१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सम्भावना

सुशील पौडेल

हेराउनेलाई देखाएको, यस वर्ष नेपाली फिल्मको भविष्य एकदमै राम्रो छ रे,’ बितेको वर्ष मात्रै रेकर्डतोड व्यापार गर्न सफल फिल्म ‘छक्का पञ्जा’ बाट निर्देशनमा होमिएकी दीपाश्री निरौलाले २०७३ को आखिरीमा उत्साहित हुँदै सुनाइन् ।

सम्भावना

उनको यो आस त थियो ‘भगवान् भरोसा’ मा । तर, क्षमतावान निर्देशक, सक्षम प्राविधिक र जानकार स्क्रिप्ट लेखकसँगै सम्भावना बोकेका नयाँ–नयाँ कलाकारको फिल्म उद्योगमा भइरहेको प्रवेशले भगवान् भरोसाबाट माथि उठेर दर्शकमा भरोसा बढ्न थालेको छ । वर्ष २०७४ नेपाली फिल्मका लागि दर्शक भरोसाको सुखद संकेत मिल्ने देखिन्छ ।

वर्षको सुरुआत तीन फिल्म ‘राधे’, ‘घामपानी’ र ‘लभ लभ लभ’ ले शुक्रबारदेखि नै गरेका छन् । बेपत्ता नागरिकको कथा बोकेको ‘राधे’ र बाहुन युवती र तामाङ युवकबीचको प्रेमदेखि विवाहसम्मको संघर्ष र त्यसबीच आइपर्ने जातीय, सामाजिक अवरोधहरूलाई केलाइएको ‘घामपानी’ सँगै लभस्टोरी ‘लभ लभ लभ’ ले दर्शक रिझाउने देखिएको छ ।
महाभूकम्प र लगत्तैको नाकाबन्दीले सबै क्षेत्रमा तहसनहस पार्दा पनि नेपाली फिल्म निर्माण क्रममा खासै फरक नआउनुले पनि स्वदेशी फिल्म क्षेत्र बलियो हुँदै गएको संकेत हो । पछिल्ला दिनमा नेपाली फिल्मले हलमा बिस्तारै विदेशी फिल्मको एकाधिकारलाई तोड्न थालेका छन् । 
गत वर्ष ‘छक्का पञ्जा’ बाट मनग्गे दर्शक कमाएको दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले यस वर्ष त्यसैको सिक्वेल ल्याउने भएको छ । यसपटक युवा पुस्तामा देखिएको विदेश मोहलाई लाइट कमेडी जानरामा पस्केर दर्शकमाझ आउने भएको छ । दीपाश्रीकै निर्देशन रहने उक्त फिल्ममा यसपटक निश्चल बस्नेत र स्वस्तिमा खड्काको समेत कलाकारका रूपमा इन्ट्री हुनुले थप आशावादी बनाएको छ ।
गत वर्ष डेब्यू फिल्म ‘जात्रा’ बाटै निर्देशनमा सम्भावना देखाएका प्रदीप भट्टराईले यस वर्ष मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण केसीलगायत नयाँ–पुराना हास्य कलाकारको संयोजन गराई सोसल कमेडी ड्रामामा आधारित फिल्म लिएर आउनेछन् । ‘छक्का पञ्जा २’ पछि सुटिङ थालिने उक्त फिल्मको नामकरण भने भइसकेको छैन ।
‘पशुपति प्रसाद’ को टिम पनि यस वर्ष ‘धनपति’ लिएर आउँदै छ । खगेन्द्र लामिछानेकै मुख्य भूमिका रहने फिल्मलाई दीपेन्द्र के खनालले नै निर्देशन गरेका छन् । असारमा आउने बताइएको उक्त फिल्मले यसपटक पनि एक आमयुवकको कथालाई आमदर्शकमाझ ल्याउने जमर्को गरेको छ ।
हालका सर्वाधिक स्टारडम नायक अनमोल केसी यस वर्ष ‘क्री’ मा भिन्न अवतारमा आउने बताइएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहने उक्त रिभेन्ज स्टोरी फिल्ममा अनमोललाई एंग्री लुक्समा देखिनेछ । अनमोलले यसपटक मोडल अदिती बुढाथोकीसँग स्क्रिन सेयर गर्दै छन् । त्यसैगरी ‘होस्टेल’ बाटै अनमोललाई भित्र्याएका निर्देशक हेमराज बीसीले यसपटक आसिरमान देशराजलाई डेब्यू गराउन लागेको ‘ग्याङस्टार ब्लुज’ ले पनि यस वर्षको नेपाली फिल्मको उन्नतिमा इँटा थप्ने विश्वास गरिएको छ । फिल्ममा आसिरमानलाई हेमराजले ‘जेरी’ नायिका आना शर्मासँग जोडी बाँधिदिएका छन् । 
