२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मानवशास्त्रीय दृष्टिमा रंगमञ्च

शिल्पी थिएटरको गोठाले नाटकघरमा माघ ६ गतेदेखि २९ गतेसम्म डा. शिव रिजाल लिखित र घिमिरे युवराजद्वारा निर्देशित नाटक ‘दीक्षान्त’ मञ्चन भयो । शिल्पी थिएटरका अध्यक्ष कुमार आलेका अनुसार ३ हजार ५ सय जति दर्शकले यो नाटक हेरे ।

मानवशास्त्रीय दृष्टिमा रंगमञ्च

मेघराज अधिकारी

नाटक कुनै नौलो विषयवस्तुमा छैन । नेपाली समाजमा परम्परादेखि भनिंदै आएको ‘तथाकथित दलित’ को वास्तविकता र जन्मजात प्राप्त थरसँगको एउटा शिक्षित, दीक्षित तर अझै पनि दलित भनिएको प्रकाश (मात्रिका घिमिरे) को संघर्षको कथामा आधारित छ । विश्वविद्यालयको दीक्षान्त समारोहको परिवेशमा दलित भनिएको प्रकाशले मन्त्रीलाई हातपात गरेबाट नाटक सुरु हुन्छ । अनि प्रकाशका बाबु रणबहादुर विश्वकर्मा (जीवन बराल) को मृत्युमा ‘मलित’ भनाउँदाहरूले गरेको असहयोगमा नाटक टुंगिछ । म लेखमा नाटकभन्दा पनि यो नाटकले उठाएका बहसहरूको चर्चा गर्न चाहन्छु । दीक्षान्तजस्ता नाटकहरूले नेपाली समाजको समाजशास्त्रीय व्याख्या कसरी गरेका छन् भन्ने यस लेखको मुख्य विषय हो । 

