१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इजोरिया

छाती पिट्दै रमधनियाँ काकी आँगन पसिन् । अन्तिम वाक्य पूरा नसुन्दै इजोरियाको आँखा वरिपरि अन्धकार छायो । एकछिनमै गाउँ नै स्तब्ध बन्यो।
मञ्चला झा

धत् बदमास ! सिरानीमा झुन्डिएको ऐना हेर्नेबित्तिकै उनको मुखबाट फुत्केको थियो यो आवाज, मदमस्त निदाइरहेका अल्लारे पतिको गाला चिमोट्दै उनी एक्लै बर्बराइन्, अरूले देखे भने के भन्ला हँ ? लाज पनि लाग्दैन !

इजोरिया

गौना भएर ८ महिनाअघि घर भित्रिएकी इजोरियाको गर्धनमा प्रथम मिलनको रातमा पनि यस्तै चुम्बनको दाग बसेको थियो । कम्ता जिस्काएका थिएनन् नन्दहरूले । लाजले त्यसबखत भुतुक्क भएकी थिइन् उनी । बाहिर वसन्त ऋतुको मन्दमन्द बयारसित बारीमा फुलेको चमेलीको सुवास उनको सानो कोठालाई नै मग्मगाएको थियो । कोइलीको कुहुकुहु मन चोर्ने मीठो वसन्ती गायनले ब्युँझाएको थियो त्यो बिहान उनलाई । शरीर अलिक थकित तर मन प्रफुल्लित थियो उनको । मनको प्रसन्नताले शरीरको थकानलाई पनि दूर गर्दो रहेछ । आखिर थकान पनि त परिस्थितिजन्य कारणमाथि निर्भर हुने हो । प्रेमालाप र त्यसपछिको संसर्गको त्यो रातले इजोरियालाई अझै कुत्कुत्याएको थियो । राति अबेरसम्म चन्द्र फागु गीतमा झुम्मिएकाले सुत्न अलिक ढिला फर्केका थिए, त्यो रात । मधेसमा फागुको रौनक नै बेग्लै । एक साता दस दिन अघिदेखि नै फागु गाउने चलन भएकाले दलानभरि होरी गाउनेहरूका साथ झुम्मिएका थिए चन्द्र पनि । महाराजाके द्वार मच्चैया होरीको धुनमा अह्लादित पतिको त्यो मुद्रालाई कोठाको स्यानो खिड्कीबाट लुकी–लुकी चियाइरहेकी इजोरियाको मन आनन्दातिरेकमा बगिरहेको थियो । चन्द्रले कम्ता माया गरेका थिएनन् त्यो रात इजोरियालाई ।

पूर्वी क्षितिजमा उदयाञ्चल उषाकालीन भाष्करको लालीमाझैँ यत्रतत्र मागभरि फैलिएको सिन्दुरलाई नवविवाहित इजोरियाले आँचलको खुँटले मिलाउँदै गर्दा उनको दृष्टि भित्तामा झुन्डयाएको घडीमाथि टक्क अडियो । आमाले दाइजोमा दिनुभाको त्यो घडीमा बिहानको ६ बज्न लागेछ । सधैं बिहान पाँच बजेसम्म उठिसक्ने इजोरियालाई आज उठ्न निकै ढिलो भएछ । ला ! आज त सासूआमाको गाली खाने भइयो । अहँ, तर यसमा मेरो के गल्ती ? सबै उनको छोराले गर्दा त हो नि ! भर्खर सत्र वसन्त पार गरेकी इजोरियाको बालापनले तत्कालै जवाफ फर्कायो । हत्त न पत्त साडी मिलाउँदै उनी सुटुक्क कोठाको ओसारामा निस्किन् । धन्य कोही उठेको रहेनछ । सबलाई बिहानीको वसन्ती पवनले मत्याएछ सायद । आमाले बालक बेलादेखि नै सासू, ससुरा, जेठानीले अह्राएको काम गर्नु एक वचन नफर्काउनुको सिखलाई माइतीबाट विरासतमा ल्याएकी छे इजोरियाले ! सायद, त्यसैले होला आठ महिना भो गौना भएको सबैको प्यारी छिन् उनी । सधैंझैँ आज पनि उनी कर्तव्यपरायण बुहारीको भूमिका निर्वाह गर्दै चुलो