औसतमै बित्यो वर्ष

राजु घिसिङ

स्विमर गौरिका सिंह र अल्ट्रा धाविका मीरा राई २०७३ सालमा विश्वमै चर्चित भए । गौरिका रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दा १३ वर्ष २ सय ५५ दिनकी थिइन्, जुन ३१ औं गृष्मकालीन ओलम्पिकमा सहभागी ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेर हो । त्यसैले उनी बीबीसी, सीएनएनलगायत चर्चित मिडियाका छाएकी थिइन् । यो स्तरको चर्चा यसअघि नेपाली खेलाडीले पाएका थिएनन् ।

माओवादीकी पूर्वछापामार मीराले घुँडाको शल्यक्रियापछि उपचारमै धेरै समय बिताइन् । तर उनी नेसनल जियोग्राफीको एड्भेन्चर अफ दि इयर (सन् २०१७) घोषित् भइन् । यसले उनको चर्चा अझै चुल्याइदियो । साहसिक दौडमा नेपालको कीर्ति फैलाउने काम भने भीम गुरुङले गरे । उनी स्काइरनर वल्र्ड सिरिजअन्तर्गत चीनमा भएको येदिङ स्काइरनमा पहिलो भएका थिए । यो स्तरमा यसअघि नेपालका मीराले मात्र उपाधि जितेकी थिइन् । भीम विश्वको सबभन्दा चिसो स्थानमा हुने नर्थपोल म्याराथनमा दोस्रो पनि भए ।
बडीबिल्डिङ र भलिबलका लागि २०७३ साल ऐतिहासिक रह्यो । ननिता महर्जन अन्तर्राष्ट्रिय बडीबिल्डिङमा पदक हात पार्ने पहिलो नेपाली भइन् । उनले थाइल्यान्डमा भएको डब्लूबीपीएफ वल्र्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोटर््स च्याम्पियनसिपमा कांस्य जितेकी थिइन् । पुरुष भलिबल टिमले ४१ वर्षयताको अन्तर्राष्ट्रिय यात्रामा पहिलो पदकको रूपमा माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कांस्य भित्र्यायो ।
विश्व खेलकुदको महाकुम्भ मानिएको ओलम्पिकमा १३ औंपल्ट सहभागी हुँदा पनि नेपाली खेलाडीबाट पदकको आस गरिएको थिएन । लन्डनमा हुर्किरहेकी गौरिकाको प्रदर्शन गतिलो भएन । १ सय मिटर ब्याकस्ट्रोकमा उनी राष्ट्रिय कीर्तिमान राख्ने लक्ष्य पूरा गर्न सकिनन् । रियोमा नेपाली झन्डा बोकेकी फुपू ल्हामु खत्री पहिलो चरणमै पराजित भइन् । उनी पूरा समय भने टिकेकी थिइन् । स्विमर शिरीष गुरुङ र धाविका सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान बनाए । जितबहादुर मोक्तान ओलम्पिकमा सहभागी हुने पहिलो नेपालका पहिलो आर्चरी खेलाडी बने । धावक हरिकुमार रिमाल र तेक्वन्दोमा निशा रावलको यात्रा पनि अनुभव बटुल्दै सकियो । ब्याडमिन्टनका दीपक थापा ओलम्पिकमा निर्णायक बन्ने पहिलो नेपाली यसैपालि भए ।

