रोमका छोरा

रोमा टोटीलाई आफ्नो इतिहास, आफूले बोकेको धारणा, अनि आफ्नो छविकै प्रतीक मान्छ । यतिसम्म भनिन्छ कि टोटी नै रोमा हो, रोमा नै टोटी हो ।
हिमेश

सन् १९२७ एएस रोमाको जन्म भएको थियो, रोमका त्यति बेलाका तीन क्लब एकै स्थानमा गाभिएर । यसको कारण थियो, इटालीको फुटबलमा उत्तरतर्फका क्लबको वर्चस्व तोड्न । यस पछाडिका योजनाकार थिए, फासिस्ट तानाशाही बेनिटो मुसोलिनी ।

रोमका छोरा

रोमको एउटै क्लब बनाउने उनको योजनालाई त्यति बेला अस्वीकार गरेको थियो, लाजियोले । लाजियोले मुसोलिनीको आदेश मानेन र आफू अलग्गै बस्यो । त्यति बेलादेखि रोमा र लाजियोबीच सुरु भएको दुश्मनी अहिले पनि कायम छ । 
पउलो डी क्यानियो मुसोलिनीका राजनीतिक प्रतिद्वन्द्वी थिए । डी क्यानियो आफैंलाई फासिस्ट मान्थे । तर उनी मुसोलिनीलाई भने फासिस्ट मान्न तयार थिएनन् । डी क्यानियोले नै कुख्यात ‘रोमन स्यालुट’ निकालेका हुन्, जुन अहिले पनि चरम दक्षिणपन्थीहरूको प्रतीक छ । जे होस्, रोमा र लाजियोका समर्थक मात्र फरक छैनन्, उनीहरूले प्रतिनिधित्व गर्ने राजनीतिक विचार पनि फरक छ । तर त्यसको आधार भने पक्कै नाजीवाद नै थियो । इतिहासले यस्तै भन्छ । 
यी दुई क्लबको प्रतिद्वन्द्विताले धेरैलाई घाइते बनाएको छ, कैयौंको ज्यान लिएको छ । अनि धेरै दंगा–फसाद पनि गरेको छ । अहिले पनि यी दुई क्लब भिड्दा बहस छेड्न गरिन्छ, रोम कसको हो त ? अथवा इटालीको यस प्राचीन सहरको वास्तविक प्रतिनिधित्व कसले गर्छ त ? यी सबै इतिहासका प्रसंग कोट्याउनुको कारण हो, केही दिनमै यस सहरले जन्माएका अहिलेसम्मकै प्रिय फुटबल खेलाडी फ्रान्सिस्को टोटीले खेल जीवनबाट सन्न्यास लिंदै छन् । टोटीलाई रोमका छोरा पनि भनिन्छ । 
तर टोलीले खालि रोमाको मात्र प्रतिनिधित्व गर्छन् । अझ भनौं, टोटीले रोमाबाहेक अरू क्लबबाट कहिल्यै खेलेनन् । आठ वर्षको उमेरदेखि उनी रोमासँग आवद्ध थिए । विश्वास नहुन सक्छ, एकपल्ट झन्डै रोमाले उनलाई सानैमा लाजियोलाई बेच्न खोजेको थियो । त्यति बेला वास्तवमै के भएको थियो त ? अहिलेसम्म पनि यसबारे धेरै तथ्य बाहिर आएको छैन अथवा रोमा यसबारे धेरै चर्चा होस् भन्ने चाहन्न । त्यसैले यो त्यसै सुस्ताएको विषय हो । भनिन्छ, उनको आमाबुबा आफ्ना छोराले लाजियो अथवा अरू नै क्लबाट खेलोस् भन्ने चाहन्थे । 
त्यसैले रोमाले टोटीलाई आफूमा राख्न खुबै मिहिनेत गर्नुपरेको थियो र यसका लागि उनका आमाबुबालाई निकै फकाएको थियो । अहिले भने रोमा टोटीलाई आफ्नो इतिहास, आफूले बोकेको धारणा, अनि आफ्नो छविकै प्रतीक मान्छ । अचेल त यतिसम्म भनिन्छ कि टोटी नै रोमा हो, रोमा नै टोटी हो । त्यसो त उनी इटालीकै सबैभन्दा सफल फुटबल खलाडीमा पर्छन् । केही उनको नाम अगाडि महान् पनि थप्छन् । इटालीभरि उनको लोकप्रियता व्यापक छ । 
तर उनलाई मन नपराउनेहरू अरू कतै होइन, रोममै छन्, लाजियो समर्थकका रूपमा । टोटीले एकपटक भनेका थिए, ‘म रोमा र फुटबल दुवैलाई उत्तिकै माया गर्छु, अझ भनौं दुवैसँग विवाह पनि गरेको छु । मेरा लागि फुटबल एउटा खेलभन्दा पनि धेरै हो । अझ भनौं, यो मेरा लागि धेरैथोक हो ।’ प्रस्ट छ, टोटी आफैंले पनि लाजियोलाई मन पराउँदैन् । लाजियोविरुद्ध उनले खुलेरै बोलेका भने छैनन् । तर रोमालाई राम्रो, ठूलो भन्न उनले कहिले पनि कन्ज्युसाइँ गरेनन् । 
