२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

६८ वर्षपछि बेस्टसेलर !

‘ट्रम्पको शासन सुरुआतसँगै अरवेलको नाइन्टिन एट्टी फोरको बिक्री ९ हजार ५ सय प्रतिशतले बढ्यो । यो कृति अहिले आएर बेस्कन बिक्री भएको घटना नै इतिहासले समकालीन समयमाथि गरेको अमूर्त प्रहार हो ।
सिपी अर्याल

इतिहासले कहिलेकाहीँ नराम्ररी झटारो हान्छ । त्यो प्रहारले कसैलाई दुख्न त दुखिहाल्दैन तर त्यसको अर्थचाहिँ गज्जबकै हुन्छ । कुनै विशेष याममा त्यस्ता अमूर्त प्रहारले बेलाबेला तरंग ल्याइरहन्छन् । नभए, लेखेको ६८ वर्षपछि जर्ज अरवेलको उपन्यास ‘नाइन्टिन एट्टी फोर’ प्रतिष्ठित अम्याजनडटकमको २०१७ को बेस्टसेलर लिस्टको नम्बर वानमा किन झुल्कन्थ्यो र ? वासिङ्टनपोस्टले किन लेख्थ्यो होला र, ‘ट्रम्पको शासन सुरुआतसँगै अरवेलको नाइन्टिन एट्टी फोरको बिक्री ९ हजार ५ सय प्रतिशतले बढ्यो ।’

६८ वर्षपछि बेस्टसेलर !

यो कृति अहिले आएर बेस्कन बिक्री भएको घटना नै इतिहासले समकालीन समयमाथि गरेको अमूर्त प्रहार हो ।

