कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लद्दू छ जीवन’

धेरै कुरा विस्मृतिमा जान थालेका छन् । त्यो अघिको ऊर्जा, उत्साह र भावुकता पनि अब उति छैन । उमेरमा ९० लागेका लेखक आईबी राई मौसमअनुसार दार्जिलिङ–सिलिगुढीको रुटमा आवतजावत गर्नै पनि झिंझो मान्न थालेका छन् ।
देवेन्द्र भट्टराई

अस्ति भर्खरै ३ फरवरीमा लेखक इन्द्रबहादुर (आईबी) राईको ९० औं बर्थडे उत्सव थियो । तर, उनलाई त्यसको उति हेक्का रहेनछ । बरु उनी पछिल्ला दिनहरूमा गत वर्ष अगस्ट २७ मा आफूलाई एक्ल्याएर गएकी श्रीमती मायादेवीका बारेमा धेरै सोचमग्न हुँदै दिन कटाउने गर्दा रहेछन् । बर्थडेको साइतमा सिलिगुढी, सालबारीवासी छिमेकी कवि ज्ञानेन्द्र खतिवडा, भविलाल लामिछानेसहितको टोली फूलमाला र मिठाई लिएर आईबी सरछेउ पुगेपछि मात्रै उमेरको हिसाब सुरु भएको रहेछ ।

‘लद्दू छ जीवन’

सिलिगुढी, सालबारी ।


‘मेरो अब को छ र ? के छ र ? भन्ने थोक विचार मनमा आइरहन्छ,’ सालबारी चोकनजिकै छोरीको घरमा बसेर दार्जिलिङे चिसो पन्छाइरहेका आईबी सुरुमैं निस्सारवादी सुनिए, ‘आफ्नी धर्मपत्नीको निधनपछि म तनमनले थाकेको छु, पूरै सुस्ताएर दिन बिताइरहेको छु ।’
स्रष्टा उत्तम कुँवरले बयानमा उतारेझैं ‘गम्भीर र तीखा आँखा’ लिएर आईबी सर ओछयानमा ढल्किरहेका थिए । काठमाडौंबाट गायक गणेश रसिकसहितको टोली आफूलाई भेट्न आइपुगेको छ भनेपछि आईबीले नाइँनास्ती गरेनन् । बरु सुस्तरी सोध्न पो चाहे, ‘के छ अलिक आनन्द लाग्ने खबर ? सधैं निराशाको थोक कुरा कति सुन्नु ?’
त्यो अवसरमा सुनायौं, नयाँनौलो खबर । लेखक आईबी राईको ‘आज रमिता छ’ अनुवाद परियोजनाका लागि अनुवादक मञ्जुश्री थापाले पेन अमेरिकाको स्पर्धायुक्त पुरस्कार पाउने भएको खबर थियो त्यो । अनुवादको शिल्प र विशिष्टतालाई आधार बनाएर मञ्जुश्रीले झन्डै ४ हजार डलरको पुरस्कार मात्रै पाएकी थिइनन्, यो अनुवाद (देयर इज अ कार्निभल टुडे) कृति विदेशी प्रतिष्ठित प्रकाशनगृहबाट छापिने भएको छ । ‘औधि राम्रो कुरा, यस्तो खबर यहाँसम्म, यो कुनोसम्म कसैले पत्तै पाउँदैन कि जस्तो लाग्छ,’ आईबी सुस्तरी बोले, ‘आजभन्दा ५३ वर्षअघि यहीं गोरुबथान गाउँको एउटा प्रकाशकले पहिलो पटक छापिदिएको ‘आज रमिता छ,’ उपन्यास आज आएर बल्ल बाहिर बजारमा पुगेको अनुभव भएको छ ।’
यो बिशेष खबरबाहेक काठमाडौंका केही नाटक घरले आईबी राईका ‘जार : भएकै एउटा कथा’ लगायतका कथामा नाटक मञ्चन गर्ने निधो गरेकोबारे पनि हामीले जानकारी गरायौं । तर, उनलाई यसबारे केही थाहा–पत्तो रहेनछ । कपिराइटकै कुरा गर्ने हो भने पनि कम्तीमा जीवितै (आईबीका शब्दमा अहिलेसम्म सास फेरिरहेको) लेखकले आफ्नो रचनाको उपयोग वा दुरुपयोगबारे पत्तो त पाउनुपर्ने हो ।
तर, यो आफूले आफूलाई बाँध्ने (आत्मनियन्त्रणकारी) नैतिक–चेतनाका बारे यहाँ कसले–कसलाई सम्झाइ बुझाइ गर्ने ?
