२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ठूलाकै वर्चस्व

घरेलु लिगमा अगाडि रहेका रियल म्याड्रिड र युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिगमा पनि प्रभावशाली प्रदर्शन कायमै राखेका छन् ।
राजु घिसिङ

अर्जेन्टिनी फरवार्ड गोन्जालो हिग्वाइनले स्पेनी महारथी रियल म्याड्रिडबाट सन् २००७ देखि २०१३ सम्म खेलेका थिए । उनले रियलबाट च्याम्पियन्स लिगमा ४८ खेल खेलेर पनि नौ गोल मात्र गरेका थिए । नकआउट चरणमा उनको प्रदर्शन अझ खराब थियो । उनले नकआउटका २० खेलमा २ गोल मात्र गरेका थिए ।

ठूलाकै वर्चस्व

त्यसैले उनलाई यो पुस्ताका उत्कृष्ट फरवार्ड भए पनि महत्त्वपूर्ण अवसरमा चुक्ने खेलाडीको रूपमा लिइन्छ । नेपोली हुँदै गत वर्ष युभेन्ट्समा पुगे पनि उनको विशेषता फेरिएको छैन ।

यो सिजन भने हिग्वाइन आफ्नो परिचय बदल्ने संघारमा छन् । मोनाकोसँग बुधबार गरेको दुई गोलले पनि त्यसलाई संकेत गर्छ । उनले दुई गोलमा च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले स्टाड लुइसमा २–० को सफलता हात पारेको थियो । युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको नकआउट चरणमा हिग्वाइनले चार वर्षयता पहिलोपल्ट गोल गरेका हुन् । उनका दुवै गोल आकर्षक थिए ।
च्याम्पियन्स लिगको अर्को सेमिफाइनलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो चम्किए । उनले बर्नाबाउमा भएको म्याड्रिड डर्बीमा ह्याट्रिक गरेका थिए । त्यसैले रियलले छिमेकी एट्लेटिकोलाई पहिलो लेगमा ३–० ले निराश पारेको थियो । कार्डिफमा हुने फाइनलमा स्थान सुरक्षित गर्न अर्को साताको दोस्रो लेग निर्णायक हुनेछ । तर मोनाको र एट्लेटिकोका लागि अब युभेन्ट्स र रियलसँग नतिजा उल्टाउनु अत्यन्तै गाह्रो हुनेछ । अविश्वसनीय खेल पस्किए मात्र नतिजा उल्टिन सक्छ । युभेन्ट्स र रियल सजिलै हार्ने टिम पनि होइनन् । त्यसैले युभेन्ट्स र रियलले फाइनल खेल्ने लगभग निश्चित छ ।
सेमिफाइनलको पहिलो लेगले च्याम्पियन्स लिग ठूलाहरूको प्रतिस्पर्धा भएको फेरि एकपल्ट प्रमाणित गरेको छ । रियल च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन हो । सर्वाधिक ११ उपाधिको कीर्तिमान पनि उसकै नाममा छ । उसको कीर्तिमान बराबरी गर्न पनि एसी मिलानलाई चार उपाधि जित्नु अनिवार्य छ । रियलले तीन वर्षयता दुईपल्ट ट्रफी कब्जा गरेको छ । युभेन्ट्स दुईपल्टको युरोपेली च्याम्पियन हो । पछिल्लोपल्ट सन् १९९६ मा च्याम्पियन भएको उसले दुई वर्षअघिको फाइनलमा बार्सिलोनासँग हार बेहोरेको थियो ।
२०१५ को च्याम्पियन बार्सिलोनाले त्यस बेला ६ करोड १० लाख युरो कमाएको थियो भने युभेन्ट्सले ८ करोड ९१ लाख युरो । पुरस्कार बार्सिलोनाले नै बढी थापे पनि टेलिभिजन दर्शकको आधारमा टुरिन क्लबले धेरै रकम पाएको हो । समूह चरणमा छनोट भएलगत्तै ३२ क्लबले यो सिजन १ करोड २७ लाख युरो पक्का गरेका थिए । जित, बराबर नतिजासँगै अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल प्रवेशको बोनस रकम पनि ठूलै छ । त्योभन्दा ठूलो आम्दानी टेलिभिजन प्रसारणबाट हुने गर्छ । त्यसैले च्याम्पियन्स लिग धनाढ्यहरूको प्रतियोगिता हो र यसमा धनाढ्य वा ठूलै टिमहरूको वर्चस्व हुने गर्छ ।
