कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सपना र विपनाको माखेसाङ्लो

नेपालको कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३० प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको तथ्यांक राष्ट्र बैंकसँग छ । यही रेमिट्यान्ससँग जोडिएको वैदेशिक रोजगार र आप्रवासनले नेपाली समाजमा झट्ट हेर्दा धेरै ‘सकारात्मक’ नतिजा मात्रै दिएको हो कि झैं देखिन्छ । तर यथार्थ यत्तिमा सीमित छैन । नेपाली समाज, घर–परिवार र सामाजिक मनोदशाका बारेमा माइग्रेसन विषयमा जोडिएर लेखिएका दुई उपन्यास ‘रेमिटल्यान्ड’ र ‘मुदिर’ ले दिन चाहेको सन्देश :
देवेन्द्र भट्टराई

झापाली पवित्र नदीहरू माई अथवा रतुवाको आसपासमा बस्ने गाउँलेजनले एउटा थेगो बनाएका छन्— बाँचुन्जेल पुलमाथि, मरेसि पुलमुनि ।

सपना र विपनाको माखेसाङ्लो

भाङबारीकी रुक्मिणी रिमाल

देवेन्द्र भट्टराई


माईखोलाको आडैमा हरेक वर्ष माईमेला लाग्छ । रतुवाको आडैमा टीकाबजार उत्सव बनेर आउँछ । विदेशबाट अझ भनौं, खाडी–मलेसिया पुगेर छोटो छुट्टीमा घर फिरेका युवायुवतीको चमक ती मेलाहरूमा खुबै देखिन्छ । माई अथवा रतुवा खोलाको पुलमाथि हुँदै अघि बढिरहेको दोहोरीलत्तामा परैबाट छुट्टिन सक्छ— रेमिटल्यान्डमा भर्खरै फिरेका पाइलाहरू ।
यो सदृश्य नजिकैबाट नियालेर बसिरहेका विकासकर्मी श्याम सिंघकले दमक, पशुहाट छेवैमा सुकुम्बासी बस्तीका रुद्रमान मगरको ‘शवको बाकस’ खाडी मुलुकबाट फर्किएको पनि देखे । गाउँबस्ती खाली हुने गरी परदेशी बनिरहेका युवायुवतीमध्ये कतिले घरको छानो फेरेका छन् अथवा कतिले जग्गा–मोटरसाइकल खरिदेका छन् ? कति ऋणबाट मुक्त भएका छन् अथवा को–कति थप ऋणी बनेका छन् भन्ने हिसाबकिताबको त्यति गणना नहुँदो रहेछ । बरु हिजोसम्म रतुवा र माइको पुलमाथि जीवन–जगत्का कुरा किच्दै हिँडिरहेको एउटा पात्र यही रेमिट–तिर्सनाका कारण अनाहकमा पुलमुनि (चिता) मा पुगेको यथार्थले भने सामाजिक शृंखलालाई थप ‘विशृंखल’ बनाउने रहेछ । समाजले खिलसरी सम्झिराख्ने ठूलो चोट पनि यही हुने रहेछ । यही सारभूत अर्थमा कथिएको रहेछ— बाँचुन्जेल पुलमाथि, मरेसि पुलमुनि ।
लेखक श्याम सिंघक यही अर्थमा बढी भुक्तभोगी बनेका छन्— रेमिटल्यान्डमा । खाडी मुलुकमा वर्षौंवर्ष श्रम–पसिना बहाएर घर फिर्दा घरकी जहानले ढोकैमा ‘अलबिदा’ लेख्दै अर्कैतिर गैसकेको दृश्यहरू साझा र सनातनी भैसकेका छन् । यही पृष्ठभूमिमा अलिक पर्तिर केर्खा र झिलझिलेतिर, हसनदह र ढुकुरपानीका भित्री गाउँबस्तीमा सिंघकले वैदेशिक रोजगारीले ल्याएको अनौठो सामाजिक विचलनहरू देखे । स्थानीय भेगमा विकासकर्मी भएर कुदिरहेका बेला ‘रेमिट’ का कारण समाजमा नैतिक र अनैतिक अर्थ–परिभाषाहरू क्रमश: खुम्चिँदै गएको सिंघकले भेटे ।