यतिका वर्षपछि आएर ‘नाइन्टिन एट्टी फोर’ ले बेस्टसेलरको शिखर चुम्नुका केही कारण जरुर छन् । अझ, सन् २००५ मा टाइमले यस किताबलाई १९२३ देखि २००५ सम्मका उच्चकोटिका सय पुस्तकको सूचीमा पनि पारेको थियो । अरवेलले उपन्यासको न्वारन ‘नाइन्टिन एट्टी फोर’ गर्नुअघि आफ्ना प्रकाशकसामु एउटा हिचकिचाहट पनि राखेका थिए— किताबको नाम ‘लास्ट मेन इन युरोप’ राख्ने कि ‘नाइन्टिन एट्टी फोर’ राख्ने भन्नेमा । प्रकाशक बाठा । पछिल्लो नाममा बजारीया सौन्दर्य बढी देखे । अन्तत: अरवेलको कालजयी उपन्यासको नाम ‘नाइन्टिन एट्टी फोर’ रहयो ।
उपन्यासमा एउटा यस्तो ठाउँको कल्पना गरिएको छ जहाँ अधिनायकवाद (डिस्टोपिया) हावी छ । र, जसमा कल्पना गरिएको सत्यलाई अहिले आएर मानिसहरूले वास्तविकतासँग तुलना गर्न रुचाइरहेका छन् । विशेषगरी, अहिले पुस्तकको बिक्री अमेरिकी राष्ट्रपतिमा उग्रधारका डोनाल्ड ट्रम्पको उदयपछि एक्कासि बढेको हो । यसअघि पनि यो किताब अत्यधिक बिक्री हुने सूचीमा पटक–पटक परिरहेकै थियो । विशेषत: विश्व राजनीति गुम्म फुलेको अवस्थामा पनि यो पुस्तकको बिक्री बढिरहेको थियो । यसपालि त बिक्री सूचीको सबैभन्दा माथि रहनुको कारण ट्रम्पले ल्याएका महत्त्वाकांक्षी र उग्र नीतिहरू हुन् । साथै, उनले बेला–बेला राख्ने गरेका उग्र विचारका कारण पनि हुन् । त्यसैमा केही अर्थ देखे पाठकहरूले । यो सामान्यावस्था होइन । यसलाई केवल एक संयोग हो भन्ने ढंगले मात्रै व्याख्या गर्न मिल्दैन पनि ।
किताबमा राजनीति छ । त्यो पनि उग्र खालको । अरवेलले त आफूले यो उपन्यास लेख्दाको समयभन्दा ३५ वर्षपछिको कालको कल्पना गरेका थिए । जुन त्यही बेलाको विश्वमा मात्र मेल नखाएर बेला–बेला विश्व राजनीतिमा देखिने अप्ठयारो अवस्थासँग पनि मिलिरहन्छ । पुस्तकमा एउटा यस्तो विश्वको परिकल्पना गरिएको छ जहाँ सयौँ देशको अस्तित्व छैन । ब्रह्माण्डमा केवल तीनवटा भब्य स्टेटहरू छन् । पूर्वी एसियाले चीन र छेउछाउका केही ठाउँको प्रतिनिधित्व गर्छ, युरेसियाले सोभियत युनियन र ओसियानाले संयुक्त राज्य अमेरिका, बेलायत र त्यसका आसपासका ठाउँ । त्यस भव्य राज्यलाई अधिनायकवादी राजनीतिक दलले शासन गरिरहेको छ जसको नाइके बिग ब्रदर हो ।
सांकेतिक अर्थ बोकेको बिग ब्रदरले सर्वव्यापी निगरानी राख्ने सरकार चलाउँछ । उसलाई ‘पब्लिक म्यानिपुलेसन’ मा अघोरै विश्वास छ । केवल शक्तिप्रति प्रेम छ । जनताको अवस्थाप्रति बिग ब्रदर बिल्कुल बेफिक्री छ । उसको शासनमा व्यक्तिगत स्वतन्त्रताको नामोनिसान छैन । आम जनताको दैनन्दिनमाथि नजर लागिरहन्छ, टेलिस्क्रिनमार्फत । मानिसहरूको घरघरको झ्यालबाट प्रहरीले निगरानी गरिरहन्छ । प्रहरीले निगरानी नगरेको भए पनि, मानिसहरूलाई लाग्छ उनीहरूलाई सरकारले कतै न कतैबाट देखिरहेकै छ । सरकार आफूले खतरा महसुस गरेमा जोकोहीलाई तत्कालै पक्रन सक्छ । ‘बिग ब्रदर इज वाचिङ यु !’ पुस्तकको बहुचर्चित वाक्य हो यो । आफ्नो सरकारले जनतामाथि अलि धेरै निगरानी गरेको बेला विश्व राजनीतिका विश्लेषकहरूको मुखबाट यही वाक्य निस्कन्छ, कटाक्षस्वरूप ।
