१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाली भाषाका गुरु वाङ

चेतनाथ आचार्य

चीनको सिचुवान प्रान्तमा सन् १९६८ मा जन्मिएका ४९ वर्षीय वाङ चुङ सन् १९९१ देखि हनान प्रान्तको हनान विश्वविद्यालयमा नेपाली भाषा अध्यापन गर्छन् । एसियाली भाषा तथा साहित्यमा विद्यावारिधि गरेका वाङ सहप्राध्यापक भइसकेका छन् र सो विश्वविद्यालयको एसियाली विभागका प्रमुख पनि हुन् ।

नेपाली भाषाका गुरु वाङ

सिचुवान प्रान्तमा विद्यालय तहको अध्ययन पूरा गरेर सन् १९८६ मा उनी हनान प्रान्तको हनान विश्वविद्यालयमा नेपाली विषय अध्ययनमा प्रवेश गरेका वाङ विगत ३१ वर्षदेखि नेपाली भाषामै रमाइरहेका छन् । त्यति बेला उनलाई दार्जिलिङबाट आएका एक जना प्रवासी चिनियाँले नेपाली भाषा पढाएका थिए । चारवर्षे स्नातक तह पूरा गरेपछि उनी १९९० मा एकवर्षे विशेष नेपाली भाषा अध्ययन गर्नका लागि त्रिभुवन विश्वविद्यालयमा गए । नेपालमा रहँदा उनले कृष्णप्रसाद पराजुली, भिक्टर प्रधान, वासुदेव त्रिपाठीलगायतका नेपालका ख्यातिप्राप्त व्यक्तिहरूसँग नेपाली भाषा अध्ययन गर्ने मौका पाए ।
त्रिभुवन विश्वविद्यालयको एकवर्षे विशेष अध्ययनले उनलाई नेपाली भाषामा थप आत्मविश्वास पैदा गरायो । उनी चीनमा फर्केर सन् १९९१ देखि आफैँले अध्ययन गरेको हनान विश्वविद्यालयमा नेपाली विषय अद्यापन गर्न थाले । अध्यापनसँगसँगै उनले सन् २००३ मा ‘एसियाली भाषा र साहित्य’ मा स्नातकोत्तर गरे ।
उनी नेपाली भाषाको थप अध्ययन गर्नका लागि सन् २००४ मा दोस्रो पटक नेपाल गए । एक वर्ष नेपालमा बसेर अध्ययन र अनुसन्धान गर्दा उनले विद्यावारिधिको आधार तयार गरे । सो समयमा उनले चिनियाँ टेलिचलचित्र ‘कपुरको रूख’ लाई नेपालीमा अनुवाद गर्ने काम पनि गरे । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको पचासौँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ रहँदा उनले नेपाल र भारतबीचको सम्बन्धमा पनि गहन अध्ययन गरे । यही विषयमा संकलित सामग्रीको भारी बोकेर उनी चीन फर्किए ।
एकवर्षे नेपाल बसाइले उनको नेपाली भाषमा थप निख्खारता ल्यायो । नेपाली भाषा र साहित्यका गुरुका रूपमा स्थापित भइसकेका वाङले हनान विश्वविद्यालयबाट सन् २०११ मा ‘एसियाली भाषा र साहित्य’ मै विद्यावारिधि गरे । उनको विद्यावारिधिको शोधपत्र थियो ‘नेपाल भारत द्वीपक्षीय सम्बन्धको अध्ययन ।’ यो थेसिसमा उनले सन् १९४७ देखि २०११ सम्म नेपाल र भारतबीचको सम्बन्धका विभिन्न आयामहरूलाई केलाएका छन् । विद्यावारिधिको शोधपत्रलाई उनले चिनियाँ भाषामा पुस्तकाकारमा प्रकाशन पनि गरेका छन् ।
वाङले कन्फ्युसियस इन्स्टिच्युटको वेभसाइटलाई पनि नेपाली भाषामा अनुवाद गरेका छन् । उनले चिनियाँ राष्ट्रपति सी चिन फिङका मन्तव्य तथा अन्तर्वार्ताको संगालो ‘सी चिन फिङ : चीनको शासन पद्धति’ कृतिको नेपाली संस्करणको सम्पादन पनि गरेका छन् ।
