पुनर्जागरणको पर्खाइ

हीरा बिजुली

मैले यी दिनहरूलाई मेरा मुक्तिका दिनहरू भन्ने गरेको छु। मुक्ति अथवा ठूलाठूला महत्त्वाकांक्षाहरूबाट छुट्कारा पाउनु र आफ्नो अगाडि एउटा सानो दियो बलिरहेको देख्नु।

पुनर्जागरणको पर्खाइ

त्यस्तो दियो जसले व्यक्तिलाई वरपरका सबै चीजबीज तथा कारण र असरहरूबाट तटस्थ तथा ज्वलन्त राख्छ। 

कुरो सन् २०६८ को हो। हामी रंगकर्मको संघर्षमा रमाइरहेका थियौं। काठमाडौंमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा गुरुकुलको रिमाल नाटकघरभित्र साराडोक्माई थिएटर ग्रुपका थाई निर्देशकले खिन्न हुँदै भनेका थिए, ‘यहाँ (नेपाल) का मानिसहरूसँग एउटा सोध्नु छ। के उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्? किनकि उनीहरू भए जतिको बल लगाएर कनीकुथी अंग्रेजी भाषा नै बोलिरहेको देख्छु।’ ती मेरो जीवनको पहिलो देवदूत थिए जसको वचनवाणले मलाई भुलभुलैयाको काठमाडौं सहरको झन्डै आधा आकाशसम्म उचालेरै फेरि भुइँमा हुर्‍यायो। म पहिलो पटक एउटा रेडलाइट स्वप्नबाट ब्युँझेको थिएँ। 
त्यस्तै, २०६६ सालतिरको हो। जुन समयमा म फिरन्ते हुन खुबै रुचाउँथे। जुम्ला खलंगादेखि मुगु गमगढीसम्मको यात्राका क्रममा साँझ बासच्यारे चौरको एउटा मात्रै होटलमा बास बस्न पुग्छु। थकानले लत्रक्क भएको ज्यानलाई खाटमाथि जब फाल्छु। आँखाहरूले भित्तामा टाँसिएको नेपाल साप्ताहिकमा छापिएको सौभाग्य शाह लिखित लेख भेटाउँछन्। धूवाँले कालो न कालो उक्त पत्रिकाको मैले मिति पढिनँ। मलाई शाहको नामले एकाएक ध्यान तान्छ † किनभने सुनेको थिएँ उनी हाम्रै रारा बस्तीबाट जुम्ला हुँदै विश्वविख्यात हार्वर्ड विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका रे। नेपालको मानवशास्त्रको नौलो आयामका खोजीकर्ता रे। उनले नै लेखेको कर्णालीसम्बन्धी उक्त लेखबाट मैले सुगारटाइ गरें, ‘सुनको सिरानी हालेर नुनको खोजीमा भौंतारिएका कर्णालीवासीहरू।’ उनले उदाहरण दिंदै भनेका थिए, ‘कस्तूरी आफ्नो शरीरभित्रै रहेको बिनाको बास्ना खोज्दै दिनभर भौंतारिएर बस्छ।’ यसरी मेरो जिन्दगीको दोस्रो देवदूत बने उनी जो कर्णालीलाई असली रूपमा चिनेको कर्णालीवासी थिए। उनका वचनवाणी पढेर म मृगको पाठोझैं उफ्रेको थिएँ, समय उसैगरी स्वप्नवाटिकामा ठूल्ठूला महत्त्वाकांक्षी सपनाहरू बुनिरहेको थियो क्रमश: नथाकी...।
समयले सातौं वार्षिक पात्रोहरू फेरिँदा महत्त्वाकांक्षाहरूको भीमकाय चाङबाट बाहिर निस्किएर लामो श्वास फेर्न पाउँदा आज आफैंलाई भाग्यमानी ठानेको छु। पात्रोसँगै परिवेश पनि फेरिएको छ। जुम्लामा साथी सरोज शाहीले खस संस्कृति संरक्षणका लागि हामीले सोच्नुपर्ने विषयमा छलफल कार्यक्रमको समयतालिका बनाइरहँदा, ‘युथ भिजन २०२५ मा कर्णालीका युवा’ शीर्षकमाथि योगेन्द्र शाहीले प्रकाश पारिरहेका छन्। यही बेला हामी अर्थात् म, मानवशास्त्रकी विद्यार्थी दीप्ति शेरचन तथा एक अर्का कलाप्रेमी निश्चल न्यौपानेहरू कर्णालीको कला संस्कृति, भाषाले बोकेका महत्त्वहरूलाई कर्णालीकै विद्यालयस्तरका विद्यार्थीले सजिलै बुझ्ने गरी कसरी सिकाउन सकिएला भन्नेबारे छलफल गर्दै सानाभन्दा साना योजना बुनिरहेका छौं। जसको कार्यान्वयनका लागि कुनै आयातित प्रभुहरूसँग प्रार्थना गर्नु नपरोस्, हाम्रो कर्णालीको सन्दर्भमा भन्नुपर्दा ती ठूलै ठूला भनिएका वरिष्ठहरूबाट नै जहिले पनि भोका भनेर राष्ट्रिय दैनिकका हेडलाइनमा आउने फोटोवालाहरूका नांगा छातीमा कैयौं पटक लात्ती हानिएको छ। त्यसैले त यो लेखको अग्रभागमै मुक्तिको प्रसंग उठाएको छु। हो, भ्रमको मुक्ति।
यदि विकासका नाममा कर्णालीमा गएको बजेट मात्रै पनि सम्पूर्ण कर्णालीवासीलाई बाँडिँदो हो त हरेक कर्णालीवासीको जिन्दगी सुधार भइसकेको हुन्थ्यो। तर त्यसो कदापि भएन, सट्टामा उसैगरी ठूला भनिएका नेता, इन्जिनिएर, डाक्टर र पढे–लेखेका टाठा–बाठाहरूकै सहरी क्षेत्र र काठमाडौंमा महल बने। फेरि पनि यिनी नवआगन्तुक काठमाडौंवासीलाई कर्णालीको लोप हुँदै गइरहेको संस्कृति वेशभूषाबारे के मतलब?
आज कर्णालीवासीमा आफ्नो फाटेको टालोसँगै जर्जर अवस्थामा रहेको आफ्नो संस्कार र संस्कृतिसँग आत्मालाप गरिरहँदा त्यसैमाथि सान्त्वनाको मलम लगाउने निहँुमा आइपुगेका छन् दाताहरूका स्थानीय नातेदारहरू। वास्तवमै देउताका थानभन्दा बढी डाँडामा, पाखामा, खोलामा, पूर्णिमामा, औंसीमा, कोही विकासका नाममा, कोही मानव अधिकारको नाममा, कोही सिटामोलको नाममा, कोही लुगाफाटोको नाममा, कोही पौष्टिक आहारको नाममा अझ भनौं प्रभुको नाममा...
भाषा, संस्कृति, साहित्य, कला आदि भनेको कुनै पनि देश, राज्य तथा ठाउँलाई प्रतिविम्बित गर्ने मुख्य सम्पत्तिहरू हुन्। यिनीहरूको संरक्षण, प्रवद्र्धन गर्नु त्यस ठाउँका बासिन्दा, स्थानीय सरकार र राज्यको परम दायित्व हो। जस्तै कि अंग्रेजहरूले अंग्रेजी भाषालाई अन्तर्राष्ट्रिय भाषाको रूपमा स्थापित गरे जस्तैगरी हलिउड संसारकै सिनेमा उद्योगको रूपमा स्थापित छ। के हामी छातीमा हात राखेर भन्न सक्छौं कि हामीले हाम्रो भाषा, संस्कृति बचाउन के गर्‍यौं? हो, यही प्रश्नको उत्तर मागिरहेको छ पंक्तिकारले आम नागरिकसँग, राज्यसँग।
इतिहास विजेताहरूको घोडा हो। जसले हार्नेलाई आफ्नो पैतलाले कुल्चेर पछार्छ। त्यसैले त इतिहासको नजरमा सुदूर हिमाली भेगमा कर्णाली भन्ने राज्य थियो मात्रै भनियो। त्यो अलावा राज्यले अरू केही गर्न सकेन। किनकि हामीले एक विजेतासँग हारेका थियौं। तर यसो भनेर मात्रै चुप भएर कतिसम्म बस्ने? किन हामी हाम्रो आफ्नै इतिहास फेरि लेख्न सक्दैनौं? हामी अझै कति रुमलिरहने आफूभित्रैको बिनालाई लुकाई? के हामी केही पनि गर्न साँच्चिकै असमर्थ नै हौं र? किन?