...
आईबी राई सरले आफू बसेकै खाटमा, निकै नजिक बोलाएर कानेखुसी शैलीमा प्रश्नोत्तर गरिरहे । विशेषत: यो उमेरमा र तनमनले थाकेको बेलामा देश–विदेशका विश्वविद्यालयले मानार्थ बिद्यावारिधि दिने भन्दै आउने गरेका प्रस्तावमा आईबीलाई मनको कुरो सुनाउनुरहेछ । पोहोर मात्रै त्रिभुवन विश्वविद्यालय (काठमाडौं), त्यसपछि नर्थ बंगाल विश्वविद्यालय र अहिले सिक्किम विश्वविद्यालयको पालो आएको रहेछ ।
‘अब ता पुग्यो, भयो भनेर एकान्तमा बस्न खोजेको हुँ । फेरि के न केले तानेर अरूतिरै लगिरहेको हुन्छ,’ आईबी सरको कुरो आफ्नै काइदाको थियो—‘सिक्किम विश्वविद्यालयका उपकुलपति प्राध्यापक टंक सुब्बा यहीं आएका थिए । अबको तीन महिनापछि हुने कन्भोकेसनमा गान्तोक गएर महाविद्यावारिधि लिइदिनुपर्ने आग्रह थियो । तर, म मेरो जीवनको अबको ग्यारेन्टी कसरी ३ महिनासम्म तन्काएर दिन सक्छु ? मुस्किल छ ।’ खासमा उपकुलपति सुब्बाले ल्याएको मानार्थ महाविद्यावारिधि प्रस्तावलाई ‘भइहाल्छ नि’ भनेर आश्वस्त गराउने काममा कवि ज्ञानेन्द्र खतिवडा लागेका रहेछन् । यो थाहा पाएर आईबी सर मुखेन्जी जवाफी बनिरहेका थिए, ‘जसरी तपाईंले सबैलाई नाइँ भन्न सक्नुभएन, त्यसैगरी मैले सबैंलाई ल भन्न सकिनँ ।’
उमेर, अवस्था र चेतनाका आधारमा पनि आईबी सर पहिलेभन्दा निकै गलेको अनुभव भइरहेको थियो । ‘रातभरि हुरी चल्यो’ कथामा कमान बस्तीतिर कालेकी आमा र बाबुले गर्ने विछृङ्खल चिन्ताजस्तै गन्थन पनि आईबीमा थोरतिनो पलाएको रहेछ । तर, सुस्तरी बोलेको आईबी लवजमा भाषा र शब्द विन्यासको उस्तै ‘दम’ थियो, लेखाइमा भएजस्तै, ‘हाँस्दा पतिहरूका जुँगा हल्लन्थे, पत्नीहरूका बीसहाते गुन्युका गुल्थाहरू ।’ (जार : भएकै एउटा कथा)
