गम्भीरताको खोलबाट बाहिर निस्की । जिज्ञासु र आलोचक बनी । सविता हुन नसके पनि उसको नजिक–नजिक भई । पितृसत्तात्मक वैवाहिक व्यवस्थाभित्र छिरेपछिका अनगिन्ती प्रश्नहरूका बारे त अलग्गै अध्याय वा ग्रन्थहरू बन्लान् । 
फेस्टिबलमा सविताको नाम लिएको पर्सिपल्ट माघको १८ गते नारीवादी सञ्जाल ‘चौकठ’ का साथीहरूयता आएको बेला ‘घाम तापौं’ कार्यक्रमको पोखरा संस्करणको संयोजन गर्नु थियो । ११ बजे बिहान पृथ्वीनारायण क्याम्पसको बाहिर गेटमा जम्मा हुने तयारी थियो । यसकै लागि दौडधुप गरिरहेका साथी सरिता पुरी र मैले कार्यक्रम सुरु हुनु एकै छिनअघि क्याम्पसमै पढ्ने चिनजानकी पत्रकार बहिनी गोमा घिमिरेलाई भेटयौं । क्याम्पसमै समाजशास्त्र पढ्ने उनले ‘...सरसँग कार्यक्रम थियो...’ भन्दै देशका प्रसिद्ध समाजशास्त्रीको नाम लिइन् । ‘घाम ताप्ने कार्यक्रममा ढिला हुन्छ’ भन्दै गरेकी सरितालाई सँगै लिएर म क्याम्पसको क्याफ्टेरियातिर दौडें । समाजशास्त्रको औपचारिक अध्ययनबिना नै सामाजिक विषयहरूमा लेख्ने हाम्रा लागि राजधानीबाट आउने प्रा.डा. को दर्शन पाउन्ु दुर्लभ थियो । महाभारतको कथा साँचो हो वा झूटो त थाहा भएन तर उहाँलाई भेट्नु मेरा लागि त्यसभित्रकै एकलव्यहरूले द्रोणाचार्य भेटेजस्तै हुन आउँथ्यो । त्यहींमाथि सधैंभरि विभेद र हिंसाको रोना रोएको, समाजमा हिंसा होस्–नहोस् लेखनमार्फत हिंसाको मनोविज्ञान छरेको आदि टिप्पणी सुनिरहने मलाई साँच्चिकै समाज कति अघि बढयो र कति पछि छ भनेर उहाँसँग बुझ्नु थियो । एक अर्थमा आजसम्मको आफ्नो लेखाइ सही बाटोमा छ या गलत भनेर भेरिफाई गराउनु थियो भनौं न । 
उहाँलाई भेट्नासाथ मैले प्रश्नहरू गरें, ‘समाजका एकैथरी परिवर्तनलाई रफु भरेको जसरी जतासुकै लगेर भरिदिन मिल्छ ?’ बाट । ‘तपाईंका अगाडि यसरी जिन्स लगाएर सवाल–जवाफ गरिरहेकी मेरो स्थान के मेरो श्रीमान्को घरमा अझ कुनै बिहे व्रतबन्धजस्ता कार्यक्रममा हुन्छ ?’ ‘हुँदैन, मेरै श्रीमतीको समेत हुँदैन,’ उहाँको जवाफ थियो । मेरा प्रश्न लगातार सुनेर उहाँले अलि झिंझो मानेजस्तो पनि लाग्यो । ‘तपाईं सुन्न आउनुभाको कि सुनाउन, म त तपाईं जति लामो बोल्न सक्दिनँ,’ भन्नुभो । यद्यपि मेरा प्रश्नको सम्बोधन गर्नुभयो– ‘सकारात्मक विभेद सधैं जरुरी छ, विभेद र हिंसाका बारे नि निमिटयान्न नहुन्जेल लेखिराख्नैपर्छ, म आफैं लेख्छु ।’ तर समाजशास्त्र पढेर नभई परेर जानेको मेरो मनले धेरै बेरसम्म भनिराख्यो, ‘यति ठूला समाजशास्त्रीलाई त समाजका सबै व्यक्तिको प्रकृति फरक–फरक हुन्छ, कोही लामो बोल्छन् कोही छोटो, कोही धेरै बोल्छन् कोही कमजस्ता तथ्य त पक्कै थाहा होला । मजस्ता घरको भात आएर र भाँडा माझेर बचेको समयमा लेख लेख्ने महिलाको मनमा देशका प्रसिद्ध समाजशास्त्रीसँग कति उत्सुकता, गुनासा र तेजोवध हुनुको अनुभव गुम्सेर बसेका थिए होलान् जसले उसलाई पाँच मिनेटभित्रै मकैझैं पड्केर यी सबै कुरा सोध्न बाध्य बनायो भनेर उहाँले पक्कै बुझ्नु नै भएको होला ।’ खुला विश्वविद्यालयको बारेमा प्रस्तुति दिंदै एक जना विज्ञ प्रमोद ढकालले भनेका थिए, ‘प्राध्यापकहरूको ज्ञान विश्वविद्यालयका कोठाबाट बाहिर निस्कनुपर्नेछ । कर तिरेर उनीहरूलाई तलब खुवाएका सर्वसाधारणको घर–गाउँसम्म, चौतारीसम्म त्यो ज्ञान पुग्नु जरुरी छ ।’ 
अस्वाभाविकचाहिं मलाई यहाँका स्थानीय लेक्चररहरूको व्यवहार लाग्यो । जब म पाहुना प्राध्यापकसँग कुरा गर्थे उनीहरू बीच–बीचमा टिप्पणी गर्थे । जस्तो हिंसाको कुरा गर्‍यो एक जना भन्थे, ‘तपाईंहरू पीडित, पीडित भन्दाभन्दा आजकल आफैं पीडक बनिसक्नुभयो ।’ ‘हो सर ?’ म प्रश्न पास गरिदिन्थें । ‘पीडक बन्ने क्रममा हुनुहुन्छ,’ अर्काले भन्थे, ‘हो सर ?’ म फेरि प्रश्न पास गरिदिन्थे । धर्मशास्त्रमा आधारित रहेर समाजको व्याख्या गरिनु जरुरी छैन भन्दै गरेका प्राध्यापकलाई मैले सोधें, ‘तर अझ पनि एफएमहरू स्वस्थानी घन्काउँछन् । यो बन्द नहुन्जेल यो गलत हो भनेर लेख्नेको पनि त अभिव्यक्ति स्वतन्त्रताको कुरा भो नि हैन र ।’ मेरो प्रश्नमा अगाडिबाट एक जनाले भने ‘बजाउनेको नि त अधिकारको कुरा भो, तपाईंले पाउन्नस् कसरी भन्न सक्नुहुन्छ ? ’ पछाडिबाट अर्का लेक्चररको आक्रमण थियो, ‘अनि तपार्इंलाई कसले नलेख भन्यो ? कसले मुद्दा हाल्यो ।’ ‘अति’ भएपछि मैले भने ‘अनलाइनमा लज्जित गर्न गरिने ‘ट्रोल’ हरू पनि मुद्दाजस्तै हुन् सर ।’ एक जनाले पछाडिबाट यतिसम्म भने ‘को हुनुहुँदो रहेछ अघिदेखि आएर बोलिरहनुभएको छ ।’ आफ्ना पाहुनासँग बिनाकनै पूर्वजानकारी, मर्यादा र नुघी—निहुरीबिना नै सवाल–जवाफ गरिरहेकी यो ‘आइमाई’ को ‘हैसियत’ के होला भन्ने लागेको होला उनलाई । काठमाडौंदेखि आफूले ल्याएको वरिष्ठ प्राध्यापकलाई खोसी भन्ने लाग्यो होला उनलाई । समाजशास्त्र पढाउने लेक्चररहरूको ज्ञान र व्यवहार कति दर्दनाक ! हिंड्ने बेला अर्का लेक्चररले