बुद्धका दस विपत्ति

अभय श्रेष्ठ

बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ ।

‘जहाँ अन्याय छ, त्यहाँ छायाले जस्तै अशान्तिले पछ्याउँछ,’ उनी भन्थे, ‘अन्यायमा शान्तिको खोजी त्यतिकै निरर्थक छ जति निरर्थक सिउँडीको बोटमा सुन्तला फल्ने आशा गर्नु हुन्छ ।’ आज अमेरिका र उत्तर कोरियाबीचको तनावले विश्वशान्ति खलबलिने खतरा छ । तर, २५ सय वर्षअघि जन्मेका बुद्धको शान्ति र न्याय चेत यति उँचो थियो जसलाई एक्काइसौँ शताब्दीका ‘शान्तिवादी’ हरूले अझै बुझ्न सकेका छैनन् । भारतीय विद्वान् बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ का अनुसार शाक्य र कोलिय राज्यबीच रोहिणी नदीको पानी प्रयोग गर्नेबारे झगडामा तत्कालीन राजकुमार सिद्धार्थले आफ्नै राज्यका किसानको पनि गल्ती औँल्याएका थिए । आफन्त, पराई वा राष्ट्रवादभन्दा उनका लागि मानवता, न्याय, सत्य र अहिंसा सर्वथा महत्त्वपूर्ण थिए ।