विश्वकै सर्वाधिक लोकप्रिय इंग्लिस प्रिमियर लिगका क्लबहरू निकै धनी छन् तर च्याम्पियन्स लिगमा उनीहरूलाई स्पेनले पछाडि पार्दै आएको छ । इटाली र जर्मन क्लबसँग पनि इंग्लिस टिमको तुलना गर्न गाह्रो हुन्छ । त्यसैले महादेशीय प्रतियोगितामा असफलतालाई लिएर इंग्लिस प्रिमियर लिगको आलोचना हुने गर्छ ।
तीन वर्षयता दुईपल्ट फाइनल पुगेको एट्लेटिको म्याड्रिडले डिएगो सिमोनीको नेतृत्वमा राम्रो गरिरहेको छ । तर एट्लेटिकोले अहिलेसम्म च्याम्पियन्स लिगको ट्रफी चुम्न सकेको छैन । 
यसपालि हेभिवेटहरू बार्सिलोना र बायर्न म्युनिख अन्तिम आठबाटै बाहिरिएका थिए । अन्तिम १६ मा म्यानचेस्टर सिटी र क्वाटरफाइनलमा बोरुसिया डर्टमुन्डलाई सिकार बनाएको मोनाकोले ठूलाहरूको वर्चस्वलाई ‘ब्रेक’ गर्ने प्रयास गरेको थियो । उसले त्यसलाई युभेन्ट्ससँग भने कायम राख्न सकेन । युवा खेलाडीले भरिएको मोनाको युरोपकै सबभन्दा आक्रामक टिम हो । तर लियोनार्डो जोर्डिमले सम्हालेको टिमको ‘फ्री–स्कोरिङ गेम’ घरैमा ‘फेल’ खायो । लयमा फर्किएका राडामेल फाल्काओ र सनसनीपूर्ण प्रदर्शन गरिरहेका १८ वर्षीय फरवार्ड किलियन बाप्पेको पनि इटालियन महारथीसामु केही सीप चलेन ।
युभेन्ट्सले सबभन्दा राम्रो डिफेन्स भएको फेरि सावित गर्‍यो । उसका युवा फरवार्ड पाउलो डिबाला पनि चम्किए । ब्राजिलियन डिफेन्स मार्सेलो (रियल) र ड्यानी आल्भेस (युभेन्ट्स) को प्रदर्शन बढ्दो उमेरमा पनि अझ परिस्कृत देखियो । रियलका रोनाल्डो चम्किए पनि एट्लेटिकोका फरवार्ड एन्टोन ग्रिजमन चुप बस्न बाध्य रहे । सिमोनीको काउन्टर अट्याक शैलीले जिनेदिन जिदानको टिमसँग काम गरेन । गारेथ बेलको अनुपस्थितिमा रियलका मिडफिल्डर इस्कोको प्रदर्शन लोभलाग्दो रह्यो । हिग्वाइनले नकआउट जिंक्स तोड्दै सिजनको गोल संख्या ३१ पुर्‍याए । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा १ सय गोलको कोसेढुंगा पार गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले यो सिजन ३५ गोल गरेका छन् । क्वाटरफाइनलमा बायर्नसँग ६–३ को जितमा ५ गोल गरेका उनी ३२ वर्षे उमेरमा पनि रियलका प्रमुख खेलाडी हुन् ।
रियल र युभेन्ट्स घरेलु लिगको उपाधि होडमा पनि ‘पोल पोजिसन’ मा छन् । रियल चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग कडा प्रतिस्पर्धा गरिरहेको छ । दुवैको अंक बराबर भए पनि हेड–टु–हेडको आधारमा क्याटलन टिम स्पेनी ला लिगाको शीर्षस्थानमा छ । तर, रियलले अझै एक खेल कम खेलेको छ । त्यसैले पाँच वर्षपछि घरेलु लिग च्याम्पियन बन्ने बाटो रियलकै हातमा छ ।
इटालियन सिरी ‘ए’ मा युभेन्ट्स लगातार छैटौंपल्ट च्याम्पियन बन्ने संघारमा छ । उसले चार खेल बाँकी छँदा दोस्रो स्थानको रोमासँग नौ अंकको अग्रता लिएको छ । त्यसैले इटालीमा लिग च्याम्पियन हुनबाट ‘ओल्ड लेडी’ रोकिने सम्भावना देखिँदैन । उसका गोलकिपर जियानलुइजी बुफोनले ३९ वर्षको उमेरमा पनि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । अझै उनको ग्लोभ्स उस्तै चुम्बकीय छ । उता रियलका लागि रोनाल्डोले चाहिएको बेला गोल गरेकै छन् । त्यसैले विश्वकै सबभन्दा लोकप्रिय क्लब फुटबलमा ठूलाकै वर्चस्व कायम छ ।

प्रकाशित : वैशाख २३, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?