क्रिकेट : मैदानबाहिर–भित्र
वैशाख, २०७३ को पहिलो साता नेपाली राष्ट्रिय टिमले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियासँग दुई खेल खेलेको थियो । नेपालले घरेलु मैदान कीर्तिपुरमा दुवै खेल जितेर वर्षको सुरुआत राम्रो बनाएको थियो । वर्षको अन्त्यमा सुदूरपश्चिममा धनगढी प्रिमियर लिग (डीपीएल) सुरु भयो । घरेलु क्रिकेटमा अहिलेसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रूपमा आयोजित डीपीएलमा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धारत छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आठ देश सहभागी छन् । यसमा एक–अर्कासँग ५० ओभरको दुई–दुई खेल खेल्नुपर्छ । शीर्ष चारमा रहने टिम सन् २०१९ मा हुने विश्वकपको छनोटमा प्रवेश गर्नेछन् भने पुछारका चार टिमले डिभिजन २ खेल्नुपर्नेछ । नेदरल्यान्ड्स भ्रमणमा नेपालले एक जित र एक हारको नतिजा निकाल्यो । च्याम्पियनसिपको शीर्षस्थानमा रहेको डच टिमलाई पाँचौं चरणसम्मको प्रतिस्पर्धामा हराउने नेपाल मात्र हो । तर कीर्तिपुरमा केन्यासँग दुवै खेल जित्न नसकेपछि नेपालको च्याम्पियनसिपबाटै विश्वकप छनोटमा पुग्ने सम्भावना अरूकै हातमा गएको छ । नेपालले अब हङकङ र यूएईसँग खेल्नेछ ।
नेपाली टिमले एसीसी इमर्जिङ टिम्स कप र यू–१९ एसिया कप पनि खेल्यो । दुवै प्रतियोगितामा उल्लेखनीय उपलब्धि हात लागेन तर प्रदर्शन नीरस पनि थिएन । हङकङमा भएको वुमेन्स वल्र्डकपको एसियाली छनोटमा नेपाल दोस्रो भयो र त्यसैको आधारमा एसिया कप खेल्ने अवसर पायो । तर, बैंककमा भएको एसिया कपको सबै खेलमा नेपाली टिम निरीह रह्यो ।
विश्व च्याम्पियनसिपमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शरद भेषावकरको प्रदर्शन राम्रो रह्यो । लेग स्पिनर सन्दीप लामिछानेले हङकङ ट्वान्टी–ट्वान्टी ब्लिजमा अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँगै खेल्ने अवसर पाए । त्यसमा प्रभावित क्लार्कले सन्दीपलाई अस्ट्रेलिया नै बोलाए । उनले क्लार्कको टिम वेस्टर्न सबब्र्सबाट प्रतियोगिता नै खेले र त्यहाँ पनि उनले प्रभाव देखाए । १७ वर्षीय उनी नेपाली क्रिकेटमा नयाँ स्टारका रूपमा आएका छन् ।
यी त भए मैदानी चर्चा । २०७३ सालमा मैदानबाहिर पनि नेपाली क्रिकेटको ठूलै चर्चा रह्यो । तर त्यो चर्चा सुनिरहन मन लाग्दैन । नेपाली क्रिकेट एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति र जुँगाको लडाइँको भुमरीमा फस्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को समर्थन भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनलाई अस्वीकार गर्दै तदर्थ समिति बनाएका थिए । त्यसले क्रिकेटको विवादलाई छोप्न सकेन, अझ सतहमै पोखाइदियो । आईसीसीले क्यानलाई सदस्यबाटै निलम्बन गर्‍यो ।
तदर्थ र निर्वाचित दुवै समितिले विवादित बन्दै गइरहेको अवस्थामा क्रिकेट विकासमा सिन्को पनि भाँचेका छैनन्, ठूला हौं भन्ने दाबी मात्रै गरिरहेका छन् । निर्वाचित क्यान अदालतको शरणमा पुगेको छ भने सदस्ययसचिव विष्टका विवाद मिलाउने दाबीहरू चरणबद्ध रूपमा हावादारी बोली सावित भइरहेका छन् । आईसीसीले पनि सल्लाहकार समिति बनाइदिएको छ तर बलियो देखिएको एसोसिएटलाई अघि बढाउनका लागि कडा रूपमा मार्गनिर्देश गरेको छैन ।
भाषणमा मात्रै ठूला कुरा भएका छन् । नेपाली क्रिकेटको विवाद सुल्झाउन कुनै पनि पक्षले गतिलो कदम (हट्ने वा बढ्ने) चालेका छैनन् । आईसीसीले तोकेको व्यवस्थापनमै भए पनि नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा चन्द्र–सूर्यअंकित झन्डालाई निरन्तर फहराउन पाएका छन् । 