सतातन धर्मावलम्बीले बुद्धलाई विष्णुको नवौँ अवतार मानेका छन् । सायद बुद्धप्रति यो सद्भाव थियो । तर, उनी भाग्यवाद, अन्धविश्वास, यथास्थिति, पूजापाठ, ईश्वरभक्ति, यज्ञ, प्रार्थना, जात व्यवस्था, पुरोहितवाद आदिको प्रतिकारमै ज्ञानको खोजीमा हिँडेका थिए । उनको संघमा जातिभेद थिएन । कतिसम्म भने उपाली, स्वास्ती, सुनीतजस्ता शूद्रलाई संघमा अग्राधिकारसहित उनले सम्मानित पद दिएका थिए । कुनै पनि कुरालाई उनी अन्तिम सत्य मान्दैनथे । आफ्नै दर्शनलाई पनि सत्य खोजीमा हिँड्ने डुंगा मात्र ठान्थे । ‘म मोक्षदाता होइन, मार्गदर्शक मात्र हुँ, मेरो दर्शन अन्तिम सत्य पनि होइन । यो तत्काल मेरो ब्रह्मले देखेको श्रेष्ठ मार्ग मात्र हो,’ उनी भन्थे, ‘ध्यानको अभ्यास गर्दै मनको अज्ञान हटाउन सके कुनै पनि व्यक्ति बुद्ध बन्न सक्छ । आफ्नो मालिक तिमी आफैँ हौ । पुरोहितहरूले जग्गे थापेर कहिल्यै कसैले नदेखेको ईश्वरका नाममा जीवन धान्ने अमूल्य अन्न र घिउ–तेल स्वाहा गर्नु मूर्खता हो । सम्मानित गुरु, इतिहास वा शास्त्रले भन्दैमा त्यसै नमान । तथागतकै कुरा पनि नमान । कुनै पनि कुरा मान्नुअघि आफैं जान । आफ्नो दियो आफैं बन ।’ खासमा, बुद्धले मनको अँध्यारो र अज्ञान हटाएर जिउँदै आनन्दित र मुक्त जीवनको स्वर्गीय आनन्द भोग्न पाउने उपाय सुझाए । त्यसैले त आइन्सटाइने बुद्ध दर्शनलाई संसारकै सबैभन्दा उँचो मानवीय दर्शन भनेका छन् । वेद, पुराणको सत्ता चलिरहेको युगमा यस्ता आदिविद्रोही र महात्माको जिन्दगीमा अनेक विपत्ति आइलाग्नु स्वाभाविक थियो । तर, उनले कुनै पनि विपत्तिसँग हार मानेनन् । कहालीलाग्दो भीरको थाप्लामा उभिएझैँ लाग्ने यी विपत्तिलाई उनले निर्भयतापूर्वक सामना गरे । 
१) देश निकाला
शान्ति र सद्भावको पक्ष लिँदा २९ वर्षको उमेरमा उनलाई देश निकाला गरिएको थियो । हरेकजसो बौद्ध साहित्यमा ‘उनले रोगी, वृद्ध र मृतक देखेपछि ज्ञानको खोजीमा मध्यरातमा घर छाडेको’ उल्लेख छ । बौद्ध साहित्यमा यसलाई महाभिनिष्क्रमण भनिन्छ । भारतीय दलित विद्वान् बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ ले यससम्बन्धी उद्घाटन गरेको तथ्य स्तब्ध पार्ने खालको छ । अम्बेडकरका अनुसार रोहिणी नदीको विवादमा अल्पमतमा परेपछि आत्मदण्डस्वरूप उनले देश छाडेका थिए । २९ वर्षको उमेरसम्म आफ्नो समयका अत्यन्त सचेत र बौद्धिक सिद्धार्थले रोगी, वृद्ध र मृतक देखेका थिएनन् होला ? धर्मानन्द कौसम्बीले पहिलोपल्ट यस्तो प्रश्न उठाए । ३५ वर्षसम्म गम्भीर अध्ययनपछि अम्बेडकर पनि सोही निष्कर्षमा पुगे । पछि कतिपय राजनीतिक इतिहासकारले पनि यसलाई पुष्टि गरे । छिमेकी राज्य कोलियसँग रोहिणी नदीको पानी प्रयोग गर्नेबारे विवाद भएपछि शाक्य संघले लडाइँको घोषणा गर्‍यो । सिद्धार्थले विरोध गरे । तत्कालीन शाक्य राज्यमा बीस वर्ष पुगेका हरेक युवक सदस्य रहने शाक्य संघ संसद्को भूमिकामा हुन्थ्यो । उनको शान्तिवार्ता प्रस्ताव बहुमतद्वारा अस्वीकृत भयो । बीस वर्ष पुगेका सबै युवाले युद्धमा भाग लिनुपर्ने भयो । सिद्धार्थले आफू युद्धमा सामेल नहुने घोषणा गरे ।
बहुमतको निर्णय नमान्दा संघले उनको परिवारलाई सामाजिक बहिष्कार गर्न सक्थ्यो वा परिवारको जमिन जफत गर्न सक्थ्यो । अथवा उनलाई मृत्युदण्ड दिन वा देशनिकाला गर्न सक्थ्यो । सिद्धार्थले आग्रह गरे, ‘कृपया, मेरो गल्तीको सजाय परिवारलाई नदिनुस् । मेरो दोषको सजाय म एक्लैलाई भोग्न दिनुहोस् । मृत्युदण्ड दिनुस् वा निर्वासनको सजाय, म खुसीसाथ स्विकार्छु ।’ त्यतिखेर भर्खर उनका छोरा राहुलको जन्म भएको थियो । मातापिता वृद्ध भइसकेका थिए । यस्तो स्थितिमा शान्ति र सद्भावका लागि उनले देश छाडे । विलासमा हुर्किएका राजकुमारका लागि यो सजिलो बाटो थिएन । तर, यो उनको सत्याग्रह थियो । पछि, उनकै चाहनाअनुसार दुई देशबीच समझदारी भई शान्ति कायम भयो । शान्ति सम्झौतापछि उनलाई घर फर्कन आग्रह गरियो । तर, उनी स्थायी शान्तिका लागि ज्ञानको खोजीमा लागे ।
२) अंगुलीमालको आतंक र चिञ्चाको नक्कली पेट
बुद्ध त्यतिखेर ५६ वर्षका थिए जब उनको सामना खतरनाक हत्यारा अंगुलीमालसँग भयो । भियतनामी बौद्ध विद्वान् तिक न्यात हन्हको किताब ‘ओल्ड पथ, ह्वाइट क्लाउड’ का अनुसार जालिनी वनबाट ऊ कोसल राज्यको श्रावस्ती प्रवेश गर्दा पूरै बस्ती मसानसरह सुनसान थियो । मानिसहरू दिउँसै ढोका बन्द गरेर बस्थे । हरेक व्यक्तिको हत्यापछि ऊ त्यसको एउटा औँला मालामा उन्थ्यो । सय जनाको हत्या गरेर तिनका औँलाको माला लाएपछि आफ्नो मायावी शक्ति बढ्ने भ्रम उसलाई थियो । एकपल्ट चालीस जनाले घेरा हाले । अद्भुत युद्धकला जानेको अंगुलीमालले छिनभरमै अधिकांशलाई मारिदियो । बाँकीले भागेर ज्यान बचाए । राजा प्रसेनजितले उसलाई पक्रन सशस्त्र सेना तैनाथ गरेका थिए । तीमध्ये कतिपयलाई उसले मारिसकेको थियो । यो थाहा पाउनासाथ बुद्ध निडर भएर एक्लै श्राबस्तीमा हिँड्न थाले । अंगुलीमाल हकार्दै, खुँडा ताक्दै आइपुग्यो । एउटा रूखअगाडि उभिएर शान्त स्वरमा बुद्धले भने, ‘अंगुलीमाल, म तिम्रो उद्देश्यका लागि मारिन तयार छु । तर, त्यसका लागि तिमीले मलाई यस रूखका चारवटा पात टिपेर ल्याइदिनुपर्छ ।’ पहिलोपल्ट आफूसँग निडर भएर बोल्ने मान्छे भेट्दा अंगुलीमाल हच्कियो र चारवटा पात टिपेर ल्याइदियो । बुद्धले फेरि भने, ‘अब यो पात जस्ताको तस्तै त्यही हाँगामा लगेर जोडिदेऊ ।’
उसले भन्यो, ‘तिमीले के भन्न खोजेको भिक्षु ? यो कसरी सम्भव छ ?’
‘हो, जसरी टिपिसकेका पात जोड्न सक्दैनौ, त्यसैगरी तिमीले हत्या गरेका मान्छेलाई फेरि बचाउन सक्दैनौ । जब मारिएकालाई बचाउन सकिन्न भने तिनलाई मार्ने अधिकार तिमीलाई कसले दियो ?’ अंगुलीमाल नाजवाफ भयो । 
‘मानिसहरू अज्ञान, घृणा र द्वैषका कारण क्रूर बन्छन् । क्षमा, करुणा, ज्ञान र प्रेमको मार्गमा हिँड्यौ भने तिम्रो जीवनमा पनि स्वर्गीय आनन्द आउनेछ अंगुलीमाल’, बुद्धको कुरा सुनेर उसले खुँडा बिसायो र माफी माग्दै नमन गर्‍यो । बुद्धको शरणमा गएको दुई हप्तामै अंगुलीमाल अहिंस्रक नाम धारण गरेर सौम्य र करुणामय भिक्षु भइसकेको थियो ।
त्यसअघि नै सम्बोधी प्राप्त गरेर देश देशावरमा प्रसिद्ध भइसकेका बुद्धमाथि एउटा गम्भीर आरोप लागेको थियो । चिञ्चा नामकी एक ब्राह्मण युवतीले बुद्धको देशना चलिरहेको सभामै बुद्धले आफूलाई गर्भवती बनाएको आरोप लगाइन् । सुनेर सबै जना स्तब्ध भए । बुद्धले शान्त मुस्कानसहित भने, ‘कुमारी चिञ्चा, तपाईँले बोलेको कति सत्य हो भन्ने तपाईँ र मलाई मात्र थाहा छ, कि कसो ?’ बुद्धको शान्त मुस्कान देखेर चिञ्चा हडबडाइन् । बाहिर निस्किँदा एउटा खम्बामा ठोकिएर उनको पेटमा बाँधिएको काठको गोलाकार खसेर खुट्टामा लाग्यो । घाइते औँला थिचेर उनी रुन थालिन् । उनको पेट अब एकदमै सपाट थियो ।
३) सत्यको त्रासदी
