नयाँ वर्षको नयाँ संकल्प

जगदीश्वर पाण्डे

भनिन्छ, हरेक नयाँ दिन जिन्दगीको नयाँ सुरुआत हो । प्रत्येक बिहानीबाट नयाँ जोश र जाँगरका साथ अघि बढ्नुपर्छ । धेरैले भनेका छन्, जिन्दगी एक दौड हो । दौडमा घुम्ती आएजस्तै जिन्दगीमा पनि पटक–पटक त्यस्तै घुम्ती घमाउरा बाटा आउँछन्, जहाँ आवश्यकताअनुसार ‘ब्रेक’ लगाउनुपर्छ । र, फेरि गति लिनुपर्छ ।

जीवनको यस्तै गतिलाई आवश्यकताअनुसार ‘ब्रेक’ लगाउने र नयाँ गतिका साथ अघि बढ्ने संकल्प गर्ने क्षण हो नयाँ वर्षको नयाँ दिन । इस्वी संवत् होस् या विक्रम संवत्, नयाँ वर्षको आगमनसँग अधिकांश मानिस आगामी दिनका लागि केही विशेष संकल्प गर्न थाल्छन् । चाहे त्यो धूम्रपान छाड्ने साना व्यक्तिगत कुरा हुन् या मुलुककै विकासमा लागि पर्ने प्रण । ‘न्यू इयर्स रिजोलुसन’ नेपाली र त्यो पनि सहरी युवाहरूबीच नयाँ संस्कृतिकै रूपमा व्यापक हुँदै छ । समाजशास्त्री सुरेश ढकालका अनुसार यसलाई प्रचलित पूर्वीय परम्परामा रहेको संकल्प वा प्रतिज्ञाको आधुनिक स्वरूप वा संस्करण भन्दा हुन्छ । सबै संस्कृति, परम्परामा यस्तो प्रचलन पाइन्छ । हासिल गरिएका सफलताहरूमा सन्तुष्ट हुन नसक्दा वा स्वयंको व्यवहारप्रति असन्तुष्ट हुँदा नयाँ केही गर्न वा व्यवहार परिवर्तन गर्न यस्तो संकल्प गरिने ढकालको ठम्याइ छ । यस्ता संकल्पहरूको तहलाई अवसरहरूको उपलब्धताले निर्धारण गर्छ । यसै सन्दर्भमा प्रस्तुत छ, नयाँ वर्ष २०७४ का लागि फरक–फरक चार क्षेत्रका व्यक्तिहरूको संकल्प के छ ? उनीहरू आमनेपालीलाई के संकल्प लिन सल्लाह दिन्छन् ?


रवीन्द्र अधिकारी
राजनीतिज्ञ
‘विकास र आर्थिक मुद्दामा थप लाग्छु’

स्वभावले नै नयाँ वर्ष भन्नेबित्तिकै आफ्नो केही परिवर्तन गर्ने भन्ने हुन्छ । नकारात्मक सोचलाई हटाउने भन्ने हुन्छ । म पनि नकारात्मक सोचलाई हटाउन चाहन्छु ।
दोस्रो, विकासको इस्युमा अझ बढी लाग्ने संकल्प गरेको छु । साथमा आर्थिक विकासमा पनि अझ बढी मिहिनेत गरेर जनतालाई सहज वातावरण सिर्जन गर्न चाहन्छु । जनप्रतिनिधि, समिति (संसद्को विकास समिति) को सभापति, जनतासँगको अन्तरक्रिया पार्टीको कामले गर्दा पढ्न र घरमा कम समय दिएको छु । पढ्ने समय बढाएर आफ्नो दायरा फराकिलो बनाउने कोसिस गर्नेछु । आफ्नै देशका विभिन्न स्थलमा अझै पुग्न भ्याएको छैन । देशका विभिन्न स्थालमा पुग्ने, त्यहाँको आर्थिक, भौतिक विकासको अवस्था हेर्ने, जनतासँग अन्तरक्रिया गरेर अघि कसरी बढ्ने भन्ने योजना बनाएको छु । घर परिवारलाई पनि समय कम दिंदै आइरहेको छु, यो वर्षचाहिं थप समय दिने संकल्न गरेको छु ।
मुलुकको राजनीतिमा आशाका किरणहरू छन् । तर धेरै राम्रो पनि देखेको छैन । हाम्रोमा नियमहरू अपवाद र अपवादहरू नियम हुन थालेका छन् । नियमलाई अपवादको रूपमा लागू गर्ने र अपवादलाई नियमको रूपमा लागू गरेर समस्याको सिर्जना भएका छन् । सियो छिर्छ भनेर हात्ती पनि छिराउने काम भएका छन् ।
यो वर्ष निर्वाचनको वर्ष हो । तीन (संघ, प्रदेश र स्थानीय तह) निर्वाचन गर्नुपर्छ । यी निर्वाचन भएन भने डरलाग्दो वर्ष हो । त्यसैले यो अवसर र चुनौती दुवै वर्ष हो । निर्वाचनलाई हामीले सही रूपमा सदुपयोग गर्नुपर्छ । नयाँ पुस्तादेखि मलाई डर लागेको छ । नेताकापछि दौडनेभन्दा पनि उनीहरूलाई बलियो र सक्षम हुनलाई अग्रसर गर्नु आवश्यक छ । युवाहरूलाई अहिले छोटो समयका लागि फाइदा होला तर दीर्घकालीन रूपमा फाइदा हँुदैन । नेतृत्व लिन सक्ने मान्छेलाई अघि ल्याउनुपर्छ । म कहाँ कति रहन्छु भन्दा पनि आफूले के दिन सकिन्छ भन्नेमा ध्यान दिनु आवश्यक देखिन्छ । यो वर्ष व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गरून् भन्ने मेरो संकल्प छ ।

