३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छन दाइको नेपाली मन

अखण्ड भण्डारी

काठमाडौं — महाभूकम्पको तेस्रो दिन दक्षिण कोरियाबाट ४७ जना डाक्टर काठमाडौं उत्रिए । घाइते भूकम्पपीडितको उपचारमा खटिएका स्वदेशी–विदेशी चिकित्सकको भीडमा तिनीहरू पनि मिसिए । तीन टोली बनाएर तीनतिरै लागे– नुवाकोट, काठमाडौंको साँखु र ललितपुरको मानिखेल ।

छन दाइको नेपाली मन


त्यो टोलीको नेतृत्व गरेका थिए बालरोग विशेषज्ञ छन सङ–ह्योङले । उनको टिम ३ साता बस्यो, ६ हजारको उपचार गर्‍यो । ती सबै फर्किएर गए, डा. छनको मन भने फर्किएन । यतै अडियो । यति गाढा तरिकाले अडियो कि उनी दुई वर्षमा १२ पल्ट नेपाल आइसके । त्यो पनि उपचारकै प्रयोजन मिलाएर ।
‘मेरो नाम दाइ हो’, हालै काठमाडौंमा भेटिएका उनले नमस्कार गर्दै परिचय दिए, ‘मलाई डाक्टर होइन, दाइ भनेको मन पर्छ । तपाईंलाई पनि अप्ठ्यारो लाग्दैन भने मलाई दाइ भन्न सक्नुहुन्छ ।’ पर्वतको डिमुवामा स्वास्थ्य शिविर भ्याएर फर्किएका उनीसँग थिए कोरियाली सहर ख्वाङ्जुका मेयर डा. युन जान–ह्युन । मेयर युन आँखा रोग विशेषज्ञ हुन् । उनी पनि नेपाली सर्वसाधारणको उपचारकै लागि सुटुक्क उक्त टोलीमा आएका थिए । नेपालीसँगको नियमित उठबसले डा. छन टुटेफुटेको नेपाली बोल्न सक्ने भइसकेका छन् । बिरामीका कुरा बुझ्न र आफ्ना कुरा तिनलाई बताउन अब गाह्रो छैन । ‘नेपाली भाषा धेरै राम्रो छ’, उनले भने, ‘त्यसभन्दा राम्रो यहाँका मान्छे । दु:खमा पनि हाँस्ने, मिलेर बस्ने । बहुभाषा, बहुसंस्कृति, फरक भूगोल भए पनि गतिलो मेलमिलाप ।’
समयको सदुपयोग नगर्ने र अर्काको कुरा काट्ने नेपाली ‘बानी’ भने उनले चिनिसकेका रहेछन् । ‘नेपालीको नराम्रो पक्ष त्यत्ति हो । अचेल म त जसलाई भेटे पनि काम गर भन्छु । गफिएर बसेर न आफ्नो प्रगति हुन्छ, न देश उँभो लाग्छ’, उनले भने, ‘मलाई नेपालको दु:खले दुख्छ । कहिलेकाहीं त पहिलो जन्ममा नेपाली नै थिएँ कि जस्तो लाग्छ । अहिले नेपालकै छोरोजस्तो लाग्न थालेको छ । त्यही भएर यो देशमा मनमा लागेका कुरा भन्न डरै लाग्दैन । जे देख्छु, प्याच्चै भनिदिन्छु । मलाई भइहाल्छ, अब गर्छु भन्ने मन पर्दैन । पहिला काम अनि मात्र उत्तर मेरो सिद्धान्त हो ।’
सन् ५० को दशकमा सैनिक तथा गैरसैनिक गरी करिब २० लाखको ज्यान गएको गृहयुद्धले कोरिया भग्नावशेषसरह भएको थियो । बाँचेकाहरूले समुद्रको लेउ र माटोसमेत खान बाध्य भएको इतिहास छ । सन् १९६० मा त्यहाँको प्रतिव्यक्ति आय जम्मा ७९ अमेरिकी डलर थियो, जुन संसारका गरिवतम् मुलुकमध्ये पथ्र्यो । दुई कोरियाको विभाजनपछि भएको स्थिरता र आर्थिक क्रान्तिका कारण यसले चामत्कारिक प्रगति गर्दै गयो । हाल यो सबल अर्थतन्त्र भएका १० मुलुकभित्र पर्छ ।
‘कोरियाको द्रुत विकास युद्धले खुलाएको चेत हो’, दाइ छनले भने, ‘युद्धपछि जुर्मुराउँदै गएको नेपालको पनि वर्तमान पृष्ठभूमि निकै हदसम्म मिल्छ । यहाँ सम्भावनाका असीमित स्रोत छन् । सबैले दत्तचित्त भएर अघि बढ्न चाहने हो भने विकासमा यसले छिट्टै फड्को मार्छ । त्यसका लागि कुराभन्दा कामलाई प्राथमिकता दिनुपर्छ । हामीले सिकेको यही हो ।’
जति बेला कोरिया युद्धको चपेटाबाट उठ्न खोज्दै थियो, त्यही कालमा सन् १९५६ मा उनी जन्मिएका हुन् । थाम्याङ गाउँको मध्यम वर्गीय परिवारका छन एमबीबीएस पढ्न ख्वाड्जु सहर झरे । सन् १९८० मा त्यहाँ अर्को आन्दोलन चर्कियो । प्रजातन्त्रको विद्रोहमा विद्यार्थी सडकमा उत्रिए । हजारौंको ज्यान गयो । राजनीतिमा त्यति चाख नभएका उनी भने भागेर गाँवै फर्किए । जसोतसो १९८८ मा एमबीबीएस पूरा गरे र त्यसको चार वर्षमा बालरोगमा विशेषज्ञता हासिल गरे ।
‘बीस वर्षअघि जब ४० वर्ष कटें, म को हुँ भन्ने मनले सोध्न थाल्यो,’ उनले फरक काममा सक्रियताबारे सुनाए, ‘५० नाघेपछि अरूका लागि पनि केही गर्नुपर्छ भनेर पोल्न थाल्यो ।’ त्यही भएर उनले ‘ब्युटिफुल ट्री फाउन्डेसन’ बनाए । त्यसमा आफ्नो कमाइको निश्चित प्रतिशत राख्न थाले । साथमा सहरका फोहोर ‘रिसाइकल’ गरेर आउने आम्दानी थप्दै गए । त्यही वृक्ष बढाउँदै नेपाल, कम्बोडिया, भियतनाम र फिलिपिन्ससम्म पुर्‍याएका हुन् ।
कोरियाको ख्वाङ्जुस्थित ‘फ्रस्ट चिल्ड्रेन्स हस्पिटल’ का निर्देशक हुन् डा. छन । त्यही सहरमा पर्वतका रुद्र शर्मा रेस्टुरेन्ट व्यवसाय गर्छन् । उनैसँगको घनिष्ठताले नेपाल तानेको उनले बताए ।
भूकम्पअघि परिवारसहित दुईपटक घुम्न आएका उनलाई यहाँका सेता हिमाल र त्यस्तै स्वच्छ मनले आकर्षित गरेको सुनाए । ‘बिहान उठेर हेर्दा जब हिमाल हाँसेको देखिन्छ, दिनभरि मनै हाँस्छ’, नेपाल–प्रेमबारे उनले अथ्र्याए, ‘यति सुन्दर देश अरू देखेको छैन । त्यसैले गर्वसाथ भन्न थालेको छु– अब म पनि नेपाली ।’

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?