बाजे पुस्तामा संखुवासभाको चैनपुरबाट दार्जिलिङे चियाकमान बस्तीमा चिया टिप्न छिरेका राई चाम्लिङको खलकमा जन्मिएका आईबीलाई पुख्र्योली थातथलोबारे त्यति धेरै थाहा छैन । धेरै कुरा ‘अरे’मै अड्किएका छन् । ‘तर हेर्नुहोस्— आज रमिता छ उपन्यासको सारभुत चित्र, भूगोल र पात्र सबैजसो पूर्वी नेपाल छ, त्यसमाथि ५० वर्षअघि इलामको करफोक स्कुलमा हेडसर बनेर आउदाको भोगाइले मलाई अर्कै परिवेशको इन्द्रबहादुर बनायो,’ आईबीले सुनाए । जीवनमा मार्गदर्शक बनेर आएका दार्जिलिङका नेपाली गुरु कमलकुमार शर्मा र इलामका महानन्द सापकोटाको भाषिक भरथेगले आफू नेपाली साहित्यमा उभिन सकेको स्वीकारोक्ति छ आईबीसँग ।
सन्दर्भ र प्रसंग अलग्गै भए पनि आफूलाई लागेको कुरो त सोध्नैपर्‍यो, अबको पालो गायक रसिकको थियो । ‘जीवन कस्तो छ त सर ? दैनिकी ?’ रसिक जिज्ञासु बनिहेरे ।
आईबी सुरुमा मुस्काए मात्रै । अनि बोले, ‘दैनिकी बिहानदेखि बेलुकैसम्म कोठामै, ओछयानमै बसिरहने खालको रहेछ । पुस्तक पढ्ने, लेख्ने अवस्था शून्यप्राय: रहेछ ।’ आयामेली आन्दोलनदेखि लीलालेखनको प्रयोगसम्मका अभियन्ता आईबीमा आज आफ्नै बारेमा बोल्नुपर्दा आफ्नै सिर्जना र त्यसभित्रको सार सम्झिएजस्तै एक छिन मौन बस्ने बानी बढेको रहेछ ।
यसरी फयाट्ट केही बोली टोपल्नुभन्दा बिगतमा लेखिएको रचना (झ्याल) भित्रको एउटा मन्त्रणा कसैले सुनाइरहेको थियो, त्यही भेटघाटको भीडमा—‘जगत्ले थोक र घटना देखाउनसम्म देखाउँछ तर केही पनि सिकाउँदैन, त्यस्तो कपटी छ । जीवनले थोक र घटना हेर्नसम्म हेर्छ तर केही पनि सिक्दैन, यस्तो लद्दू छ । होइन, एउटाले सिकाउनै सक्दैन, अर्कोले सिक्नै सक्दैन : दुवै असक । भन्दा दुवैले हाँसिदिन्छन् : यहाँ सिकाउने–सिक्ने केही छैन । रद्द छन् सिकाइटोपलेका सिकिटोपलेका सब कुरा ।’
हरेक भेटवार्तामा जीवनका गल्ती सच्याउने ‘इरेजर’ कहींकतै नभएको वाणी दोहोर्‍याइरहन्छन् आईबी सर । जे भयो, भयो । जे थोक र घटना भयो–भयो । धैर्य गरेर कुरा गर्न र सुन्न सक्नुपर्छ, देश–देशावरका कुरा जोडेर आईबी सर अनेक ‘ढाढस’ बाँडिरहन्छन् । अस्ति भर्खरै सरस्वती पूजाका बेला आईबीलाई गुरु–मान चढाउन आएका एक विद्यार्थीले सोधेका रहेछन्, एउटा सदावहार प्रश्न, ‘आदरणीय सर, तपाईं लेखक नभएको भए के बन्नुहुन्थ्यो होला ?’