भन्नुभो, ‘पख्नुस् मेरो एउटा कुरा सुनेर जानुस् । सिमोन द बुव (प्रसिद्ध द सेकेन्ड सेक्स की लेखक) लाई उनका प्रेमीले आउ बिहे गरौं बच्चा जन्माऊँ भने रे । उनले तँ कति बाठो, आज बिहे गरौं बच्चा पाऔं भन्छस् । भोलि तँ स्वतन्त्रका स्वतन्त्र मचाहिं घरभित्र कैद ? नाइँ पर्दैन भन्थिन् रे । तपार्इंहरूलाई देख्दा त्यस्तै लाग्छ ।’ 
जिस्काएरै भनेका भए पनि कुराको चुरो आखिर त्यही त थियो । समाजशास्त्र पढाउने उनलाई पक्का थाहा होला कि कसरी एकनिष्ठ विवाह पद्धतिका कारण महिलाहरूको गतिशीलता घरभित्र कैद हुँदै गयो र पुरुषहरूको त्यही अनुपातमा फैलँदै गयो । आफ्ना पूर्ववत् स्वतन्त्रता खोसिने डरले नै आजका महिलाहरू प्रेम वा विवाहजस्ता कोमल सम्बन्धहरूलाई अपनाउन हिचकिचाइरहेका छन् । र जसलाई अपनाउनु छ उनीहरू पितृसत्तात्मक वैवाहिक व्यवस्थाप्रति आत्मसमर्पण गर्न बाध्य छन् । जब मेरी ९ वर्षकी छोरी भन्छे— नाइँ म बिहा गर्दिनँ । लाग्छ , आफ्नो बाबुको घरमा आफ्नी आमाको ‘पोजिसन’ देखेरै त उब्ज्यो होला यो डर उसको मनमा । विवाहलाई यतिसम्म गहिरो गरी संस्थागत गरिएको छ हाम्रो देशमा, कानुनमै बाबुको पत्तो नलागेको भनेर नागरिकतामा लेखिने प्रावधानसमेत छ । भर्खर जन्मेका छोरीहरूलाई समेत ‘तँ अर्काको घर जाने जात र तेरा छोराछोरी भान्जाभान्जी’ भनेर संविधानले नै भनिदिएको छ । यही कारण बा–आमा जतिसुकै प्यारा लागे पनि उनलाई छोड्नु छ र छोड्दाको घडीबाट घरभित्रका कुनै पनि आर्थिक, सांस्कृतिक, पारिवरिक मामलामा बोल्नेसमेतको हक उसले गुमाउनेछ । 
यसरी नयाँ पुस्ताका छोरीहरू विवाहसँग डराउन थाले भने उनीहरूको वयस्कताको अधिकारको के ? प्रेम र प्रजननजस्ता कोमल र विशिष्ट मानवीय सम्बन्धको के । सबभन्दा ठूलो कुरा बिहा गरेर मात्र बच्चा जन्माउन पाइने ‘विशिष्ट’ कानुन भएको देशमा महिलाले बिहे नै गर्न छाडे देशको जनसंख्याको अवस्था के हुने । महिला जो जनसंख्याका आपूर्तिकर्ता हुन् उनीहरू विवाह र सँगै जोडिएको प्रजनन्बाट वञ्चित रहे भने देशको नियमित जनसंख्या वृद्धिको हालत के हुन्छ ? बिहे नगरी बच्चै नजन्मिने र बच्चा नजन्मी देशको जनसंख्या वृद्धि नै नहुने भएपछि पितृसत्तात्मक वैवाहिक व्यवस्थाको बहस र पुनर्परिभाषा जरुरी भइसक्यो कि भएन ? यस्ता संस्था र सम्बन्धहरूका साथमै रहेर पनि महिलाले आफ्ना सम्पूर्ण अधिकारको प्रयोग गर्न पाउने अवस्था आउन अझै कति पुस्ता पर्खिनुपर्छ ? 
क्याम्पसको क्वार्टरमा बस्छु । हिंड्दा–डुल्दा दिनमा सयौं चन्चल सविताहरूसँग ठोकिन्छु । चुलोमा खाना पकाउँदै गर्दा कक्षाभित्रबाट एक हूल सविताहरूको चिरबिर सुन्छु । बाहिर निस्कँदा प्राध्यापकहरूका आवासमा उमारिएका फूलका बोटलाई पृष्ठभूमिमा पार्दै गरेर निर्धक्क फोटो खिचाइरहेका सविताहरूको अर्को हूल देखिन्छ । कुनै क्याफेमा आइसक्रिम चाटिरहेका सविता, बाटोमा हूल बाँधेर मुस्कुराउँदै हिंडिरहेका सविता वा ‘स्ल्याम पोयट्री’ को कार्यक्रममा फुरफुर परेका लुगा लगाएर कविता भनिरहेका सविताहरू । यिनलाई पनि यिनका आमाहरू भन्दा हुन्, ‘भोलि अर्काको घर गएर त भोग्नै छ सबथोक, पाउनै छ दु:ख, आज गरोस् न त रमाइलो ।’ र, यही वाक्यले इंगित गरिरहेको हुनेछ उनीहरूको विवाहपछि खोसिने स्वतन्त्रताको बारेमा । वा भन्दा हुन्, ‘१२ कक्षासम्मसम्म त पढाएँ अब उसकै घरकाले पढाउँछन् चाहिएमा ।’ र, यसमै कुण्ठित भइराखेको हुनेछ, उनीहरूको शैक्षिक अधिकार । उनीहरूलाई देखेर गीत गाउँदा हुन् कुनै दिवानाहरू, ‘मान्छयौ भने लान्छु हैन भने लतार्छु,’ जसले सीधै परिभाषित गरिरहेको हुनेछ उनीहरूको वैवाहिक स्वतन्त्रतामाथिको हस्तक्षेप र भइरहेको शाब्दिक हिंसा । आफ्नो वरिपरिका सविताहरू देखेपछि मलाई लाग्छ यिनीहरूको चञ्चलता र निर्दोषिता नखोसियोस्, सधैं कायम रहोस् । उनीहरूलाई सीमाले भनेझैं हजारवटा ढोका भत्काउँदै हिंड्न नपरोस् । 
शान्ता चौधरीले भनेकी थिइन्, कतै कि जब उनकि छोरी जन्मिइन्, तब उनलाई अब मेरी छोरीले पनि कम्लरी बस्नुपर्छ भन्ने लाग्यो । जसले उनलाई कमैया मुक्ति गरिछाड्नुपर्छ भन्ने अठोट दिलायो । ‘नारीवादी’ भनेर खिसीयुक्त सम्बोधनले बोलाइने उपाधि गर्वसाथ बोकेर हिंडिरहेका हामीहरूको ‘रोइलो’ भित्र पनि त्यही अठोट नै लुकेको छ कि ? अघिल्लो पुस्ताका महिलाले हजारवटा संघर्ष गरेर, लाखवटा लाञ्छना बेहोरेर, पारिवारिक र भौतिक जीवनकै मूल्यमा लडेर ल्याएका अधिकारको स्थापनाले हामी यत्तिको स्थानमा आइपुगेका हौं कि । कम्तीमा शिक्षाको अवसर पाएको र थोरै भए पनि शब्द खेलाउने सीप भएकाले आफू र आफूजस्ताका लागि आवाज दिनुपर्छ भन्ने अचेतनमा रहेको चाहनाले अधिकारमुखी लेखनतर्फ डोर्‍यायो कि । हामीले आफ्नो तहका प्रश्नहरू समाजसँग गरिराखे हाम्रा छोरीहरूको जीवन हाम्रोभन्दा सहज होला कि । आज मैले गरेका प्रश्नको परिणामस्वरूप भोलि मेरी छोरीको पुस्ताले कुनै प्राध्यापकको बाटो छेकेर प्रश्नको पहाड तेस्र्याउनु नपर्ला कि ? सविताकै प्रसंग निकालेर मैले उनै समाजशास्त्री प्राध्यापकलाई छुट्नुअघि भनेकी थिएँ, ‘सर मेरो सपना छ— यी सबै सविताहरू हुर्कुन्जेल समाज यति मानवतावादी भइसकोस् कि यो ‘नारीवाद’ त्यही मानवतावादभित्रै विलीन होस् । नारीवाद नै नरहोस् र आजका सबै सविताहरू हामीले झैं तीस काटुन्जेल अनारीवादी बनिसकून् ।’ सावित्रीको ‘अनारीवादी’ सविता सपना । 
हयाप्पी नारी (महिला) दिवस !

 

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?