१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भूमिको अथइति

खिम घले

जब मिसनरीहरू आफ्रिका आएका थिए, उनीहरूसँग बाइबल थियो, हामीसँग जमिन । उनीहरूले भने, ल अब प्रार्थना गरौं । हामीले आँखा चिम्लियौं । जब आँखा खोल्यौं, हाम्रो हातमा बाइबल र उनीहरूसँग जमिन थियो ।’

भूमिको अथइति

दक्षिण आफ्रिकी सामाजिक अभियन्ता देसमन्ड टुटुको यो शक्तिशाली भनाइले भूमिसँग मानिसको सम्बन्धको बारेमा धेरै कुरा बोल्छ । एकातिर भूमिसँगको रैथानेको सम्बन्ध बोल्छ भने अर्कोतिर भूमिमा आँखा गड्ने अगन्तुकको मनोविज्ञान । 
परिस्थितिहरू जति फेरिए पनि भूमि प्राप्तिका लागि मानिसले नयाँ–नयाँ हथकण्डाहरू अपनाइरहेकै छन् । अझ सामन्ती समाजमा त्यसको अनेक रूप थिए, छन् र रहिरहनेछन् । त्यसमा पिसिन्छन् वास्तविक भूमिका मालिक अर्थात् भूमिको उपभोग गर्नेहरू रैथानेहरू । 
राजनीतिक विश्लेषक झलक सुवेदीको रिपोर्टाज् शैलीको एउटा अनुसन्धानमूलक सानो पुस्तकले शीर्षकमै भनिएजस्तो नेपाली सन्दर्भमा भूमि, राज्य र किसानको अवस्थाका बारेमा धेरै कुरा बोल्छ । मुलुकको भूमिसम्बन्धी व्यवस्थाहरू, आदिवासी जनजातिका थातथलोमा भएको अतिक्रमण र सामन्ती भूमि व्यवस्थाका कारण किसानले भोग्नुपरेका हृदयविरादक कथाहरू यस पुस्तकमा समेटिएका छन् । 
मैले सानै छँदा सुनेको थिएँ, गुरुङ गाउँको भेडी गोठको डिट्ठा र बेलायती सेनाको लाहुरेको आर्थिक र सामाजिक हैसियत बराबरी भएको कुरा । तर, यो २५–३० वर्षको अन्तरालमा डिट्ठाको आर्थिक/सामाजिक हैसियतको कुरा छाडौं, गुरुङ गाउँका भेडीगोठहरू रित्तिए । पराई भूमिमा बुट बजार्ने लाहुरे पेसाको आर्थिक र सामाजिक हैसियत चुलिएर सगरमाथा बन्यो । अझ खाडीको मरुभूमिमा भेडा चराउन नेपाली पुगे । 
समुदायगत रूपमा यो गुरुङको मात्र समस्या होइन, परम्परागत रूपमा पुस्तौं पुस्तादेखि चलाउँदै आएका यी सांस्कृतिक पेसाहरू लोप हुनुमा आधुनिकीकरण मात्र दोषी छैन । राज्यले अपनाएको भूमिमाथिको स्वामित्वको व्यवस्था पनि कही न कही दोषी छ । भूमिसँग समुदायको अपनत्व र त्यसमा राज्य वा बाहिरियाबाट हुने शोषणले पेसा र व्यवसायको विकासमा बाधा पुगेको उदाहरण हुन सक्छ यो । 
पुस्तकको अध्याय तीनमा नेपालका रैथाने आदिवासी जनजातिहरूको भूमिमा (यसमा जल, जंगल र जमिन समेटिन्छन्) बिस्तारै त्यहाँ पुगेका आगन्तुक र राज्यले अपनाएका व्यवस्थाहरूका कारण के असर पर्‍यो भन्ने कुराको सरसर्ती विवरण पाइन्छ । लेखकले अध्ययनका लागि नवलपरासीका बोटे, माझी, मुसहर, बर्दियाका सोनाहा, कैलालीका राजी, चितवनका चेपाङ, दनुवार, माझी र पश्चिम नेपालका गुरुङलाई