सम्बन्धको सुर्कौनी

कुमारी लामा

केही घटनाहरू खिसीका डिच्च दाँतहरू देखाउँदै घटिरहेछन् वरपरै । लाग्छ कहिलेकाहीं घटनाहरू बहुत शक्तिशाली भइदिन्छन् अनि मानिस निकै निरीह । स्विकार्नु सिवाय केही रहँदैन उपाय । टाउकै फोरे पनि हुनेवाला केही छैन ।

सम्बन्धको सुर्कौनी

खासमा सम्बन्धको सुर्कौनीमा अल्झिएको जीवनले साह्रै अभर पार्दोरैछ मानिसलाई । सम्बन्धबेगरको जीवन छैन । तर उही सम्बन्धहरू किलकिलेमा अड्किएपछि के होला त्यो मनुवाको गति । लिंगको भेद छैन सम्बन्धका जस्केलोहरूमा । केही हानिकारक प्रवृत्तिहरू लिंगभन्दा माथिका कुरा हुन् । महिला पुरुष जसमा पनि त्यो घाती प्रवृत्ति हुन सक्ला । तर समाज, संरचना, स्थापित मान्यता, संस्कृति आदिका कुराले फेरि पनि स्त्रीहरू कसोकसो मझधारमा अड्किने रहेछन् । केही घटनाहरू यस्ता छन् :

घटना १
टहराको बास भएको दुई वर्ष भइसक्यो पुतलीको परिवारको । घर बनाउने सुरसार अझै छैन । उमेर बीसको उत्तराद्र्धतिर लम्किँदै छ । एउटा आफ्नै छोरी र अर्को सौताको छोरो स्याहार्ने जिम्मा उनैको हो । धान रोप्न बित्न लागिसकेको थियो । काम मारामार । दिनभरको मेला पर्मले थाकेको ज्यान कतिखेर ढलाउ हुन्छ । तर भन्नेबित्तिकै ज्यानलाई ढाल्न कहाँ पाइन्छ र । दुई केटाकेटी र लोग्नेको ख्याल राख्नै पर्‍यो । लोग्नेसँग कुरा मिल्दैन । कुटाकुट परिबस्छ । तर लोग्ने–स्वास्नीको झगडा परालको आगो हो भन्ने थाहा छ उसलाई । मारामार गरेको भोलिपल्ट बिहानै फेरि मिलेर खेतबारीतिर लाग्छन् दुवै । 
त्यस साँझ टाउको दुखेर लम्पसार परेकी थिई पुतली । भात खान पनि उठिन । भोलिको धान रोपाइँ आजको यो टाउको रन्काइ । बेस्सरी पीरमा परेकी थिई । उसको लोग्ने सानुले भोलिको खेतालाका लागि मासु–रक्सी सबै ठीक पारेका थिए । केटाकेटीहरू खाएर सुतिगए । राति कतिखेर हो पुतली झल्यास्स ब्युँझिई । ओछ्यानमा सानु थिएन । रक्सी खाएर लडेछ कि भन्दै ढोका खोल्दा ढोकै अघि तुर्लुंग झुन्डिएको देखी सानु । पुतलीको होस हरायो । गाउँलेहरू जम्मा भए । तर सानुको सास उडिसकेको थियो । 
सानु किन झुन्डियो ? पुतली बेखबर छे । तर एउटा कुरा निश्चित हो, अब उसको जीवनको अझ कठिन यात्रा सुरु भइसकेको छ । बल बैंसमै विधवा भएकी छे । दुई केटाकेटी छन् । घर छैन । अब व्यवहारको भारीले त्यो मसिनो ज्यानलाई झन् कति ताच्छ होला म कल्पेर नै जिरिड्ग हुन्छु । 
के पुतलीले फेरि नयाँ जीवन सुरु गर्न सक्छे ?
केटाकेटीसहितको विधवालाई स्विकार्न कोही निस्केला ? यस्तै अनेकौं प्रश्नहरूको पर्खाल खडा छ । (धादिड, धुनिबेसीकी हुन् पुतली)