वर्ष २०७४ मा लभस्टोरी फिल्मकै बाहुल्य हुने देखिन्छ । ‘प्रेमगीत’ ले सफलता पाए पनि यसको टिम भने फुट्यो । निर्माता सन्तोष सेनले नायक प्रदीप खड्कालाई लिएर ‘प्रेमगीत २’ ल्याउँदै गर्दा निर्देशक सुदर्शन थापा पनि नायिका पूजा शर्मालाई दोहोर्‍याउँदै ‘म यस्तो गीत गाउँछु’ लिएर आउँदै छन् । चर्को प्रतिस्पर्धाले दुवै फिल्म अब्बल बनेको अपेक्षा गरिएको छ ।
‘छड्के’ निर्देशक निगम श्रेष्ठ केही समयको अन्तरालपछि यसै वर्ष देखापर्दै छन्, ‘लालपूर्जा’ मार्फत । फिल्ममा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेरुना मगरको संलग्नताले पनि ‘लालपुर्जा’ प्रति थप आशावादी बनाएको छ । ‘कबड्डी’ सिरिजबाट काफी नाम कमाएका निर्देशक रामबाबु गुरुङका लागि २०७३ मा न ‘पुरानो डुंगा’ फाप्यो, न त उनको पटकथा रहेको ‘झुम्की’ ले नै सफलता बटुल्यो । तर पनि उनीप्रतिको आशा अझै छ । ‘मिस्टर झोले’ बाट रामबाबुले पुन: आफ्नो निर्देशकीय करामत देखाउने अपेक्षा गरिएको छ । उक्त फिल्मका लागि उनले २५ लाख रुपैयाँको मोटो बिटो लिएको चर्चा पनि फिल्मवृत्तमा चलिरहन्छ ।
सम्भवत: यसै वर्ष अनुप बराल ‘दोख’ लिएर आउँदा मनोज पण्डित ‘खाग’ मार्फत क्लास दर्शकका लागि आउनेछन् । दुवै फिल्म विषयप्रधान गम्भीर प्रकृतिका फिल्म भएकोले स्वदेशी फिल्मको गुणात्मक प्रगतिका लागि सहायक सिद्ध हुने अनुमान गर्न सकिन्छ । त्यसो त लागूऔषध दुव्र्यसनीबारे गणेशदेव पाण्डेले बनाएको ‘गाँजा बाजा’ पनि यसै वर्ष रिलिज हुनेछ । साम्तेन भुटिया पनि यस वर्ष ‘तान्द्रो’ र ‘अनागत’ मार्फत देखापर्दै छन् । ‘तान्द्रो’ ले एक पूर्वमाओवादी सैनिक मृत्यु र जीवनको दोसाधमा छँदाको वास्तविक कथालाई फिल्ममा उतारेको हो । जसमा दयाहाङ राई मुख्य भूमिकामा रहेका छन् ।
फिल्म ‘वीर विक्रम’ बाट चर्चा कमाएका निर्देशक मिलन चाम्सका २०७४ सालमा ‘ह्याप्पी डेज’ र बायोपिक ‘ब्लाइन्ड रक्स’ पनि हेर्न पर्ने फिल्मको सूचीमा परेका छन् । त्यसैगरी, युवा पुस्तामाझ चर्चित बनेको पुस्तक ‘समर लभ’ कै नाम र कथामा बनाइन लागेको फिल्मले पनि युवा पुस्ता तान्ने विश्वास छ । त्यसबाहेक २०७४ मा निकेश खड्काको ‘फाटेको जुत्ता’, संगीता श्रेष्ठको ‘कथा काठमाडौं’, अनिल योञ्जनको ‘डायरी’, दिवाकर भट्टराईको ‘ऐश्वर्या’, पुर्नेन्दु झाको ‘संरक्षण’, देवकुमार श्रेष्ठको ‘लाल्टिन’, नवल नेपालको ‘मंगलम’, नरेश केसीको ‘रोमियो एन्ड मुना’, पुष्पराज न्यौपानेको ‘सायद २’, दिनेश राउतको ‘पर्व’, झरना थापाको ‘ए मेरो हजुर २’, गोपालचन्द्र लामिछानेको ‘लम्फु’ लगायतले स्वदेशी फिल्म क्षेत्रलाई उँचो बनाउने आशा देखाएका छन् ।

प्रकाशित : वैशाख २, २०७४ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?