उनी नौ वर्षका राजकुमार हुँदा एक दिन बगैँचामा एउटा चरा खस्यो । त्यसलाई वाण लागेको थियो । उनले त्यसको घाउमा औषधि लगाइदिए । त्यसलाई वाण हान्ने उनकै काकाको छोरा देवदत्त घाइते चरा लिन आइपुग्यो । सिद्धार्थले दिन मानेनन् । उनीहरूबीचको विवाद दरबारसम्मै पुग्यो । दुवैले मन्त्रीगणसँग आ–आफ्ना तर्क राखे । घाइते चरामाथिको स्वामित्व व्याधाको होइन, बचाउनेको हुनुपर्ने तर्क सिद्धार्थको थियो । बहुमत बुद्धको तर्कमाथि हाँस्न थाल्यो र देवदत्तको पक्षमा ढल्कियो । राजा शुद्धोदन एक्कासि खोक्न थाले । यो एक खालको संकेत थियो । मन्त्रीहरूले एकाएक सिद्धार्थको पक्षमा निर्णय गरे । चरा उनलाई दिइयो । मन्त्रीगणले राजालाई खुसामद गर्न मात्र सिद्धार्थलाई जिताइदिएका थिए । यो थाहा पाउँदा उनको आत्मसम्मानमा ठूलो चोट लाग्यो । तर, उनले चराको मुक्तिका लागि यस्तो अपमानजनक स्थितिसँग पनि सम्झौता गरे । यस घटनाबाट उनलाई ज्ञान भयो, सत्य र ठीकका पक्षमा उभिन बहुतै ठूलो साहस चाहिन्छ जुन अधिकांश मान्छेमा हुँदैन । 
४) सुन्दरीको शव
अर्कोपल्ट श्रावस्तीको जेतवन बिहारमा प्रहरीले सुन्दरी नामकी एक युवतीको शव बरामद गर्‍यो । बेलाबेला उनी बिहारमा बुद्धको देशना सुन्न आउँथिन् । शव बुद्धकै कुटीको पछाडिपट्टि खाल्डामा गाडिएको थियो । त्यसै दिन सुन्दरीको सम्प्रदायका मान्छेले शव नगर परिक्रमा गराए । उनीहरू भनिरहेका थिए, ‘शव जेतवन बिहारमा भेटियो । वासनारहित जीवन व्यतीत गरिरहेको दाबी गर्ने बुद्धका शिष्यले नै यसलाई बलात्कार गरेर शव लुकाउने चेष्टा गरे । दया, करुणा, आनन्द र समत्व भावका उनका कुरा झूटा हुन् । लौ हेर्नुस् तिनका करामत !’ श्रावस्तीवासी यस घटनाबाट दिक्क भए । बुद्धका श्रद्धावान् शिष्यको आस्था डगमगाउन थाल्यो । भिक्षाटनका लागि हिँडेका भिक्षुलाई नगरवासी अनेक लाञ्छना लगाउँथे । यसले गर्दा कतिपय भिक्षु भिक्षाटनमा नगई भोकभोकै बस्न थाले । बुद्धले तिनीहरूलाई भने, ‘अनुचित आरोप कसैमाथि पनि, कुनै पनि बेला लाग्न सक्छ । त्यसबाट हीनताबोध र लज्जाबोध गर्नु जरुरी छैन । लज्जित त्यतिखेर हुनुपर्छ जब तपाईँ शुद्ध जीवनयापनबाट विरत हुनुहुन्छ ।’ नभन्दै एकै हप्ताभित्र हत्याराहरू पक्राउ परे । दुई हत्याराले अत्यधिक मद्यपान गर्दा यो रहस्य खोलेका थिए । बुद्धलाई बदनाम गर्न सुन्दरीको सम्प्रदायकै मान्छेले पैसा दिएर उसको हत्या गराएका थिए ।
५) सूत्राचार्य र शीलाचार्यको आत्मस्वीकृति
बुद्धको देशना (उपदेश) कण्ठस्थ पार्ने भिक्षुको समुदायलाई सूत्राचार्य भनिन्थ्यो । श्रामणेर तथा भिक्षुका लागि निर्धारित पञ्चशील र दस शीलका विशेषज्ञलाई शीलाचार्य । एकपल्ट गोशिरा बिहारमा सूत्राचार्य र शीलाचार्यबीच ठूलो विवाद भयो । एक सूत्राचार्यले कर–प्रक्षालन पात्र सफा गर्न बिर्सिए । एक शीलाचार्यले आपत्ति प्रकट गरे । सूत्राचार्य आफूले जानीबुझी यस्तो नगरेकाले दोष स्विकार्न तयार भएनन् । प्रत्येक भिक्षुले आ–आफ्ना अध्यापकको पक्ष लिन थाले । दुवै पक्ष एक अर्काको हदै निन्दा गर्न थाले ।
यसले संघमा विभाजन आउन सक्थ्यो । निष्पक्ष भिक्षु, उपासक र शुभेच्छुकको आग्रहमा बुद्धले दुवै पक्षको भेला बोलाए र विवाद अन्त्य गर्न आग्रह गरे । यस्तैमा एक भिक्षुले आवेशमा भने, ‘यो विवाद हामी आफैँ मिलाउँछौँ । तपाईँ बीचमा नआउनुस् ।’ भिक्षुको अपमानजनक व्यवहारपछि आफ्ना अनुचर तथा सहयोगी आनन्दलाई समेत नभनी बुद्ध एक्लै भ्रमणमा निस्किए । उनी एक वर्ष चार महिनापछि फर्किए । उनलाई थाहा थियो, दुवै पक्षले आफ्ना गल्ती महसुस गर्नेछन् र विवाद समाधान हुन्छ । अन्तत: दुवै पक्षले एक दिन आ–आफ्ना गल्ती स्वीकारे । दोष स्वीकार समारोहमा बुद्ध पनि उपस्थित थिए । सूत्राचार्यले सारा अहंकार बिर्सेर शीलाचार्यलाई नमन गर्दै भने, ‘मान्यवर, म स्विकार्छु, मैले एउटा शील उल्लंघन गरेको छु । मलाई सुधार्न तपाईँले भनेका कुरा ठीक थिए । म संघसमक्ष आफ्नो दोष स्विकार्छु ।’ शीलाचार्यले प्रत्युत्तरमा नमन गर्दै भने, ‘त्यो बेला ममा विनम्रता थिएन । त्यसका लागि कृपया मलाई माफ गर्नुहोला ।’ यसरी त्यो उग्र विवाद समाधान भयो । 
६) देवदत्तको धोकाबाजी
जीवनको उत्तरार्धमा देवदत्तले बुद्धलाई संघको नेतृत्वबाट गलहत्याउन खोजे । बुद्ध ७२ वर्ष भइसकेका थिए । उनीप्रति भिक्षुहरूको अगाध श्रद्धा थियो । केही नलाग्दा देवदत्तले भिक्षुहरूका लागि अर्को कडा पाँच नियमको पासो थापे । १) भिक्षु केवल वनमा रहनुपर्छ । गाउँ वा नगरमा सुत्ने अनुमति नदिइयोस् । २) भिक्षुले भिक्षाटन गर्नुपर्छ । उपासककहाँ भोजन गर्न जानु हुँदैन । ३) भिक्षुले पुराना कपडाबाट चिवर सिलाउनुपर्छ । उपासकले दिएको नयाँ कपडा स्विकार्नु हुँदैन । ४) भिक्षु रूखको फेदमा सुत्नुपर्छ । कुटी वा भवनमा सुत्नु हुँदैन । ५) भिक्षुले केवल शाकाहारी भोजन गर्नुपर्छ । बुद्ध मध्यमार्गी थिए । उनले यी नियमको कडीकडाउलाई स्विकार्न सकेनन् । त्यसपछि देवदत्तले झन्डै ५ सय भिक्षुलाई साथ लिएर अर्कै संघ खोले । 
७) हत्याको तीन दुष्प्रयास
यसपछि तीनपल्ट बुद्धको हत्या प्रयास भयो ।
एक दिन बुद्ध गृद्धकुट शिखरमा साधना गरिरहेका थिए । आँखा खोल्दा रूखपछाडिबाट एउटा मान्छे उनलाई हेरिरहेको थियो । बुद्धको पाउमा तरबार राखेर उसले नमन गर्दै भन्यो, ‘गौतम, मलाई तपाईँको हत्या गर्ने आदेश दिइएको थियो । मैले दुवै हातले दसपल्ट तरबार उठाएँ तर एकै कदम अघि बढ्न सकिनँ । अब के गरूँ ? मेरा मालिकले मलाई जीवित छाड्ने छैनन् ।’
आदेश दिनेको नाम उसले बताउन सकेन । बुद्धले उसलाई कोसलमा नयाँ जिन्दगी बिताउने व्यवस्था गरिदिए । बाटो बिराएका भिक्षुहरूलाई भेट्न जान लागेका सारीपुत्त र मौदगल्यायनले यो थाहा पाएर यात्रा स्थगित गर्न खोजे । बुद्धले भने, ‘चिन्ता नगर्नुस् । तथागत कुनै पनि खतराको सामना गर्न तयार छ । तपाईँहरू निश्चिन्त भएर जानुस् ।’
एक दिन उनी पहाडको चट्टानमा उभिएर सायंकालीन आकाशको सौन्दर्य निहारिरहेका थिए । माथिबाट अजंगको ढुंगा गुड्दै आयो । दुवैतिर चट्टानले घेरिएको साँघुरो बाटोमा दायाँबायाँ गर्नु असम्भव थियो । संयोगले ढुंगा चट्टानको बीचमा अड्कियो । तैपनि फुटेको टुक्रा खुट्टामा लाग्दा उनी रक्ताम्मे भए । माथितिर हेर्दा एक जना भागिरहेको थियो । यो देखेका भिक्षुले राति टोली बनाएर बुद्धलाई सुरक्षा दिने योजना बनाए । तर, बुद्धले आदेश दिए, ‘तथागतलाई सुरक्षाको आवश्यकता छैन । तपाईंहरू आ–आफ्ना कुटीमा गएर आराम गर्नुस् ।’