लिएका छन् । उनीहरूको थातथलोमै पुगेर कुराकानी गरेका छन् । यसले एक प्रकारको रिपोर्टाज् शैलीको मीठास दिएको छ, अनुसन्धानमूलक पुस्तकको सैद्धान्तिक ठेलीको भन्दा अलि फरक । यद्यपि ती समुदायको भुमिसँगको सम्बन्ध, त्यसले निर्माण गरेको आर्थिक, सामाजिक र सांस्कृतिक संरचना, विविध कारणले भूमि गुम्दै जाँदा त्यसमा परेको असर र त्यसले निम्त्याएको कहरको गहिराइ एक बसाइमा सकिने, थाहा हुने र भ्याइने कुरा होइन । 
पुस्तकको पहिलो भाग विषयप्रवेश र अनुसन्धान विधिको बारेमा छ । दोस्रो अध्यायदेखि भने पुस्तकको विषयवस्तु सुरु हुन्छ । यस अध्यायमा नेपालमा रहेका भूमि व्यवस्थाहरूको बारेमा चर्चा गरिएको छ । नेपालमा अझै पनि सातथरी भूमि व्यवस्थामध्ये केही प्रचलनमा छन्, केहीका अवशेष बाँकी छन् । धेरैथरी भूमिका बारेमा सुने पनि यी सबैका बारेमा सामान्य जानकारी हुनु राम्रो हुन्छ । यही अध्यायमा लेखकले नेपालमा भएका भूमिसुधारका प्रयासहरूलाई पनि छोटकरीमा समावेश गरेका छन् । 
कुनै जमाना थियो नेपाली कम्युनिस्टहरूको सबैभन्दा आकर्षक र ठूलो नारा भनेकै ‘जसको जोत उसको पोत ।’ गाउँघरमा यो नारा सुनेर एक दुई रोपनी जमिन अरू गाउँलेको अँधियामा खेतीपाती गर्नेको आशा जाग्थ्यो भने आफूले गर्न नसकेर या घरमा काम गर्ने मानिस नभएर एक दुई रोपनी अरूलाई अँधियामा दिएकाहरूको मनमा त्रास पैदा हुन्थ्यो । तर, त्यो आशा र त्रास कहिल्यै यथार्थमा परिणत भएन । पुस्तकमा छोटकरीमै सही कम्युनिस्ट पार्टीहरूले उठाउने ‘क्रान्तिकारी भूमिसुधार’ को नारा र सरकारैपिच्छे बन्ने सुकुम्बासी आयोगको कुरा पनि समेटिएको छ । 
पुस्तकको चौथो अध्यायमा बिर्ता र गुठी व्यवस्थाले रैथाने किसानहरूमाथि थोपारेको शोषणको कथा छ । सामान्य अर्थमा आदिवासीय सन्दर्भमा गुठीको सन्दर्भले आफ्नो कुल घरानावालाहरू मिलेर पारिवारिक, सामाजिक तथा सांस्कृतिक अवयवहरू चलाउनका लागि बनाइएको परम्परागत संस्थाको अर्थ दिन्छ । तर, राज्यको तर्फबाट कुनै संस्थाको नाममा खोलिएको गुठी, त्यसका लागि जोहो गरिएको जमिन र आफैंले आवाद गरेको जमिनलाई शासकको आदेशमा गुठीमा परिणत गरिदिएपछि आफ्नै जग्गामा मोही बनेका किसानको हृदयविरादक कथा सामन्ती समाजको शोषणको कथा छ यो अध्यायमा । यसमा समेटिएको मेलम्ची भ्यालीमा पशुपति महास्नान गुठी र हेलम्बु क्षेत्रको तारुके घ्याङले किसानहरूमाथि गरेको शोषणको प्रतिनिधि कथा पढेपछि भूमि अधिकारका लागि कोही किन वर्षौंदेखि भौंतारिएका होलान् भन्नेहरूलाई तत्त्वज्ञान हुनेछ । 
