१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साइकल सिटीको सपना

आशिष गजुरेल

हाम्रो छिमेकी देश चीनभन्दा धेरै टाढाका देशमा साइकल लोकप्रिय भएको कमैलाई थाहा छ । सन् २००० देखि २०१० सम्म अध्ययनको क्रममा जर्मनीमा बस्दा मैले त्यहाँका विभिन्न सहरहरू हेम्बर्ग, बर्लिन र मुनिख घुमेको थिए । जर्मनीका सहरहरूमा सइक्लिङ गर्नेहरू निकै छन् । तर जर्मनीभन्दा डेनमार्कमा व्यवस्थित छ यो ।

साइकल सिटीको सपना

हालै मात्र डेनमार्क यात्रा गर्ने अवसर जुरेको थियो । कोपेनहागेनमा वास्तवमै गजब लाग्ने साइक्लिङ रुट विकास गरिएको रहेछ । 

यातायात इन्जिनियरको हैसियतले त्यहाँको साइक्लिङको सफलताबारे मेरो चासो हुने नै भयो । मैले सकेसम्म त्यहाँ साइक्लिङको अवस्थाबारे धेरै बुझ्ने प्रयास गरें । सहरभरिका सडकका दायाँ र बायाँ साइक्लिङ विकास गरिएको रहेछ जुन जर्मनीमा त्यति देखिएन । डेनमार्कमा १२ हजार किमिभन्दा धेरै साइक्लिङ रुट छ, राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय गरी । कोपेनहागेनको एकतर्फी साइक्लिङ रुटको चौडाइ कम्तीमा २.५ मिटर छ्र । उक्त सहरमा ४ सय ५४ किमि साइक्लिङ रुट छ्र । 
कोपेनहागेनमा करिब ५० प्रतिशत यात्रु साइकल प्रयोग गर्छन् । यसको लोकप्रियता बढ्नुमा त्यहाँका जनता स्वास्थ्य, वातावरण तथा मितव्ययितामा निकै सचेत भएकाले हो । हरेक १० डेनिसमध्ये ९ जनासँग साइकल छ । विद्यालय जाने बालबालिकाबीच पनि साइकल लोकप्रिय छ । झन्डै ४४ प्रतिशत १० देखि १६ वर्षका बिद्यालय जाने बालबालिका साइकलमा यात्रा गर्छन् । पुरुषभन्दा बढी महिलाले बढी साइकल चलाउँछन् । डेनमार्कमा साइकल प्रयोगलाई प्रोत्साहित गर्न ठाउँठाउँमा साइकल पार्किङ लट निर्माण भएका छन् । यात्रुले रेलमा यात्रा गर्दासमेत साइकल बोक्न अनुमति पाउँछन् । 
कोपेनहागेन महानगरको जनसंख्या करिब १३ लाख छ भने क्षेत्रफल ६ सय १५ वर्ग किमि । त्यति सानो सहरमा साइकल जसरी लोकप्रिय छ त्यसरी नै ५० लाख जनसंख्या र ५ सय ७० वर्ग किमि क्षेत्रफल भएको काठमाडौं उपत्यकामा यसलाई अभ्यासमा ल्याउन सकिन्छ । 
यातायात इन्जिनियरिङमा पैदलयात्री र साइकलयात्री सबैभन्दा असुरक्षित सडक प्रयोगकर्तामा पर्छन् । त्यसैले साइकलयात्रीको रक्षा गर्न सबैभन्दा राम्रो तरिका साइकलको छुट्टै लेन निर्माण गर्नुपर्छ । दुईपांग्रे सवारीसाधन चारपांग्रे सवारीसाधनभन्दा जोखिम प्रकृतिको हो । तसर्थ, साइकल लेन दुईपांग्रे सवारीसाधनयात्रीको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ । नेदरल्यान्ड, डेनमार्कजस्ता देशहरूमा सडक पूर्वाधार योजना गर्दादेखि नै साइकल लेनलाई पनि समेटिन्छ । 
साइकल लेन बनाउँदा समानताका ५ सिद्धान्त अपनाउनुपर्छ । ती हुन्— रुटमा यात्रा समय कम लाग्ने सीधा बाटो, छोटो दूरी, सुरक्षा, सुविधा र बनावट आकर्षक हुनुपर्छ । यही अन्तर्राष्ट्रिय मान्यताअनुसार साइकल लेनको चौडाइ साधारणतया १.२ देखि दुई मिटरसम्मको हुनुपर्छ । साइकल लेनबाहेक सुरक्षित, सस्तो र सजिलै साइकिल पार्किङ सुविधा पनि आवश्यक हुन्छ । 
साइकलयात्रीले पनि अन्य सबै सडक प्रयोगकर्ताजस्तै ट्राफिक नियमहरू पालना गर्नुपर्ने भएकाले चौबाटो र क्रसिङमा साइकलयात्री विशेष अनुशासित हुन जरुरी हुन्छ । सडक सुरक्षाका लागि यात्रीले आफ्नो साइकलमा बत्ती जडान गर्नुको साथै रातको समयमा टल्कने लुगा लगाउनुपर्छ । 