त्यसको दस दिनपछि नलगिरि नामक क्रोधित हात्ती लगाएर उनलाई मार्न खोजियो । भिक्षाटन गरिरहेका बेला हात्ती सुँढ उचाल्दै बुद्धतिर आयो । उनी शान्त भावले त्यहीँ खडा भइरहे । भिक्षु आनन्द सास रोकेर हात्ती र बुद्धका बीच उभिन आइपुगे । हन्हको पुस्तकअनुसार त्यसै बेला बुद्धले हात्तीको स्वर निकाले । उनको आवाज रानी हात्तीको जस्तै थियो । रक्षितवनमा रानी हात्तीसँग उनले मित्रता गाँसेका थिए । हात्तीको आवाज सुन्नेबित्तिकै नलगिरिले हातपाउ बिसाएर शिर निहुरायो मानौँ ऊ बुद्धलाई नमन गरिरहेको थियो । बुद्धले एक हातले त्यसको सुँढ समाते र अर्को हातले शिर थपथपाए । त्यसलाई हात्तीसाला पुर्‍याएर प्रबन्धकलाई उनले भने, ‘यो हात्ती कसको आदेशले छाडियो भन्ने म जान्न चाहन्नँ । किन्तु, यसले सयौँ व्यक्ति मार्न सक्थ्यो । भविष्यमा यस्तो हुन कहिल्यै नदिनू ।’ प्रबन्धकले माफी माग्दै बुद्धलाई प्रणाम गर्‍यो ।
 ८) अजातशत्रुको बर्बरता
देवदत्त छुट्टिएर गएपछि मगधमा अनेक बितन्डा हुन थाल्यो । उनले राजा बिम्बिसारका छोरा अजातशत्रुलाई हात लिए । चन्द्रगुप्त मौर्यका छोरा बिम्बिसार बुद्धका उपासक थिए । त्यो उनका लागि अत्यन्त खतरा साबित भयो । कुनै मध्यरात राजाको कक्षमा सन्देहास्पद स्थितिमा घुसेका राजकुमारलाई अंगरक्षकले पक्राउ गरे । तलासी लिँदा राजकुमारले लुकाएर ल्याएको खड्ग फेला पर्‍यो । राजाले सोधे, ‘राजकुमार, तिमी खड्ग लिएर किन यहाँ आयौ ?’
‘पिताजी, म तपाईँको हत्या गरेर राजा बन्न चाहन्थेँ ।’
बारम्बारको केरकारपछि अजातशत्रुले स्विकारे, यो कृत्य देवदत्तको दिमागको उपज थियो । मन्त्रीगणले राजकुमार र देवदत्तलाई मृत्युदण्ड दिन सिफारिस गरे । बुद्धका सच्चा शिष्य बिम्बिसारले यो प्रस्ताव स्विकार्न सकेनन् । उनले भने, ‘म यी दुवैलाई म क्षमा गर्न चाहन्छु । भोलि नै घोषणा गरेरै छोरालाई म यो सिंहासन त्याग्छु ।’ राजाले यो घटना गोप्य राख्न आदेश दिए । यो थाहा पाएर देवदत्तले राजकुमारलाई भेटे । त्यसको दुई दिनपछि राजकुमारले राजा र दुई मन्त्रीलाई बन्दी बनाए । राज्याभिषेक समारोहलाई बुद्ध र उनका भिक्षुले बहिष्कार गरे । जनतालाई अनेक शंका भयो । केहीपछि नै उनीहरूलाई थाहा भयो, पूर्वराजा र उनका दुई मन्त्रीलाई देवदत्तको सल्लाहअनुसार बन्दी बनाइएको छ । बिस्तारै उनीहरूले देवदत्त समर्थक भिक्षुलाई भिक्षा दिन छाडे । यो, नयाँ शासकप्रतिको अप्रत्यक्ष निन्दा थियो ।
रानीबाहेक राजासँग कसैलाई भेट गर्न दिइएन । रानी दिनहुँ राजाका लागि भोजन लिएर जान्थिन् । पछि भोजन बन्द गरियो । बिम्बिसार भन्थे, ‘मलाई छोराको यस कार्यप्रति कुनै घृणा छैन । म मर्न चाहन्छु तर देशमा गृहयुद्ध देख्न चाहन्नँ ।’ त्यसपछि रानीले भातका ससाना डल्ला कपालमा लुकाएर राजालाई खुवाउन थालिन् । पूर्वराजा अझै नमरेको देखेपछि फेरि पूर्वरानी विदेहीको तलासी लिइयो । त्यसपछि रानीले दूध, सख्खर र पिठोको लेप शरीरमा दलेर, त्यही लेप माडेर राजालाई खुवाउन थालिन् । बुद्ध बसेको गृद्धकुट पर्वततिर हेरेर बिम्बिसार ध्यान गर्छन् भन्ने थाहा पाएपछि त्यही झ्याल पनि बन्द गरियो । पछि पूर्वरानीलाई पूर्वराजासँग भेट्न पूरै मनाही गरियो । यति गर्दा पनि राजाको मृत्यु नभएको देखेपछि अजातशत्रुले बगरे बोलाएर राजाका दुवै खुट्टा काट्न लगाए । त्यसमा नुन, तातो तेल र भर्भराउँदो आगोको गोल राखियो । यसरी राजाको क्रूरतापूर्वक हत्या गरियो । 
पछि झन्डै यस्तै घटना कोसलमा पनि भयो । राजा प्रेसेनजितको निधन राजगृहको एक धर्मशालामा दीनहीन अवस्थामा भयो । प्रसेनजित एक दिन बुद्धलाई भेट्न शाक्य राज्यको मेदालुम्पा आएका थिए । राजकुमार विडुडाभ र प्रधानसेनापति कारायण पनि साथै थिए । राजाले प्रधानसेनापतिलाई राजकीय खड्ग र मुकुट रथमा राख्न पठाए । बुद्धलाई भेटेर जब राजा बाहिर निस्किँदा चार रथको ठाउँमा एउटै मात्र बाँकी थियो । प्रधानसेनापतिले राजकीय खड्ग र मुकुटसहित जबर्जस्ती सबैलाई श्राबस्ती पुर्‍याए । सेनापतिले राजकुमार विडुडाभलाई भने, ‘राजा बूढा भए । अब तपाईँ सिंहासनमा बस्नुस् ।’ राजकुमारले अस्विकार्दा सेनापतिले आफैँ सिंहासनमा बस्ने चेतावनी दिए । राजकुमार यसरी बाध्य भएर सिंहासनमा बसे । राजा प्रसेनजित मगध नरेश तथा ज्वाइँ अजातशत्रुको सहयोग लिन राजगृह पुगे । राति ढिलो पुगेकाले उनले राजमहलको ढोका ढकढकाउनु उचित ठानेनन् । उनी धर्मशालामा बसे । त्यसै रात राजालाई बेस्सरी ज्वरो आयो । त्यहीँ सारथिको काखमा उनले प्राण त्यागे । यी सबै बुद्धविरुद्ध देवदत्तले खेलेका षड्यन्त्रकारी खेलका परिणाम थिए ।
९) मौदगल्यायनको हत्या
पिता शुद्धोदनको निधन हुँदा दरबार शून्य थियो । सिंहासनमा बस्ने हक बुद्धलाई थियो । उनले सहर्ष त्यो हक ठूला बाका छोरा महानामलाई सुम्पिए । बुद्धको त परिवारै, आमा महाप्रजापति, पत्नी यशोधरा, भाइ नन्द र छोरा राहुल सद्धर्ममा लागेर भिक्षु बनेको थिए । बुद्ध ७८ वर्ष पुग्दा उनका उपासक राजा प्रसेनजित र बिम्बिसारको मृत्यु भइसकेको थियो । बुद्धका प्रथम पाँच शिष्यमध्ये एक कौडन्न अनि काश्यप बन्धु, भिक्षुणी महाप्रजापति, बुद्धका छोरा भिक्षु राहुल र भिक्षुणी यशोधरा पनि बितिसकेका थिए । प्रसेनजितको मृत्युलगत्तै वेणुवनमा विरोधी सन्न्यासीहरूले बुद्धका वरिष्ठ शिष्य मौदगल्यायनको हत्या गरे जो निर्भयता र स्पष्टवादिताका लागि विख्यात थिए । अन्य सम्प्रदायका व्यक्ति उनीसँग क्रुद्ध थिए । एक बिहान दुई भिक्षुसहित भिक्षाटनका लागि निस्कँदा बिहारको बाहिरपट्टि लुकेर बसेका केही व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरे । घटनास्थलमै उनको मृत्यु भयो । 
१०) पेट पीडा र महापरिनिर्वाण 
बौद्ध साहित्यमा बुद्धको निधनलाई महापरिनिर्वाण भनिन्छ । ८० वर्षको उमेरमा बुद्धले वैशाली, भन्डग्राम र पावामा देशना दिए । पावामा कामी समुदायका उपासक चण्डले बुद्ध र उनका ३ सय शिष्यलाई विशेष भोजन गराए । चण्ड स्वयंले बुद्धका लागि भोजन पस्किए जसमा चन्दन वृक्षको काष्ठफूलको विशेष भोजन ‘सुकर माद्दव’ समावेश थियो । 
भोजनपछि बुद्धले चण्डलाई भने, ‘यो भोजन खाल्डो खनेर पुरिदिनू । कसैलाई नखुवाउनू ।’ रातभरि बुद्धको पेटमा असह्य पीडा भयो । यही पीडाबीच पनि कुशीनगर यात्रामा मल्ल वंशका पुक्कुसलाई शिष्य स्विकारी उनले उपदेश दिए । कुकुथ नदीमा स्नानपछि आनन्दलाई भने, ‘मेरो स्वास्थ्य बिग्रिनुमा चण्डको कुनै दोष छैन । त्यो, मेरो जीवनभरिकै सर्वोत्तम दुई भोजनमध्ये एक थियो । सबैले चण्डलाई धन्यवाद दिनू ।’ त्यही पीडाले कुशीनगर नपुग्दै सालवनमा उनी मृत्युशय्यामा पुगे । मृत्युशय्यामै उनले सन्न्यासी सुभद्रको आग्रहमा प्रवचन दिए र उनलाई शिशु स्विकारे । ‘जन्मेपछि मृत्यु अनिवार्य छ । ज्ञान अर्थात् मुक्ति प्राप्त गर्ने बाटोमा सबै जना परिश्रमी भएर अघि बढ्नू’, यति भनेर शान्तिपूर्वक उनले प्राण त्यागे । उनलाई थाहा थियो, त्यसै रात उनको निधन हुनेछ । मृत्युसँग उनी अलिकति पनि भयभीत थिएनन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : वैशाख २३, २०७४ ०९:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एक पुरुषको नारीवादी सूत्र