सुरेश ढकाल
समाजशास्त्री
‘आफैंलाई अझै चिन्ने प्रयत्न गर्न सकूँ’

मेरो रुचि र पेसा पठनपाठन भएका कारण म विगत केही वर्षदेखि एउटा असन्तुष्टिसँग गुज्रिरहेको छु । त्यो भनेको पर्याप्त लेखन, प्रकाशन गर्न नसक्नुको असन्तुष्टि हो, आफैंप्रतिको । संयोग नयाँ वर्षको परेको छ, यसलाई मेरो नयाँ वर्षको संकल्प पनि भन्न सकिन्छ । आगामी वर्षमा केही प्राज्ञिक लेखन र पपुलर लेखनमार्फत मेरा आफ्नै असन्तुष्टिहरू कम गर्ने प्रयास हुनेछ । बितेको वर्षभन्दा आगामी वर्ष आफ्नै रुचि र पेसाप्रति अलि बढी प्रतिबद्ध हुने नै मेरो नयाँ वर्षको घोषित संकल्प हो ।
राजनीतिक नेता, दलहरू र केही संस्थाहरू पनि यस्ता थुप्रै प्रतिबद्धता गर्छन् र पूरा गर्दैनन् तसर्थ सामूहिक, संस्थागत प्रतिबद्धता अपेक्षा नै गरिंदैन । तर सामूहिक प्रतिबद्धता, सामूहिक संकल्प, सामूहिक प्रयत्न धेरै अर्थमा आवश्यक हुन्छन् । यो वर्ष तीन चुनाव हुनेछन् । राजनीतिक दलहरूले चुनावको सन्दर्भमा हिंसालाई निरुत्साहित गरुन् । चुनावी विवादलाई समाधान गर्ने संयन्त्र बनाउन् ।
सञ्चार संस्थाहरूले सनसनीपूर्ण समाचारभन्दा सक्रंमणलाई बल पुग्ने समाचारहरूमा जोड गरून्, आवश्यक परे पत्रकार महासंघजस्ता संस्थाले श्वेतपत्र जारी गरून् सामूहिक प्रतिबद्धतासहितको । प्रहरीजस्ता संस्थाहरू जनताको अझै निकट पुगून् र थप विश्वास जितून्, त्यसले जनजीवनलाई सहज बनाउँछ जनतामा सुरक्षा भावले मात्र पनि ।
विद्यार्थी संगठनहरू र युवा संगठनहरू ऊर्जाशील समूहको नेतृत्व गर्छन् । उनीहरूले मानिसको दैनिक जीवनसँग जोडिने, समाजको सामूहिक हित गर्ने कुनै सिर्जनात्मक कार्य गर्ने प्रतिबद्धता गरून् । त्यस्ता संगठनका प्रत्येक सदस्यहरूले वर्षको निश्चित दिन स्वयंसेवा गर्नुपर्ने प्रचलनको थालनी गरून् । यसले उनीहरूको खस्किँदो ‘इमेज’ लाई सुधार्न पनि मद्दत गर्छ भने कुनै क्षेत्रमा केही न केही योगदान गर्नेछ ।
व्यक्ति होस् या संस्था जीवनमा केही न केही परिवर्तन गर्ने सकारात्मक सोच र आशा व्यक्तिगत र सामूहिक उन्नति, समृद्धि र सुसंस्कारका लागि आवश्यक पर्छन् । आफूले आफैंलाई अनुशासित गर्ने र जीवन अझै सार्थक बनाउने कुरासँग जोडिन्छन् । यी र यस्ता प्रचलनहरू, आफैंलाई झनै राम्रोसँग चिन्ने प्रयत्न गर्न सकूँ ।