झापाली कर्मभूमिमा संघर्षरत लेखक श्याम सिंघक कहिल्यै विदेश गएनन् । अझ विदेशमा पनि खाडी मुलुक र श्रम–पसिनाले भरिएको जगत्मा उनी कहिल्यै पुगेनन् । यो अवस्थाको लेखाइमा कल्पनाशील र उडन्ते बन्ने सम्भावना लेखक सिंघकसँग प्रशस्तै थियो । तर, साउदीको ग्यास कम्पनीको वृत्तान्त होस् अथवा खाडीको एक भिल्लाअगाडि एउटा रुप्पी (चरो) देखिएको दिनमा पलाएको खुसीको संकेत होस्— उनले हुबहु उतारेका छन् । यतिसम्म कि रेगिस्तानमा फैलिएका खजुरका रूख हेरेर गाउँले केराघारी कल्पेको भावना–संवेदनाको यथार्थ त्यो बेहोर्ने (भोग्ने) लाई मात्रै थाहा हुन्छ । मानौं— सिंघक पनि खाडी गएर खजुरको बोटमुनि बसेका छन्जस्तो दृश्य पुस्तकमा छ ।
झन्डै ‘घरघरकी कहानी’ जस्तो भैसकेको रेमिट–गाथामा एउटै व्यक्ति र पात्रमा अध्याय–अध्याय प्रेमलीला (अथवा कहिलेकाहीं त्योभन्दा माथि) को वृत्तान्त लुकेको हुन्छ । यो ओपन–सेक्रेट सामाजिक विम्ब हो, रुक्मिणी अथवा मुक्साम र फुङ्सा यी नाम अस्तित्वको संघर्ष (स्ट्रगल फर एक्जिटेन्स) का प्रतिनिधि नाम हुन् जो अहिले सिंघकको ‘रेमिटल्यान्ड’ भरि छाएका छन् । तर, यी पात्रहरू नेपाली समाजमा यत्रतत्र सर्वत्र छन् । नारायण, नयराजजस्ता ‘उतप्रेरक’ पात्रहरू नेपाली समाजमा जहींतहीं छन्, हुन सक्छन् । यथार्थमा भन्ने हो भने नेपाली समाज, राजनीति र अर्थनीतिको केन्द्रमा रहेको ‘रेमिट्यान्स’ ले धेरै घरका टिनका छाना फेरिएका छन्, गाउँघरमा बाहिरबाट हेर्दाको रामरमाइलो थपिएको छ । तर समाज र घरपरिवारभित्रको चित्र–चरित्र, मानवीय संवेदना र अपनत्व भने पूरै खजमजिएको छ । यही कारण आपसी सम्बन्ध र साइनो सक्दो सन्देहको घेरामा पर्न थालेको छ । तैपनि समाज र घरपरिवार भने कुनै मनी–ट्रान्सफरको ढोकामा उभिएर रेमिटको मीठो गफ गर्न र सुन्नमै अभ्यस्त भैसकेको छ— अम्मलझैं ।
वैदेशिक रोजगारीमा खाडीभूमि (साउदी) पुगेर ९ वर्ष बिताएको त्यो सपनामुखी पात्र बुटवलको यमनाथ चापागाई पनि हुन सक्छ । अथवा, इलामको दावा शेर्पा । दमक, भाङबारीकी रुक्मिणी रिमाल नेपाली समाजको मनोवृत्ति र आम मनोविज्ञानमा जोडिएकी यस्ती पात्र हो जो यसरी सहजै घटनामा बुन्नलाई र कथामा कथ्नलाई सजिलो छ । तर, यथार्थ भने यत्ति मात्रै छैन, हुँदैन । ‘रेमिटल्यान्ड’ मा रुक्मिणीको कथा किन सजिलो लाग्यो भने हरेक घटनाक्रममा महिलालाई देखाउन, चित्रित गर्न र महिलामाथि मनोविनोद कथ्न धेरै सजिलो छ— कम्तीमा नेपाली परिप्रेक्ष्यमा । सपनामा मलजल गर्न खाडी मुलुक पुगेको एउटा पुरुष (श्रीमान्) र सपना साकार भएको कल्पेर यता घरमै बसिरहेकी महिला (श्रीमती) दुवैको मनोदशा उही–उस्तै छ— ‘तावाबाट भुङ्ग्रो’ मनोदशा । को तावा, को भुङ्ग्रो— खुट्याउन मुस्किल छ ।
यो मनोदशाले सामाजिक, आर्थिक मात्रै होइन, यौन मनोविज्ञानसम्मका घटनाक्रमलाई स्वभावत: निम्त्याउँछ नै । उपन्यासकार श्याम सिंघकले ‘रेमिटल्यान्ड’ मा रुक्मिणी पात्र–संयोजनलाई अलिक बढी फिल्मी बनाएका हुन् कि झैं लाग्छ । जंगलमा गएर फोटो सेसन गर्ने, हिले माछा पक्रने, सिंगो बगैंचा बनाउने (ताजमहल शैलीमा) अथवा भमरा–फूल–परागशेचनको (शिरीषको फूल) समानअर्थी संवादलाई दोहोर्‍याउँदा लेखक सिंघकले यति मौलिक विषयमा कथन–कथ्यको मिसावट खोजेको झल्को मिल्छ । तर, ‘स्लो पोइजन’ बन्दै गएको रेमिट्यान्सको सिंगो पद्धति–प्रक्रियामा जहाँ जे भन्नुपर्ने हो, त्यो भने सिंघकले भनेका छन्— ठाडो शैली भए पनि । साउदीको दमाममा रहेको ग्यास प्लान्टको छेवैमा बसेर परदेसिएको पात्रले सुनाएको मनोवादको अंशजस्तै— ‘अचम्म लाग्छ, हाम्रा देशका विद्वान्हरू ‘विदेश नजाऊ’ को नारा घन्काइरहन्छन् । भन्छन्— पाखुरी बजारे यहाँ सुन फलाउन सकिन्छ अरे ! फलाउँदैनन् सुन उनीहरू । बरु डीभी र पीआर लिएर बसाइँ हिंड्छन् राष्ट्रियता नै त्यागेर । बरु हामी फर्केर आउँछौं, त्याग्दैनौं राष्ट्रियता ।’
समाजमा जोडिएको कथा बुनिरहेका बेला आ–आफ्ना आग्रह/पूर्वाग्रह स्वभावत: हुन्छन् नै । कतिपय पात्रको आसक्ति वा विरक्तिमा पनि यस्तो संकेत देखिन सक्छ । खाडीमा ९ वर्ष रोजगारी गरेर श्रम–पसिनाको विपनामा पौडिँदै घर फिरेको एउटा पात्र (मुक्साम) घर फिर्दा जहान (फुङ्सा) अरूतिरै गैसकेको विरक्तिमा कथिएको ‘लिंक’ कतिपय अर्थमा आग्रहयुक्त देखिन सक्छ । ‘फुङ्साले छाडेपछि मैले नयाँ गरी जिउने विचार गरें । बिलकुल नयाँ । नयाँ काम, नयाँ जीवनशैली । नयाँ धार्मिक आस्था । मैले दमकको पवित्र मण्डलीमा सदस्यता लिएँ’ भन्दै मरुभूमिको बीच विन्दुमा हराइरहेको एउटा पात्रले एकाएक दर्गादिशा लेखिएको होर्डिङबोर्ड भेटेजस्तो चित्रण उपन्यासमा जसरी गरिएको छ, यसले गम्भीर विषयवस्तुलाई एकाएक सतही बनाएको छ । लेखक सिंघक स्वयम्को आस्थाले एउटा गम्भीर विषय र जिम्मेवार पात्रलाई यो ‘आग्रह’ मा बाँधेको हुन सक्छ ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३० प्रतिशत अंश रेमिट्यान्सले बेहोरेको र योभन्दा बढी सामाजिक सतहमा ‘देखासिकी’ को उपाय बनेको वैदेशिक रोजगारीसँग गाँसिएका कथा–उपकथाहरू एक होइन, अनेक छन् । एक महिनाअघि मात्रै, पूर्वी पहाडी जिल्लाको एउटा गाउँमा आफ्नो श्रीमान् वैदेशिक रोजगारीमा गएको वर्षौ भैसके पनि श्रीमती दुई जीउकी बनेपछि गाउँमा छाएको तरंगको समाचार उस्तै अनौठो थियो । पछि गरिएको अनुसन्धानमा ती महिलाले एकैचोटि घरगाउँका ५ जना युवालाई आफ्ना सहयात्रुका रूपमा (सामूहिक होइन) ‘किटानी जाहेरी’ मा नाम दिएपछि रेमिट्यान्स–रेमिटल्यान्डको अर्को विशादपूर्ण स्थिति उब्जिएको थियो । यो नैतिक–अनैतिक पराकाष्ठाको चित्रलाई सिंघकले उपन्यास ‘रेमिटल्यान्ड’ मा हुबहु उतारेका छन् ।
श्यामले नेपाली आख्यान लेखनको सन्दर्भमा (सायदै पहिलोपटक) हुबहु प्लट–पृष्ठभूमिलाई सजीव व्याख्यानमा उतारेका छन् । जस्तो रुक्मिणी रिमालको थातथलोको बारेमा उनले भनेका छन्, हुबहु दमक नगरको नक्सामा जस्तै— ‘ढुकुरपानीको तल्लो छेउमा म उभिएको छु । यसभन्दा तल दमक बजार सुरु भएर पूर्व र दक्षिणतिर फैलिएको छ । पश्चिममा भने बजारको समानान्तर रहँदै चियाबगान लम्केको छ । बजार र चियाबगानको मध्यबाट राजमार्ग छिरेको छ । झापा जिल्लाको उत्तरपूर्वमा रहेको यही भूगोललाई अहिले दमक भनिन्छ ।’

प्रकाशित : वैशाख २, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?