लिपपोत गरिन्, रातिको जुठो भाडाको रास माझिन् र भैँसीको बाक्लो दूधको चिया बसालिन् । बिहानीको चिया खाइसकेपछि मात्र जेठानीले पनि उनलाई भान्छामा सघाउँछिन् । सबैको खुसीका लागि मैले यति गरदिँदा के नै बिग्रिन्छ र ? घरमा स–साना कुराले कलह गर्नुभन्दा सके जति गरदिँदा नै वेश । गत वर्ष मात्र कक्षा दस पास गरेकी इजोरियालाई राम्ररी थाहा छ, शान्तिमै सुख र आनन्द छ भनेर । पढ्ने मन त अरू थियो उनको तर बीचमा बिहे भएरै रोकियो । चन्द्रले त उनलाई जति पढ्न मन छ, पढाइ खर्च म बेहोर्छु भनेकै छ । विवाहअघि मात्र वैदेशिक रोजगारबाट फर्केको चन्द्रलाई पनि लोक सेवा परीक्षाको तयारी गर्ने सुर छ, त्यस बेला सँगै पढ्ने सोच बनाएकी छन् इजोरियाले पनि ।
काँचको ठूलो गिलासमा चिया लिएर इजोरिया सासूको अगाडि राख्न नपाउँदै सासूले गोडा जोडिहालिन् घुम्टोले छोपिएको माथ गोडामा राखेर आशीर्वाद थाप्नु बिहानको नित्यकर्म नै थियो उनको । घर खान पठाउनअघि हजुरआमाले पढाएको पाठ सबै कण्ठ छ उनलाई । बिहानको सात बज्न लागेछ चन्द्र अझै उठेको चाल नपाएपछि उनी चियाको अर्को गिलास लिएर आफ्नो कोठातिर लागिन् । एउटा गोडा सिरकमाथि र अर्को सिरकभित्र राखेर गधा बेची निदाएझैँ मस्त निदाएको रहेछ यतिखेरसम्म चन्द्र । केही महिनाअघि मात्र वैदेशिक रोजगारबाट फर्केका पतिलाई यसरी निदाएको देख्दा इजोरिया एक छिन गम्भीर भएर सोच्न थाल्छे, कहाँ सुत्न पाइन्छ र यसरी ? मेसिनझैँ अहोरात्र खटिनुपर्ने, कहाँ छ र सजिलो विदेश गएर पैसा कमाउनु ! मेचमा राखेको चिया सेलाउन लाग्यो, यतिका घाम झुल्किसकेको छ अझै चन्द्र उठ्ने सुर नदेखेपछि उनले बिस्तारै उनको जीउ हल्लाइन् तर ऊ त अझै कोल्टो पो फेरेछ । बिस्तारै चन्द्रको माथ सहलाउँदै हातभरिको चुरालाई नियाल्दै मख्ख परिन् इजोरिया । हिजो मात्रै हटियाबाट वसन्त ऋतुको उपहारस्वरूप पहेलो र रातो चुरा ल्याइदिएका थिए चन्द्रले । गोरो नाडीमा कम्ता सुहाएको थिएन ती नारंगी रंगीन चुराहरू । बाबाले यत्तिकै उनको नाम राखेका होइनन् इजोरिया । (शुक्लपक्ष) इजोरियामा जन्मेकी कारी बरैको पूरै खानदानमा नै उनी सबभन्दा उज्याली ! एक त १८ वर्षअघिको मधेसी समाज र त्यसमा पनि जेठी छोरीपछिकी अर्की छोरी, जन्मेको सुनेर कम्ता रुवावासी गरेकी थिइनन् उनकी हजुरआमा । यसपालि त वंश चलाउने नाति होला भन्ने ठूलो आस थियो उनको । तर न्वारनको रात बुहारीले काँखमा राखिदएपछि इजोरियाको सौन्दर्य देखेर खित्का छाडी हाँसेकी थिइन् बुढीमाउ पनि । इजोरियालाई थाहा थियो चन्द्रलाई चुराको झंकार साह्रै मन पर्छ, दुवै हात उनको काननेरि लगेर चुरा बजाउन थालेपछि मात्र उठेको थियो त्यो बिहान ऊ । जुरुक्क उठेर बेस्सरी आलिंगनमा कँस्दै उनको माथलाई चुमेका थिए चन्द्रले, समरभूमिमा होमिनुअघि योद्धाले चुमेको जस्तो थियो त्यो मायाको चुम्बन !
