कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओछ्याउने धर्ती, ओढ्ने आकाश

जीवन बडो रहस्यमय छ । जन्मने समय नौ महिना भन्ने थाहा हुने तर मृत्यु र भविष्यका बारेमा केही थाहा नहुने । भगवान्ले मानिसलाई अड्कलेर ज्ञान दिएका हुन् कि ?
श्रीभक्त खनाल

नेपालमा रहेका तिब्बतीका बारेमा जब नेपाली पत्रपत्रिकामा खबर आउँछन्, तब मुस्ताङका नोर्बु फुञ्चोकको कान ठाडा हुन्छन् । पहिलो, तिब्बतीका बारेमा समाचार कसरी प्रस्तुति गरिएको छ र दोस्रो, त्यसमा मुस्ताङलाई कसरी जोडिएको छ ?

ओछ्याउने धर्ती, ओढ्ने आकाश

म आइपुगेँ मुस्ताङ जिल्ला ।

मुस्ताङको कैसाङलाई चीनविरुद्ध छापामार युद्ध लड्दा तिब्बती गुरिल्लाले कुनै बेला हेडक्वाटर बनाएका थिए । त्यहाँबाट विभिन्न ठाउँमा गुरिल्ला परिचालन गरिए र उनीहरूले चीनविरुद्ध लडे । सन् १९५९ देखि सन् १९७४ सम्म अर्थात् १४ वर्ष उनीहरूले लड्दाका कुरालाई आजसम्म पनि जोडेर हेरिने गरिएकोमा फुञ्चोकको चित्त दुखाइ छ ।
मुस्ताङको छैरोमा सन् १९६५ देखि तिब्बती बस्न सुरु गरे पनि क्याम्प भने धेरैपछि मात्र स्थापना भएको हो । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सन् १९७२ मा । यहाँ ६० घरमा तीन सय थिए भने अहिले त्यति नै घरमा २ सय २५ छन् । करिब १८ हेक्टर जमिनमा फैलिएको क्याम्पको धेरैजसो जमिनमा स्याउ लगाइएको छ ।

