कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफैंलाई दोहोर्‍याउँदै

नेपाली सिनेमाको नयाँ ‘मूलधार’ ले फिल्मचाहिँ कस्ता बनाइरहेको छ ? पुरानालाई नै पछ्याइरहेका छ कि नयाँ काम गरिरहेको छ ?
यज्ञश

सबैका लागि एउटै कुरा मनोरञ्जन हुन सक्छ ? वा फरक किसिमका मानिसका लागि मनोरञ्जनका खुराक पनि फरक हुन्छन् ? ‘भद्रगोल’ र ‘तीतो सत्य’ जस्ता सिरियल वा ‘छक्का पञ्जा’ जस्ता फिल्मका जोक, टुक्का नै सबैका लागि मनोरञ्जन हुन्छन् ? वा मानिसको विचार, भावना र संवेदनालाई छुने, हल्लाउने कुराले कसैलाई मनोरञ्जन दिन्छ ? यी यस्ता प्रश्न हुन्, जसको उत्तर एकै वाक्यमा दिन सकिंदैन ।

आफैंलाई दोहोर्‍याउँदै

एकै छिन हँसाउने जोक र पछिसम्म स्मरण भइरहने आनन्द फरक कुरा हुन् । कतिपय मानिसहरूलाई अवसादपूर्ण कथा वा चित्रले भित्रैदेखि छुन्छ, त्यसले आनन्द दिन्छ । बलिउडको ‘धोवीघाट’ वा नेपाली भाषाकै ‘साँघुरो’ जस्ता फिल्म त्यसका उदाहरण हुन् । मान्छेको प्रकृतिसँगको लामो संघर्ष र सम्झौताहरूको इतिहासबाट थेग्रिएर आएका विचार र सिद्धान्तहरूको समष्टि वा अभिव्यक्तिलाई कलाले आफूमा सञ्चित गर्ने मानिन्छ । चाहे चित्रकला होस्, चाहे साहित्य वा सिनेमा, यिनमा कलाको अंश तथा कलात्मक अभिव्यक्ति हुने हुनाले यिनको विश्वव्यापी ग्राहयता हुन्छ । संसारको एउटा कुनामा एउटा भाषामा लेखिएको साहित्य, बनाइएको सिनेमा, खेलिएको नाटक वा कोरिएको चित्रले अर्को कुनाका मानिसलाई आकर्षित गर्ने कारण त्यही हो ।
नेपाली फिल्मको पचास वर्षको इतिहासमा त्यस्ता कतिवटा फिल्म बने जो भाषाको सीमालाई नाघेर संसारमा पुगे ? फ्रान्सेली एरिक भ्यालीले बनाएको ‘क्याराभान’ लामो समयसम्म यस्तो एक्लो उदाहरण थियो । केही हदसम्म नवीन सुब्बा र छिरिङ रितारका फिल्महरूले त्यो सीमालाई धेकेल्ने प्रयास गरेका थिए । गत वर्ष भने मीन भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘सेतो सूर्य’ का साथै पूजा गुरुङको छोटो फिल्म ‘दद्या’ ले त्यो सीमालाई नाघे । अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा, जहाँ फिल्मका पात्रले बोल्ने भाषा होइन कि दृश्यको भाषाको अर्थ हुन्छ, यी फिल्महरूले नेपाली फिल्मको उपस्थिति दर्ता गराए । क्यान्स, भेनिस र टोरन्टोजस्ता संसारका ठूला फिल्म फेस्टिभलहरूमा नेपालले भोगेको दसवर्षे द्वन्द्वको कथामार्फत यी फिल्महरूले नेपाली जीवनलाई उपस्थित बनाए । पछिल्ला वर्षहरूमा भएको यो उपलब्धि हो ।
अब आऊँ, मनोरञ्जन र व्यापारको स्थानीय बजारतिर । यो स्थानीय बजार अहिले नेपालको राजनीतिजस्तै भएको छ । नेपालको राजनीतिमा जसरी कुनै बेलाका विद्रोही (गुरिल्ला) युद्ध गरेकाहरू केन्द्रमा आइपुगेर संस्थापन बनेका छन्, फिल्ममा पनि करिब त्यस्तै दृश्य देखिन्छ ।
पुरानो ‘मूलधार’ वा संस्थापनलाई विस्थापित गर्दै हिजोका गुरिल्लाहरू अहिले फिल्मका ‘डन’ भएका छन् । तुलसी घिमिरे, दयाराम दाहाल र शिव रेग्मीहरूले निर्माण गरेको परम्परागत नेपाली फिल्मको मुख्य धारामा निश्चल बस्नेत, रामबाबु गुरुङ र दीपेन्द्र के खनालजस्ता निर्देशकहरू ‘पानी धमिल्याउने बाहिरिया’ का रूपमा छिरेका थिए । राजेश हमाल, निखिल उप्रेती र विराज भट्टको बजार चलिरहेका बेला दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछानेहरू नाटकमा संघर्ष गरिरहेका थिए ।
त्यसै बेला नेपाली फिल्ममा डिजिटल क्रान्ति सुरु भयो । डिजिटल क्यामेराको प्रयोगका साथै रंगमञ्चका कलाकार लिएर नयाँ निर्देशकहरूले फिल्म बनाउन सुरु गरे । स्थानीय विषय, मौलिक शैली र वास्तविकताको नजिक भएको अभिनयले फिल्मको स्वाद बिस्तारै फेरियो । देशभर बढेको मल्टिप्लेक्स र बढ्दो सहरीकरणका कारण फिल्मको प्रदर्शन र दर्शकमा पनि ठूलो परिवर्तन आयो । २०६२/६३ को आन्दोलनले ल्याएको परिवर्तन र दसवर्षे ‘जनयुद्ध’ को समाप्तिपछि नेपाली जीवनमा फरकखालको सोच र वातावरण विकास भयो । यी सबैको मिश्रणका रूपमा नेपाली फिल्मको विषय र शैलीमा आएको परिवर्तन स्थापित भयो । र, हिजोका गुरिल्लाहरू आजका ‘सरकार’ भए । अहिले सबभन्दा बढी फिल्म निर्माण यही समूहले गरिरहेको छ । भुवन–अनमोल केसी, विकास आचार्य र दीपकराज गिरीको समूह पनि निरन्तर फिल्म निर्माणमा सक्रिय छ । टेलिभिजन र रेडियोमार्फत हास्य कलाकारका रूपमा स्थापित दीपकराज गिरी र दीपाश्री निरौला पनि अहिले नेपाली फिल्मको ‘मूलधार’ का रूपमा स्थापित छन् ।
पछिल्लो समय आएका ‘लुट २’, ‘पुरानो डुंगा’, ‘जात्रा’, ‘कबड्डी कबड्डी’, ‘पशुपति प्रसाद’, ‘चपली हाइट २’, ‘नाइँ नभन्नु ल’ र ‘छक्का पञ्जा’ चर्चित फिल्म हुन् । व्यापारकै हिसाबले पनि ‘छक्का पञ्जा’ ले नयाँ कीर्तिमान राखेको छ । तर, प्रश्न उठ्छ— यो नयाँ ‘मूलधार’ ले फिल्मचाहिँ कस्ता बनाइरहेको छ ? राजनीतिमा जस्तै नयाँ ‘सरकार’ हरूले पुरानालाई नै पछयाइरहेका छन् कि नयाँ काम गरिरहेका छन् ?
बजारमा मन पराइएको कुनै पनि ब्रान्डको मूल्य अरूको तुलनामा बढी हुन्छ । चलेको कुनै पनि विचार, अनुहार वा नाम ब्रान्ड बन्न सक्छ । जसरी फिल्म बजारमा कुनै समय राजेश हमालको ब्रान्ड थियो । पोस्टरमा उनको फोटो नभई फिल्म चल्दैन भन्ने मान्यता स्थापित थियो । के अहिले निश्चल, दया वा सौगात त्यस्तै ब्रान्डमा परिणत भएका हुन् । निर्देशक नवीन सुब्बाले त दयाहाङलाई अर्को राजेश हमाल भनिसकेका छन् । के यस्तै भइरहेको हो त ? ‘कबड्डी’ ले पैसा कमाएपछि ‘कबड्डी कबड्डी’, ‘चपली हाइट’ चलेपछि ‘चपली हाइट २’ वा ‘लुट’ पछि ‘लुट २’ बन्नुमा बजारमा बिक्न सजिलो नाम भएका कारण हो कि ? जसरी बलिउडमा ‘गोलमाल’ वा हलिउडमा ‘फास्ट एन्ड फयुरियस’ बनेका छन्, त्यस्तै बक्स अफिसमा हिट हुने ग्यारेन्टी दिने ब्रान्ड यी फिल्म र फिल्ममेकर बनेका हुन् ? यदि हुन् भने यिनले आफ्नो सीमा पनि सँगै खिच्नेछन् । कुनै ब्रान्डको अर्थ निश्चित गुणस्तर, स्वाद वा शैलीमा अडिग, त्यसबाट तलमाथि नहुने भन्ने हुन्छ । तर, कला यस्तो चीज हो जसमा सधैं नयाँ चीजको खोजी हुन्छ, सीमाहीनताको खोजी हुन्छ । एउटै स्वाद वा शैली दोहोरिने हो भने त्यो सूत्र हुन्छ, सिर्जना हुँदैन । बजारमा सूत्र सजिलै बिक्छ, नयाँ सिर्जनालाई समय लाग्छ । कहिलेकाहीं त बजारमा यसका कोही ग्राहक नै नभेटिन पनि सक्छन् । सायद, यसैले होला, हिजोका गुरिल्लाहरू आज सजिलै ब्रान्डमा बदिलएका ।
गत साता प्रदर्शनमा आएको फिल्म ‘लुट २’ यो बदलावको एउटा उदाहरण हो । पहिलो ‘लुट’ आउँदा योसँग जोडिएका सबैजसो कलाकारहरू नयाँ थिए । निर्देशक निश्चल नयाँ थिए, दया र सौगातहरू स्टार बनिसकेका थिएनन् । तर, जसरी फिल्मको नाम नै आफैंमा एउटा ब्रान्ड बन्यो, कलाकारहरू पनि स्टार बने । फिल्मका निर्माता माधव वाग्लेले एउटा अन्तर्वार्तामा बताएअनुसार उनले फिल्ममा कलाकारहरूलाई मात्रै ६० लाख पारिश्रमिक दिएका छन् । यसबाटै थाहा हुन्छ, लुटको ब्रान्ड कति ठूलो बन्यो । के ब्रान्डको यो वजनमा फिल्मको सिर्जनात्मकता र नवीनता सिकार बन्यो ?
‘लुट’ प्रदर्शनमा आउँदा जति नयाँ थियो, ‘लुट २’ पहिलो प्रदर्शनमै पुरानो । किनभने, यसका पात्र, कथा, संवाद र शैली सबैमा ‘लुट’ नै दोहोरिएको छ । हाकु कालेको बोली होस् वा गोफ्लेको पागलपन सबै पहिले नै देखेजस्ता, चिनेजस्ता लाग्छन् । सिक्वेल वा कुनै स्थापित पात्रलाई लिएर बनाइने फिल्मको यो समस्या र समाधान दुवै हो । समस्या किनभने दर्शकले पहिले नै सबै थाहा पाइसकेका हुन्छन् र समाधान किनभने दर्शकले पहिले नै सबै थाहा पाइसकेका हुन्छन्, त्यसैले मन पराएर फेरि हेर्न आउँछन् ! ‘लुट २’ ले गरेको व्यापार त्यसकै साक्षी हो ।
तर, दर्शकका लागि मुख्य कुरा व्यापार होइन । ‘लुट २’ हेर्दा यसैलाई मुख्य कुरा ठानिएजस्तो लाग्छ । यसैले लाउड ब्याकग्राउन्ड म्युजिक, लामा–लामा दृश्य, अनावश्यक कमेडी, चेजिङ र फाइट अनि आइटम गीत सबैको भरमार फिल्ममा छ । बजारमा जुन चीज मानिसहरूले बढी रुचाउलान् भन्ने ठानिन्छ, त्यसको धेरै प्रयोग गरिनु पुरानै चलन हो । ‘लुट २’ मा पनि त्यही गरिएको छ । पहिले नै चलिसकेका पात्र भएकाले कसैलाई स्थापित गर्ने दुख पनि गर्नु परेन । न त कथाका लागि पृष्ठभूमिको रचनाको लफडा नै गर्नु पर्‍यो । ‘लुट’ को सबभन्दा ठूलो आकर्षण कथाको ‘ट्विस्ट’ थियो । जुन ‘लुट २’ मा सामान्य लाग्छ ।
मसलाहरूलाई धेरै समय दिनुपर्दा भूकम्प र नाकाबन्दीको कुरा उठाए पनि फिल्म तिनको असरतिर लाग्दैन । जेलबाट भागेको गोफ्ले ग्याङलाई त पुलिसको कुनै डर छैन । न त उनीहरू नयाँ परिस्थितिमा जीवनलाई नयाँ ढंगले अघि बढाउने बारे नै सोच्छन् । पहिलो ‘लुट’ मा जति ध्यान पात्र निर्माण र पटकथामा दिइएको थियो दोस्रोमा त्यसलाई ‘क्यास’ गर्नमै बढी समय खर्चिएजस्तो लाग्छ । ‘लुट’ मा निर्माण गरिएको संसारभित्रै घुम्ने कथामा पात्रहरूको ४ वर्षमा बदलिएको मनोदशा भने फिल्ममा देखिन्छ । पैसा कमाउने जोसमा फस्न पुगेका युवाहरू अब कसरी बदलाको आगोमा झन् हिंस्रक बन्न पुगे भन्ने फिल्मले देखाउँछ । र, यो चार वर्षमा सोझा मानिस चतुर बन्दा ठग झन् कति चलाख ठग बन्दै छन् भन्ने पनि यसले देखाउँछ । ब्रान्ड बनेपछि मान्छेको जीवन, भोगिरहेको समयको यथार्थ वा सत्ता र समाजका विकृतिमाथि प्रश्न गर्ने आलोचनात्मक चेत बढाउनेतिर ध्यान दिन सकिँदैन । न त यिनले जीवन र जगत्का बारे कुनै नयाँ दृष्टिकोण दिन्छन् र नयाँ रहस्य खोतल्छन् । यतातिर नगएपछि मकैबारीको टहरामाथि मोटरसाइकलको करामत देख्न पाइन्छ । यसैले फिल्ममेकरहरूले फिल्म निर्माणकालमा बजारको दबाबलाई हावी हुन दिनु हुँदैन भनिन्छ ।
केही समयअघिको अर्को चर्चित फिल्म ‘छक्का पञ्जा’ मा पनि यस्ता केही करामत थिए । वैदेशिक रोजगारी र नेपाली समाजमा महिलाको बदलिँदो जीवनजस्ता संवेदनशील विषयमा बनाइएको यो फिल्मले यी दुवै विषयलाई अत्यन्त हल्का र चटपटे विषयका रूपमा पेस गरेको थियो । फिल्मका एक दुई पात्र मात्र नभई करिब सबैजसो महिला पात्रलाई धोकेबाज र पैसाको पछि लाग्नेजस्तो देखाइएको थियो । यी हल्काफुल्का टिप्पणीले काम चल्ने विषय होइनन् । हल्काफुल्का टिप्पणी र ठट्टाहरूले फिल्मलाई बक्स अफिसमा त लोकप्रिय बनाउन सक्छ तर त्यो उत्कृष्ट कलाको नमुना भने बन्न सक्दैन । जुन कुरा ‘छक्कापञ्जा’ को हकमा लागु भइरहेको छ । महिला निर्देशक दीपाश्रीले बनाएको यो फिल्मले व्यापारमा त कीर्तिमान बनायो तर आलोचना पनि उत्तिकै खेप्यो ।
‘कबड्डी’, ‘जात्रा’, ‘लुट’ र ‘छक्का पञ्जा’ यी सबै चलेका फिल्ममा दर्शकलाई हास्यले आकर्षित गरेको हो । ‘पशुपति प्रसाद’ र ‘टलकजंग भर्सेज टुल्के’ मा चाहिँ यसका साथै करुणा र उदासीको मात्रा पनि मिलाइएको थियो । बेइमानी र ठगीको युगमा इमानदार मानिसहरू कसरी असफल हुन्छन् र समाप्तै हुन्छन् भन्ने कुराको बिम्ब यी दुवै फिल्ममा थिए । बलिउड र हलिउडजस्ता ठूला उद्योगमा पनि कुनै समय कमेडी फिल्महरू निकै चले । यिनलाई पक्का नाफा हुने जनरा मानियो । यसैले बलिउडमा एउटै निर्देशक डेविड धवनले गोविन्दाजस्ता कलाकारसँग १७ वटा फिल्म बनाए । तर, सन् २००० पछि जब भारतको अर्थतन्त्रमा परिवर्तन आयो, यसले त्यहाँको समाजमा पनि परिवर्तन ल्यायो । अनि फिल्महरू गोविन्दाका ग्रामीण कमेडी छोडेर युरोप अमेरिकातिर लाग्न थाले । अहिले त्यस्ता कमेडी निकै कम देखिन्छन् । स–साना विषयमा निकै नयाँ ‘आइडिया’ मा फिल्म बन्ने क्रम बढ्न थालेको छ ।
नेपालमा पनि २०६२/६३ पछि फिल्मको स्वरूप र कथामा ठूलो परिवर्तन आएको हो । पहिले विषय नै नमानिने ‘साँघुरो’, ‘वधशाला’, ‘छाया’ र ‘बिजुली मेसिन’ जस्ता नवीन सोचका फिल्म बने । मुस्ताङको एउटा थकाली पात्र फिल्ममा हिरोको रूपमा देखियो, जसरी काठमाडौंको छोइला कचिला बेच्ने हाकु कालेजस्तो पात्र मास्टर माइन्ड लिएर आयो । तर अहिले बिस्तारै के खतरा देखिएको छ भने परम्परागत ढर्राबाट हटेर अलि पर पुगेका फिल्मले फेरि आफैंलाई दोहोर्‍याउन थालेका छन् ।
दृश्य भाषामा नयाँपनको खोजी नभएसम्म नेपाली फिल्मको मौलिकताको बहस कुनै टुंगोमा पुग्दैन । ‘कालो पोथी’ र ‘सेतो सूर्य’ ले नेपाली समाजले भोगेको एउटा कालखण्डमाथि प्रश्न गरेका छन् । यस्ता प्रश्न र नयाँ दृष्टिकोणहरू नेपाली फिल्मका लागि अझै आवश्यक छ । यीभन्दा अझै अघि बढेर नयाँ अर्थहरूको खोजी हुनुपर्छ । यसको अर्थ सबै फिल्म एकै खाले उस्तै हुनुपर्छ भन्ने होइन । सबैले सामाजिक यथार्थवादकै हाँगो समाउनुपर्छ भन्ने छैन । तर, जुन हाँगोमा बसे पनि नयाँ सोच र फरक दृष्टिकोणचाहिँ होस् ।
फिल्ममेकरहरूले आफूलाई दोहोरिनबाट जोगाउने कोसिस गर्नुपर्छ । नवीनताले कलाको सार्थकता र अर्थलाई जोगाइराख्छ । याद गर्नुपर्ने कुराचाहिँ सबभन्दा सजिला बाटाहरू सबभन्दा चाँडै पुराना हुन्छन् !

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?