साँझ करिब ५ बज्दो हो, चन्द्र पानपसलतिर लाग्यो । वैदेशिक रोजगारबाट ल्याएको थोर बहुत कमाइले ऊ चोकमा एउटा सानोतिनो पानपसल थापेको छ, जसमा बाउ–छोरा पालैपालो बस्ने गर्छ । साँझ पाँच बजे इजोरिया पनि फुर्सतमै भइन् । झन् चन्द्र पनि पसलतिर लागेपछि इजोरियालाई साथी कोही भएन । सासू र जेठानीसित धेरै बोल्ने धक अझै खुलेको छैन उनको । एक्लो के गरूँ के न गरूँजस्तो भयो उनलाई । त्यसैले उनी पूवारी खिड्कीबाट बाहिर नियाल्न थालिन् । टाढा–टाढासम्म फैलिएको गहुँ खेतपारि ठूलो मञ्च बनाइएको थियो । एकपछि अर्को नेता भाषण गर्दै जाँदा हजारौँको संख्याले एकैचोटि बजाएको तालीको गडगडाहट र अर्कोतिर जय मधेसको गगनभेदी गुन्जायमान स्वरले त्यो साँझ पूरै गाउँलाई नै तानेको थियो । सायद त्यसैले होला बालकदेखि वृद्धसम्म घर–घरबाट निस्केर त्यो साँझको दृश्य अवलोकनमा लीन देखिन्थे । हजारौँको संख्यामा तैनाथ प्रहरीको घेरा पार गर्न खोज्ने आक्रोशित पक्षलाई प्रहरीले डन्डा लिएर लखेटेको दृश्य टाढाबाट पनि स्पष्ट देखिन्थ्यो ।
पोहोर मधेसमा लाखौँको संख्यामा शान्तिपूर्ण मानव साङ्लोमा साथ दिन इजोरिया पनि नगएकी होइनन् । साहै्र मन परेको थियो उनलाई त्यो शान्तिपूर्ण विरोधको स्वरूप । तर भोलिपल्टको समाचारपत्रमा मानव साङ्लोलाई झिँगा–साङ्लो भनेर मानव जातिको नै खिल्ली उडाउने एक जना ठूला पार्टीका नेताको व्यंग्यपूर्ण अभिव्यक्तिले निकै चित्त दुखाएको थियो उनको । अझै त्यही पार्टीका एक जना नेताले त मधेसलाई धोती प्रदेश नै भन्न भ्याएछन् । के हो यो धोती–टोपीको लडाइँ ? एउटै देशको परिधिभित्र बसेका हामी सबै नेपाली नै होइन र ? यो देश भनेको हाम्रो पनि हैन र ? हामी सबैको रगतको रंग उही रातो, छालाको रंग गोरो र कालो भएर कसैलाई राष्ट्रवादी र कसैलाई अराष्ट्रवादी भन्न मिल्छ ? कति सस्तो परिभाषा बनाइएको छ, यो राष्ट्रियताजस्तो गहन शब्दावलीको, जसलाई जसरी मन लाग्यो आफ्नै अनुकूल व्याख्या गर्न खोज्ने । राष्ट्रियताको भावना त मान्छेको अन्तरमनबाट उत्पन्न हुने हो, व्यवहारबाट झल्किने तत्त्व हो राष्ट्रियता ! आफ्नो मुलुकको शक्तिबोध र सौन्दर्यबोधको ज्ञान हुनु हो राष्ट्रियता । अन्तर्राष्ट्रिय समुदायमा नेपालको चर्चा गर्दा मधेसबिनाको नेपाल भन्न मिल्छ ? अनि मधेसीहरूले पटक–पटक आफ्नै देशमा म नेपाली हूँ भनेर परिचय दिनुपर्ने कस्तो विडम्बना ? एउटै देशभित्र विभिन्न जातजाति, भाषाभाषी, संस्कति, वेशभूषाको बाहुल्य भएको विविधतामा एकताको देश हो नेपाल । हामी दसैँ, तिहार, छठ, होली सधैं