२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उपाधि होड

चेल्सीले प्रिमियर लिग, युभेन्ट्सले कोपा इटालिया, मोनाकाले लिग वानमा आफूलाई च्याम्पियन बनाइसकेका छन् । युरोपेली फुटबलका अरू उपाधिको पनि छिनोफानो हुँदै छ ।
राजु घिसिङ

काठमाडौं — इंग्लिस प्रिमियर लिगमा आएको पहिलो सिजनमै एन्टोनियो कोन्टेले चेल्सीलाई दुई खेलअगावै च्याम्पियन बनाए । गएको सिजन चेल्सीबाट वर्खास्त गरिएका जोसे मोउरिन्होले सम्हालेको म्यानचेस्टर युनाइटेड भने च्याम्पियन्स लिगमा छनोट हुन पनि युरोपा लिगको फाइनलमा च्याँखे थापेर बसेको छ । जर्मनीमा बायर्न म्युनिखले लगातार पाँचौंपल्ट बुन्डेस लिगा कब्जा गरिसकेको छ ।

उपाधि होड


फ्रान्समा पीएसजी (पेरिस सेन्ट जर्मेन) को च्याम्पियन यात्रालाई मोनाकोले पाँचौं बर्षमा आएर ‘ब्रेक’ लगाइदियो । उसले एक खेल बाँकी छंदा पीएसजीमाथि ६ अंकको अग्रता लिदै वुधबार लिग वानको उपाधि जित्यो । उसले १७ बर्षको प्रतीक्षापछि फ्रान्सेली लिग च्याम्पियन बनेकै दिन युभेन्ट्सले लाजियोलाई हराएर कोपा इटालियाको ट्रफि कब्जा गर्‍यो । उही दिन रियल म्याड्रिड पनि सेल्टा भिगोलाई पन्छाउँदै पाँच बर्षयता पहिलोपल्ट स्पेनी ला लिगाको उपाधिनजिक पुग्यो ।
चेल्स सन् २०१५ मा पनि प्रिमियर लिग च्याम्पियन भएको थियो । त्यस बेला लन्डनको हट–सिटमा मोउरिन्हो थिए । तर यी ‘स्पेसल वान’ ले अर्को सिजन क्लबलाई उस्तै रफ्तारमा डोर्‍याउन सकेनन् र उनले लन्डन नै छाड्नुपर्‍यो । लेस्टर सिटी अविश्वसनीय रूपमा च्याम्पियन हुँदा चेल्सी भने च्याम्पियन्स लिगमा छनोट पनि हुन सकेन । रुसी अर्बपति रोमन अब्रामोभिचको टिमबाट यस्तो नतिजा अपेक्षा गरिएको थिएन ।
‘ब्ल्यक–सुट’ मा ‘टच–लाइन’ सम्हाल्दै आएका इटालियन प्रशिक्षक कोन्टेले फेरि चेल्सीलाई शक्तिशाली बनाएका छन् । मोउरिन्होले छाडेका खेलाडी बहुल टिमलाई नै उनले च्याम्पियन बनाएका हुन् । युरोपेली क्लब फुटबलको चर्को प्रतिस्पर्धामा नहुनुले पनि चेल्सीलाई घरेलु लिगमा फाइदा पुर्‍याएको थियो । त्यसैले हुन सक्छ, कोन्टेले अहिलेको उपाधिलाई सुरुआत भनेका छन् । उनको रणनीतिको वास्तविक परीक्षण अर्को सिजन हुनेछ । चेल्सीले आर्सनलसँग एफए कपको फाइनल पनि खेल्दै छ । त्यसैले कोन्टेको टिमलाई यसपालि ‘कप डबल’ गर्ने अवसर छ ।
स्वतन्त्र देश भएर पनि फ्रान्सेली लिग खेल्दै आएको मोनाकोको पुनरागमन कम रोचक छैन । करिब १८ हजार मात्र दर्शक क्षमता रहेको रंगाशालामा खेल्ने मोनाको पछिल्लोपल्ट सन् २००० मा लिग वान च्याम्पियन भएको थियो । त्यसबेला उसका मुख्य खेलाडी फावियन बार्थेज, डेबिड ट्रेज्ग्वेट, विली साग्नोल थिए । अहिले लयमा फर्किएका कोलम्बियन गोल मेसिन राडामेल फाल्काओ, १८ वर्षीय किलियन बाप्पेसहितको सम्मिश्रणमा च्याम्पियन भएको हो ।
मोनाकोका अहिलेको टिम युवा खेलाडीले भरिएको छ । उसका १३ खेलाडी २३ वर्ष वा त्यसभन्दा कम उमेरका छन् । व्यावसायिक फुटबलको पहिलो सिजन नै बाप्पेले २६ गोल गरेर तहल्का मच्चाए । फ्रान्स र युरोपमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उनलाई रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेडजस्ता ठूला क्लबले अनुबन्ध गर्न चाहेका छन् । बर्नाडो सिल्भा, थोमस लेमर, टिमोउ बाकायोको, बेन्जामिन मेन्डीका लागि पनि ठूला क्लबहरू मोटो रकम लगानी गर्न तयार छन् । त्यसैले उनीहरूको स्थानान्तरमा लियोनार्डो जोर्डिमको टिमको भविष्य निर्भर हुनेछ ।
आठौंपल्ट लिग च्याम्पियन भएको मोनाकोले युरोपेली क्लबहरूको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । उसलाई इटालियन महारथी युभेन्ट्सले फाइनल पुग्नबाट रोकेको थियो । मोनाको २०११ मा लिग टु (फ्रान्सेली लिगको दोस्रो डिभिजन) बाट झन्डै घटुवामा परेको थियो, जुन अहिले विश्वास गर्न गाह्रो पर्छ ।