‘जनयुद्ध’ ताका स्थानीय परिचालनको प्रमुख आधार बनाइएको थियो कला, साहित्य र संगीतलाई। तर महान् भनिएको ‘जनयुद्ध’ बाट कमिलाको टाउको जत्रो उपलब्धि पनि हात पार्न सकेन। बरु त्यही मौकामा राज्यद्वारा चालिएको द्वन्द्व सिध्याउने प्रयासले कर्णालीमा केही धामीले नाच्दानाच्दै गोली खानुपर्‍यो † कसैले दमाहा बजाएकैले सुराकी गरेको नाममा मारिनुपर्‍यो, कतिले पूर्णिमामा देउडा खेलेकै भरमा बलात्कृत हुनुपर्‍यो। फेरि पनि हाम्रो हातमा चरम सांस्कृतिक प्रदूषण र निराशा †
आज सडकसँगको सञ्जालीकरणसँगै हामी खुबै आशावादी छौं कि यसले हाम्रो भाग्य कोरिदिनेछ। नेताहरूले भनेझैं एक दिन यो ठाउँ स्विजरल्यान्ड बन्नेछ † त्यसैले आजका मितिबाटै खस भाषा बोल्ने बूढापाकाहरूलाई पाखे उर्फ गाउँले भन्न थालिएको छ। भनिएको छ— पढेको रे, लेखेको रे, जागिरे रे। ठीकै छ। हामी शिक्षित भयौं रे, त्यसैले त दिन प्रतिदिन बजारमुखी बन्दै छौं। त्यसैले आजभोलि सिमी बेचेर चाउचाउ खान्छौं। हामीले हाम्रा खेत जोत्ने हलगोरु बेचेर मोटरबाइक किन्यौं। मल नपुगेर जग्गा बाँझो बन्यो, आज हाम्रो घरमा रुपैडियाको गोलभेंडाको चटनी पाक्छ † एक पटक सोच्नैपर्छ सडकले कर्णालीलाई वास्तवमै आत्मनिर्भरता दिएको छ या चरम परनिर्भरताको खाल्डोमा पार्दै छ। 
अब सडकलाई खानेकुराको नाममा नुनसमेत बोकेर ल्याउने र होटलमा नबसी पाल हालेर रूख, डाँडाकाँडा, रारातालको फोटो खिच्ने पर्यटक आउने बाटोको रूपमा मात्रै लिनु हुँदैन। यस्ता पर्यटक आएर कर्णालीका जनताको आर्थिक उन्नति खासै हुँदैन। हाम्रो सडकले त हाम्रा तमाम खाले काव्यिक महत्त्वहरूको उत्खनन्, खोजी, अनुसन्धान तथा संकलन गर्ने विद्वान्हरूको नजर तान्न सक्नुपर्छ तब मात्र हाम्रो वास्तविकता हामीलाई थाहा हुनेछ। अनि मात्रै सोचेको विकास हुन सक्छ। अन्यथा कुनै बेला भाषा संस्कृतिको भण्डार यस भूमिमा कालान्तरमा आधुनिक विकासले सीमा नै नाघे पनि कर्णालीसँग कर्णाली हुनुको स्वाद र रंग हुने छैन। कर्णालीबेगरको कर्णाली हुनेछ। 
वास्तवमा समाजमा विभिन्न किसिमका तत्त्वहरूको अन्तर्घुलन हुन्छ † यो सर्वव्यापी सत्य हो † जस्तै जात र कला, सौन्दर्य र हिंसा तथा विश्वास र कुरीति, यिनीहरू शताब्दीयौंदेखि यसरी गाँसिएर बसेका छन् कि एउटा तत्त्वलाई चलाउँदा अर्काको सन्तुलन बिग्रिन्छ। उदाहरणका लागि कर्णालीमा दमाह बजाउनु, मूर्ति बनाउनु, लुगा सिलाउनु कला हो भने ती कलाकारहरूलाई जातीय विभेद गर्नु कुरीति हो। त्यस्तै धामी नाच, नाच्नु एकताको प्रतीक हो भने देउता चढ्यो भनेर महिलालाई बोक्सीको आरोप लगाउनु, छुई छिटो गर्नु कुरीति हो। अतएवको प्रयास भनेको कर्णालीका कला, साहित्य, संगीत र सांस्कृतिक सुन्दरता र तिनीहरूको महत्त्वको पुनर्लेखन वा समय सुहाउँदो गरी पुनर्प्रस्तुतीकरण हो। खोजी, अनुसन्धानका माध्यमबाट शिक्षा प्रदान गरी सिकाइको नयाँ आयाम थप्नु हो। न कि पुन: दासत्व, लैंगिक विभेद तथा सामाजिक रूढिवादको पुन: सुरुआत होइन। कुरीतिहरू हटाउन राज्यका कानुनहरू छन्। नबनेका कानुनहरू बनाइनुपर्छ † सकारात्मकताको प्रवद्र्धन गर्नु र कुरीतिहरूलाई निरुत्साहन गर्नुपर्छ। अबको सांस्कृतिक पुनर्जागरण अभियानले कसैसँग पक्षधरता लिनु हुँदैन तथा कसैसँग विद्रोह पनि जनाउनु हुँदैन †कर्णालीको कला र संस्कृतिको सन्दर्भमा कथित बजारवादको कारण