उदास घर अघिल्तिर

‘सरल गर’ नामको हिसाब त्यो रात मेरा लागि जटिल भएर आयो । उनले दोहोर्‍याई–तेहेर्‍याई मलाई हिसाब गर् भनिरहे । मैले प्रयास गरिरहेँ । उत्तर गलत आइरह्यो ।
अनमोलमणि

ककसैले जोडजोडले झक्झकाएपछि म आँखा मिच्दै उठेँ । बाहिर चुकजस्तो अँध्यारो थियो । कति बज्यो हेर्न घडी थिएन ।

उदास घर अघिल्तिर

अघिल्तिर पिलपिल डिबिया बलिरहेको थियो । डिबियाको उज्यालोमा निद्रा कचपटिएका आँखाले मैले देखेँ, अश्वेश्वर यादव सर हातमा रातो कलम लिएर कपी जाँच्दै थिए । बाहिर मंसिरे चिसो थियो । निद्रा हटिनसकेका मेरा आँखामा सिलिङ, झ्याल र कोठाको कुनामा अँध्याराका किरमिरे रेशाहरू नाचिरहेका थिए ।
सँगै सुतेका सथीहरू कमलध्वज न्यासुर, लोकबहादुर विश्वकर्मा र घनश्याम दर्लामी पहिल्यै उठिसकेका थिए वा मसितै उठेका हुन् भेउ पाइनँ । उनीहरू घोसे मुन्टो लगाएर चुपचाप बसिरहेका थिए ।
मोटो ज्यानका यादव सरको छेउपट्टि गाइनी पहेँलो रंगको बर्को ओढेर सुतिरहेकी थिई ।
हामी पाँचै जना कक्षा ५ का विद्यार्थी थियौँ । तिनताका कक्षा ५ मा जिल्लास्तरीय परीक्षा हुन्थ्यो । एउटा भेगका स्कुलहरूको एउटा सेन्टर तोकिन्थ्यो । परीक्षा कडी कडाउ हुन्थ्यो । हाम्रो सेन्टर बुद्ध मावि हात्तीसुँडे तोकिएको थियो । २०२८ को नयाँ शिक्षाले बसाएको यो थिति कति व्यावहारिक थियो कसैले बहस गरेको थिएन । बस् चलिरहेको थियो ।
परीक्षा सेन्टर हाम्रो स्कुल र घरबाट टाढा भएकाले आउजाउ गर्न असम्भव थियो । मकवानपुरकै सबैभन्दा ठूले गाविस छतिवनको सानो स्कुल कर्मचुली (कर्मप्राप्ति प्रावि) मा ५ कक्षा पढ्ने हामी ५ विद्यार्थी सेन्टर स्कुलमै डेरा लिएर बस्नुपर्ने भयो । हामीलाई लिएर गएका थिए उनै यादव सरले ।
मनमा परीक्षाको भय त थियो र पनि म उत्साही नै थिएँ । भन्थे हात्तीसुँडे अलिक सहरजस्तो हो । ठूलो बाटो छ । साइकल, मोटरसाइकल र कहिलेकाहीँ ट्रयाक्टर पनि देखिन्छ । र, परीक्षा पनि एकदम कडा हुन्छ ।
दुवैतिर खोला थिए । बीचमा बस्ती थियो । खेतनेर पुलिसचौकी थियो । पुलिसचौकी नजिकै ठूलो चौर थियो र त्यही चौरको छोउमा टिनको छानो र माटो गारोले बनेको स्कुल थियो । भेगकै सबैभन्दा ठूलो र चल्तीको स्कुल ।
झन्डै ६ घण्टाको लगातार हिँडाइपछि हामी हात्तीसुँडे पुगेका थियौँ । र, यादव सरले त्यही स्कुलको एउटा कोठालाई हाम्रो संयुक्त डेरा बनाइदिएका थिए । खेतमा गएर परालका मुठा ल्याएर हामीले ओछ्यान बनाएका थियौँ । र लगेको तन्ना त्यसमाथि ओछ्याएर परालकै मुठो सिरान बनायौँ ।
हामी चारमध्ये लोकबहादुर विश्वकर्माले ३ कक्षा पढ्दै बिहे गरिसकेको थियो । उमेरमा पनि किशोर भइसकेको । जुँगाका रेखी बसिसकेका थिए । कमलध्वजको पनि जुंगाको रेखी बसिसकेको थियो । यी दुवै बेलाबेला वयस्क उमेरजन्य क्रियाकलापबारे छिल्लिन्थे । मेरै उमेरको भए पनि घनश्यामको ज्यान मोटोघाटो थियो । गाइनीको उमेर १४, १५ को थियो । उसको शारीरिक विकासचाहिँ उमेर पुगेकी केटीको जस्तो भइसकेको थियो ।
यादव सरले आफूलाई कतैबाट गुन्द्री खोजेका थिए । यादव सर र गाइनी त्यही गुन्द्रीमा सँगै सुत्थे ।
लोकबहादुर र कमलध्वज भन्थे, गाइनी राति–राति रोएजस्तो गर्छे । कहिलेकाहीँ मसिनो स्वरमा चिच्याउँछे । नबुझिने लवजको आवाज निकाल्छे । त्यति बेला यादव सर पनि मसिनो स्वरमा बोलेको सुनिन्छ । तर के भनेको बुझिन्न । बिहान उठ्दा गाइनीका आँखा अनिद्रा र थाकेकाजस्ता देखिन्थे । अप्ठेरोसित हिंड्थी । यस्तो देखपछि कमलध्वज र लोकबहादुर गाइनीका विषयमा के–के भन्थे, म ती कुरा बुझ्दैनथेँ ।
डेरामा गाइनीले क्यै गर्नु पर्दैनथ्यो, दाउरा खोज्ने, पानी ल्याउने, पकाउने, भाँडा माझ्ने सबै काम हामी केटाहरूकै थियो ।
गणितको परीक्षा सकिएको त्यो दिन पनि पकाउने, खाने काम सकेर हामी केटाहरू सुतिसकेका थियौँ ।
हो त्यसपछि हो, कसैले जोडजोडले झक्झकाएपछि म बिउँझिएको ।