अनि उनले थपेका छन्, ‘तर मेरा लागि योभन्दा पनि ठूलो रोमा हो । रोमा मेरा लागि सबथोक हो । म सधैं रोमा हुँ, म योबाहेक अरू केही हुन सक्दिनँ ।’ सानोमा टोटी जहाँ हुर्केका थिए, त्यसको ठ्याक्क अगाडि एउटा रेस्टुरेन्ट छ र त्यसको नाम हो, रोमा १९२७ । यो रोमा क्लबका समर्थकका लागि एकपल्ट पुग्नैपर्ने मक्काजस्तै हो । यहाँ खालि रोमाका जर्सी, स्कार्फ मात्र पाइन्छ । अनि रोमाले खेलेका फुटबलका तस्बिर पनि । यसका अहिलेका मालिक हुन्, जर्जियो लुकारेली । 
उनी रोमाबारे बताउन सक्ने सानोतिनो विशेषज्ञ नै हुन् । उनका भनाइ बरोबर मिडियामा आउने गर्छ । उनले पनि एकपल्ट भनेका थिए, ‘रोममा टोटी जत्तिको खेलाडी कहिल्यै जन्मने छैन । मलाई पूरा विश्वास छ, टोटीले ५० वर्षसम्म पनि मज्जाले खेल्नेछन् ।’ उनी यो पनि मान्छन्, ‘तर पक्कै त्यो दिन पनि आउनेछ, जति बेला टोटीले रोमाविरुद्ध खेल्न छाड्नेछन् ।’ हो, त्यही दिन अब चाँडै आउँदै छ, केही दिनमा । केही घण्टामा । अहिले टोटी ४० वर्षका भए । 
इटालीको माथिल्लो डिभिजनको फुटबल लिग सिरी ‘ए’ को यो सिजन समाप्त हुने संघारमा छ र यससँगै टोटीले पनि सन्न्यास लिनेछन्, फुटबल खेल्नबाट । उनले यसबारे पहिले नै घोषणा गरेका हुन् । त्यसैले टोटीको त्यो अन्तिम खेल हेर्न अहिले नै रोमा समर्थकहरू तँछाडमछाड गरिरहेका छन् । खासमा रोमा र टोटीबीचको अनुबन्ध यस सिजनको समाप्तिमा सकिनेछ । रोमा समर्थकलाई के पनि विश्वास छ भने टोटी रोमा छाडेर अरू क्लबबाट खेल्ने छैनन् । त्यसो त हल्ला न हो, टोटी अमेरिका जाने गाइँगुइँ पनि छ, मेजर सकर लिग खेल्न । मेजर सकर लिग अर्थात् नामी खेलाडी बूढो भएपछि पेन्सन पकाउन जाने लिग । 
रोमा समर्थक चाहन्छन्, यो हल्ला मात्र होस्, हल्लामै सकियोस् । सन् १९९३ मा १६ वर्षको उमेरमा टोटीले रोमाको सिनियर टिमबाट डेब्यु गरे । त्यसयता तीन सय गोल गरिसकेका छन्, आठ सयपल्टभन्दा बढी रोमाका लागि खेलिसकेका छन् । यसबीच उनले एकपल्ट लिग जिते, दुईपल्ट कप जिते । रोमाका लागि धेरैथोक गर्ने लगभग सबै कीर्तिमान उनकै नाममा छ । उनले इटालीका लागि सन् २००६ को विश्वकप पनि जिते । सन् २००० मा इटाली युरोको फाइनल पुग्दा पनि टिमको प्रमुख सदस्य थिए । 
फुटबल खेल्न छाडे पनि टोटीले के गर्नेछन् त ? धेरै अगाडि यस्तै प्रश्न टोटीलाई सोधिएको थियो । त्यति बेला उनी भन्थे, यसबारे त सोचेकै छैन । तर इटालीका मिडियालाई मान्ने हो भने उनले के एकपल्ट खेल्न छाड्नेछन्, उनी सीधै क्लबका निर्देशक बन्नेछन् । टोटी र रोमाले यस्तै गोप्य अनुबन्ध गरेका छन् । जे होस्, टोटी सन्न्यास लिँदै छन् र इटालीको फुटबलमा एउटा अनुच्छेद सकिंदै छ । यसक्रममा रोमा समर्थक धेरै प्रकारको भावनाबाट गुज्रिनेछन् । सायद लाजियो समर्थकका लागि यो राहतको अवसर पनि हुनेछ । 

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?