आईबीसँग पढाइका आधारमा वकिल बन्ने थिए अथवा केही समयको कार्य अनुभवका आधारमा जिल्लाको प्रशासक बन्ने थिए होला भन्नेजस्ता बनिबनाउ जवाफहरू निकै थिए । तर, उनले प्रसिद्ध अमेरिकी उपन्यासकार अर्नेस्ट हेमिङ्वे (ओल्ड म्यान एन्ड द सी) लाई सोधिएको समानअर्थी जिज्ञासाको जवाफ फेरि दोहोर्‍याउँदै भनेका रहेछन्, ‘म लेखक भइहालें, तर माछा मार्ने कलामा पनि म यति निपुण छु कि जीवनमा माछा मारेरै पनि सन्तुष्टि लिन सक्छु ।’
एउटा लेखकले कहिले कुनै पात्रमा अथवा कहिले कुनै घटना, पृष्ठभूमिमार्फत आफ्नो भोगाइ लेखिरहेको हुन्छ भनेर चर्चा त्यसै चल्ने गरेको होइन । आईबी सर स्वयम्ले ‘घाँसीसँग’ कथामा मनोवाद शैलीमा भनेका छन्, ‘लेखक ती हुन् जसले लेख्न छाडी कुनै अरू काम गर्न सक्तैनन् । नाउँ एक जनाले कमाउँछ होला । जहानलाई, छोरा–बुहारी, छोरी–ज्वाइँ सबलाई भुक्तमानी दिएर । उसले नाउँ कमाउनेमा सबले लागिदिनुपर्ने । मर्नुपर्ने ∕’
जस्तो, अर्को सन्दर्भमा जानीनजानी नेपाल भूमि छाडेर गएका पितापुर्खाको दु:ख सम्झेरै आईबी राईले ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’ कथामा एउटा पात्र उभ्याएका छन्— सुवेदार धनपद सुब्बा । दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा बर्माबाट भागेर भारत वा नेपाल छिर्ने शरणार्थी नेपालीभाषीको कहाली लाग्ने कथामा सुवेदारका बारे ‘न्यारेटिभ’ यस्तो छ— सबै मुलुकभन्दा साह्रै दु:ख गरेर जिउनुपर्ने त हाम्रै मुलुक मात्रै रहेछ भनेर तिनले फेरि फर्केर नेपाल नआउने अठोट गरेका थिए ।
‘सर, यसरी आफूले लेखेका कथाका थोक वा घटनामा आफ्नै जीवनको सार लुकेको रहेछ जस्तो लाग्दैन ?’ कुराकानीमा ओज थप्न आईबी राईलाई सोधिहेरें ।
अहँ, जवाफ आएन । आईबी सर निकै लामो समयसम्म मुस्काइरहेका मात्रै थिए ।

टुक्रा–टुक्रा जिन्दगी
आईबी राई भलाकुसारीमा जे जति नरम र मीठो सुनिन्छन्, उनका राजनीतिक र अस्तित्वगत चेतनाका लेखाइ (वा भाषण) त्यस्ता छैनन् । लीलालेखनको प्रयोग र शिल्पमा राई स्वयम्ले भनेका छन्— केही बुझिएको लाग्ने, नबुझिने पनि लाग्ने, जीवन र जगत्जस्तै कथा । आयामेली प्रयोगका बारे पनि भाषाको क्लिष्टताका कारण ‘धेरैले बुझ्न नसकेको थोक’ भनेर उनले स्वमूल्यांकन गरेका छन् ।
‘आफैंले लेखेको पनि कहिलेकाहीं आफैंले बुझिँदैन रहेछ’ भनेर आईबी सर स्वयम्ले एउटा रमाइलो किस्सा पनि सुनाउने गरेका छन् । उनले लेखेको एउटा कथा माध्यमिक तहको कोर्समा राखिएको रहेछ । घरमा उनकै नाति त्यो कक्षाको विद्यार्थी भएपछि नातिलाई कथाबारे पढाउनैपर्‍यो । त्यही कथाको पाठबाट शिक्षकले एक दिन एउटा प्रश्न दिएका रहेछन् । स्वभावत: नातिले हजुरबा एवं कथा लेखक आईबी राईबाटै जवाफ लेखाइमाग्ने नै भए । तर, स्कुलमा त्यही (आईबी लिखित) जवाफ भने ‘गलत’ भएछ । ‘हो, सबै आफूले ठानेका सत्यहरू सधैंका लागि सत्य हुँदैनन्,’ आईबी भन्छन्, ‘कठपुतलीको मन त्यसै कल्पेको होइन मैले ।’