आँखामा निद्रा बाँकी नै थियो । यादव सरले हातको कपी मतिर हुर्‍याए । पहिले लरबरिएको स्वरमा मुखमा आएजति आमाचकारी गाली गरे । र, भने, ‘साले बेउदा फ्वाँ–फ्वाँ सुत्छस्, यो हिसाब गर् ।’
मैले देखेँ यादव सरको आँखा राता थिए । र, बोली पनि अरू बेलाजस्तो थिएन ।
यादव सरले मतिर हुर्‍याएको कपि उठाएँ । त्यो मैले दिउँसो परीक्षा दिएको गणितको उत्तरकपी थियो । ती किरमिरे अक्षर मैले नै लेखेका थिए । फरक त्यसमा रातो क्रस लागेको थियो ।
म के गर्ने दोधारमै थिएँ । यादव सर कुनै प्रहरी हाकिमले जवानलाई हकारेजस्तो कड्किए, ‘त्यो हिसाब गर् भनेको सुनिनस्, साला ।’
‘सरल गर’ नामको हिसाब त्यो रात मेरा लागि जटिल भएर आयो । उनले दोहोर्‍याई तेहेर्‍याई मलाई हिसाब गर् भनिरहे । मैले प्रयास गरिरहेँ । उत्तर गलत आइरह्यो ।
म अहिले पनि सम्झिन्छु त्यसमा सानो कोष्ठ, मध्यकोष्ठ, ठूलो कोष्ठ हुन्थ्यो । सन्दर्भअनुसार जोड, घटाउ, गुणन, भागसहित सूत्र प्रयोग गरेर अन्तमा उत्तर आउँथ्यो । मैले उत्तर निकाल्न सकिनँ । मेर लागि त्यो महाभारत भयो । अहिले पनि म बुझ्दिनँ त्यो हिसाब मेरो जीवनमा कहाँ प्रयोग भयो ? ती कोष्ठहरूले मेरो जीवनको कुन समस्यालाई कहाँ छेके ? जीवनमा त्यसको प्रयोगबारे न मलाई यादव सरले बताए, न अरू कसैले बुझायो । सरल गर भन्ने हिसाब मैले कहिल्यै सरलसित गर्न जानिनँ । कहिल्यै कसैले त्यो सरलसित गर्न सिकाएन ।
पटक–पटक उत्तर नमिलेपछि यादव सरले छेउमा बोलाए । म गुन्द्री नजिक नपुग्दै गालमा यसरी थप्पड लगाए कि म भुइँमा थचक्कै बसेँ । मैले बलिरहेको डिबिया तीन चारवटा भएर यताउता सलबलाइरहको देखेँ । डिबियाको उज्यालो पनि एक्कासि तिरिमिरी भयो । चट्याङ मैमाथि परेजस्तो लाग्यो ।
‘गधा तँ फेल भइस्, तँ गइस् अब बकैया खोलै खोला,’ यति शब्द कानमा ठोकिनु पहिल्यै यादव सरको चड्कन अर्को गालामा पनि बर्सियो । त्यति त छँदै थियो, त्यसपछि उनले निकै बेरसम्म मेरो कान निमोठे । कन्सिरीको रौँ ताने । भुत्ल्याए । डटपेन मेरा औंलाका कापमा चेपेर घुमाए । त्यसको झस्काले मुटु चुँडिएलाजस्तो भयो । मैले आफूलाई थाम्न सकिनँ, छुलुक्क मुतेँ ।
कक्षा ३ पढ्दै मेरो देब्रो हातको चोरी औँला छिनेको थियो । घरेलु उपचारले जोडिएर बल्ल घाउ पुरिएको थियो । तर अम्ला भने बांगो भएको थियो । त्यै चोरी र माझी औँलाबीचमा डटपेन हालेर निमोठेपछि त्यो एकाएक सुन्निएर आयो । यादव सरले देखेनन् । म हुरुक्क हुँदै छुलछुल भएँ । रुन नसक्ने गरी घाँटी सुक्यो । म भुइँमा नछटपटाउन्जेल यादव सरको कुटाइ थामिएन ।
त्यो रात मलाई पढ्नुभन्दा नपढ्नु कैयौँ गुणा बुद्धिमानी हो भन्ने लाग्यो । तुरुन्तै डेरा छाडेर भाग्न मन लाग्यो । एकोहोरो कराएका स्याल र त्यसको जुहारीमा कराएका गाउँका कुकुरले मनमा डर पैदा नगरेको भए त्यो अँध्यारोमा सायद म कतै अलप हुन्थेँ । त्यस्तो भएन । पछि थाहा पाएँ लोकबहादुर, कमलध्वज र घनश्यामले अघि नै त्यो सजाएँ पाइसकेका रहेछन् ।
गाइनी पढ्न जान्ने थिइनँ, तर ऊ त्यस्ता सजायबाट जोगिएकी थिई ।
अंग्रेजी र गणितमा फेल भए पनि हामी पाँचै जना ५ कक्षा पास भयौँ । र, ६ कक्षा पढ्न साढे २ घण्टा हिँडेर जानुपर्ने नयाँ स्कुल भर्ना भयौँ । १ कक्षादेखि सँगै पढेका गाइनीले ६ कक्षामै स्कुल छाडी । कमलध्वज, लोकबहादुर र घनश्यामले ८ कक्षा पुगेर छाडे । कक्षा दस पुग्ने म एक्लो रहेँ ।