सँगै मनायौँ । आज आएर यो पहाडी–मधेसी किन ? होलीमा पोखरेल काकाले मेरी आमालाई भाउजू भन्दै रंग अबिर खेल्नुहुन्छ । मेरी आमाको हातको मालपुवा र पोखरेल काकीको सेलरोटी सधैं एकसाथ बाँडेर नै खायौँ हामी तर आज हामीबीच यो लडाउने भिडाउने काम किन ? मधेसका जनताको भावनालाई उहिले नै बुझिदिएको भए, आज मधेसको नाममा राजनीति खेती गर्ने च्याउसरी न त यति पार्टी हुन्थे न त विखण्डवादी तत्त्वहरू नै सल्बलाउने थिए । तर, आफूलाई राष्ट्रवादी र आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी भन्नेहरूले सधैं मधेसीमाथि शंका मात्र गरिरहे ।
मधेस सबैलाई चाहिने तर मधेसीले अधिकारको कुरा गर्दा ऊ भारतीय हुने ? हो, हाम्रो भूगोल दक्षिणी सीमावर्ती क्षेत्रसित जोडिएको छ, अनुहार–व्यवहार मिल्छ तर यसको अर्थ हामी हाम्रो देशलाई नै भारतसित मिलाउन खोजेका छौँ भन्ने आशंका हामीमाथि किन ? याद छ इजोरियालाई गत साउनको तिलाठी बाँध प्रकरणमा लाठी खाएर भए पनि प्रतिकारमा उत्रेका हाम्रै नेपाली बाबा पुर्खा होइन ? अझै सीमा सुरक्षाका लागि हामी ज्यान फाल्न तयार छौँ । तर हाम्रो राष्ट्रियतामाथि आशंका किन ? बेपत्ता प्रश्नहरूको भुइँचालो उठेको छ, आज इजोरियाको मन मस्तिष्कभित्र ।
२०६३ को माघे मधेस आन्दोलनमा आठ वर्षकी फुच्ची बालिका थिएन उनी । बाबा माघको कठ्यांग्रिने जाडोको परवाहसमेत नगरी नांगै खुट्टा मैदानमा दौडिनुहुन्थ्यो र इजोरिया बाबालाई पछ्याउँदै । आज पनि बाबा नांगै खुट्टा हिँड्नुपर्‍या छ एक जोर जुत्ता र लुगाका लागि हामीजस्ता गरिबलाई दसैँ–तिहार नै कुर्नुपर्ने । भाइ बोर्डिङ स्कुलमा पढ्ने मन गरे पनि सरकारीमै पढाउनुपर्ने आर्थिक विवशता । तर मधेसका नाममा राजनीति गर्नेहरू काठमाडौंमा घर–बंगला, गाडी नहुने सायद विरलै नेता छन् । आफू काठमाडौं बसेर चिया–कफी तताउने र हामीलाई मधेस तताउन लगाउने ? विगत दस वर्षको अन्तरालमा पटक–पटक सत्ताका स्वाद चाखेका मधेसी नेताहरूले के विकास गरे मधेसमा ? बर्सेनि करोडौंको बजेट आउँछ, किन मधेसमा बाटोघाटो उस्तै ? विगत १० वर्षको अन्तरालमा लाखौँ युवा बिदेसिने गरेका छन् । जिउँदोको सहाराको त के कुरा मर्दाको मलामी जाने पनि युवाहरूलाई औँलाले गनेर बोलाउनुपर्ने अवस्था छ यहाँ, जे जति बाँकी छन् ती पनि साँझ–बिहान चोकमा जम्मा भएर राजनीतिक गफ चुट्नुबाहेक केही काम छैन तिनको । मुलुकको सबभन्दा बढी रेमिटयान्सको हिस्सा बनेका मधेसी युवाहरूका लागि खै त रोजगारी र व्यवसायका व्यवस्थापन र चिन्तन ? समतल भूमि र प्रशस्त विकासको सम्भावना बोकेको मधेसको विकासका लागि किन मधेसका नेताहरू आन्दोलन गर्दैनन् ? विरक्त लाग्छ इजोरियालई यस्तो राजनीतिक गतिविधि देखेर ।