नाटकको मानवशास्त्रीय सैद्धान्तिक व्याख्या गर्ने परम्परालाई मानवशास्त्री ग्रेगोरी ब्याटसन र मिडले इन्डोनेसियाको बालीमा ‘ट्रान्स एन्ड डान्स इन बाली’ भन्ने सिनेमाबाट सुरु गरेका थिए । पछि गएर अर्का मानवशास्त्री जेन बेलोले प्रदर्शन र मञ्चनमा सैद्धान्तिक मानवशास्त्रीय अध्ययनलाई परम्परागत रीतिरिवाज मञ्चनमा आधिकारिक परम्परा अध्ययनको विषय हो भनी निरन्तरता दिएका थिए । यसै सिलसिलामा भिक्टर टर्नरले ‘देम्बु रिचुअल’ माथि गरेको अध्ययनले प्रदर्शन कलाको अवधारणाको विकास गर्दै मानव गतिविधिको परिवर्तनको विषयमा प्रशस्त स्रोतहरू जुटाइदियो । यसैगरी मानवशास्त्री क्लिफोर्ड गर्जले प्रदर्शनका साथै अन्य आयामहरू जस्तै धर्म, राजनीति, मानिसको व्यक्तिगत आचारलाई आफ्नो ‘बालिलिनिज् लाइफ’ भन्ने अध्ययनमा थप खुलाउने प्रयास गरेका थिए । मञ्चन साहित्यले खासगरेर रीतिरिवाज र नाटकीय गतिविधिलाई अलग्याउँछ । तर मेरो बुझाइमा ‘थिएट्रिकल पर्फमेन्स’ भनेको कलाकार र दर्शकबीच कुनै निश्चित साझा स्थानमा गरिएको अन्तरक्रिया हो । 
यसै सन्दर्भमा नाटक ‘दीक्षान्त’ले दर्शकसँग गरेको अन्तरक्रियाको संक्षिप्त चर्चा गर्छु । रीतिअनुसार बनेको शरीर संकथनमाथि खरो प्रश्न तेस्र्याएको छ नाटकले । दलितलाई देखाइने साहानुभूति र कोटा प्रणाली केवल यो विभेदको खाडल बढाउन ल्याइएका ‘ललिपप’ हुन् भन्ने तर्क छ नाटकका नायक प्रकाशको । जतिसुकै अग्रगामी भन्नेहरू पनि विभेद गर्न पछि पर्दैनन् । चुरो कुरो बुझेर पनि बुझ पचाउनेहरूको संख्या ज्यादा छ । शरीरलाई कामको आधारमा व्याख्या गर्ने समाज किन एउटा दीक्षित युवकलाई स्विकार्न सक्दैन ? नेपाली समाजको अवचेतमा रहको उँच–नीचको भावना हटाउन उसले जन्मजात किन कुनै थरको पगरी गुथ्नुपर्ने ? यदि साँच्चिकै कार्यको आधारमा रीति पनि परिवर्तन हुन्छ भने दलित भनिइरहनुपर्ने कारण बाँकी रहन्छ र ?
नाटकले नेपाली समाजको सुदूरपश्चिम क्षेत्रको दलित परिवारको सेरोफेरोलाई देखाउँछ । नाटकले नैतिकता र आचरणलाई अघि सारेर आफू ठूलो हुनका निमित्त देखाइएको संकटलाई उजागर गर्छ । नैतिकता भन्नाले समाजले व्याख्या गरेको गर्न हुने र नहुने नियमहरूबीचको सँगालो हो भने आचरण भनेको आफ्नो शुद्ध मनले अराएको निष्पक्ष विचार हो । निष्पक्ष विचार आए तापनि समाजबाट बहिष्कृत हुने डरले वा समाजले अर्थ लगाएको नैतिकताका खातिर मानिसले आफ्नो आचरणको ख्याल नराख्नु नै सबैभन्दा ठूलो समस्या हो नेपालमा । यसको समाधान त्यति सहज देखिँदैन तर नेपाली समाजलाई निकास अवश्य चाहिएको छ । यसका लागि के कस्ता प्राज्ञिक, राजनीतिक, सामाजिक छलफलहरूको जरुरी छ भन्ने बुझ्न जरुरी छ । 
सन् १९८० को दशकदेखि मानविकी तथा सामाजिक विज्ञानले मञ्चन कलाको क्षेत्रमा प्रबुद्धीकरण प्राप्त गर्दै आएको छ । यसै सन्दर्भमा मानवशास्त्री, भाषाविद् र लोक साहित्यका विद्वान्हरूले पारम्परिक विषयवस्तुहरूको खरो ज्ञान प्राप्त गर्न प्रदर्शन कला अर्थात् ‘पर्फमेन्स आर्ट’ अध्ययन गर्दै आएका छन् । त्यसमा पनि मानवशास्त्रीहरूले नाटक प्रदर्शन वा मञ्चनले कसरी मानव जीवनका अन्य संस्थाहरू जस्तै धर्म, राजनीति, लैंगिक सम्बन्ध र जनजातीय पहिचानलाई उजागर गर्छ भन्ने विशेष अध्ययन गर्छन् । यसमा दर्शकहरूलाई गराइएको मनोरञ्जनलाई त्यति महत्त्वका साथ हेरिंदैन । विभिन्न अधिकारकर्मीहरूले डेरा जमाएको राजधानीमा लगभग एक महिना लामो अवधिसम्म चलेको नाटकको विशेष बहस आउन बाँकी नै होला । 