सँगै नपढे पनि ५ कक्षा पुगुन्जेलसम्म मेरो मिल्ने साथी थियो अञ्चल माझी । उसले कक्षा ३ मै स्कुल छाडेको थियो । बाढीको डरले वर्षायाममा म उनीहरूकै घर बसेर स्कुल जाने आउने गर्थे । उसैले मलाई पौडिन सिकाएको थियो । उसकी आमाले बनाएको घुँगीको स्वाद अहिले पनि मेरो जिब्रोमा छ । भन्थ्यो, ‘पौडी खेल्न जानिनस् भने तँ कसरी पौडेल हुन्छस् ?’
पढ्न छाडेपछि उसको दैनिकी घुँगी टिप्ने, फट्के थाप्ने, माछा मार्ने, साँझ बाँस झ्याङमा ढुकेर सिकार गर्ने गरेर बितिरहेको थियो । भन्थ्यो, ‘म अब पढ्दिनँ, म फुटबल खेल्छु । माछा मार्छु । खेती गर्छु । पछि काठमाडौं जान्छु ।’ उसलाई कसैले पढ् भनेर कर गरेन । ऊ त्यसै बरालियो ।
यसबाहेक उसको अर्को इच्छा थियो, गाइनीसित बिहे गर्ने । ऊ गाइनीलाई औधि मन पराउँथ्यो । थाहा छैन गाइनीले उसलाई मन पराएकी थिई कि थिइनँ, मैले देख्दा उनीहरू तँ–तँ म–म गरेरै कुरा गर्थे । सँगै पौडी खेल्थे । हाँस्थे रमाउँथे ।
त्यतिखेर म सात कक्षा पुगेको थिएँ । अञ्चल, गाइनी, यादव सरसितको भेट बिस्तारै पातलिँदै गएके थियो । एकाएक गाउँमा हल्ला चल्यो, गाइनीले पेट बोकी । उसले परिवार र पञ्च भलाद्मीलाई भनी, ‘यो भ्रूण यादव सरको नासो हो ।’
त्यो हल्ला सुनेको दिन म अञ्चललाई भेट्न गएको थिएँ । निराश भएर उसले भनेको थियो, ‘अब मेरो गाइनीसित बिहे नहुने भयो ।’
यादव सर रातारात गाउँ छाडेर भागिसकेका थिए । उनी फेरि फर्केर त्यो गाउँ आएनन्, तर उनले पठाएको दस हजार रुपैयाँ क्षतिपूर्तिचाहिँ गाउँ आइपुगेको थियो । यौटी कुमारी केटी गर्भवती भएको कुरा टोलछिमेकमा चर्चाको विषय थियो । केही दिनपछि मैले सुनेँ, अञ्चल गाइनीसित बिहे गर्न राजी भयो । र पाँच महिनाकी गर्भवती गाइनीलाई बेहुली भित्र्याएको भोलिपल्ट भेट्न जाँदा उसले मलाई भनेको थियो, ‘हेर् पौडेल बच्चा जसको होस् अब म पाल्छु । तँलाई थाहा छ, गाइनीलाई म पहिलेदेखि नै मन पराउँछु । गाइनीले पनि यादव सरले जबरजस्ती गरेको भनी । हिजोको कुरा बिर्सिने हो । अब नयाँ जिन्दगी सुरु गर्ने हो । गाइनी अब मेरी हो ।’