रबिना देशराज श्रेष्ठ
बैंकर
‘स्वास्थ्य र सेवामा समय बढाउँछु’

अहिले उमेर पनि बढ्दै गयो । वातावरण पनि ख्याल गर्दा मैले यो वर्ष स्वास्थ्यलाई विशेष ध्यान दिन्छु । म आफूलाई माया गर्ने मान्छे हो । नियमित अभ्यास गर्ने, बिहान योगा गर्ने र तीन–तीन घण्टामा खाने गर्छु । काममा व्यस्त भइन्छ । त्यसैले पनि स्वास्थ्यमा ध्यान दिनुपर्छ ।
मेरो दोस्रो संकल्प अरूलाई अझ बढी सहयोग गर्ने रहको छ । मैले अहिलेसम्म जुन कुरा सिकेको छु, त्यो अरूलाई पनि बाँड्छु, कार्यशाला होस् या कार्यक्रम वा व्यक्ति–व्यक्तिबीचको कुराकानीमा । ‘रोमान्स’ देखि ‘जेन्डर इमोसन ब्यालेन्स’ सम्मका आफूलाई थाहा भएका कुरा अरूसँग सेयर गर्छु । यसर्थ यो वर्ष मेरो प्राथमिकता जनताको सेवा गर्ने रहेको छ, त्यसमा पनि विशेषगरी युवाहरूलाई ।
व्यक्तिगत जिन्दगीमा पनि सवल बन्नुपर्छ । तर अरूलाई सहयोग गर्न सके राम्रो हुन्छ । म यो वर्ष पहिलेभन्दा बढी अरूलाई सेवा गर्नप्रति समर्पित हुनेछु । नेपालमा सरकार र निजी क्षेत्रले आपसमा मिलेर अझ काम गर्नुपर्छ ।
सरकारसँग मिलेर निजी क्षेत्रले जनताका लागि काम गर्न सक्छौं । हाम्रो देशबाट व्यक्तिहरू पलायन भइरहेका छन् । उनीहरूलाई यही नै व्यापार गर्न सक्ने र काम गर्ने वातावरण सिर्जना गरिदिए विदेशमा काम गर्न जानु पर्दैन थियो । एउटा बैंकरको हैसियतले आफूले सक्ने जति यसतर्फ पाइला चाल्नेछु ।


बुद्धिसागर
लेखक
‘नेपाली साहित्य अन्तर्राष्ट्रिय रूपमा अघि बढेको हेर्न चाहन्छु’