अभय श्रेष्ठ

कोलम्बियाली आख्यानकार गाब्रियल गार्सिया मार्खेजको प्रसिद्ध कथा ‘आई अन्ली केम टु युज द फोन’ पढेपछि लामो समयसम्म मेरो हृदय तरंगित भइरह्यो । नारीको सार्वभौम दु:खको त्यो यस्तो हृदयविदारक कथा थियो जुन कम्तीमा मैले दस पटक पढेँ हुँला । त्यसपछि कति दिन म अरू केही पढ्न नसक्ने भएँ । बार्सिलोना फर्कन लाग्दा पार्लर जादुगर सेटुर्नोकी सुन्दरी पत्नी मारियाको भाडाको कार बिग्रन्छ ।

ऊ आफ्नो शंकालु लोग्नेलाई फोनबाट यो खबर दिन चाहन्छे । तर, लिफ्ट दिने गाडीले उसलाई पागलखाना लगेर छाडिदिन्छ । कति दु:खले भेटिएका श्रीमान्लाई ऊ सबै बताइदिन्छे । यता, श्रीमान् पनि उसलाई पागल नै सम्झन्छ । अन्तत: ऊ दोस्रो बिहे गरेर आफ्नै देश फर्कन्छ । जब ऊ शंकालु र अति कामुक पतिलाई छाडेर पादरीसँग बिहे गर्न चर्च पुगेकी थिई, त्यहाँ उपस्थितै नभएर पादरीले धोका दियो । फर्केर जब ऊ पतिलाई नै पूरै तनमनले माया गर्न थाली, पतिले उसको संवेदना बुझ्दै बुझेन । सेटुर्नोले केही पैसा र एउटा बिरालो आफ्नी गर्लफ्रेन्ड रोजालाई छाडेर गएको हुन्छ । रोजा त्यही पैसाले मारियालाई पागलखानामा नियमित चुरोट पठाउँछे । चाँडै नै चुरोट बन्द हुन्छ र एक दिन ऊ त्यो बिरालोसमेत मारियाकहाँ छाडिदिन्छे । प्रस्ट थियो, सेटुर्नोले उसलाई दिएको पैसा सकिसकेको हुन्छ । यस कथाको चुरो के हो भने नारीका दु:ख र विडम्बना पुरुषका भन्दा विशिष्ट र बेग्लै छन् । मेरो विचारमा, यही फरकपनाले समताको पैरवी गर्दै नारीवादी आन्दोलन सुरु भएको हो । अत: नारीका पक्षमा हामीले गर्नुपर्ने कुरा धेरै छन् ।