पशुपति महास्नान गुठीको कथा सुनौं, कथा सुरु हुन्छ, संवत् १८५६ तिर । राजा रणबहादुर शाह बहुलाएको ताका । गेरुवस्त्र लगाएर सन्न्यासी बनेका रणहादुर एक दिन नगरकोट गएको बेला चाकरीवाला कसैले पशुपतिको महास्नान गुठीका लागि खर्च–पर्चको व्यवस्था गर्न पाए हुने भनेर बिन्ती चढाएछ । रणबहादुरले नगरकोटबाटै हातले इसारा गरेर फटकशिलाका सबै जमिन पशुपति गुठीको नाममा तोकिदिए । त्यसमा केही बाहुन विर्तावालाहरू पनि रहेको थाहा पाएपछि तिनीहरूको बाहेक भन्ने आदेश भयो । अनि फटकशिलावासीहरू आफैंले आवाद गरेको जमिनमा गुठीका जोताह किसानमा परिणत भए । तारके घ्याङको कथा पनि यसैसँग मिल्दो छ । 
रसुवाको कटुञ्जेस्थित धैबुङका किसानहरूको कथा पनि कम मर्मस्पर्शी छैनन् । त्यहाँका रैथाने न्यौपानेका पुर्खाले चार आना ठेकी तिरेर पाखो फाँडेर बस्ती बसाएका थिए । तर, काठमाडौंका शासकले थाहै नदिई काठमाडौं बस्ने कोही चाकरीवाला उपाध्याय बाहुनलाई बिर्ता दिएछन् । उनीहरू स्वतन्त्र किसानबाट अब बिर्तावालाको जोताह किसानमा परिणत भए । तिनकै सन्तान ५२ वर्षे भवानी न्यौपानेको संघर्ष नै अन्य यस्तै किसानहरूको पनि प्रतिनिधि कथा हो, शोषणबाट मुक्तिको चाहनाको कथा । 
यसरी पुस्तकले केही विवरणहरू, केहीका जीवनका कथाहरू, केही बस्तीका कथाहरू, केही खोजिएका तथ्यहरू समेटेर नेपालमा भूमिको व्यवस्थापन र त्यसबाट भएको सीमान्तीकरणको बारेमा भन्छ । यद्यपि यस पुस्तकमा समेटिएका कतिपय प्रसंगहरूमा थप विवरणहरूको आवश्यकता पर्दछ । पुस्तकको एक ठाउँमा भद्रकुमारी घलेले दनुवारहरूको जग्गा हडपेको बताइएको छ । तर, त्यसमा उनीहरूलाई हात लिएर भनिए पनि कसरी भन्ने उल्लेख छैन । 
एउटै सानो पुस्तकमा सबै कुरा समेट्दा सबैलाई छोएजस्तो भए पनि एउटै विषयमा गरिएको जस्तो गहन अध्ययन बन्न सकेको छैन । भूमिको व्यवस्था, समुदाय र भूमिको सम्बन्ध, गुठी र विर्ताबाट पीडितहरूको कथा, सुधारका प्रयासहरू जस्ता धेरै विषयहरू यसमा समेटिएका छन् । यि विषयहरू छट्टाछुट्टै धेरै पुस्तकहरू लेखिन सक्ने विषय हुन् । त्यसैले पुस्तक पढ्दा विषयहरू नसकिएजस्तो लागिरहन्छ । पुस्तकमा भूमि अधिकारकर्मी सोम भण्डारीको बारे ८ पेज लामो पत्रिका छापिएको पुरानो आलेख राखिएको छ । त्यसलाई त्योभन्दा छोटो र सरोकारका विषय समेटेर चुस्त बनाउन सकिन्थ्यो । अरूका सन्दर्भमा पनि कतैकतै अनावश्यक प्रसंगहरू जस्तै : बिहे तथा अन्य विवरणहरू आइरहन्छन् नै । यद्यपि यस पुस्तकको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको सरल प्रस्तुति नै हो, यस हिसाबले आम मानिसको पहुँचमा छ यो पुस्तक । 


 

प्रकाशित : वैशाख २३, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?