बिग ब्रदर नामक अधिनायकवादी पात्र इतिहासका सबै सत्यलाई नामेट पारेर आफ्नै सत्य निर्माण गर्न तम्सेको छ । अझ, मानिसहरूलाई आफ्नै आँखाले देखेको वा कानले सुनेको कुरालाई सत्य नमान्न आदेश पनि दिन्छ ! ओहो ! आफ्नै आँखाले देखेको वा कानले सुनेको सत्यलाई पनि विश्वास नगरेर आफैँले लादेको सत्य (?) लाई सत्य स्विकार्न अह्राउँछ अधिनायकवादी आँखा । उसले दुई र दुई जोड्दा पाँच हुन्छ भनेको खण्डमा मानिसहरूले त्यही नपत्याई सुखै छैन !
त्यस शासन व्यवस्थामा तीन तहका मानिस छन्, सामान्य रूपमा काम गरेर खाने अनपढ मानिसहरूको संख्या ८५ प्रतिशत छ, मध्यम वर्ग १३ प्रतिशत छन् र ती सबैलाई शासन गर्नेहरू उच्च वर्गीय हुन् जो केवल २ प्रतिशत मात्रै छन् । नाम सुन्दा मात्रै पनि आनन्द आउने चार मन्त्रालय मात्रै छन्, सरकारका । दि मिनिस्ट्री अफ पिस (युद्ध र प्रतिरक्षा सम्हाल्ने), दि मिनिस्ट्री अफ प्लेन्टी (अर्थव्यवस्था सम्हाल्ने), दि मिनिस्ट्री अफ लभ (कानुन व्यवस्था हेर्ने) र दि मिनिस्ट्री अफ ट््रुथ (समाचार, मनोरञ्जन हेर्ने प्रोपोगान्डा आदि गर्ने) । नाम यस्ता लोभलाग्दा देखिए पनि यी सबै सरकारी निकायले आफ्नो नामको ठीक उल्टो काम मात्रै गर्छन् । जस्तै, मिनिस्ट्री अफ ट्रुथ झूट मात्रै फैलाउने काममा सक्रिय छ ।
मिनिस्ट्री अफ ट्रुथमा सम्पादकको जागिर खाएको छ विन्सटन स्मिथले । स्थापित सत्यलाई तोडमोड गरेर इतिहासमा घटेका घटनालाई रिभाइज गर्ने जिम्मा हो उसको । दुई र दुई जोड्दा चार होइन पाँच लेख्न खटाइएको छ उसलाई ! विन्स्टनलाई मानिसहरूले केही वर्षयता एडवर्ड स्नोडेनसँग तुलना पनि गर्ने गर्छन् । विन्स्टनको चरित्र केही विद्रोही छ । पार्टीले नगर् भनेको काम उसले गर्न खोज्छ, डायरी लेखेर । उसको चरित्रले स्वतन्त्रता रुचाउने एउटा आमनागरिकको प्रतिनिधित्व गर्छ । ऊ वरिपरिका घटना र तत्त्वले द्वन्द्वका विभिन्न अवस्था देखाउँछन् ।
अरवेलले उति बेलै गरेको यो एकदम अनौठो कल्पना उत्तर कोरियालगायतका देशमा सधैँभरि हावी भएको हामीले देखिरहेकै छौँ । अझ भन्दा, ‘पोस्ट–ट्रुथ’ समयमा अरवेलको त्यो कल्पना जबर्जस्त सावित भइरहँदा पनि ‘नाइन्टिन एट्टी फोर’ मानिसहरूको प्रेम ह्वात्तै बढेको हो । अक्सफोर्ड डिक्सनरीको वर्ड अफ दि इयर–२०१६ घोषित ‘पोस्ट–ट्रुथ’ शब्दले त्यस्तो सत्य जनाउँछ जसको सम्बन्ध तथ्य वा यथार्थसँग हुँदैन वस्तुगत तथ्यसँग पनि हुँदैन । केवल सार्वजनिक र व्यक्तिगत विश्वासले जे भन्यो त्यही सत्य ठहर हुन्छ । हो, त्यही सत्य निर्माणमा विन्स्टन खटाइएको छ । हामीले देखेकै छौँ, वेबमा गलत सूचना र समाचारको बाढीपहिरोले मानिसहरूको धारणामा कसरी असर गरिरहेको छ । ट्रम्पबारेका थुप्रै सही/गलत सूचनाको असर विश्व राजनीतिमा कसरी फैलिइरहेको छ त्यो हामीले थाहा पाइरहेका छौँ । लाखौँ आप्रवासीले आफूलाई पपुलर भोट पाउनबाट वञ्चित गरेको तथ्य ट्रम्पले फैलाउँदाको तरंग पनि देखिएको छ । बिल्कुल यस्तै खालका वितण्डाहरू ट्रम्पले फैलाएकै कारण ‘नाइन्टिन एट्टी फोर’ अहिले बेस्टसेलर सूचीमा आश्चर्यजनक रूपमा परेको हो ।