मैले एसएलसी दिएँ । गाउँ छाडेर म काठमाडौं आएँ । मेरो छुट्टै संघर्ष सुरु भयो । त्यसपछि अञ्चल र गाइनीसित मेरो भेट झन्डै भएन नै । निकै पछि सुनेँ, उसले औधि प्रेम गरेकी गाइनी जीवनभर उसकी हुन सकिन । पहिलोपल्ट छोरी जन्माई । त्यसपछि फेरि अर्को छोरी पाई । अञ्चललाई दुई छोरी जिम्मा लाएर ऊ सधैँलाई संसारबाट बिदा भई, टीबी लागेर । त्यति बेला पनि मेरो अञ्चलसित भेट भएन ।
दुई महिनाअघि गाउँ पुग्दा म अञ्चल माझीलाई भेट्न गएको थिएँ । बकैया र सुकौरा खोलाबीचको सानो फाँटको माझी गाउँको स्वरूप फेरिएको थियो । रातो र कमेरो माटोले पोतिएको, खरले छाएको, केटाकेटी कुदिरहने, सुँगुर कराइरहने त्यो गाउँ मैले घुँगी खाएको माझी गाउँजस्तो थिएन । टोल बिस्तारै पक्की घरले भरिँदै थियो । तिनै पुराना घरबीच मूलबाटोपट्टि ढोका फर्किएको बेस्याहार एउटा घर थियो । एकापट्टि कब्जा खुस्किएको ढोका ढप्किएको थियो । फल्याक उप्किएका थिए । पिँढी भत्किएको थियो । झ्यालका खापा पनि उप्किएका थिए । झ्याल, ढोका, भित्ताको काप र छानामुनि माकुराको जालो, भँगेरा, परेवा र कम्मलकोटीको गुँड लागेको थियो । घर पोतिएको थिएन । त्यो उदास–उदास घरदेख्दा यस्तो लाग्थ्यो, वर्षौँदेखि त्यहाँ कोही पसेको छैन ।
अञ्चलबारे सोधेपछि कसैले मलाई सुनायो, अञ्चलको घर यही हो । सोचेँ, साथी काठमाडौं गएछ । झन्डै अढाई दशकपछि बाल्यकालको साथी भेट्ने उत्सुकताका साथ मैले सोधेँ, ‘अञ्चलचैँ कहाँ छ ?’ ‘साँच्चै थाहा छैन’, भीडमा कसैले एकदम सामान्य लवजमा सुनायो, ‘अञ्चल त मर्‍यो नि, काठ चिर्न जँदा आफैं बसेको काठले चेपिएर । चार वर्ष भइसक्यो ।’
छाती एक्कासि चिसो भयो । सयौँ कमिलाले एकैचोटि टोकेजस्तो जीउ झनन्न भयो । कानका जरा ताता भए । त्यो उदास घरलाई मैले एक टकले हेरेँ । मलाई त्यो घर हल्लिरहेजस्तो लाग्यो ।
त्यसपछि म केही बोल्न सकिनँ ।

प्रकाशित : वैशाख २, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?