१) नारीवाद, नारी अधिकार, नारी संवेदना र अस्मिताका कुरा पुरुषविरोधी होइनन् । उन्नत, समतामूलक, मानवीय गरिमायुक्त समाज निर्माणका लागि पुरुषसरह नारीको अधिकार र आत्मसम्मानको रक्षा गर्नु पुरुषको पनि उत्तिकै दायित्व हो । नेपालमा नारी, दलित र पिछडिएका समुदायको अधिकारको सवाललाई उग्र विचार ठान्ने सामान्य प्रवृत्ति छ । कतिपय स्मार्ट महिला, दलित र पिछडिएको समुदायका व्यक्ति स्वयं यस सवाललाई ‘बेकार’ र एनजीओको मुद्दा ठान्छन् । यो समाजबोधमा आएको वैचारिक समस्याको परिणाम हो । तपाईँ न्यायप्रेमी हुनुहुन्छ भने पुरुष भए पनि नारी अधिकारका पक्षधर हुनैपर्छ । जसरी मानवशास्त्री डोरबहादुर विष्ट जातले झर्रो क्षत्री भएर पनि दलित, महिला, अल्पसंख्यक, जनजाति, पिछडिएका समुदाय र क्षेत्रका पक्षपाती थिए । 
एकातिर, शारीरिक रूपले पुरुषका तुलनामा महिला कमजोर हुन्छन् । प्राकृतिक रूपले पनि तिनका केही बाध्यता र दायित्व बढी छन् । १० महिनासम्म गर्भ वहन, ३ महिनासम्म प्रसूति, दुई वर्षसम्म स्तनपान र महिनैपिच्छे पाँच दिनको रजश्वला तिनका अनिवार्य बाध्यता र दायित्व हुन् । यसले प्रतिस्पर्धाको भूमिमा तिनलाई पछाडि पारिरहेको हुन्छ । अर्कातिर हाम्रो संरचना नै यस्तो विभेदी छ जसले तिनलाई स्वत: पुरुषको तुलनामा पछाडि पार्छ । बसमा, जागिरमा, विभिन्न समिति र संरचनामा महिलालाई दिइएको आरक्षण त्यही दायित्व, त्यही बाध्यता र त्यही विभेदको क्षतिपूर्ति हो । समान प्रतिस्पर्धात्मक स्थिति नबनुन्जेल हुनुपर्ने प्रावधान यही हो । समतामूलक समाज निर्माणको यो गाँठी कुरा हामीले हाम्रा दाजुभाइ, दिदीबहिनी, आमाबुबा, हजुरबा, हजुरआमा, सासूससुरा, बुहारी, नन्द र आमाजूहरूलाई राम्ररी बुझाउनु जरुरी छ ।

२) कानुनी रूपमा जे भनिए पनि ज्ञान र आर्थिक अधिकारमा नारीमाथि अझै विभेद छ । नेपालमा आर्थिक अधिकारको सबैभन्दा भरपर्दो स्रोत पैतृक सम्पत्ति नै हो । त्यसमा महिलाको पनि समान हक छ । तर, संसद्मा यही अधिकार पनि हनन गर्ने विधेयक पारित हुने तर्खर हुँदैछ । त्यो विधेयक पारित भएपछि बाबुआमाले इच्छाएको व्यक्तिलाई आफ्नो सम्पत्ति दिन पाउँछन् । पुँजीवादको चरम विकास भइसकेको समाजमा मात्र फिट हुने यस प्रावधानले महिला उत्थानलाई एक कदम पछाडि हटाउँछ । प्रस्ट छ, यस स्थितिमा अधिकांश नेपाली बाबुआमाले छोरालाई नै सम्पत्तिको भरपर्दो रक्षक ठान्छन् । सारा महिला, नारीवादी र न्यायप्रेमी पुरुषले पनि प्रतिवाद र प्रतिरोध गरेर यसलाई रोक्नु जरुरी छ ।

 ३) सर्वहाराजस्तै नारी पनि हाम्रो समाजमा शासित वर्ग हो । अत: कम्युनिस्टहरू नारी मुक्तिलाई वर्गीय मुक्तिसँग जोड्न चाहन्छन् । आर्थिक अधिकार प्राप्तिपछि नै उसको मुक्ति सम्भव हुन्छ । अलि वर्षअघि काठमाडौँमा हेनरिक इब्सेनको ‘पुतलीको घर’ र यही वर्ष भीष्म साहनीको ‘माधवी’ नाटक मञ्चित भए । ‘पुतलीको घर’ की नायिका नोरा श्रीमान्को असीम अपमानपछि घर छाडेर हिँड्छिन् । कहाँ हिँड्छिन् नाटकले केही भन्दैन । यता माधवीचाहिँ प्रेमी गालबप्रति आफ्नो प्रेम एकतर्फी रहेछ भन्ने थाहा पाएपछि प्रेमको मोह त्यागेर जंगल जान्छिन् । स्वाधीनताको खोजीमा दुवैले साहसिक कदम चालेका हुन् । तर, यो यात्रा परिणाममूलक र अर्थपूर्ण हुने सम्भावना कम छ । किनभने दुवैसँग आर्थिक अधिकार छैन । आर्थिक अधिकारबिना मान्छे शक्तिहीन हुन्छ । नोराको सम्बन्धमा चिनियाँ साहित्यकार लु सुन भन्छन्, ‘उनीसँग मात्र दुई विकल्प छन् । कि नगरबधू भएर बाँच्नु कि त पतिकै घर फर्कनु ।’ माधवीको हकमा पनि यही कुरा लागू हुन्छ । लुसुनको जोड आर्थिक अधिकारमाथि थियो जसले नारीलाई आत्मनिर्भर बनाउँछ । 
आर्थिक अधिकार भनेको सत्ता हो । पुरुषसँग आर्थिक अधिकार भएकैले पितृसत्ता चलेको हो । त्यसैले कानुनले रोके पनि पुरुषहरू आफ्नी श्रीमती मन नपरे पूर्वी समाजमा सजिलै अर्को बिहे गर्छन् । श्रीमती भने जति यातना सहनुपरे पनि, श्रीमान् जति नै मन नपरे पनि उसैकी भएर बसिरहन्छिन् । प्रस्ट छ, उनी श्रीमान् आश्रित छिन् । यो बेग्लै कुरा हो, खस आर्य समाजमा धर्म र सामाजिक संस्कारका कारण पनि यातना सहेरै आफूलाई प्रेम नगर्ने, सौता हाल्ने वा आफूलाई पटक्कै मन नपर्ने श्रीमान्सँग जीवन उत्सर्ग गर्न बाध्य हुन्छिन् । आर्थिक अधिकार हुने हो भने सामाजिक संस्कार पनि बिस्तारै परिवर्तन हुन्छ । अनि मन नपरेको श्रीमान्लाई छाडेर पनि उनी आत्मनिर्भर भएर बाँच्न सक्छिन् । अथवा, उनको पनि नयाा श्रीमान् ल्याउने हैसियत हुन्छ ।

