२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बेचिएकीको वेदना

विमल खतिवडा

चैत सकिन लाग्दै थियो । उराठलाग्दो गाइँगुइँ चल्यो— आफ्नै फुपूबाट भदैनी बेचिएको । ढिलो मात्र बाबुले छोरीलाई कोठीमा लगेर छोरी बिक्री गरिएको थाहा पाएका थिए । र, ठूलै प्रयासमा शान्ति पुन:स्थापनागृहको अगुवाइमा चितवन पदमपुरकी १५ वर्षीया चन्द्रा (नाम परिवर्तन) को चैत दोस्रो साता उद्धार गरियो ।

बेचिएकीको वेदना


केहीअघि काठमाडौं ठेचुस्थित गृहको कार्यालय पुग्दा चन्द्रा उदास थिइन् । एकोहोरो रोइ मात्र रहन्थिन् ।
सुरुमा खुल्न नचाहेकी उनले बिस्तारै ‘आफ्ना भनाउँदाले खसी/बाख्राझैं बिक्री गरेको’ कथा सुनाइन् । बातैपिच्छे रुँदै आफूले भोगेको पीडा सुनाइन् ।
दुई वर्षअघि फुपूले बेच्दा उनी १३ वर्षकी मात्र थिइन् । फुपूले गाउँकै उर्मिला थिङ तामाङसँग सल्लाह गरेर भारतमा आकर्षक तलब पाउने भन्दै सिमाना कटाएकी थिइन् । फुपूले सुरुमा उनलाई नारायणगढको एक लाहुरे दम्पतीको घरमा काम गर्न राखिदिएकी थिइन् । तर त्यहाँ बसेको ५ महिना नहँुदै उनलाई भारत जाने प्रस्ताव आयो राम्रो कमाइ हुने भन्दै ।
चन्द्रा ६ वर्षको हुँदा आमा अर्को बिहे गरेर हिँडेपछि एक्लो बनेका बुवाले उनलाई हुर्काएका थिए । पछि बुवाले अर्को बिहे गरे । घरमा गरिबी थियो । त्यही कारणले कक्षा ६ पढ्दापढ्दै उनले पढाइ छाडिन् । आफूले पढ्न नपाए पनि कान्छी आमाबाट जन्मिएकी बैनीलाई पढाउने उनको सपना थियो । त्यसका लागि आर्थिक जोहो थिएन । फुपूले भारतमा ब्युटिपार्लरमा काम गर्दा राम्रो कमाइ हुने भनेपछि जान तयार भइन् । त्यसपछि उनको यात्रा भारततिर मोडियो ।
०७१ साल असार १ गते बिहान । पानी पर्दै थियो । उनलाई जुटपानीको क्लब चोकमा बोलाइयो । कपडा पोको पारेर फुपूको साथमा उनी पुगिन् । त्यहाँबाट उर्मिलाको सहयोगमा हेटौंडा पुर्‍याइयो ।
हेटौंडा पुगेपछि उनकै आँखाअघि फुपूलाई उर्मिलाले खाजा खान भन्दै ४ हजार दिइन् । अघिपछि कति दिने गरेकी थिइन्, त्यो उनलाई के थाहा ? फुपू हेटौंडाबाट बिदा भइन् ।
चन्द्रालाई त्यहाँबाट वीरगन्ज पुर्‍याइयो । सिमाना कटाउँदा कसैले सोधेमा उर्मिलालाई ‘ममी’ भन्नू भनिएको थियो । तर सोध्ने कोही भएनन् । त्यो दिन भारतको रक्सौल लगेर राखियो । त्यहाँ केही दिन राखेर नयाँ दिल्ली पुर्‍याइयो ।
सुरुमा त उनलाई राम्रो जागिर पाउने ठाउँमा आइयो भन्ने लागेको थियो । तर त्यो कुनै ब्युटिपार्लर थिएन । नयाँ दिल्लीको जीबी रोडस्थित कोठी नम्बर ५६ थियो । उनी त्यहाँको दृश्य देखेर छाँगाबाट खसेझैं भइन् । रोइन्, चिच्याइन् । तर उनको चीत्कार सुन्ने कोही भएन । फुपूले उर्मिलालाई बेचिसकेकी थिइन् ।
जबरजस्ती कोठीमा पुर्‍याइएकी उनको नारकीय जीवन सुरु भयो । त्यहाँ नेपाली र भारतीय ग्राहक टिकट काटेर पुग्थे । भीडमा भएका किशोरीहरूलाई छान्थे । बिहान ११ बजेदेखि बेलुका २ बजे आउँथे ग्राहकहरू । ‘कोठीमा बस्ने एक जना महिलाले एक दिनमा ३० जनासम्म ग्राहकलाइ सन्तुष्ट पार्नुपथ्र्यो,’ उनले भक्कानिँदै भनिन्, ‘सक्दिनँ भन्न पाइन्नथियो, ग्राहकले जसलाई रोज्थे, उसैको पछि लाग्नुपथ्र्यो ।’