म नोर्बु फुञ्चोकका कुरा चुपचाप सुनिरहेको छु :
हामी नेपाल आउँदा माथि आकाश र तल धर्ती मात्र थियो । नेपालले शरण दिने, नदिने थाहा थिएन । नेपाल सरकारको यो गुण हामी कहिल्यै बिर्सने छैनौँ । बुद्धको भूमिमा शरण लिन पाएका छौँ, नेपाल र नेपालीको ऋण हामी कहिल्यै बिर्सन सक्दैनौँ ।
हामीलाई नेपाली मिडियाले सधैँभरि गलत तरिकाले प्रस्तुत गर्ने गरेका छन् । स्थानीय ‘हिमालपारि’ दैनिकले पोखराका क्याम्पबाट दुई सय जना तिब्बती मुस्ताङ जाने र मुस्ताङबाट थप युवा मिसिएर तिब्बत जाने खबर छापिदियो । मुस्ताङको जोमसोममा मेरो सोभेनियर पसल छ । पसललाई स्वतन्त्र तिब्बती पक्षधरको अखडा भनेर पनि समाचारमा उल्लेख थियो ।
जिल्ला प्रशासन कार्यालयले मलाई बोलाएर स्पष्टीकरण लियो । मैले भनेँ, ‘हामी शरणार्थी हौँ । नेपाललाई अप्ठ्यारो पार्ने काम हामी गर्नेछैनौँ । प्रशासनका कुनै पनि पदाधिकारीलाई मेरो पसल र तिब्बती क्याम्पमा आउने अनुमति लिनु पर्दैन । जुनसुकै बेला छापा मार्न वा गिरफ्तार गर्न सक्छ । हरेक चैत मसान्तमा हाम्रो शरणार्थी परिचय–पत्र नवीकरण गर्ने समय हुन्छ, त्यो बेला यहाँहरू क्याम्पमा आउनुहोस्, हामी सबै कुरा देखाउँछौँ ।’
नभन्दै नवीकरणका बेला प्रमुख जिल्ला अधिकारी, डीएसपी र राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर क्याम्पमा आए । हामीले उनीहरूको जिज्ञासा मेटाउने काम गर्‍यौँ । सरकारी अधिकारीहरू आश्वस्त भएर गएपछि हाम्रो पीडा हल्का भयो । जाने बेलामा उल्टै हामीसँग सोधियो, ‘तपार्इंहरूका समस्या केही छन् कि ?’ हामीले शरणार्थीले परिचय–पत्र नपाएको बतायौँ । त्यसपछि अहिलेसम्म यसबारे नयाँ जानकारी पाएका छैनौँ ।
‘कुनै दिन तिब्बत फर्कन पाए जाने किन नजाने ?’ सरकारी कर्मचारीको प्रश्न थियो । हामीले भन्यौँ, ‘निर्धक्क जान पाए जाने, किन नजाने ?’
मलाई क्याम्पवरिपरि घुम्न मन लाग्यो । क्याम्पवरिपरि हरियाली थियो । स्याउबाहेक धुपीका बोटहरू पनि तिब्बतीहरूले सारेका रहेछन् । यी ५० वर्षभन्दा पुराना थिए । उनीहरूको नेपाल बसाइ जत्तिकै पुराना । धुपी र तिब्बती बौद्ध धर्म एकआपसमा जोडिएका छन् । पूजामा उनीहरू सुगन्धका लागि यसको प्रयोग गर्छन् । फर्केर गए पनि तिब्बतीले रोपेका हुन् भन्ने सम्झनाका लागि धुपी रोपेका रे †
क्याम्पको तलपट्टिको एउटा भाग खाली थियो, जहाँ ढुंगाका थुप्रा र काँडे बुट्यानहरू थिए । मलाई शङ्का लाग्यो, यो खेती नगरिएको जमिन पक्का चिहान हुनुपर्छ । नभन्दै हो रहेछ । मृतकहरूलाई आकाश, आगो र जमिनमा समाधि गर्ने प्रचलन रहेछ । तिब्बती पात्रोअनुसार मानिस कुन समयमा मरेको छ, त्यहीअनुसार आकाशमा समाधि गर्नुपर्ने भए काटेर गिद्धलाई खुवाउने, आगोमा समाधि गरिने भए जलाइने र गाड्ने भए चिहान बनाइने परम्परा रहेछ । यी सबै संस्कार त्यहाँ जीवन्त रहेछन् ।
आकाश समाधिको बारेमा मलाई जान्न मन लाग्यो र सोधेँ, ‘लास काट्ने काम कसले गर्छ ?’ नोर्बुले भने, ‘खास कोही मान्छे छैन, सबै मिलेर नै गर्छौं ।’
शरणार्थीले भोगचलन गरेको जग्गा नेपाल सरकारले सन् १९७६ मा दिएको हो । लालपुर्जाले त्यही बताउँछ । उति बेलाको नक्सामा उनीहरूलाई ढोक्पा भनेर लेखिएको छ । ढोक्पा भनेको खेती किसानी र जनावर चराएर जीविका चलाउने फिरन्ते समूह हो । क्याम्पमा दर्ता भएका केही मानिस अझै पनि उपल्लो मुस्ताङका मुक्तिनाथ, कागबेनी, लोमन्थाङ, नेचुङ आदि ठाउँमा फिरन्ते जीवन बिताइरहेका छन् । घरेलु काम र गोठालो उनीहरूको पेसा हो । यहाँका ७८ जनासँग मात्र आरसी छ ।
नोर्बुका अनुसार १० वर्षपहिले तिब्बतको खाम प्रदेशबाट आएका ३० जना मुस्ताङमा समातिएका थिए । उनीहरूलाई अध्यागमनमा बुझाइयो । उनको जानकारीमा त्यसपछि कोही पनि समातिएका छैनन् ।
तिब्बत फर्कने आशामा रहेको पहिलो पुस्ताका अधिकांश शरणार्थीको मृत्यु भइसकेको छ । केही वर्षअगाडि मैले भेटेका पात्र पछिल्लो समय त्यहाँ पुग्दा चिहानमा थिए । जीवन बडो रहस्यमय छ, तिब्बतको जन्म, नेपालमा मृत्यु । जन्मने समय नौ महिना भन्ने थाहा हुने तर मृत्यु र भविष्यका बारेमा केही थाहा नहुने । भगवान्ले मानिसलाई अड्कलेर ज्ञान दिएका हुन् कि ?