अन्तर्पुस्तैनी संवाद बन्द भएको छ। नातिले हजुरबुबाबाट कथा सुन्ने, इतिहास बुझ्ने परम्परा सकिनुका साथै कला, सीपको हस्तान्तरण प्रक्रियामा ठूलो खाडल सिर्जना भएको छ। नयाँ पुस्ताले पुरानो पुस्तासँग भएको लोक, कला तथा संस्कृतिलाई आत्मसात् गरिरहेको छैन भने पुरानो पुस्ता आफूसँग भएका सबै खाले कला र संस्कृतिलाई सिरानीमुनि राखेरै जीवन बिताउन विवश छ। यो परिस्थितिमा पनि राज्य चुपचाप छ। फलस्वरूप हामी रित्तिँदै छौ † यी त हुन् हाम्रा तिता यथार्थहरू तर समय अझै सकिइसकेको छैन। 
विकासका दृष्टिले कर्णाली काठमाडौंभन्दा झन्डै एक शताब्दी कान्छो भए तापनि सांस्कृतिक तथा मौलिकताको चेतनाका हिसाबले लगभग एउटै स्तरमा देखिन्छ † जसका लागि हामीसँग केही सुखद प्रमाणहरू छन् जस्तै : डोल्पाली जनजीवनमाथि छायांकित चलचित्र ‘क्याराभान’, मुगुका मीनबहादुर भाम निर्देशित ‘कालोपोथी’ र छतमाथि देवताको रूपमा पुज्ने चलनमाथि जुम्लामा छायांकित ‘दद्या’ जस्ता चलचित्रहरूले अन्तर्राष्ट्रिय जगत्मा पाएका सफलतालाई हाम्रै मौलिकताले पाएका सफलताको रूपमा लिन सक्छौं। उसो त अन्य ठाउँका मौलिकताले भने अन्तर्राष्ट्रियतासँग परिचय गर्ने मौका पाएका छैनन्। एक पटक पुन: मानवशास्त्री शाहलाई सम्झिन मन लाग्छ सायद उनले हामीसँग भएको भाषा, विश्वकै फरक संस्कार र संस्कृति, पाण्डवकालीन ढुंगे देवल, मठ मन्दिर, नदीनाला, तालतलैया तथा सेता हिमाललाई नै हाम्रो नाभिभित्र रहेको बिनाको रूपमा बुझाउन खोजिरहेका थिए। सायद उनको विचारमा हाम्रो दुर्गमता नै हाम्रा हजारौं अवसरहरूका ढोका खोल्ने साँचो हो। हो वास्तवमा हाम्रो भाषा, संस्कृति, हाम्रो कला, हिमाल, ताल, संस्कार आदिको विषयमा गम्भीर रूपमा छलफल गरी अन्तर्राष्ट्रिय जगत्मा यसको महत्त्व दर्साउन सकेमा, उत्खनन्, अनुसन्धान गरी वैज्ञानिकीकरण गर्न सके हामीसँग भएको कुरूप दुर्गमताले नै हाम्रो भाग्य फेर्न सक्छ। यो हाम्रो भाग्यको दोषको कारण उत्पन्न कदापि होइन। अत: हाम्रो संस्कृति, कला, संगीत, भाषा आदिका बारेमा खोजी अनुसन्धान गरी पुनर्लेखन, पुनर्संकलन, पुनर्आत्मानुभवीकरणको जरुरी छ। जसरी गगनचुम्बी महलका बीचमा स्थापित रानीपोखरीबीचको पुरानो मन्दिरलाई पुन: जस्ताको तस्तै बनाउन माग गरिंदै छ, त्यसैगरी।
पुनर्जागरणको प्रक्रियालाई फेरि अबिर, दोसल्ला र भाषणबाजीमा सीमित पारिनु हाम्रो मूर्खता हुनेछ। यस क्षेत्रका अनुभवीहरूमाझ व्यापक छलफल गरी हाम्रो भाषा, संस्कति र कलालाई विद्यार्थीले दैनिक अध्ययन गर्ने पाठसम्म पुर्‍याउन सके मात्र हाम्रो भाषा संस्कृतिमाथि हामीले न्याय गरेको मान्न सकिन्छ। यसका लागि राज्यले संंरक्षण तथा संवद्र्धन र विकासका नयाँ तथा लाभदायक विधिहरू अवलम्बन गरी स्थानीय भाषा, कला, साहित्य, कृषि आदिको महत्त्व बुझाउने किसिमका पाठ्यक्रमहरू निर्धारण गर्नुपर्छ। यसो भएमा विश्वमा शताब्दीयौंसम्म पनि कर्णालीले आफ्नै मौलिकता र प्राचीनताको मीठास छर्न सक्नेछ। मौलिकताको र प्राचीनताको रंग उडिसकेको आजको विश्वसामु अन्तत: हाम्रो मौलिकता र प्राचीनता नै आधुनिक विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा रूपान्तरण हुनेछ। यो नै हामीभित्रको बिना हो यसलाई हामीले समयमै चिन्न सक्नुपर्छ। 

प्रकाशित : चैत्र १२, २०७३ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?