घटना २
पन्ध्र वर्ष बितिसकेछ बुहारी भएर त्यस घरको चुलो चौका सम्हालेको । यसैबीच तामाङनीबाट पूरै क्षत्रिनी भइसकेकी छ सजना । मंगलबारको वर्त, तीज र पञ्चमी, अरू पूजापाठ सबैमा पोख्त भइसकेकी छे । उसको बोलीचाली, रहनसहन सबै क्षत्रीमय बनिसकेको छ । यसै बीच एउटा छोरा र एउटी छोरी पनि हुर्काइसकी । ठाँटिएर हिँड्दा अझै बिहे भएजस्तो पनि देखिन्न देख्नलाई त । उमेर पनि त बल्ल तीस उक्लेकी हो । विद्यालयकालीन जुझारु स्वभाव सपनामा पनि देख्दिन अब त । सासूको कजाइँमा सम्पूर्ण रूपमा बुहारीधर्म निभाउँदै छे । पन्ध्र जनाको परिवारको चिया, खाना र खाजा नै उसको दिनचर्या हो । यही हो उसको संसार । ब्याचलर पढ्दाका चञ्चले पल अनि पाँचतारे होटलको जागिरको शान अब मात्र कहिलेकाहीं सम्झनामा झुल्किन्छ, बस् । पढाइ छुट्यो । जागिर छुट्यो । करिअर बिथोलियो । त्यसको बदलामा पाएकी छे दुई सन्तान र कहिले नसकिने घरधन्दा । 
लोग्ने पाँच वर्षदेखि दुबईमा काम गर्दै छन् । पैसा पनि राम्रै कमाउँदै थिए । वर्षको एकपटक भेट्न पनि आउँथे । तर लगभग डेढ वर्षदेखि अनेक बहानामा पैसा रोकियो । वर्षे बिदामा घर आएनन् । लोग्नेले पैसा पठाउन छाडेदेखि नै घर परिवारको व्यवहार बद्लिँदै गएको छ । सासू–ससुरा, देवर–देउरानीहरूको कर्के नजर तेर्सिन थालेको छ आजकल उनीतिर । जति काम गर्दा पनि कतै न कतै खोट लाउन भ्याइहाल्छे सासू । उसको तवाब डबलिएको छ । एकातिर लोग्नेको व्यवहार अर्कोतिर घरको । उसको धरातल झन् धरापमा पर्‍यो जब खोजतलासमा पत्ता लाग्यो कि लोग्ने अर्कै केटी च्यापेर बस्न थालिसकेको छ । उसले अफ्नो जीवनको उर्वर पन्ध्र वर्ष खर्चिएर बालबच्चा हुर्काई बसी तर अन्तमा लोग्नेले अर्कैतिर मन लगाइदियो । 
कसैले फिर्ता गर्न सक्छ सजनाले खर्चेको पन्ध्र वर्ष र अहिले भोगिरहेको मानसिक क्षतिको क्षतिपूर्ति ?
के नयाँ जीवन सुरु होला उसको ?
दुई बच्चाकी आमा, घरकी जेठी बुहारी सजनाको अघिल्तिर उभिएको छ अनिश्चितताको अग्लो प्रश्नचिह्न । (काठमाडौंवासी हुन् सजना )