संसारभरि थिएटरहरू विभिन्न स्वरूपमा अस्तित्वमा छन् । सामान्यतया मानवशास्त्रीहरू थिएटरका विविध पक्षहरूलाई भन्दा कार्यको आधारमा तिनले समर्थन गरेका सांस्कृतिक संस्थाहरू जस्तै धर्म अथवा राजनीतिलाई महत्त्व दिन्छन् । यसरी व्याख्या गर्दा थिएटका विधाहरूलाई मुख्य चार कारकहरू जस्तै १. प्रस्तुतिमा प्रयोग गरिएको माध्यम, २. कलाकारको प्रकृति, ३. प्रस्तुत अन्तर्वस्तु र ४. दर्शकहरूको भूमिकाका माध्यमले हेर्न सकिन्छ । प्रस्तुत चार कारकहरूलाई अवस्थाअनुरूप विधिबद्ध ढंगले छुटयाउन सकिन्छ । बढी नै विधिबद्ध र विस्तृत पाराका नाटकहरूलाई कलात्मक भाकामा सबैले बुझ्ने शैलीमा निर्देशन र सम्पादन गरिएको हुन्छ । र, कम विधिबद्ध भएका परम्परालाई अलि बढी नै तत्कालीन र आँसुरचनाका माध्यमले स्थानीय स्तरमा प्रस्तुत गरिन्छ । 
इपिक थिएटरको मञ्चन शैली अपनाएको ‘दीक्षान्त’ ले माथि उल्लिखित चारै कारकहरूको प्रयोग गरेको छ । सेतो पटुका र कालो चस्माका माध्यमले समाजलाई प्रतिनिधित्व गराएको छ नाटकले । सेतो पटुकाले साझा समस्यालाई देखाउँछ भने कालो चस्माले दृष्टि गुमाएको समाजको चरितार्थ गर्छ । अन्तमा खोलिएको पटुकाले परिवर्तन हुन खोज्ने तर नैतिकताको डर मान्ने समाजको धारणा राख्छ । यसो हेर्दा यो आँसुरचना अर्थात् ‘इम्प्रोभाइजेसन’ जस्तो लाग्छ । अन्त्यमा भाँचिएको एउटा मात्र बारले विरलै हुने परिवर्तनको रूपक देखाए तापनि, नेपाली समाजलाई त्यत्ति सारो संकीर्ण हिसाबले हेर्नु हँुदैनजस्तो मलाई लाग्छ । चाहेजति नभए तापनि परिवर्तन युवाहरूबाट भइरहेका हामीले देखिरहेकै छौं । यस अर्थमा निर्देशकीय र मञ्चन दमदार हुँदाहुँदै पनि निर्देशक घिमिरे समाजको यथास्थिति देखाउन अलि पारम्पारिक भएका हुन् कि जस्तो लाग्छ । 
थिएटर सिद्धान्तहरूको अध्ययनले धार्मिक आधारहरू नै यसका स्रोतहरू हुन् भन्छ । विस्तृत नाटकीय गतिविधिहरू समाजमा व्याप्त कुरीति, थिचोमिचो र अपव्याख्या, पेसागत बेथिति इत्यादि माथि राखिएका तर्कहरूमा आधारित देखिन्छन् । आमनरनारीले भोग्दै आएका र भोगिरहेका रीतिहरू नै थिएटरसम्बन्धी गतिविधिहरूमा महत्त्वपूर्ण स्रोत हुन् भन्ने विश्वास छ समालोचक विक्टर टर्नरको । टर्नर र रिचार्ड सेख्नर दुवै यस्ता सामाजिक नाटकहरूलाई वास्तविक मञ्चमा उतार्दा देखिने अन्तरसम्बन्धबाट नै हामीले बाँचिरहेको समाज बुझ्न सकिने धारणा राख्छन् । वास्तवमा सामाजिक परिघटना र नाटक दुवै अन्तरनिहित विषयवस्तुहरू हुन् । यिनलाई अलग्याएर हेर्ने प्रयास पक्षपातपूर्ण हुन्छ । 
सामाजिक राजनीतिसँग सम्बद्ध सबै खाले नाटकहरूको चर्चा यो लेखमा सम्भव नभए तापनि खास केही नाटकको नाम लिन्छु । बालकृष्ण समको ‘चिसो चुल्हो’ ले धेरै पहिले पनि दलितमाथिको विषय उठान गरेको थियो । यसैगरी नारीहरूको विषयलाई युग पाठकले लेखेको नाटक ‘युमा’ सिर्जना सुब्बाको निर्देशनमा मण्डला थिएटरमा मञ्चन भएको थियो । राजनीतिक बेथितिलाई खोतल्दै सञ्जीव उप्रेतीको ‘मकैको अर्कै खेती’ लाई विमल सुवेदी थिएटर भिलेजमा निर्देशन गरेका थिए । प्रस्तुत नाटकहरूमा अहिलेको राजनीतिक अवस्थाले ल्याएको भ्रम र नरनारीमा फैलिएका वितृष्णा मुख्य रूपले देख्न सकिन्छ । 

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?