४) सत्ता शक्तिको स्रोत हो । परिवर्तन त यही शक्तिले ल्याउँछ । राज्य तथा सामाजिक संरचनामा महिलाको अनिवार्य सहभागिता यही सामाजिक सत्ता परिवर्तनका लागि हो । हाम्रो समाज संस्कारका हिसाबले सामन्ती र संरचनाका हिसाबले पितृसत्तात्मक हो । त्यसैले यहाँ बिहेपछि महिलाले आफ्नो थर थाती राखी श्रीमान्को थर ग्रहण गर्छिन् । यो, सर्वसाधारणको हकमा लागू हुने कुरा भयो । तर, कुनै थापा वा बस्नेतले शमशेर राणाकी छोरी बिहे गरे उसको नामको बीचमा पनि शमशेर जोडिन्छ । जस्तो : युधीरशमशेर थापा, रत्नशमशेर थापा । यो कसरी भयो ? कवि निभा शाह यसलाई ‘सत्ताको कमाल’ ठान्छिन् । अहिले पनि हाम्रो सामाजिक सत्ताको बेलो राणा र शाहहरूमै छ । सत्ताले कसरी सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने यो एउटा उदाहरण हो । 

५) पहिलो संविधानसभाका कामलाई दोस्रो संविधानसभाले निरन्तरता दिने सहमति दलहरूबीच भएको थियो । यस क्रममा राज्ययन्त्रका हरेक अंगमा अन्तरिम संविधानको ३३ प्रतिशतबाट बढाएर पहिलो संविधानसभाले ५१.५ प्रतिशत महिला हुने व्यवस्था पारित गरेको थियो । यो प्रावधान महिला जनसंख्याको अनुपातमै थियो । संविधान बनेर आउँदा कृष्ण सिटौला नेतृत्वको मस्यौदा समितिले त्यसलाई ३३ प्रतिशतमै सीमिति गर्‍यो । कतिपय संरचनामा त्यही पनि निश्चित गरिएको छैन । जस्तो कि : पहिलो संविधानसभाले मन्त्रिपरिषद्, व्यवस्थापिका र राज्यका सर्वोच्च पदाधिकारी एउटा लिंगको भए दोस्रो पदाधिकारी अर्को लिंगको हुने व्यवस्था गरेको थियो । पुरुष प्रधानमन्त्री भए महिला उपप्रधानमन्त्री, महिला प्रधानमन्त्री भए पुरुष उपप्रधानमन्त्री । यही कुरा राष्ट्रपति, सभामुखमा पनि लागू हुने प्रावधान थियो । पहिलो संविधानसभाका विषयगत समितिले सर्वसम्मतिले टुंग्याएका यस्ता धेरै परिवर्तनकारी प्रावधान थिए जुन न्यायमूलक समाज निर्माणका लागि अनिवार्य हुन्छन् । संविधान बनेर आउँदा यीमध्ये कतिपय पदमा महिला सहभागिताको सुनिश्चिता छैन । (हो, स्थानीय तहमा भने केही सन्तोषजनक प्रावधान राखिएका छन् ।) प्रस्ट छ, यसमा मेरिटोक्रेसीको सवाल उठाइएको थियो । कुनै पनि पदका लागि न्यूनतम योग्यताको प्रावधान राख्ने हो भने महिलाबाट पनि उत्तिकै वा अझ बढी मेरिट प्राप्त गर्न सकिन्छ भन्ने जनमत निर्माण गर्नु जरुरी छ । 

६) पैतृक सम्पत्तिमा लैंगिक भेदभावबिना समान हक, समान कामका लागि महिला–पुरुष दुवैलाई समान ज्याला, समान वंशीय हक, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक, आमाको नामबाट पनि नागरिकता आदि संंविधानले दिएका नारी अधिकार आन्दोलनका उपलब्धिहरू हुन् । तर, आमाको नामबाट नागरिकता पाउने व्यवस्था भए पनि पाइला–पाइलामा तिनका आत्मसम्मानमा प्रहार हुने स्थिति साक्षात्कार हुन्छ । नागरिकतासम्बन्धी अझै थुप्रै विभेद छन् । नागरिकताका मामलामा तिनले आधा लडाइँ लड्न अझै बाँकी छ ।

७) विद्यादेवी भण्डारी राष्ट्रपति भइन् । ओनसरी घर्तीमगर सभामुख र सुशीला कार्की प्रधान न्यायाधीश । मुख्य पदहरूमा महिलाको सहभागिता हुनु खुसीको कुरा हो । तर, त्यसभन्दा महत्त्वपूर्ण कुरा, ती ठाउँमा नारी अस्मिता, संवेदना र समताप्रति सचेत महिला पुगे कि पुगेनन् भन्ने हो । कन्फर्मिस्ट समाजकै प्रतिनिधि महिला त्यहाँ पुग्नु र नपुग्नुमा खासै अन्तर हुँदैन ।

८) सैनिक अधिकृत श्रीमती संघ, इन्जिनियर श्रीमती संघ, न्यायाधीश श्रीमती संघ, डाक्टर श्रीमती संघ, प्रहरी अधिकृत श्रीमती संघ, पत्रकार श्रीमती संघजस्ता संस्था गठन र तिनका गतिविधिलाई महत्त्व नदिनुहोस् । तपाईँ आफ्ना श्रीमान् वा पार्टनरको उन्नतिमा खुसी हुनुहोस् । आफू उन्नति गर्नुहोस्, तर कसैको पनि छायाँ बन्नमा गर्व नगर्नुस् । सैनिक अधिकृत श्रीमान् संघ, प्रहरी अधिकृत श्रीमान् संघ, अधिवक्ता श्रीमान् संघ किन गठन हुँदैनन् ? किनभने श्रीमान्हरू श्रीमतीका नामबाट चिनिन र तिनका छायामा रहन जरुरी ठान्दैनन् । विधवा, बोक्सीजस्ता शब्द विशेष र अनिवार्य परिस्थितिमा बाहेक प्रयोग नगर्नुस् । 

९) नारीलाई कोमल, लजालु, कमनीय, सुन्दरताकी प्रतीक मानिएकोमा हाम्रा नारीवादीहरू पाखुरा खैँचन्छन् । म चाहिँ यसलाई आपत्तिजनक ठान्दिनँ । यी त नारीका प्राकृतिक गुण हुन् जुन पुरुषमा हुँदैन । यिनै गुणले नारी अस्मितालाई विशिष्ट बनाउँछ । ओशोले विज्ञानलाई पुरुष र प्रकृतिलाई नारीका रूपमा तुलना गर्नुको तात्पर्य यही हो । मुख्य कुरा, नारीलाई पूर्ण मानवका रूपमा स्वीकार गरिएको छ कि छैन भन्नेमा ध्यान केन्द्रित हुनुपर्छ । आर्थिक अधिकार र ज्ञानको अधिकार पाए यिनै कोमल, लजालु, कमनीय र सुन्दर नारीहरू विश्वस्त, निर्भीक, वाचाल र विदुषी हुन्छन् । तिनैले नारीलाई आत्मनिर्भर बनाउँछन् ।

१०) मिडिया पुँजीवादको गाडी हो । सम्पादक त्यसको ड्राइभर र पत्रकारहरू खलाँसी । यसको ‘हेराइ’ पुरुष हेराइ हो । पुँजीवादले जे बिक्छ, त्यही बेच्छ । यसले नारीका चिल्ला गाला, चिल्ला पिँडुला, उन्नत वक्ष र बान्की परेका क्लिभेजलाई महत्व दिन्छ । आज संसारकै ब्रोडसिट अखबारका कानमा सधैँ नारीका यिनै चिल्ला अंगले किन स्थान पाइरहेका छन् भन्ने सजिलै बुझ्न सकिन्छ । टेब्लोइड अखबारको त कुरै गर्नुपरेन । 
एकातिर, हामीले यिनै अखबार, टेलिभिजन र विज्ञापनका व्यापारिक नियतको नकाब खोलिदिनु जरुरी छ । अर्कातिर, आदर्श पात्र र प्रतीकको छनोटमा पनि उत्तिकै ध्यान दिनुपर्छ । जस्तो कि : हामी रेखा थापालाई उदाहरणीय मान्छौँ कि उमा बादीलाई ? म त उमा बादीलाई नै मान्छु । २०६४ सालमा उमा बादीको नेतृत्वमा मध्यपश्चिम र सुदूर पश्चिमका बादी महिलाले काठमाडौँ हल्लाउने राजनीतिक आन्दोलन गरे । तिनले सिंहदरबारको मूल ढोकामा उभिएर अर्ध नग्न प्रदर्शन गरे । रेखा थापाले पनि सिनेमामा लुगा खोल्ने र शरीर देखाउने नै हो । बादी महिलाले पनि त्यही गरे । हाम्रा लागि त संसार सुन्दरी मार्लिन मुनरोभन्दा कालीमैली उमा बादी नै उदाहरणीय पात्र हुन् ।

 ११) विवाह हिन्दु समाजमा नारी–पुरुष सहवासका लागि लाइसेन्स दिने संस्था हो । सभ्यताको विकास क्रममा यौनलाई मर्यादित राख्न र सामाजिक स्वीकृति दिन यो संस्था खडा भएको हो । तर, यो निष्पाप उद्देश्यको संस्था कतिलाई झ्यालखाना भइदिन्छ । ओशो रजनिश त्यसैले त यसलाई भ्रष्ट संस्था भन्छन् । जब प्राकृतिक आवश्यकतालाई सामाजिक र नैतिक बन्धनहरूले जबर्जस्ती बाँध्न खोजिन्छ, त्यहाँ केही न केही विस्फोट हुन्छ । नभए, चोरीसिकार हुन थाल्छ । पश्चिमा समाजमा यो संस्था कठोर छैन । त्यसैले त्यहाँ यो ठूलो समस्या होइन । 
हिन्दु समाजमा विवाह जन्मजन्मान्तरको सम्बन्ध हो । विवाहमा तिनले यस्तै शपथ लिएका हुन्छन् । यौवनमै पत्नीको निधन भएमा पुरुषका हकमा यो बन्धन सजिलै तोडिन्छ । पत्नीको वर्षे काजकिरिया नसकी पतिलाई अर्की पत्नी ल्याउन क्वारेन्टाइन खुला हुन्छ । यही कुरा महिलाका हकमा बन्धन हुन्छ । कुनै पुरुषसँग खुलेर हँसीमजाक गर्दा उसमाथि चरित्रहीनताको आरोप लाग्छ । सामाजिक बन्धन तोडेर भागीचोरी गर्नेको कुरा बेग्लै, नत्र कुनै पनि विधवाले विवाह गर्ने कल्पना गर्न सकिन्न । आफ्नो सुविधाका लागि पुरुषले बनाएको थोत्रो संस्कारको पालनाचाहिँ उसले गर्नुपर्छ । विवाह त समाज निर्मित संस्था भयो । यौन प्राकृतिक कुरा । यो विवाह संस्था बन्नुअघि थियो । विवाहबिना पनि रहन्छ र रहिरहनेछ । अत: हिन्दु समाजमा सतीसाध्वी विधवा यो प्राकृतिक आवश्यकताबाट वञ्चित भएर अनेक मानसिक जटिलतामा फस्न बाध्य हुन्छे । कि उसले भागीचोरी विवाह गर्नुपर्ने हुन्छ । कि ऊ पनि चोरीसिकार गर्न बाध्य हुन्छे । जब उसको चोरीसिकार पक्राउ पर्छ, उसले आफ्नो थातथलो छाडेर हिँड्नुपर्ने हुन्छ । विधवाभन्दा पनि अझै पीडित हुन्छन् सामाजिक सम्मान पाएका अपांग महिला । 
यो त भयो खस आर्य समाजको ‘आदर्श’ । सत्तासीन जातिको ‘आदर्श’ भएकाले यो, उच्च जातीय नेवार, खसकृत जनजाति, खस दलित र समग्र नेपाली समाजकै ‘आदर्श’ हो । त्यो महिलाका लागि कैद साबित भइसक्यो । नेवार समुदायमा भने महिलाको तीनपल्ट बिहे हुन्छ । पहिलो बिहे बेलसाग, दोस्रो बिहे रजश्वला हुनुअघि बाह्र दिनको गुफावासपछि पहिलो पल्ट सूर्यदर्शन (भिं बाह्रा) सागै सूर्यसाग र तेस्रो बिहे पुरुषसाग । बेल र सूर्यसाग बिहे भएपछि यौवनमै पतिको मृत्यु भए पनि ऊ कहिल्यै विधवा र अर्को बिहेका लागि ऊ ‘बिटुली’ मानिन्न । सुदूर पश्चिमका थारू जातिमा त अझै अग्रगामी संस्कार छ । जवानीमै पतिको मृत्यु भए पत्नीले आफूलाई मन परेको श्रीमान् घरमै ल्याउन पाउाछन् । खोज्दै गए राई, लिम्बु, धिमाल र अन्य जनजातिमा पनि महिलाका पक्षमा यस्तो प्रगतिशील संस्कार पाइन्छ । यहाानिर फेरि महिलालाई आर्थिक अधिकारकै प्रसंग जोड्नुपर्ने हुन्छ । नेवार समुदायमा तल्लो मानिने केही जाति, थारू, राई लिम्बुलगायत जनजातिमा महिलालाई आर्थिक अधिकार हुन्छ । त्यसैले त्यहाा धेरै हदसम्म मातृसत्ता छ । खस आर्य समाजमा पनि नारीलाई आर्थिक अधिकार हुने हो भने बिस्तारै नारीमैत्री संस्कार बन्दै जान्छ । त्यसपछि विवाह संस्था भए पनि, नभए पनि फरक पर्दैन । 

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT