अलौकिक लोमन्थाङ

राजकुमार बानियाँ

ओसार, तँ फोटो खिच्छस्, कापीमा लेख्छस् र यो दुई ओटै गर्नुनपर्ने एउटा उपाय सिकाउँछु, मान्छस् ? आँखाले हेर्ने, मनमा साँच्ने, भइहाल्छ नि बेकारमा लेख्ने र खिच्ने केको झन्झट ?’ लोमान्थाङवासी आङ्गेल गुरुङ एक थान नि:शुल्क सुझाव दिन्छन्, ‘पर्खालभित्रको राजधानी’ मा दामोदर पुडासैनी ‘किशोर’ लाई ।

 अलौकिक लोमन्थाङ


हो पनि हरदम कलम र क्यामरा समाइरहने लेखक एकदमै दुखिया लाग्छ । साँच्चै घुम्न हिँडेको कि लेख्न हिँडेको ? खिच्न हिँडेको कि बाँच्न हिँडेको ? किशोर लेख्नकै लागि घुमेजस्ता लाग्छन् । लेख्ने चटारोमा घुम्दा यात्राको आनन्द कति उठाउन सकिएला ?
उसो त त्यही म्याराथन लेखनका कारण किशोर मदन पुरस्कारको उत्कृष्ट सूचीमा परे । उत्तम शान्ति पुरस्कार पनि पाए । र, धेरै लेखेकाले लेखकीय कित्ताबाट निरन्तर आलोचित पनि छन् । यति हुँदाहुँदै पनि किशोर यात्रा र लेखनलाई ‘प्यासन’ बनाएका लेखक हुन् । यायावरीय अनुभूतिमा बेग्लै मान र स्थान बनाउने सम्भावना पनि छ ।
पछिल्लो पुस्तक उनको पाँचौं यात्रा साहित्य हो भने स्थानविशेषको नियात्रामा दोस्रो । यसअघि ‘मायालु हुम्ला’ मा उनले हुम्लाको हिमाली हुलियालाई साहित्यिक बान्की दिएका थिए भने ‘पर्खालभित्रको राजधानी’ मा मुस्ताङ, त्यसमा पनि उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङको वृत्तान्त दिउका छन् । यसमा जोमसोम, ठिनी, झारकोट, झोङ, कागबेनी, छुक्साङ, चैले, समर, चराङ, ढाङमर, लोमन्थाङ र कोरलाका कोलाजहरू छन् । नांगो, कठोर र चिसो पठारमा लेखकका प्रत्येक पाइला अनुभव गर्न सक्छन् पाठकले । हिमाल, फापरबारी, गुम्बा, शालिग्राम, कालीगण्डकीका छटाहरू पनि ।
जोमसोमदेखि लोमन्थाङसम्मको सेरोफेरोमा नांगो भएर पनि नवीनता, केही नदेखिएर पनि धेरैथोक भेट्छन् लेखक । लोमन्थाङ कति अलौकिक छ भने धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रेलगायत ६ हजार मिटरभन्दा बढी उचाइका ३५ भन्दा बढी हिमशृंखला त्यतै छन् । १० हजारभन्दा बढी गुफा त्यतै छन् ।
लोमन्थाङ किन पनि नौलो छ भने, त्यहाँ पर्यटकीय दृष्टि पर्न थालेको २५ वर्ष मात्र पुग्यो । लन्ली प्लानेटले विश्वका उत्कृष्ट १० पदयात्रा गन्तव्यको तेस्रो सूचीबद्ध गरेको छ यसलाई । सन् १९०३ मा जापानी भिक्षु इकाई कावागुची पोखराबाट म्याग्दी हुँदै तिब्बत पस्ने क्रममा बल्ल थाहा भएको थियो, लोमन्थाङको गुप्त सौन्दर्य । सन् १९९२ मा नेपाल सरकारले विश्वका लागि लोमन्थाङको प्रवेशद्वार खोलिदिएको हो ।