घटना ३
उनी दिनेश । उमेर अड्तीस । पेसा खेती किसानी । केही वर्ष वैदेशिक रोजगारीमा पनि गएका थिए । २०७२ को महाभूकम्पमा घरमा पुरिएर बितेकी हुन् उनकी दुलही र वर्षी नपुग्दैको छोरो । होसहवास पूरै हराएका थिए उनले । त्यो बिल्कुल स्वाभाविक थियो । दिउँसै गिलास रित्ताउँदै हिँड्न थालेको थियो । एकपटक लामै भलाकुसारी गरेको थिएँ मैले । उनी भन्दै थिए, मेरो त सबै सकियो । निकै दु:खी भएथें उनको अवस्था देख्दा । सहानुभूतिका केही शब्दबाहेक केही थिएन मैले दिन सक्ने । केही महिनापछि त फेरि ठीकैजस्तो देखिन थालियो । कामतिर पनि जान थाले । बूढी आमाको पनि रेखदेख गरेको देखियो । त्यसपछि गाइँगुइँ चल्न थाल्यो, दिनेशले त केटी हेर्दै छ रे । नचाहिँदो कुरा । स्वास्नी मरेको वर्ष नपुगी पनि कसैले बिहे गर्छ, म प्रतिवाद गर्थें कुरा सुनाउनेहरूसँग । मानवीय क्षति भएकाले सरकालले दिने रकम पनि तुरुन्तै पाए उनले । साथै विदेश बस्दाका साथीहरूले पनि पैसा जम्मा गरेर पठाइदिए भन्ने कुरो पनि सुनियो । ठीकै छ नि बिचराको परिवार नै सकियो, कम्तामा एउटा घर त बन्छ भन्ने लागिरह्यो । सधैँ सहानुभूति उर्लेकै हो उनीप्रति । 
तर जब त्यो कुरा कानमा पर्‍यो एक छिन रन्थनिएँ । दिनेशले फेरि बिहे गरेछ । दुलही बितेको लगभग दस महिनामै भिर्‍याए नयाँ दुलही । कम्तीमा एकवर्षे काजकिरिया त राम्ररी टुंग्याएको भए हुन्थ्यो भन्नेजस्तो लागिरह्यो । (उसको घरजमप्रतिको आपत्ति हैन मात्र महिला र पुरुषबीचको भिन्नतामाथिको मनन)
यस घटनासँगै पुतली झन् बढी सम्झनामा आइरहन्छे आजकल । दिनेशलाई त एक वर्ष पनि लागेन नयाँ जीवन सुरु गर्न तर पुतली...