आईबीसँग सालबारीमा भलाकुसारी भइरहँदा उनी नेपालको स्थिति, राजनीति, स्थिरता र प्रगति–उन्नतिबारे पनि जिज्ञासु बनिरहेका थिए । कहींकतै आग्रह–पूर्वाग्रह नराखी उनी कुरा सुनिरहेका थिए । बरु सन्दर्भ निकालेर आफूलाई लागेको नेपाली जाति/जातित्वका बारे कतै आफूले लेखेको सन्दर्भ सम्झाइरहेका थिए । धेरैअघि ‘सुनचरी’ पत्रिकामा ‘नेपाली जाति कतातिर ?’ शीर्षकमा लेखिएको सामग्री रहेछ त्यो । त्यस लेखको अंशमा भनिएको छ, ‘नेपाली जाति पूर्ण विकसित बनी ठर्रिसकेको छैन, अझ केही गिलै छ । एकत्वकारी बलहरूसँगै विभेदनकारी तत्त्वहरू छ यसमा । आज देख्दैछौं : नेपाली जाति खरानीकै डल्लो रहेको छैन तर फलामकै डल्लो पनि बनेको छैन ।’
अहिले भर्खरै दार्जिलिङबाट एउटा नयाँ पुस्तक आएको छ— वार्ताहरूमा श्री इन्द्रबहादुर राई । पुस्तकमा निकै रोचक–घोचक प्रसंग पनि छन् । एउटा प्रसंगमा आईबीका आयामेली सहयात्रु कवि ईश्वर बल्लभसँगको सन्दर्भ उल्लेख गरिएको छ—प्राथमिकताका साथ । आईबी राईले अक्सर बोल्ने र लेख्ने गरेका छन्— मानिस टुक्राटुक्रा भएर बाँचिरहेको हुन्छ, चोक्टा–लाम्टाहरू भएर बाँचिरहेको हुन्छ । ऊभित्र धेरैवटा मान्छे हुन्छ— शिक्षक एउटा मान्छे, बाबु एउटा मान्छे, पति एउटा मान्छे, लेखक एउटा मान्छे...। मान्छेले ती सबै भूमिकाहरूमाथि बराबर न्याय गर्न सक्तैन । कुनै भूमिकामा धेरै, कुनैमा थोरै...।
यही ‘टुक्राटुक्रा’ स्थितिले ईश्वर बल्लभलाई मुस्किलमा पारेको रहेछ । त्यस बेला आईबी राई दार्जिलिङ नगरपालिकामा भाइस–चेयरमेन रहेछन्, अनि ईश्वरबल्लभ त्यहींको म्युनिसिपल स्कुल बिल्डिङ बनाउने ठेकेदार । भवन निर्माणका लागि चाहिने बालुवा, सिमेन्ट, रड आदि जुटाउनुपर्ने जिम्मा ठेकेदारको हुन्छ नै । तर, ठेकेदार बल्लभ भने, ‘यो पाइनँ, त्यो पाइनँ’ भन्दै भाइस–चेयरमेन आईबीलाई दिनहुँ गुनासो गर्ने रहेछन् ।
आफ्नै नीति नियमको कडाइमा रहेका भाइस–चेयरमेन राईले कडा बनेर भन्नुपर्दो रहेछ, ‘यदि तपाईंले समयमा भवन निर्माण कार्य पूरा गर्नुभएन भने म तपाईंको पैसा काट्छु, तपाईंलाई पेनाल्टी लाग्छ ।’
यही कारण एउटा कवि मन, अर्को ठेकेदार मनसँग टुक्रिएको किस्सा पुस्तकमा उल्लेख गरिएको छ । दिनमा बालुवा–सिमेन्टको जोहोमा कस्सिनुपरे पनि रातमा कविको मन अलिक भिन्न बनेकै हुन्थ्यो । र, यही कारण कवि ईश्वरबल्लभले लेखेका रहेछन्, कालजयी गीत—
‘सारा दिन अरूलाई बाँडे,
सायद यी रात मेरा
मेरा सुखहरू अरूको
सायद यी दु:ख मेरा...’

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?