व्यक्तिगत रूपमा नयाँ वर्षमा म आफ्नो लेखनबाट पाठकहरूमा मन थप जित्न चाहन्छु । त्यसैको लागि मिहिनेत गरिरहनेछु ।
नेपाली आख्यान साहित्यलाई दुई भागमा बाँड्न सकिन्छ, ‘पल्पसा क्याफे’ अघि र पछि । ‘पल्पसा क्याफे’ अघि प्रकाशनमा साझा प्रकाशन अग्रपंक्तिमा थियो, जसले पहिलो संस्करण एक हजारप्रति छाप्थ्यो । र, यदि पुस्तक बिक्री भयो भने अर्को वर्ष अर्को संस्करण छापिन्थ्यो । दोस्रो संस्करणको अनुहार देख्ने पुस्तक स्थापित भइहाल्थ्यो । निजी क्षेत्रमा रत्नपुस्तक भण्डार अग्रपंक्तिमा थियो । प्रकाशक नेपालयका अनुसार पल्पसा क्याफेले ५० हजारप्रतिभन्दा बढी बिकेर कीर्तिमान कायम गरेको छ । पल्पसा क्याफे प्रकाशन भएको १२ वर्षपछि, हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ ले ७० हजार प्रतिभन्दा बढी बिकेर अर्को कीर्तिमान कायम गरेको छ । ‘चिना हराएको मान्छे’ आख्यान होइन तर नेपाली आख्यानका लागि यो पुस्तकले बेन्चमार्क खडा गरिएको छ ।
र, अहिले प्रकाशन संस्थाहरू मौलाएका छन्, जो व्यावसायिक छन् र धेरै लेखकलाई पूर्णकालीन लेखक हुने आँट दिइरहेका छन् । फाइनप्रिन्ट, साङ्ग्रिला, बुकहिल, फिनिक्सजस्ता प्रकाशन संस्था अग्रपंक्तिमा छन्, जसले पुस्तकको आवरण र डिजाइनलाई पनि महत्त्व दिइरहेका छन् । डा. तारालाल श्रेष्ठका अनुसार ‘यसो बटारेर झट्कार्दा झर्‍याम्म अक्षरहरू खस्लान्जस्ता’ किताबहरू छापिने जमाना सकिएका छन् ।
अचेल गृहिणी, पसलेदेखि स्कुले विद्यार्थीसम्मले नेपाली साहित्य पढेको र पुस्तकका बारेमा कुरा गरेको देख्न सकिन्छ । इन्टरनेटको आगमन (फेसबुक, ट्वीटरदेखि गुडरिड्स आदि) ले विजयकुमारका शब्दमा ‘नेपाली साहित्यबाट बिचौलियाहरू’ हराउँदै गएका छन् । जो पुस्तकको विशिष्टता र अशिष्टता मापन यन्त्र बोकेर बसेका हुन्थे । त्यसरी नै पुस्तकबाट ‘भूमिका’ नामको उच्चाट लाग्दो विधा पनि हराएको छ । अहिले नेपाली पाठकहरूले आफ्नो टेस्टका पुस्तकहरू खोज्ने सुविधा पाएका छन् । आफ्नो समुदाय, आफ्नो जरा र आफ्नो विशिष्टताका बारेमा लेख्न हरेक समुदायबाट लेखकहरू उदाइरहेका छन् । त्यही साँघुरोपनबाट आख्यानको विशिष्टता बढ्दै जान्छ । प्रा.डीपी भण्डारीले ‘विषय त कुकुरको पुच्छर पनि हुन सक्छ तर त्यसलाई भन्ने शैली महत्त्वपूर्ण हुनुपर्छ’ भने जसरी, अहिलेका लेखकहरूले कथालाई मात्र होइन, शैलीलाई पनि महत्त्व दिन थालेका छन् ।
त्यसैगरी बाहिरी अन्य भाषाका प्रकाशन संस्थाहरू पनि नेपाली साहित्यमा चासो दिइरहेका छन् । भर्खरै लन्डनको प्रकाशन संस्था हेड अफ जुसले ‘हाउस अफ स्नो’ नामको पुस्तक प्रकाशन गरेको छ, जसमा ५० नेपाली (अनुवाद र मौलिक) लेखकका पुस्तक अंशहरू राखिएका छन् । लेखक प्रवीण अधिकारीका अनुसार अघिल्लो वर्ष बुकर इन्टरनेसनल पुरस्कार प्राप्त ‘द भेजिटेरियन’ की अनुवादक डेबरा स्मिथ नेपाली लेखकले सहरी जीवनमाथि लेखेको पुस्तक प्रकाशन गर्न चाहन्छिन् । त्यसैगरी अर्को प्रकाशन संस्था स्पिकिङ टाइगरले नयनराज पाण्डेको ‘लू’ र ‘मेरो कर्नाली ब्लुज’ अंग्रेजीमा प्रकाशन गर्दै छ । डायमनशमशेर राणाको ‘सेतो बाघ’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’ पछि कर्नाली ब्लुज पनि यसै वर्ष कोरियन भाषामा प्रकाशन हुँदै छ— सोलबाट । अन्य आसलाग्दा समाचारहरू पनि केही वर्षमा सुनिने वातावरण बन्दै गइरहेको छ । यो वर्ष नेपाली साहित्य अन्तर्राष्ट्रिय रूपमा अघि बढेको हेर्न चाहन्छु ।
त्यसैले म अबको दस वर्षमा नेपाली लेखनले अन्तर्राष्ट्रिय रूपमा आफ्नो मौलिक अनुहार निर्माण गर्ने कुरामा विश्वस्त छु ।

प्रकाशित : वैशाख २, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?