तिब्बती कला, संस्कृतिको कति गाढा छाप छ भने पर्यटकहरू त यसलाई ‘लिटिल टिबेट’ नै मान्छन् । घर, बौद्ध चैत्य र छोर्तेनहरू तिब्बती ढाँचाकाँचामै छन् । साँघुरा गल्लीमा घर नै घरको माटेजंगलको फेदीमा जताततै ‘ओम मणि पद्मे हुँ’ कै नाद पोखिएको छ । लोमन्थाङका दरबार र गुम्बा चौधौँ शताब्दीका मानिन्छन् । हिमाली बौद्ध र राज परम्पराको उच्चतम नमुना हो लोमन्थाङ ।
तिब्बती भाषामा ‘ल्हो’ को अर्थ हरियो दुबो र ‘मान्थाङ’ को अर्थ चउर हो । प्राचीनकालमा अमे पाल नामक तिब्बतीले हरियो चउरमा भेडा चरिरहेको देखी लोभिएर बस्ती बसाली अग्लो पर्खालले घेरेको लोककथन छ । माटाका बाक्ला गरा भएका घर र बाक्लै ढुंगे पर्खालले घेरिएको सहरमा लेखक भने पुलका कुरा गर्छन् । अब पर्खाल बनाउने कि बगैँचा ? उनी यस्तो चिन्तनामा डुबुल्की मार्छन् ।
आधा दर्जन कविता पुस्तक लेखिसकेका किशोरका यात्रा साहित्य काव्यिक नै हुन्छन् । अनुभूतिको उडान उनको गद्य साहित्यको विशेषता हो । हिमाली रुझानले पनि उनलाई अन्य नियात्राकारभन्दा भिन्न बनाइदिएको छ । विश्व पुस्तक बजारमा बेस्ट सेलर खोज्ने हो भने हिमाली साहित्य आउँछ । अंग्रेजीमा समुद्र या मरुभूमिकै हाराहारीमा हिमाली साहित्य लेखिएका छन् । लेखकको प्रिय पुस्तक, पाठकको प्रिय पुस्तक । तर, नेपाली भाषाका लेखक त्यतातिर अझै पनि सोझिन सकेका छैनन् । एक त हिमाली यात्रा महँगो छ, अर्कोतिर त्यसमा जोखिम पनि प्रशस्त छ । हिमाली प्रकृति र संस्कृतिमा जादू पक्कै छ ।
किशोर किन यात्रालु छन् भने उनले आफ्नै पाकेट खर्चमा साइत गर्नुपर्दैन । महालेखा परीक्षकको कार्यालयका निर्देशक भएकाले उनलाई त्यस्ता अवसर मिलिरहन्छन् । माथिल्लो मुस्ताङको चार र तल्लो मुस्ताङको एक गरी जम्मा पाँचदिने यात्रामै सिंगो पुस्तकको तारतम्य मिलाउन सक्ने उनको सामथ्र्यको नजरअन्दाज गर्न सकिँदैन ।
यसका निम्ति उनले कति सन्दर्भ सामग्री अध्ययन गरे वा श्रव्यदृश्य पहिल्याए ? हिमाली अध्ययनकै लागि त उनको बसाइ ज्यादै छोटो हो तर लेख्छन् मोटो पुस्तक । पुस्तक कति गहकिलो छ ? यात्रा साहित्यप्रेमीहरूको ध्यानाकर्षण गर्न कति सफल छन् ? गएको ठाउँ पक्कै सबैलाई मायालु लाग्छ, नमेटिने चित्र पनि सिर्जना होला तर त्यसले पाठकलाई कति प्रेमिल तरंग दिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।
त्यसो त नियात्राकार यात्रामा विभिन्न प्रेमिल पात्रहरू भेट्छन् र जीवनभित्र जीवन खोज्छन् । जीवनका अनेक रंग र रूप समेट्छन् । केही मानिस भने बहुभूमिकामा छन् । साहुजी, मास्टरजी, नेताजी, एनजीओकर्मी, बस मालिक एउटै मानिस । उनका नियात्रा पढ्दा लोमान्थाङवासी निकै सरल लाग्छन् । पाहुनासित बढी नाफा खानु हुँदैन भन्ने पवित्र मान्यता छ । लोमान्थाङको मेनुमा भर्खरै हरियोपरियो प्रवेश गरेकामा लेखक औधि खुसी हुन्छन् ।
लेखकले नारीप्रधान समाज भेट्छन् त्यहाँ । सर्वेसर्वा महिला । कमाइ महिलाको हातमा, छोराछोरी महिलाकै इसारामा, महिला प्रश्नभन्दा माथि छन् । मातेर हिँडेका महिला देखिन्छन् । लोग्नेहरू लजालु छन् । पुरुष हिंसा सामान्य हो । बहुपति प्रथा पनि छ कतै कतै । रूपना थकालीको भनाइ मननीय छ– हिमाली क्षेत्रमा जन्मदर कम छ । जन्मेकालाई बचाउन झन् गाह्रो भएकाले परिवार नियोजन रोक्ने बेला भइसक्यो । एक–दुई सन्तान पनि कोही नबस्दा बस्ती मानवविहीन हुन थाले ।
लेखकलाई मुस्ताङी भेडा, घोडा, चौँरीहरूले निकै तानेका छन् । गोठाला, गोठाल्नीको ‘एमे ले ले, एमे लेले’ को ध्वनिमा लट्ठिन्छन् अनि नांगा तर रंगीन पहाडहरूसँग गफिन्छन् । राता, नीला, पहेँला चट्टानसित मितेरी लगाउँछन् । रुप्से छहरामा बसेर गाउँछन्, बेनीको बजार... । होटल मिस्टिक हिमालयमा बसेर हेर्दा उनलाई लोमन्थाङ नै विशाल तीर्थस्थलजस्तो लाग्छ । उनलाई आफ्नै नामका दामोदर कुण्ड, दामोदर हिमाल भेट्दा जिन्दगी त्यतै बिताइदिऊँजस्तो सनक पनि चढ्छ । हार्दिक भाषा बोल्ने क्रममा लेखक ६० वर्षपछि २०७४ जनवरीमा दामोदरकुण्ड गुफानजिक दस तारे होटलको १ सय सोह्रौं तल्लामा बसेको कल्पना गर्छन् । बेनीको कालीगण्डकी किनारदेखि कोरला नाकासम्म अल्टासोनिक केबलकारमा यात्रा गरेको सपना पनि देख्छन् ।
लेखक समाजका प्रकृतिका गायक मात्र होइनन्, विकृतिविरुद्ध खुलेका छन् । समाजलाई धर्म र संस्कृतिका नाममा अँध्यारोमा राख्नेलाई उनले बाँकी राखेका छैनन् । राजतन्त्र होस् या झुमा प्रथा या धामीझाँक्री प्रथाविरुद्ध पनि बेस्सरी खनिएका छन् ।
‘पर्खालभित्रको राजधानी’ का १९ शीर्षकीय नियात्रा समान कदका पक्कै छैनन् । लेखक इतिहास, भाषा, भूगोल, संस्कृति, समाज, विज्ञान आदि सबैलाई समेट्न खोज्छन् । तर, सबैमा उनको अँगालो पुगेको छैन । देखे–भोगेकै प्रस्तुति अझ ज्ञानबद्र्धक र मनोरञ्जक हुने ठाउँ छन् । स्वतन्त्र किसिमको, धेरै दिनको बसाइ र सन्दर्भ सामग्रीको समुचित उपयोग गरे उनको यात्रा साहित्य धेरैका निम्ति खुराक बन्न सक्छ । लेखनमा इमानदारी प्रमुख कुरा हो । उनको यात्राको उद्देश्य विशुद्ध प्रशासनिक खालको हुन्छ । तर, त्यसबारे उनी एक शब्द पनि चुहाउँदैनन् । मानौँ, शुभ–लाभभन्दा पनि यात्रा–लाभ मात्र लिइरहेका छन् । यात्राको स्केचमा उनी सिपालु छन् । नियात्राहरूले स्थानीयता राम्ररी बोकेका छन् । कतिपय तथ्य, तथ्यांकमा भने लेखक चुकेका देखिन्छन् । लोमन्थाङको चर्चा गर्दा लेखक खम्पा विद्रोही मुस्ताङी गुफामा लुकेको चर्चा गर्छन् । (पृष्ठ १६२) तर, पुस्तकमा लेखिएजस्तो खम्पाहरू नेपालसँग लड्न आएका होइनन् । उनीहरू त तिब्बती भूमि फिर्ताका लागि चीन सरकारसित लडेका होइनन् र ?

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?