साँझको करिब साढे पाँच बजेतिर होला परबाट धाँय धाँयको लगातार चार/पाँचपटक आवाज सुनिन् इजोरियाले, धूवाँको एक मुस्लो गोधूलि साँझलाई अझै धमिल्याएको थियो त्यो बेलुकीपखलाई । चारैतिर भीड तितरबितर हुँदै भागाभाग हुन थाल्यो बचाउ–बचाउको गुहार सर्वत्र सुनिन थाल्यो । इजोरियाको मुटुको धड्कन केही अनिष्टको आशंकाले अचानक तीव्र हुन लाग्यो । मनमनै गुहार्न लागिन् देवी–देवतालाई इजोरियाले । हे भगवान् ! रक्षा गर्नु सबैलाई । कत्तै केही भएको त हैन, नत्र यो भागाभाग किन ? कहीँ कत्तै कुनै अनिष्ट हुँदा मान्छे सर्वप्रथम आफ्नो आफन्तलाई नै सम्झन्छ यो मानवीय प्रवृति र स्वभाव हो । आधी घण्टाअघि मात्र इजोरियासित छुटेका चन्द्रको चिन्ताले उनलाई बग्रेल्ती सताउन थाल्यो । बरु, आज पसल नगए नि हुन्थ्यो ! पसल पुग्यो कि बाटैमा होला ऊ ? कति सम्झाएँ आज पसल नजाऊ भनेर तर लक्का जवान घर बसेर मात्र के गरून् ? सबलाई थाहा थियो आज झडपको सम्भावना छ, अनि किन त्यो ठूलो पार्टीले कार्यक्रम गर्ने हठ गरेको होला ? त्यो पनि हाम्रै गाउँमा !
माय गे माय जुलुम भगेलौ चनरवा नै रहलौ अहि संसारमे । छाती पिट्दै रमधनियाँ काकी आँगन पसिन् । अन्तिम वाक्य पूरा नसुन्दै इजोरियाको आँखा वरिपरि अन्धकार छायो । एक छिनमै गाउँ स्तब्ध भयो । यस्तो डर, त्रास र सन्नाटा कहिले छाएको थिएन त्यो गाउँमा । भोलिपल्टको मन्त्रिपरिषद्को निर्णयले चन्द्रसहित अनाहकमा प्रहरीको गोलीका सिकार भएका निर्दोषहरूको मृत्युको मूल्य दस–दस लाख तोकेको खबर रेडियोले फुक्यो, अखबारका पानाहरूमा छापिए । इजोरिया र उनको परिवारलाई सहानुभूति दिन मानव अधिकारकर्मी, नागिरक समाज सरकारी गैरसरकारी संघसंस्थाका पदाधिकारी, अधिकारकर्मीहरूको ओइरो लाग्न थालेको छ आजभोलि । सबले मोटा–मोटा प्रतिवेदन बनाउनेछन् तर किन ? सबलाई थाहा छ ।
यतिखेर एकअर्कालाई हेर्नै नसक्ने गरी कटाक्ष र तीक्ष्ण व्यंग्य प्रहार गरिरहहेका राजनीतिक दलहरू भोलि सत्ताको अंकगणितीय खेलमा एक ठाउँ आउन बेर छैन, किनकि राजनीतिमा न त कोही कसैको चिरकालीन शत्रु हुन्छ न त मित्र नै । यो राजनीतिको खेल नै यस्तै हो । तर बिचरी इजोरियाको मनभित्र खेलिरहेका हजारौँ भावनाका खेलहरूलाई कसले बुझ्ने होला ? इजोरिया फेरि चम्किन त चन्द्र नै चाहिन्छ । हैन र ?

प्रकाशित : चैत्र १९, २०७३ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?