समाज दृष्टि
पुतली र सजना त मात्र प्रतिनिधि पात्रहरू हुन् । हामी वरिपरि हजारौं पुतली र सजनाहरू छन् । दिनेशहरूलाई अघिल्लिो सम्बन्धले खास फरक पार्दैन तर पुतलीहरूलाई ती जोडिएका नामहरूले कहिल्यै छाड्दैनन् । मरेर गए पनि या छाडेर गए पनि । जानेहरूका नाम उनीहरूको अस्तित्वमा टाँसिइसकेको हुन्छ जसले उनीहरूलाई अरू सम्बन्धमा अघि बढ्न रोकिबस्छ । उनीहरू यदि अघि बढ्न चाहे पनि अरूले छाडेको, बच्चाकी आमा या विधवाप्रति हाम्रो समाज चिसो छ । विधवा र बच्चाका आमाहरूको कुरा त परै जओस् अलिकति उमेर पुगेका महिलाहरूसम्म पनि पुरुषको दृष्टिबाट ओझेल पर्न थालिसक्छन् । ग्वाइँग्वाइँती हल्ला भने पिटिन्छन् उनीहरूका बारे । यी पितृसत्तात्मक अवधारणा र मान्यताका कारण भएका हुन् भन्छन् लेखक आहूति । अनले अर्को घतलाग्दो कुरो पनि उप्काए । महिलाहरू अवसर पाउँदा पनि नयाँ जीवनका लागि अघि बढिहाल्न आँट गर्दैनन् किनकि उनीहरूमा पनि पितृसत्तावादी सोच छ । परिवार, समाज, घर, माइती सोचिबस्छन् । र, ती सोचाइ आफंैमा उनीहरूभित्र रोपिएको पितृसत्तात्मक सोचको उपज हो । 
पक्कै हो । तर कतिमय मान्यताहरू चालै नपाई हाम्रो मानसिकतामा रोपिइसकेको हुने रैछ । छोराहरूले जन्मजातै पाएको प्रिभिलेजले आफूलाई मालिक ठान्न थालिसकेका हुन्छन् । उनीहरूलाई हिँडडुल बोलचलादेखि घरायसी काममा पाउने छुटलगायतका कुराले नै भिन्न मानसिकता विकासमा सघाउ पुर्‍याइसक्छ । तर छोरीहरू सानै उमेरबाट बाउआमाको निगरानीमा रहेर बोलीचाली, चालढाल, सबै कुराको ख्याल गर्दै घरधन्दामा रत्तिन थालिसक्दा उनीहरूभित्र मेरो घेरा यही हो भन्ने दायरा तोकिइसक्छ नै । छोराहरू घरबाहिर साथीहरूसँग हिँडडुल गर्नु कैयौँ रात बाहिरै रल्लिनु पनि सामान्य हुन्छ । तर छोरीहरू ती कुराबाट पूरै वञ्चित हुन्छन् । समयको निश्चित दायरा तोकिन्छ छोरीका लागि घर छिर्न भने छोराको लागि सधैँ ढोका खुला । 
त्यही खुलापनको स्वाद चाख्दै आएको छोरा पछिसम्म पनि स्वतन्त्र रहन्छ । बिहेपछि पनि मन बराल्दा उनीहरू खासै ग्लानिको महसुस गर्दैनन् । उल्टै कतिले त खुलेआम च्यालेन्ज गर्छन् घरकी श्रीमतीलाई, छ त के गर्न सक्छस् गर् भनेर । तर सजनाहरू भने पढाइ करिअर र आफ्नो जीवनको महत्त्वपूर्ण समय घरकै लागि भनेर खर्चिसकेका हुन्छन् । जब लोग्नेले धोका दिएको चाल पाउँछन् त्यस बेला पनि रुनु र आफैंलाई तनावमा राख्नुसिवाय केही विकल्प भेट्दैनन् । किनकि अब त पढाइ छुटिसकेको छ, घरधन्दा र केटाकेटीको आची पखाल्दा पखाल्दै पहिलेको त्यो जोस जाँगर अनि जागिरप्रतिको मोह पनि हराइसकेको हुन्छ । अन्तमा हात लागे सुन्ना । कति त डिप्रेसनमा पनि जान्छन् । 
हामी ठूला र खोक्रो कुरा धेरै गर्छौं तर यस्ता मसिना लग्ने डरलाग्दा समस्याहरूले हाम्रो समाज आक्रान्त छ । कैयौँ पुलती र सजनाहरू खुनको आँसुमा डुबिबसेका छन् । तर कहिलेसम्म ? यसरी रोइबसेर त काम चल्दैन । महिलाको धराप अवस्थाको सिर्जनाका पछाडिका कारणहरू र समाधानका उपायहरू खेज्न अबेला भइसक्यो । मानवशास्त्री सुरेश ढकालको विचारमा महिलाहरूको यस्तो अवस्थाको पछाडि हाम्रो समाजमा विद्यमान लैंगिक, सामाजिक, सांस्कृतिक, राजनीतिक संरचनाका कारण निर्माण भएको मनोविज्ञानले ठूलो भूमिका खेलेको छ । उनले उजागर गरेको अर्को पाटो अझ बढी चोटिलो छ । शरीर, यौनिकता, स्वतन्त्रता र निर्णयको अधिकारसँग जोडिने महत्त्वपूर्ण कुरा भनेको आर्थिक स्रोतमाथिको पहँुच हो । यी जटिल सामाजिक, सांस्कृतिक संरचनाहरू तुरुन्तै नभत्किए पनि महिलाहरू आर्थिक रूपमा सबल हुँदै जाँदा बिस्तारै परिवर्तन हुन्छ । सजनाहरूको निरीहपनासँग पक्का पनि अर्थ जोडिएको छ । उनको परिवार र लोग्नेसँगको निर्भरताले पनि उनको पीडादायी अवस्थामा मुख्य भूमिका खेलेको छ । फेरि पनि प्रसंग जोड्न मन भयो आहूतिकै विचारको । उनी बारम्बार भन्ने गर्छन् स्वास्नीहरू घरबाट निस्किनुपर्छ । अहिलेको पारिवारिक संरचना भत्किनुपर्छ । भत्काउनुपर्छ । अनि मात्र यी लोग्नेहरू तह लाग्छन् । नत्र तह लाग्नेवाला छैनन् यिनीहरू । 
तह लाग्नु र लगाउन त छँदैछ । कतिले त तह लगाएकै छन् लोग्नेहरूलाई तर फेरि पनि कुरो आउँछ ती पिँधमा पिसिइरहेकाहरूको र उनीहरूले भोग्दै गरेको दर्दनाक पीडाको । प्रश्निल भई बस्छु— 
कसले दियो होला अर्काको जीवनसँग खेल्ने यत्रो अधिकार ती पुरुषहरूलाई ?
सजना र उनी जस्तैले भोग्दै गरेको मानसिक पीडाको क्षतिपूर्ति कसले दिने ?
के सम्बन्धको सुर्कौनी महिलाहरूको घाँटी कस्नुलाई मात्र हो ?
     मनन गर्ने हो कि ...

प्रकाशित : वैशाख ३०, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?