कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गुरु सरको सम्झना

बसन्त बस्नेत

पाँचथर रवि क्षेत्रको शिक्षामा झन्डै ५ दशक बिताउनुभएका पण्डित लग्नप्रसाद खनालमाथि ‘ओबिचुअरी’ हो यो । आजीवन ‘लो प्रोफाइल’ मा बसेर अग्लो छाप छाडी जानुभएका उहाँबारे महानताको उत्रो वर्णन छैन, तर नहुँदा पनि भन्नैपर्ने केही खास छ ।

गुरु सरको सम्झना

दुर्गा मावि रविमा २०२३ सालदेखि २०६७ सम्म पढाउनुभएका लग्न सरले पढाएका विद्यार्थीको– विद्यार्थीको–विद्यार्थी थियौं हामी । स्कुलमा प्रार्थना सत्रको अघिल्तिर सेतो छडी टेक्दै उभिनुहुन्थ्यो लग्न गुरु । अरू सबैले हेडसर दिलेन्द्र राईलाई नमस्ते गरेको देखिन्थ्यो । हेडसरले चाहिँ उहाँलाई । लग्न गुरुलाई सबैले बोलाउने नाम थियो— गुरु सर । मलाई यो एकै ठाउँमा खाप्चे पारेको ‘गुरु सर’ भन्ने शब्दै रोचक लाग्थ्यो । गुरु भनेकै सर । सर भनेकै गुरु । तर अहिले लाग्छ— यो ‘गुरु’ ले विद्या, अनि ‘सर’ ले शिक्षाको सन्धि बुझाउँथ्यो कि ?
सप्तमी बजारको युवा वर्ष निमाविमा कक्षा आठ छिचोलेर नौ–दस पढ्न रवि जाँदा हाम्रा सुरुवाती नेपाली शिक्षक बन्न आइपुग्नुभयो, गंगाप्रसाद अधिकारी । खोलाघरे साहिँलो साहित्यिक नामले उहाँ पूर्वतिर ख्यातनाम हुनुहुन्छ । गंगा सरको नेपाली पढाउने काइदा मनोहारी थियो । लिम्बू र मगर बस्तीमा हुर्केका हामीले त्यस बेलासम्म त्यसरी छङ्छङ् लहराउने नेपाली बोलेको सुनेकै थिएनौं । एक महिना नबित्दै कक्षागत रुटिन मिलाउने क्रममा नेपाली, गणित, विज्ञानका शिक्षक अदलबदल भए । गंगा सर कक्षा १० मा जानुभयो, गुरु सर नौमा । शिक्षाको सिँढी पनि कस्तो कस्तो । विद्यार्थीहरू कक्षा चढ्छन्, शिक्षकहरू झर्छन् ।
खासमा हामीलाई त्यस बेला गंगा सरसितै पढ्ने रहर थियो । मन्दाक्रान्ता, शिखरिणी र शार्दूलविक्रिडित छन्दलाई गीतजस्तै लयबद्ध गाउन सक्ने गंगा सर । बुढिँदै जानुभएका गुरु सरले त्यसरी छन्द गाउनु कसरी ? बनारसमा संस्कृतको उच्च शिक्षा लिनुभएका गुरु सर जसै कक्षामा प्रवेश गर्नुभयो, कतिपय विद्यार्थीका लागि उहाँ सुपारी चपाउँदा चपाउँदा बिस्तारै रस आउँदै गएजस्तो ‘तत्सम नेपाली सर’ भएर प्रवेश गर्नुभयो । सम्झदा लाग्छ— उहाँ मेरो भोलि आउने समयका लागि भनेर जिन्दगीमै प्रवेश गर्नुभयो । मलाई ह्रस्वदीर्घ, वाक्य गठन, विवेचनात्मक उत्तर आदिमा उत्प्रेरणा जगाउने गुरु सर । मलाई बीपी कोइरालाको राजनीति र साहित्यबारे अन्तर्यमै पुगेर पढाउने र बताउने गुरु सर । मैले नेपाली भाषामा आजसम्म पढेकामध्ये सबैभन्दा प्रभावशाली पुस्तक ‘आत्मवृत्तान्त’ पढ्न दिने गुरु सर । अनि त्यसको केस्रा केस्रा व्याख्या गरिदिने गुरु सर । १४–१५ वर्षको ठिटोलाई शिक्षाको संसारबाट ज्ञानको संसारसम्म लैजान बाटो देखाउने गुरु सर । गुरु, अर्थात् अँध्यारोबाट मुक्ति ।