फुटबलमा फड्को
राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप र यू–२३ ले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा च्याम्पियन हुँदै नेपाली फुटबलले उज्यालो छर्दै २०७२ सालको अन्त्य गरेको थियो । २०७३ सालमा उचाइ अझ थपियो सोलिडारिटी कपको उपाधिको जितेर ।
एसियाली फुटबल महासंघ (एएफसी) ले प्रायोजकलाई रिझाउन न भूत न भविष्य भएको प्रतियोगिता सोलिडारिटी कप आयोजना गर्‍यो । विश्वकप २०१८/एसियन कप २०१९ छनोटबाट बाहिरिएका टिमका लागि मात्र मलेसियाको कुचिङमा यो प्रतियोगिता सञ्चालन गरिएको थियो । सुजल श्रेष्ठको गोलसँगै फाइनलमा मकाउलाई १–० ले हराएर नेपाल च्याम्पियन बन्यो । यो नै महादेशीय प्रतियोगितामा नेपालको पहिलो उपाधि हो ।
सोलिडारिटी कपको सफलतासँगै नेपालले अनपेक्षित रूपमा एसियन कप २०१९ छनोट खेल्ने अवसर पायो । वास्तविक छनोटको ढाँचामा नेपाल प्ले–अफबाटै बाहिरिएको थियो । तर, ग्वामको अनुपस्थिति र कुबेतमाथि कारबाही भएपछि नेपाल र मकाउलाई एएफसीले फेरि छनोटमा दिएको हो । यसले नेपाललाई माथिल्लो स्तरका फिलिपिन्स, यमन र ताजिकिस्तानसँग एक वर्ष खेल्ने अवसर जुराइदियो । पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले हार्‍यो र त्यसले नेपालको अपराजित यात्रालाई आठ खेलमा टुंग्याइदियो । तर ठूला टिमसँगको प्रतिस्पर्धा कमजोरका लागि बलियो बन्ने खुट्किलो मान्नुपर्छ ।
करिअरकै उच्च लयमा रहेका गोलकिपर किरण चेम्जोङ एक वर्षका लागि माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्समा अनुबन्धित भए । पुनरागमनमा राम्रो लयमा फर्किएका रोहित चन्दलाई फेरि इन्डोनेसियाको पर्सिजा जकार्ताले एक सिजनको लागि आवद्ध गर्‍यो । युवा खेलाडीहरू विमल घर्तीमगर, अञ्जन विष्ट र अनन्त तामाङको युरोप यात्रा भने प्रशिक्षणमै सीमित भइरहेको छ, व्यावसायिक सम्झौतामा अझै पुगेको छैन ।
साफ महिला च्याम्पियनसिपमा पहिलोपल्ट नेपाली टिम फाइनल पुग्न सकेन । अघिल्ला तीन फाइनलमा भारतसँग हारेको नेपाल चौथो संस्करणको सेमिफाइनलमा फेरि त्यही प्रतिद्वन्द्वीसामु झुक्नुपर्‍यो । महिला फुटबलमा सावित्रा भण्डारी नयाँ स्टार बनेकी छन् । उनले एकै खेलमा ६ गोलसहित साफमा सर्वाधिक १२ गोल गरिन् । उनी अहिले अनिता बस्नेतसँगै माल्दिभ्समा फुटसल लिग खेलिरहेकी छन् ।
फिफाले भ्रष्टाचारको आरोपमा गणेश थापालाई प्रतिबन्ध लगाएपछि उनकै विश्वास पात्र नरेन्द्र श्रेष्ठले कार्यबाहक अध्यक्षको रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) सञ्चालन गर्दै आएका थिए । थापाको कार्यशैलीका विरोधी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै श्रेष्ठ नै एक वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित भए । त्यसको असर अहिले एन्फाको गतिविधिमा प्रस्टै देखिन्छ । एन्फाले एएफसीबाट बारम्बार आएको पत्रको बेवास्ता गरेपछि थ्रीस्टार क्लब एएफसी कपको प्ले–अफ खेल्नबाटै वञ्चित हुनुपर्‍यो । एक फुटबल क्लबका लागि अभिभावकबाट योभन्दा ठूलो धोका के हुन सक्छ ? एन्फाले त्यसको न क्षतिपूर्ति दिएको छ न त दोषीलाई कारबाही प्रक्रिया नै अघि बढाएको छ । चुनावमा सहयोग गर्नेलाई पुरस्कृत गरिरहेको आरोप लागेको एन्फा नेतृत्व फुटबल गतिविधिमा पनि मौन छ । उसले २०७३ सालमा पनि लिग आयोजना गरेन । मोफसलको सक्रियतामा नै नेपाली फुटबल टिकेको छ ।

विवाद र कमजोरी
मैदानमा नेपालको चुनौती कमजोर भइरहेको अवस्थामा खेलकुदमा विवाद भने चुलिँदै–चर्किंदै गएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नेतृत्व विवाद फेरि चर्कियो । काम गरिरहेको नेतृत्वलाई हटाएर कागजमै सीमित रुक्मशमशेर राणा समूहले कार्यालय नै कब्जा गर्‍यो ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वले खेल संघहरूमा ‘कब्जा गर्ने’ रणनीति लिएपछि ओलम्पिक विवादले उग्र रूप लिएको हो । त्यसलाई बक्सिङ, टेबलटेनिस संघको निर्वाचनले देखाउँछ । सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा आयोजना गरियो । यो संस्करण व्यवस्थापकीय कमजोरीले इतिहासकै खराब रह्यो । खेलाडी उत्पादनसँगै भौतिक पूर्वाधार तयार पार्ने राष्ट्रिय खेलकुदको मूल मर्ममै यसपालि प्रहार भयो । हलभित्र गर्नुपर्ने खेल टेन्टमा गरियो । जुत्ताको बजेट दिएर पनि खाली खुट्टा दौडाइयो । त्यसैले स्वर्ण पदक जित्नेभन्दा कमजोरीको शृंखलामै राष्ट्रिय खेलकुद सकियो ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्