३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सत्ता र तिमी

शैलेन्द्र साकार

भर्खर सुत्केरी भएर आफैं असाध्य भोकाएकी

त्यस्तै थुप्रै भोका डमरूहरूले घेरिएकी
हिंस्रक बघिनीजस्ती सत्ता
अथवा क्रमबद्ध हत्याराजस्तो शासक
जसको प्राप्ति र उपलब्धि नै लामो मृतक सूची 
उसले अन्त्यमा आफ्नै बच्चाहरू मारेर खान्छे
या आफैं मर्छे

नसामा रगत बगिरहेको तातो मासुको
स्वस्थ शरीर बोकेर
रक्तजीवी बघिनी सत्ताको सम्मुख
कहिलेसम्म सुरक्षित हिंडिरहन्छौ ?
यस्तो सत्ता बचाउन
आफ्नै रगत मिसिएको फल मासु
टुक्रा–टुक्रा पारेर ख्वाउनु पर्नेछ तिमीले

तिमीलाई सहिद बन्न प्रेरित गर्ने
ठूला धर्मग्रन्थजस्ता विचारग्रन्थहरू
सम्पूर्ण उपदेश, महान् वाणी
सुन्दर शब्दका सुन्दर सपना
एकाएक मलाई व्यर्थ–व्यर्थ र
छलजस्तो मात्र लागिरहेछ ।

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?