ओझेलमा चुरिया सुरुङ

प्रताप विष्ट

मानव निर्मित सुरुङको इतिहास पुरानो छ । इसापुर्व ३६ मै इटालीको नेपल्स र पोजोली जोड्ने ४ हजार ८ सय फिट चौडाइ र ३० फिट उचाइको सुरुङ बनेको थियो । युरोपमा सुरुङलाई सुरुसुरुमा मूलत: खानी उत्खनन र सामरिक उपयोगमा बढी प्रयोग गरिएको पाइन्छ ।

१९ औं शताब्दीको सुरुआतदेखि त्यहाँ सुरुङ निर्माण र उपयोग व्यापक रूपमा गर्न थालिएको छ । अहिले विश्वभरि अत्याधुनिक उपकरणहरू प्रयोग गरेर सुरुङ निर्माण गरिन्छ । 

नेपालमा विद्युत् उत्पादन प्रयोजनका लागि विदेशीहरूले सुरुङ खनेका छन् । मेलम्चीका पानी काठमाडौं ल्याउन पनि सुरुङ खनिएको छ । तर सवारी साधन आवत–जावत गर्नका निम्ति दक्षिण एसियामै पहिलो मानव निर्मित चुरिया सुरुङ निर्माण गरिएको थियो । एक दशकभन्दा बढी यो सुरुङ हुँदै साना हलुका सवारी साधनहरू आवत–जावत गरे । मकवानपुर र बाराको सिमाना पर्ने चुरियामाई मन्दिरछेउको सुरुङ दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ भएको भूगर्भविद् टोनी हागनले आफ्नो ‘नेपाल’ मा उल्लेख गरेका छन् । 
पथलैया–हेटौंडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छाडेको हो । हेटौंडा उपमहानगरपालिका १७ मा अवस्थित उक्त सुरुङ संरक्षणको अभावमा पुरिने अवस्थामा पुगेको छ । सडक छेउको सुरुङ मुखमाथिबाट माटो झरेर पुरिसकेको छ । वीरगन्जतर्फवाट आउँदाको सुरुङको प्रवेशद्वारको अवस्था भने राम्रै देखिन्छ । करिब ७ सय मिटर लामो सुरुङ करिब सय वर्षअघि निर्माण गरिएको थियो । नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइनमा सुरुङ निर्माण गरिएको हेटौंडा उपमहानगरपालिकाका सहरी विकास, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख बीके महर्जनले बताए । सुरुङको निर्माण सन् १९१७ मा गरिएको थियो । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएका हुन् । सपनामा उनले त्यसै स्थानमा देवी देखेको र पूजाआजा गरेर मात्र सुरुङ खन्नू भनेकाले विधिपूर्वक पूजा गरेर सुरुङ खन्ने काम गर्नुको साथै मन्दिर पनि बनाएको हो । 
उक्त सुरुङको संरक्षण गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले सुरुङको इतिहास, चुरियामाई मन्दिर स्थापनाको कथा र संरक्षणको डिजाइन तयार पारिरहेको छ । 
सुरुङ निर्माणका बेला ‘यस क्षेत्रका बासिन्दाहरूले गीतै बनाएका थिए, ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी ।’ भीमफेदीबाट काठमाडौं आवत—जावत गर्न निर्मित उक्त सुरुङले त्यति बेला नेपालीहरूको जनजीवनलाई निकै सहज बनाएको थियो । ‘त्यति बेला यो सुरुङ नभएको भए भीमफेदीसम्म साना र हलुका सवारी साधनहरू आवत–जावत नै गर्न सक्ने थिएनन्,’ महाशाख प्रमुख महर्जनले भने, ‘यही सुरुङ भएर विश्वविख्यात भूगर्भविद् डा. टोनी हेगेन आफ्नो साना गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौं लगिएको थियो ।’ 
डा. टोनी हेगनले ‘नेपाल’ मा २४ अक्टोबर १९५० का दिन मानव निर्मित सुरुङ देखेर आफू आठौं आश्चर्यमा परेको लेखेका छन् । उक्त पुस्तकमा उनले लेखेका छन्, ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’ 
तत्कालीन सडक विभागका चिफ इन्जिनियर दीप्तिजंग थापाद्वारा लिखित पुस्तकका अनुसार चिफ इन्जिनियर डिल्लीजंगले आफ्नो कार्यकालमा मुलुकमा १२ वटा महत्त्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराएका थिए । चुरिया सुरुङ, हेटौंडा—काठमाडौं रोपवे, विसं १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाजीहरूका दरबार, नेपालको प्रथम कार्यालय डिल्लीबजार चारखाल अड्डा, नेपालको प्रथम रेलवे जनकपुर–जयनगर रेलवे निर्माण गर्नुका साथै १९९० को भूकम्पबाट भत्केको शीतल निवासको पुनर्निर्माण गरेका थिए ।

प्रकाशित : वैशाख २३, २०७४ ०९:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT