वाग्मती र फोहोरी राजनेता

रमण घिमिरे

राजनेता फोहोरी भएत्यसैले राजनीति फोहोर भयो

राजनेता फोहोरी भए
त्यसैले राजनीति फोहोर भयो
फोहोर राजनीतिले
सारा देश फोहोर पार्‍यो

यहाँको माटो फोहोर भएको छ
यहाँको बाटो फोहोर भएको छ
देशको स्वाभिमान फोहोर भएको छ
जनताको अभिमान फोहोर भएको छ
कहाँनेर टेकूँ पाउ ?
जताततै फोहोरै फोहोर छ
वस्तुको फोहोरभन्दा
राजनीतिको फोहोर बढी छ

बेथिति र अस्थिरताको पीपले भरिएको नेताको शरीर
डुङडुङी गन्हाइरहेछ
तर नाकमा बाक्लो मास्क अडयाएर भन्छ नेता–
केही गन्हाएको छैन
आज
बस्ती गन्हाइरहेछ
सहर गन्हाइरहेछ
नेताको प्रदूषणका कारण
हिमाल, पहाड, तराई
सारा देशै गन्हाउन थालेको छ

कस्तो उदेकलाग्दो कुरा !
तर, राज्यसत्ताको नाकमा
प्रतिपक्ष मात्र गन्हाउाछ
प्रतिपक्षको नाकमा
राज्यसत्ता मात्र गन्हाउाछ
यहाँ फोहोर राजनीतिका हुलमा ठेक्केदारी हुन्छ
यहाँ फोहोरी राजनीतिको खेलमा
दलालहरूको
दूतमा नियुक्ति हुन्छ
देश
दलले चलाएको छ कि दलालले ?
राज्य
सरकारले चलाएको छ कि चाटुकारले ?
यी भ्रमैभ्रमका बीचमा
भ्रम स्वयं फोहोर भएको छ

हे वाग्मती !
जसरी गधालाई धोएर
गाई बनाउन सकिँदैन
त्यसरी नै
यी राजनीतिज्ञलाई धोएर
मानिस बनाउन असम्भव छ
त्यसैले यतिखेर मलाई
चिन्ता लागिरहेछ–
पानीले पखाल्न नसक्ने
यो फोहोर पखाल्न तिमीसँग
के उपाय होला र !

तिनीहरू धोएर सफा हुन सक्तैनन्
तिनीहरू सफा हुनै नसक्ने गरी
दुर्गन्धित भएका छन् ।
तिनीहरूको मानसिकतालाई सफा गर्दा
पानी आफैँ फोहोर हुन्छ
कुन नदीमा चोबलेर सङ्ल्याऊँ तिनलाई ?
कुन ब्रान्डको साबुनले घोटेर
तिनको विचारलाई स्वच्छ बनाऊँ ?
जताततै फोहोरै फोहोर छ
फोहोरले धोएर, फोहोर सफा भएको छ
कतै दुनियाँमा ?

प्रकाशित : चैत्र १९, २०७३ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्