रुसी डिमित्री रिबोलोभ्लेभले २०११ डिसेम्बरमा क्लब किनेपछि मोनाकोले उत्कृष्ट खेलाडी भित्र्याउन थाल्यो । त्यसपछि २०१३ मा ‘बी’ डिभिजन च्याम्पियन हुँदै मोनाको लिग वानमा फर्किएको थियो । लगत्तै ठूलो लगानी गर्दै फाल्काओलगायत स्टारहरू मोनाकोले भित्र्याएको थियो । मोनाकोको अहिलेको टिममा लिग टु जित्दाका चार खेलाडी मात्र छन् ।
फ्रान्सको वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका बाप्पेले यो सिजन बार्सिलोनाका नेयमर, रियल म्याड्रिडका करिम बेन्जेमा र गारेथ बेल, युभेन्ट्सका पाउलो डिबाला, बायर्न म्युनिखका थोमस मुलरले भन्दा पनि बढी गोल गरेका छन् । मोनो यो सिजन युरोपकै सबभन्दा आक्रमक टिम पनि हो तर उसको ‘फ्रि–स्कोरिङ गेम’ लाई युभेन्ट्सले च्याम्पियन्स लिगमा रोकिदियो ।
लगातार तीनपल्ट कोपा इटालिया जित्ने पहिलो क्लब बनेको युभेन्ट्स यो सिजन मुख्य तीन उपाधि जित्ने संघारमा छ । उसले जुनमा कार्डिमाफ रियल म्याड्रिडसँग च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । ‘ओल्ड लेडी’ त्यसअघि नै कीर्तिमान बनाउँदै लगातार छैटौंपल्ट सिरी ‘ए’ च्याम्पियन बन्न सक्छ । रोमासँग नहारेको भए उसले यो साता नै लिग पनि जित्ने थियो । म्याक्सिमिलानो एलेग्रीको टिमले अब आइतबार क्रोटोनलाई हराएर एक खेलअघि नै उपाधि जित्ने योजना बनाएको छ ।
युभेन्ट्स इटालियन फुटबलको परम्परागत शक्ति हो । उत्कृष्ट रक्षापंक्तिका लागि उसलाई विश्वकै उदाहरण मानिन्छ । गोन्जालो हिग्वाइन, डिबालाजस्ता फरवार्डदेखि ३२ ट्रफि जितेका डिफेन्डर ड्यानी आल्भेस, महान् गोलकिपर जियानलुइजी बुफोनको टिमलाई घरेलु लिग च्याम्पियन हुनबाट रोक्न अब मुस्किल छ । युरोपमा भने रियल म्याड्रिड उसको तगारो बन्न सक्छ ।
३२ वर्षे उमेरमा पनि क्रिस्टियानो रोनाल्डो रियलका मुख्य खेलाडीको रुपमा यथावत् छन् । उनकै प्रेरणामा जिनेदिन जिदानको टिम बार्सिलोनाको आधिपात्य तोड्दै पाँच वर्षपछि स्पेनी ला लिगाको उपाधि जित्ने संघारमा पुगेको छ । सेल्टा भिगालाई पराजित गरेपछि रियलले चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग तीन अंकको अग्रता लियो । त्यसैले उसलाई आइतबार मालागासँग हुने लिगको अन्तिम खेलमा हार टारे मात्र पनि उपाधि जित्न पर्याप्त हुनेछ । रियल पराजित भयो भने मात्र बार्सिलोना आफ्नो खेल जित्दै हेड–टु–हेडको आधारमा लिग च्याम्पियन बन्न सक्छ ।
पछिल्ला प्रदर्शन हेर्ने हो भने रियललाई मालागाले रोक्न सक्ने अनुमान गर्नु गलत हुन सक्छ । उसका गोलकिपर केयलर नाभास, डिफेन्डर मार्सेलोदेखि कासेमिरो, इस्कोसम्मै राम्रो लयमा छन् । यो सिजन ला लिगामा मार्सेलोले मेसीले भन्दा बढी गोलका लागि फाइनल पास दिएको तथ्यांक छ । इस्कोले १५ खेलयता १४ गोलमा योगदान गरेका छन् भने एकपछि अर्को कीर्तिमान तोड्दै आएका रोनाल्डोले पछिल्ला आठ खेलमा १३ गोल गरेका छन् । त्यसैले बार्सिलोनालको लागि यसपालि ला लिगाको उपाधि ‘पर्ख र हेर’ मा सीमित हुन सक्छ ।
कीर्तिमान १२ औंपल्ट युरोपेली च्याम्पियन बन्ने अभियानमा रहेको रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा छिमेकी एट्लेटिको म्याड्रिडलाई हराएको थियो । लिग जित्न नसके पनि बार्सिलोना यो सिजन उपाधिविहीन नहुन पनि सक्छ । किनभने लियोनल मेसी, नेयमर, लुइस स्वारेजको टिमलाई कोपा डेल रेको उपाधि जित्ने अवसर छ । उसले त्यसको फाइनल मे अन्तिममा आल्भेससँग खेल्दै छ ।

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?