नेपालबाट जाने किशोरीको उमेर कम हुन्छ । तर कोठी सञ्चाकलले २० वर्ष पार गरेको कार्ड बनाएर राख्ने गरेका छन् ।
चन्द्रा कोठाबाट बुवालाई फोन त गर्थिन् । तर काम के गर्छु भन्न सक्दैनथिन् । उर्मिला र कोठी सञ्चालक अगाडि बसेर घर फोन गर्न लाउँथे । उनीहरूले जबरजस्ती ‘काम राम्रो छ, चिन्ता मान्नु पर्दैन’ भन्न लाउँथे । सुरुमा फोन गर्न समस्या भयो । छोरीले राम्रै काम पाएको र राम्रै कमाएको भन्दै बाबु दंग थिए । छोरीको व्यथाबारे जानकार थिएनन् । ‘सुरुसुरुमा कति रोएँ, कति कराएँ, सुन्ने कोही थिएनन्,’ उनले सुनाइन्, ‘पछि जिन्दगी यस्तै रैछ भन्थें बस्थें ।’ कोठीबाट उनी हतपत बाहिर निक्लन पाउँदैनथिन् । पुलिसले ‘रेड’ हान्ने कुरा भयो भने मात्र कहिलेकाहीं कोठीबाट बाहिर लगिन्थ्यो । किशोरीलाई भगाइन्थ्यो । तर प्रहरीले कमिसन बुझ्ने भएकाले रेड हान्दैनथ्यो ।
जीबी रोडमा १ सय ४२ वटासम्म कोठी गन्न उनले भ्याइन् । भागेर कतै जाने अवस्था थिएन । ठाउँठाउँमा कोठी हेर्ने मान्छे खटाइएका हुन्थे । सबैभन्दा धेरै नुवाकोट र सिन्धुपाल्चोकका किशोरी उनले फेला पारिन् । त्यसमा पनि तामाङ समुदायका बढी थिए । अधिकांश आफ्नै नातामार्फत पुगेका । फुपू, श्रीमान्, मामा, दिदीहरूले कोठीमा पुर्‍याउने गरेको उनले सुनाइन् । त्यहाँ नेपाली, बंगाली र मद्रासी युवती बढी भएको उनले सुनाइन् । उनले बढीजसो ११ देखि १८ वर्षका नेपाली भेटेकी थिइन् ।
चन्द्राले त्यहीँ लुकीछुपी फेसबुक चलाउन थालिन् । ग्राहकले माग्ने भएकाले उनले फेसबुक बनाएकी थिइन् । उनले लामो समय नारकीय जीवन भोगिन् । तर नेपालका कमैसम्म उनको कुरा हुन्थ्यो । गत भदौमा चितवनकै २ किशोरी कोठीबाट भागेर आए । उनीहरूले नै चन्द्राको अवस्थाबारे सुनाए । त्यसपछि टोली उनलाई उद्धार गर्न अभिभावकसहित भारत पुग्यो । उनलाई गत चैत ९ गते कोठी नम्बर ५६ बाट टोलीले उद्धार गर्न सफल भयो ।
‘सबैभन्दा धेरै खुसी नारकीय जीवनबाट मुक्ति पाउँदा भए,’ उनी भन्छिन्, ‘बुवाले मैले गरेको काम र बस्ने ठाउँ देख्दा के भन्नुहुन्छ होला भन्ने लागेको थियो, जुन मेरो रहर होइन बाध्यता थियो ।’ उनले पछि आफ्नो उद्धार गर्न पाउँदा बाबु खुसी भएको सुनाइन् । ‘राम्रो काम पाउने आसमा भारत पुगेकी थिएँ,’ उनले बिलौना गरिन्, ‘नसोचेको जीवन भोग्नुपर्‍यो, मैलेजस्तो जीवन अब अरू कसैले भोग्नुनपरोस् ।’ घर–परिवारका लागि केही गर्न नसकेको भन्दै उनी पछुताउँछिन् । ‘भूकम्प गएपछि बुवाले सानीआमाको छोरी रूखबाट लडेर घाइते भएपछि रोई कराई गरेर उपचारका लागि २० हजार पठाएँ, त्योभन्दा केही गर्न सकिनँ,’ उनले भनिन् ।
अहिले उनलाई लाग्छ— संसारमा किन पापी मान्छेहरू जन्मन्छन् ? ‘तिनै पापीहरूले गर्दा आज मजस्ता किशोरी भारतको कोठीमा कठोर जीवन जिउन बाध्य छन्,’ उनले सुनाइन् । अब उनको पढाइ पूरा गर्ने सपना छ । ‘त्यसपछि भारतसँग सीमा जोडिएको बोर्डरमा बस्नेछु, दलाल मार्फत भारत लगिने मजस्ता किशोरीलाई फर्काउनेछु,’ उनले योजना सुनाइन् ।

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?