विषयगत जिम्मेवारीले गर्दा नेपालीका अध्यापक हुनुहुन्थ्यो लग्न गुरु, तर ‘लिबरल आट्र्स’ को सर्वज्ञ । बीपीको प्रजातान्त्रिक समाजवादी विचारधाराका प्रतिबद्ध अनुयायी हुनुहुन्थ्यो । नेपाली कांग्रेस र अरू पार्टीहरूले प्रजातन्त्रको लामो लडाइँ चलाए पनि सत्तामा गएपछि त्यसको व्यवस्थापन र नेतृत्व गर्ने मामिलामा चुक्दै गएको उहाँको ठम्याइ थियो । २०५० को मध्य दशकतिर हामी स्कुल जाँदै गर्दा माओवादी युद्ध हाम्रोतिर आउँदै थियो । माओवादी के हो, उसको विचारधारा अनि लडाइँ के हो भन्नेबारे जिज्ञासा, भय र रोमाञ्चकताहरू एकैसाथ मिसिएर हामीभित्र पस्दै थिए । उहाँ माओवादीको हिंसात्मक राजनीतिलाई समर्थन गर्नु हुन्थेन, तर समाजमा हिंसा कसरी हुने गर्छ भन्नेबारे अन्यत्रका उदाहरण दिएर बुझाउनुहुन्थ्यो । राजनीतिक क्रान्तिको इतिहास बुझ्नेबारे बृहत्तर धारणा थियो गुरु सरसित ।
हामी स्कुल पढ्दै गर्दाको एक दिन रविछेउ माल्टेनीमा जन्मे हुर्केका कवि कृष्णभूषण बल आइपुगे । भूपी शेरचन पुस्ताका नामी कवि भूषण एक साहित्यिक समारोहको सिलसिलामा आफू पढेको स्कुल फर्केका थिए । गुरु सरमाथि केही समय लिएर बोलेका उनले गुरुलाई देखाउँदै भनेको यत्ति सम्झना आउँछ— ‘मैले नेपाली भाषाको सौन्दर्य उहाँ लग्न गुरुबाट थाहा पाएँ ।’ पछिल्लो काल विराटनगर बसेका तिनै बल चार वर्षअघि बितेर जाँदा गुरुले निकै विस्मात् मान्नुभयो । भाषाविद् तथा पूर्वराजदूत नोबलकिशोर राई, अनि कवि बल गुरुले नाम लिइरहने चेलामा पर्थे ।
इलाम र पाँचथरको सिमाना बजार रवि बजार अहिले त्यस क्षेत्रकै केन्द्र मानिन्छ । रवि क्षेत्र शिक्षित हुँदा त्यसको प्रभाव दुवै जिल्लामा पथ्र्यो । गुरुले दुर्गा प्राविलाई निमावि, मावि, उच्च मावि हुँदै रवि क्याम्पस बनाउने क्रममा सक्दो योगदान गर्नुभयो । त्यस काममा रविमा पढेर स्थापित पूर्वविद्यार्थी, विद्यालय प्रशासन र स्थानीयको जोडबल छ । तिनलाई गुरु सरको सधैं प्रेरणा रह्यो ।
रवि क्षेत्रको शैक्षिक विकासमा सिंगो जीवन खर्चनुभएको गुरुलाई आफ्नो अलग्गै नाम, पहिचान बनाऔं भन्ने ध्याउन्न कहिल्यै देखिएन । तीन पुस्ताका शिक्षक शिक्षिकाहरूबीच उहाँ सधैंका प्रतिबद्ध शिक्षक भएर कक्षाकोठा धाइरहनुभयो । शिक्षण अहिले साधना कम, ‘करिअर’ बढी भएको छ । आफ्नो बाल्यकालमा मेहेलबोटे आङसराङको स्कुल, अनि पशुपतिनगर हुँदै दार्जिलिङका शिक्षालयहरू मात्रै देख्नुभएका गुरुले आफ्नै क्षेत्रमा थुप्रै स्कुल खोल्ने लक्ष्य लिनुभयो । गुरुले देखेको सपनाको बिरुवा हुर्कदै गयो । विद्यार्थीहरू हुर्केर कहाँ–कहाँ पुगे । उहाँ त्यहीँ बसेर नयाँ–नयाँ ब्याड सारिरहनुभयो ।
साहित्यकार सगुन सुसारा र मैले एकपल्ट गुरु सरमाथि केही लेखोट तयार पार्ने योजना गर्‍यौं । गुरुलाई रवि बजारको एउटा फोटो स्टुडियोमा लगेर पोज–पोजका फोटो पनि खिचाइयो । समयक्रममा त्यो काम अघि बढ्न सकेन । उच्च शिक्षाको आकांक्षासँगै कस्सिएर आएका आ–आफ्ना रहरका भारी बोकेर हामी गाउँघरबाट टाढा पुग्यौं । एक दिन सगुन दाइले भन्नुभयो, ‘गुरुलाई भेट्न घरमा जाँदा उहाँले भित्र चुलोमा लगेर खुवाउनुभयो । बाहुनहरूले हामी राईहरूलाई चुलोमै छिराउने गरेको मलाई थाहा थिएन ।’ घर गएका बेला गुरु भेट्न जानु परम्पराजस्तो बनिसकेको थियो । पछिल्लोपल्ट दुई वर्षअघि श्रीमती मीरासहित म गुरुको फुएतप्पा निवास पुगेथें । त्यो उहाँको ७६ औं जन्मदिन थियो । पक्कै बुढिनुभएको थियो, तर ‘कमजोर’ भन्ने शब्द उहाँका लागि होइन । बिहानीपख रेडियो सुन्ने, केही पढ्ने । दिउँसो खाना खाएर नजिकै मन्दिरसम्म हिँड्दै जाने । भजन कीर्तनहरूमा सहभागी हुने । बयोवृद्धहरूसित ‘बुढो हुनु भनेको के हो’ भन्नेबारे शास्त्रार्थ चलाउने । बेलुकी केटाकेटीसँग कुरा गरेर बिताउने । समाचारहरू विश्लेषण गर्ने, सुत्ने । यस्तै रहेछ उहाँको दैनिकी । मैले आफ्नो समयबारे केही लेख्न आग्रह गरें । उहाँले दुई सूत्र वाक्य बोल्नुभयो, ‘कतिपय कुरा लेखौंजस्तो लाग्छ । फेरि लाग्छ— कतिपय कुराहरू बातचितमै छोडिदिनु राम्रो हुन्छ ।’ अहो, कति छुने कुरो ! हामीलाई हिजोआज खाएको, नखाएको, घुम्न गएको, कसैलाई भेटेको जे पनि लेखिहालौंजस्तो लाग्छ— चाहे फेसबुकमै किन नहोस् । गुरु भन्दै हुनुहुन्थ्यो— कतिपय कुराहरू बातचितमै छोडिदिनु राम्रो हुन्छ ।
स्कुलमा आफूले पढाउने गरेका पाठहरूमध्ये गुरुलाई सबैभन्दा छोएको पाठ थियो— बालकृष्ण समको कविता ‘इच्छा ।’ मरेर जाने नश्वर चोलापछिको समयबारे मानिसभित्र के–कस्तो आध्यात्मिक इच्छा हुन सक्ला, समको यो कवितामा थियो । पिँढी दरपिँढी शिष्यहरूको माझमा क्रमश: बुढिँदै जानुभएको गुरुलाई पशुपतिनाथको हरियालीबीच ब्रह्मनालमा सुत्न जाँदाको समको कल्पनाले छोएको रहेछ । भाव विभोर मुद्रामा ‘इच्छा यो छ महेश अन्तिम जसै यो मृत्यु शय्या जली’ गाउन थालिहाल्नुहुन्थ्यो । गुरुमा समका चाहना अवश्य थिए, तर वनकालीको अन्तिम हावा लिनेभन्दा गाउँमै रमाउनेमा उहाँको दिलचस्पी हुनगयो । गंगा सरले फेसबुक च्याटमा भन्दै हुनुहुन्थ्यो, ‘उपचार गराउने प्रयासमा अन्तिम समय बिमारले जितेछ ।’
गुरुलाई आफू बितेर जाने दिन अलिअलि गर्दै वर सर्दै छ— को पक्का अनुभूति थियो, तर मृत्युको पटक्कै भय थिएन । बाहिरबाट नियाल्दा गुरु सरको जीवनमा कुनै क्लाइमेक्स वा आरोह–अवरोह देखिएन । आफ्नो जीवनमा उहाँ सामान्य ढंगले आउनुभयो । शान्त, सुखी र सम्यक समय बाँच्नुभयो । उसैगरी सामान्य ढंगले जानुभयो । बनारसको उच्च शिक्षा पाउने आफ्नो समयका थोरै प्रतिभाशालीमध्ये एक हुँदाहुँदै पनि अवसर र पदको महत्त्वाकांक्षा र लालसाविहीन गुरु सरको जीवन आफैंमा एउटा पाठ हो । एक साताअघि मेरो स्कुलका अंग्रेजी शिक्षक रोहित रिजालको फेसबुक स्टाटसले गुरु बित्नुभएको दु:खद खबर दिलायो । समवेदनाको भारीले थिचिएर केही कमेन्ट लेख्न सकिनँ । व्यस्तताको यो दुनियाँमा यस्सै औपचारिकता देखाउनलाई के ‘आरआईपी’ लेखिबस्नु !
एकै छिन सोचिबसें, गुरु सरले पढाएका हजारौं विद्यार्थी— तीमध्ये कतिपयलाई गुरुले चिन्न पनि छाडिसक्नुभएको थियो होला । म उहाँले अन्तिम कालसम्म राम्रैगरी चिन्ने विद्यार्थीमध्ये एक थिएँ । मेरो जीवनमा लग्न गुरुको के देन छ ?
मैले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरें । तर आज म जुन भाषामा सिर्जनशील लेखन र पत्रकारिता गर्छु, यसमा ‘गुरु सर’ को देन छ ।

प्रकाशित : वैशाख २३, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?