उनी आफैँले चिनियाँलाई अध्यापन गराउने प्रारम्भिक नेपाली पाठ्यक्रम पनि बनाएका छन् । नेपाली अक्षर लेख्न सिकाउनेदेखि उच्चारण पद्धति र नेपाली व्याकरणका सूत्रका आफैँले बनाएका पाठ्यक्रमलाई उनी विश्वविद्यालयमा पढाउने गर्छन् । दुई महिनाअगाडि मात्र उनले ‘छानिएका आधुनिक नेपाली साहित्यिक रचना’ पाठ्यपुस्तक प्रकाशन गरेका छन् । यो पाठ्यपुस्तकमा केही नेपाली कथा, कविता, नाटक र उपन्यासका अंश समावेश छन् । नेपाली कथामा उनले गुरुप्रसाद मैनालीको ‘नासो’, विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’, रूपनारायण सिंहको ‘बितेका कुरा’, पुष्करशमशेरको ‘लोग्ने’, गोविन्दबहादुर मल्ल गोठालेको ‘लक्ष्मीपूजा’, रमेश विकलको ‘लाहुरे भैँसी’, इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’, माया ठकुरीको ‘मृगतृष्णा’, महेशविक्रम शाहको ‘ज्याक्सन हाइट’, ‘सिपाहीकी स्वास्नी’ र ‘छापामारको छोरो’, भरत जंघमको ‘साथीको एक दिन’, इन्दिरा प्रसाईंको ‘उसको लोग्ने र बिरालो’, बिना तामाङको ‘युद्धभित्रको प्रेम’ र परशु प्रधानको ‘छिँडीभरिको आकाश’ लाई चिनियाँ भाषामा परिचयसहित राखेका छन् । त्यसैगरी नेपाली कवितामा भानुभक्त आचार्यको ‘प्रश्नोत्तर’, मोतीराम भट्टको ‘किन चाहियो ?’, लेखनाथ पौद्यालको ‘गौँथलीको चिरबिरी’, गोपालप्रसाद रिमालको ‘जंगी निसान हाम्रो’, लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’, भूपी शेरचनको ‘असार’ र सिद्धिचरण श्रेष्ठको ‘ओखलढुंगा’ समावेश छन् । उनले छानेका नाटकमा बालकृष्ण शमको ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’, विजय मल्लको ‘सत्ताको खोजमा’, पुष्कर माथेमाको ‘सम्झौतामा अटाउँदैन प्रतिभा’ र गोपालप्रसाद रिमालको ‘मसान’ रहेका छन् । यसैगरी पाठ्यक्रममा समाविष्ट उपन्यासमा लैनसिंह बाङ्देलको ‘माइतघर’ र पारिजातको ‘शिरीषको फूल’ रहेका छन् । उल्लिखित रचनाका र सर्जकको चिनियाँ भाषामा छोटकरीमा परिचयसँगै चरित्रहरूको विश्लेषण आदि समावेश गरेका छन् । ‘छानिएका आधुनिक नेपाली साहित्यिक रचना’ हनान विश्वविद्यालयमा चिनियाँले अध्ययन गर्ने नेपाली विषयको स्नातक तहको चौथो वर्षको पाठ्यपुस्तक हो ।
भर्खरै प्रकाशित वाङ चुङको अर्को पाठ्यपुस्तक हो ‘बोलीचालीको नेपाली’ । नेपाली भाषा सिक्ने चिनियाँलाई दैनिक जीवनमा काम लाग्ने विषयमा नेपालीमा कसरी संवाद गर्ने भन्ने कुरा उनले सिकाएका छन् । 
वाङ चुङले नेपाली भाषा सिक्ने चिनियाँ विद्यार्थीका लागि स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका आधा दर्जन जति पाठ्यपुस्तकहरू लेखिसकेका छन् । उनले २५ वर्षमा एक सयभन्दा बढी चिनियाँलाई नेपाली भाषा पढाएर स्नातक गराइसकेका छन् ।

प्रकाशित : चैत्र ५, २०७३ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?