काठमाडौंको अवस्था
काठमाडौं उपत्यकामा करिब १ हजार ६ सय किमि सडक सञ्जाल छ्र । तर उपत्यकाको साइकल रूटको अवस्था निकै दयनीय छ । हालसम्म जम्मा तीनकुनेदेखि माइतीघरसम्म २.६ किमि मात्र छ यस्तो लेन । यो बनेको तीन वर्ष भइसक्दा पनि यस्ता अन्य लेन बन्न सकेको छैन । साइकलको प्रवद्र्धन गर्दा दिगो यातायात प्रणाली विकास गर्न मद्दत पुग्छ भन्ने न नीतिनिर्माताले बुझे न सर्वसाधारणलाई नै ज्ञान भयो । जसका कारण साइकलजस्तो मितव्ययी र वातावरणमैत्री यातायातमा कसैको चासो भएन । 
बर्सनि झन्डै १ सय २५ अर्बको इन्धन आयात हुने नेपालजस्तो देशले साइकल प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि सडकका दुबैतिर १.५–२ मिटर चौडा साइकल लेन बनाउनतिर लाग्नु जरुरी छ । सुरक्षित सिस्टम बनाउन सकियो भने मानिसहरू साइकलमा आकर्षित हुन्छन् । कोपेनहागेन सहरमा सार्वजनिक यातायातका लागि रेल र बसको राम्रो हुँदाहँुदै पनि ५० प्रतिशत यात्रा साइकलबाट हुन्छ भने काठमाडौं उपत्यकाको त ट्राफिक व्यवस्थापन नै कमजोर छ । छोटो दूरीको यात्राका लागि काठमाडौंमा साइकल निकै उपयोगी हुन्छ । 
हाम्रोमा धनी मान्छेले साइकल केवल गरिबको साधन हो भन्ने गलत मान्यता छ । तर यो मितव्ययी र वातावरणमैत्री मात्र होइन मानिसलाई स्वस्थ बनाइराख्ने साधन पनि हो । के धनी मानिसलाई स्वस्थ जीवन चाहिँदैन र ? 
सन् १९७० को दशकमा डेनमार्कमा नेपालमा जस्तै ऊर्जा संकट भइराखेको बेला डेनिसहरूले इन्धनको मितव्ययिताका लागि साइकल प्रयोगको अभियान अगाडि बढाउन सडक प्रदर्शनसमेत गरेका थिए । त्यही जागरणको फलस्वरूप डेनमार्कमा साइक्लिङ गर्नेको संख्या मात्र बढेन यसका लागि आवश्यक पूर्वाधार पनि क्रमिक रूपमा विकास हुँदै गयो । अनि सन् १९८२ देखि २००१ सम्म सरकारका हरेक बजेटमा साइक्लिङलाई प्रवद्र्धन गर्ने, त्यसका लागि पूर्वाधार विकास गर्ने तथा प्रयोगकर्तालाई थप आकर्षित गर्ने योजनाहरू निरन्तर आए । 

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?