नोर्बु भन्दै जान्छन् :
मुस्ताङ दुर्गम जिल्ला हो । हामी थोरै छौँ । न हामीले फ्री तिब्बतको आवाज उठाएका छौँ, न त्यो हाम्रो नीति हो । दलाई लामाले भन्नुभएको छ, ’तिमीहरू जुन ठाउँको कुवाको पानी पिउँछौ, त्यहाँको नियम पालन गर्नुपर्छ ।’
हामीले पनि सरकारको नियम पालन गरेका छौँ । जीविका कसरी चलाउने भन्ने सबैको एउटै समस्या छ । नेपाल सरकारले शरणार्थीलाई भनेर अहिले जति जग्गा दिएको छ, त्यसमा स्याउ लगाएका छौँ । प्रत्येक घरका ५० बोटजति स्याउ पर्छन् । प्रत्येक बोटले वार्षिक करिब १० हजार रुपैयाँ फलाउँछन् ।
कसैले खेती र कसैले सोभेनियर सप राखेर गुजारा गरेका छौँ । पूजाआजाको कार्यक्रम भयो भने हामी आफैँ प्रशासनलाई बोलाउँछौँ । पहिलेपहिले उहाँहरू आउनुहुन्थ्यो, हिजोआज आउनु हुन्न । हामीसँग नेपाल सरकारलाई अप्ठ्यारोमा पर्ने न केही कुरा छन्, न त हामीले बोलेको कसैले सुन्छ । हाम्रो बोली भनेको शरणार्थी परिचय–पत्र देऊ भन्ने मात्र हो ।
क्याम्प अगाडिपछाडि अग्ला डाँडा छन्, बीचमा कालीगण्डकी नदी सुसाइरहन्छ । हामीले जति चिच्याए पनि यो आवाज यी दुई डाँडाको बीचमै हराउँछ । हाम्रो आवाज डाँडासम्म त पुग्दैन भने सिंहदरबारसम्म कसरी पुगोस् ?
स्थानीयसँग हातेमालो गरेका छौँ । सन् २०१५ को बर्खामा मार्फामा व्यापक असिना पर्‍यो, बाटो पुरियो । घर–घरमा पानी पस्यो । हामी क्याम्पबाट धुरीको एक जना जनश्रमदानमा गयौँ । हामी गाउँलेमा तिब्बती र नेपाली भन्ने भावना छैन । एकले अर्कोलाई सघाउँछौँ ।
९० प्रतिशत तिब्बती बाटोमा पसल थाप्छन् । १० प्रतिशतको आफ्नै दोकान छ । सन् २००२ सम्म सबैका घर तिब्बती परम्पराका थिए । मक्किएका बलोले छानोको भार थेग्न नसकेपछि र पानी चुहिने भएपछि धेरैका घरमा नीला टिन टल्किएका छन् । रहर होइन बाध्यतामा ।
(खनालको प्रकाशोन्मुख पुस्तक ‘अप्ठ्यारो बाटो: तिब्बती शरणार्थीको सङ्घर्ष–कथा’ बाट)

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?