विशेषत: जब तानाशाह र उग्र राजनीतिक धार बोकेका व्यक्तिले शासनको बागडोर सम्हाल्न पाउँछन् अनि मानिसहरू ‘नाइन्टिन एट्टी फोर’ लाई सम्झन्छन् । अहिले, किताबको प्रमुख पात्र बिग ब्रदरलाई पाठकहरूले डोनाल्ड ट्रम्पसँग तुलना गरिरहेका छन् । नेपाली राजनीतिक परिप्रेक्ष्यमा पनि भारतसँगको सम्बन्धमा ‘बिग ब्रदर’ को अर्थ विशेष भएको हामीलाई थाहा नै छ । अमेरिकी सन्दर्भमा ‘बिग ब्रदर’ लाई त्यहाँको नेसनल सेक्युरिटी एजेन्सीसँग पनि तुलना गर्छन् मानिसहरू ।
मानिसहरूको मनमा डर देखाइरहन उपन्यासमा कसैले भन्छ, ‘बिग ब्रदर इज वाचिङ यू !’ बिग ब्रदरको महत्त्वलाई हामीले त्यस्तो अधिनायकवादी शासनसँग तुलना गर्न सक्छौँ जसको निगरानीमा रहन जनता हरबखत तैयार हुनुपर्छ । आफ्नो राजनीतिक सूचनाको विस्फोटक प्रसार गरेर अधिनायकवादी सरकारले जनताको सोच्न सक्ने, तर्क गर्न सक्ने क्षमता खोस्ने चेष्टा गर्छ । अझ, अधिनायकवादी सरकारले सबैथोक आफ्नो अवस्थाअनुकूल बनाउन प्रविधिको दुरुपयोग कुन हदसम्म गर्न सक्छ त्यही कुरा बताउँछ उपन्यासले ।
किताबमा ‘न्युस्पिक’ नाम दिइएको यस्तो भाषाबारे पनि उल्लेख छ जसलाई अधिनायकवादीले आम मानिसको स्वतन्त्र विचार निमिट्यान्न पार्न प्रयोग गर्छन् । त्यो भाषाबाहेक अन्यमा मानिसलाई सोच्न पनि छुट छैन । केही समस्या भए न्युस्पिकको शब्दकोशमा अर्थ हेर्न सुझाव दिन्छ अधिनायकवादी सरकार । लादिएको व्यवस्थाको नाम ‘इंग्लिस सोसियलिजम’ हो । बिग ब्रदरको उपस्थिति निकै बिम्बात्मक छ । ऊ उपन्यासको सर्वेसर्वा हो । उसकै अह्रनखटनमा सबैथोक हुन्छ । त्यही बिग ब्रदरको एटिच्युड देखाइरहेका ट्रम्पले स्थापित सत्यलाई कुल्चेर झूटको पर्खालले मानिसहरूको भ्रम चिर्न प्रयास गरिरहेको आरोप लगाइन्छ । इन्भायरोमेन्टल प्रोटेक्सन एजेन्सीका अनुसन्धाताहरूको तथ्य र अनुसन्धानलाई ट्रम्पले तीक्ष्ण दृष्टिले नियालीरहेका बताइन्छ । त्यसैगरी, आफूले लाद्न खोजेको सत्यलाई मानिसहरूको दिमागमा भर्न ट्रम्प प्रशासन सञ्चार नियन्त्रणमा पनि लागिरहेको छ । आफ्नो आलोचना गर्ने सञ्चारमाध्यमलाई ट्रम्पले तीव्र घृणा गर्ने गरेका पनि छन् । यी सबै यथार्थका कारण ट्रम्प र बिग ब्रदरमा मिल्ती देखिरहेका छन् मानिसहरू । यसप्रकार, ट्रम्पका हर्कतले मानिसलाई ‘नाइन्टिन एट्टी फोर’ को झल्झली सम्झना दिलाइरहेको छ ! त्यसैले मानिसहरूले भन्न थालेका छन्, ‘ट्रम्प नै ‘बिग ब्रदर’ हुन् । ट्रम्पको बोली ट्रम्पस्पिक हो र त्यही नै ‘न्युस्पिक’ हो ।’
अरवेलले ६८ वर्षअघि प्रचूर कल्पना गरेर लेखेको कथाका थुप्रै पाटा समयको विभिन्न कालखण्डमा सत्य ठहरिँदै आएका छन् । किताब अहिले पढ्दा यस्तो लाग्छ, उनले आफूभन्दा पचासौँ वर्षपछिको काल स्पष्ट देख्न सकेका थिए ।
लेखकहरू भविष्यद्रष्टा हुन् !

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?