सहर फेर्ने समय

हिमाल न्यौपाने

पाँच डिग्री तापक्रम दुई साताको अन्तरमा एक्कासि उकालो चढ्दै छ । डेढ महिनाअघि माइनस बीस डिग्री थियो । तापक्रमको निकै उतार–चढाव भएको ठाउँ हो, चीनको उत्तर पूर्वी सहर छाङ्छुङ् । यो अहिले दिनुहुँजसो समाचारमा छाउने उत्तर कोरियाको सीमावर्ती चिनियाँ सहर हो ।

छाङ्छुङ्को अर्थ पनि रमाइलै छ । छाङ् भन्नाले लामो र छुङ् अर्थात् वसन्त ऋतु । पन्ध्र–बीस दिन मात्र अर्थात् असाध्यै कम समय मध्यम मौसम रहने ठाउँलाई चिनियाँहरूले लामो वसन्त ऋतु भएको सहर भनेर छाङ्छुङ् नाम दिएका छन् । 
किन त ? छाङ्छुङ्का पाकाहरू भन्छन्, ‘अर्कोपटक लामो वसन्त ऋतु हुनेछ भनेर यस्तो नाम दिइएको हो ।’ यहाँका मानिसहरू अर्को वर्ष लामो वसन्त ऋतु आउने आसमा सबैभन्दो छोटो वासन्ती मौसमलाई बिदा गर्दै चर्को गर्मी र लगत्तै माइनस तीससम्म पुग्ने हिउँमा लुटपुटिन थालिहाल्छन् । फेरि राम्रा दिन आउनेछन् भन्ने आसमा जीवनको निरन्तरता हो भन्ने बुझ्न यो छाङ्छुङ्को नाम र मौसम दुवै काफी छन् । 
अहिलेका चिनियाँ युवा भने राम्रो दिनका लागि भाग्यमा भर पर्ने दिन गए भन्छन् । चिनियाँ मित्र चाङफङलाई मैले भनें, ‘यो कुरा त नेताहरूको भाषणजस्तै भयो नि ।’ चाङले भनी, ‘ल हिँड म तिमीलाई केही दिनमै चर्किने गर्मी थेग्न भइरहेको तयारी देखाउँछु ।’ चाङ र म विश्वविद्यालय नजिकैको सडकमा आधा घण्टा हिँड्यौं । उसले सुनाई, ‘सडकमा गुड्नेले वातानुकूलित कार चढ्छन् । यो सहरको अर्को नाम अटोमोबाइल सिटी पनि हो । तर, फुटपाथमा हिँड्नेको समेत ख्याल गर्नुपर्‍यो नि ।’ यसको जिम्मा स्थानीय सरकारले लिन्छ । हुन पनि दुई साताअघि फराकिलो पार्न थालेको सडकमा फुटपाथ बनिसकेछ । भर्खर बनेको फुटपाथमा एकाएक अग्ला–अग्ला रूख र बगैंचा देखेर म त छक्क परें । हरिया हुँदै गरेका रूखमा बिरामी मानिसलाई रगत चढाएजस्तै भिटामिनका ब्यागहरू झुन्डिएका थिए । मैले तस्बिर खिचें । तर, मैले तस्बिर खिचेको देखेर चाङ छक्क परी । उसले भनी, ‘चिनियाँ सहरमा सग्लै रूख रोप्ने र रूख नसर्दासम्म यसै गरेर भिटामिन दिनु अब नयाँ कुरा होइन । यस्ता दृश्य सामान्य हुन् ।’ 
हुन पनि काठमाडौंको भन्दा दोब्बर जनसंख्या भएको छाङ्छुङ्मा लगभग सबैजसो फुटपाथमा हिँड्दा अब सोझै चर्को घाम खेप्नु पर्दैन । रूखसँगसँगै विभिन्नथरीका फूल रोपेर फुटपाथ लगभग सुन्दर बगैंचाजस्तै देखिन थालेको छ । यसरी सजाइएको बगैंचाको आयु करिब छ महिना मात्रै हो । त्यसपछि हिउँले यसलाई ढाकिहाल्छ । अर्थात्, केही महिनाका लागि मात्रै सहर सिँगार्न कति मिहिनेत परेको होला । चाङले भनी, ‘हो धेरै मिहिनेत छ । तर, त्यसका फाइदा अनेक पनि त छन् । पहिलो त रोजगारी नै हो ।’ यसरी सहर सफा सुग्घर राख्ने काममा पहिलो प्राथमिकता पाका मानिसहरूलाई छ । उनीहरू अघिल्लो पुस्ताका हुन् । उबेला कलेज पढ्न पाएनन् । त्यसैले अहिलेका मेसिनरी जागिर पाउन गाह्रो छ । तर, उनीहरूले धैर्यपूर्वक काम गर्न जानेका हुन्छन् । र, उनीहरूको अनुभवले सहर सिँगार्न सजिलो हुन्छ । अर्को झनै फाइदा पनि छ । पाका उमेरका अनुभवीले सफासुग्घर पारेको सहरमा हुर्कन पाएपछि तिनका सन्तानले बढी काम गर्न सक्छन् । कार्यालय र व्यापारमा हरेक दिन टाउको दुख्यो या रुघा लाग्यो भन्नेहरूको संख्या स्वत: कम भइहाल्छ । 
यसरी फुटपाथका बगैंचा हेर्दै चाङका कुरा सुनिरहँदा मचाहिँ तीनकुने कार्यालयबाट आफ्नै डेरा बुद्धनगर हिँडेको सम्भिँmदै थिएँ । दुई महिनाअघि त्यो बाटो हिँड्दा सडकबीचको बगैंचामा रोपिएका बिरुवाका पात धूलोले ढपक्कै छोपेको थियो । तीन किलोमिटरको सडक बगैंचा हुर्काउने जिम्मा लिएको नेपाल टेलिकमका तीन–चारवटा बोर्ड मात्र सडकको बीचमै चम्किला देखिन्थे । हाम्रा कैयौं सहरहरू सार्वजनिक निजी साझेदारीको नाममा कुरूप पारिएका छन् । दुई–चार किलोमिटर मुख्य सडकको छेउछाउ रूख रोप्न र हुर्काउन पनि होडिङ बोर्ड टाँस्ने कम्पनी खोज्नेहरूले किन महानगर बनाउन तम्सिए यो आफैंमा अचम्मलाग्दो छ । सरसफाइ कर्मचारीहरूको परिचालन पनि निकै कमजोर छ । यतातिर भने सडक सफा गरिरहेका पाका मानिसहरू विभिन्न उपकरणले सुसज्जित देखिन्छन् । 
सायद, अब नेपालमा यसपालि आएका जनप्रतिनिधिहरूले सहरको वातावरण सुधारमा पक्कै केही गर्नेछन् । छाङ्छुङ्का बगैंचामा चुनावअघि नेताहरूले देखाएका सपना र अहिले जनताले चुनेर उनीहरूलाई दिएको जिम्मा सम्झेर एकै छिन टोलाएको मात्र के थिएँ, चाङले सम्झाई— अब फर्किने बेला भयो । साँझको बजार हेर्न फेरि भेटौंला । बिदा हुने बेलामा उसले मलाई अंग्रेजी नाम देऊ सम्झिन सजिलो हुन्छ, भनी । नाम जुराउन मलाई धेरै बेर लागेन र भन्दिएँ, ‘लोरा फङ्’ । बगैंचाजस्तो फुटपाथमा यति लामो कुरा गरेपछि मैले चाङलाई पनि फूलको सहरमा बस्ने फूल अर्थात् ‘लोरा’ नाम दिएँ । 
फेरि भेट भयो, अर्को दुई दिनपछि । साँझको बजार घुम्न तय भएको समयमा एक सेकेन्ड ढिला नगरी आइपुगी, ‘लोरा फङ्’ । पाँच मिनेट टाढाको होस्टलबाट आउँदा पनि ऊ ट्याक्सीबाट ओर्लिई । किन भन्ने प्रश्न नफुत्किँदै उसले भनी, ‘अहिलेको चिनियाँ पुस्ता समयलाई अलि बढी नै महत्त्व दिन्छन् । समयमा नपुगे काममा समस्या हुन्छ । काम नभए पैसा कमाउन सकिन्न । पैसो नभए चिनियाँ सहरमा काम गर्न सक्नेलाई सित्तै कसैले पानी पिउनसमेत दिँदैन ।’ तर, समयको पालना गर्न धेरै कुरा मिल्नु पनि पर्‍यो नि । मैले भने, ‘पाँच मिनेटको बाटोमा ट्याक्सी चढ्न पाउनु हाम्रा नेपालका सहरमा चन्द्रमा यान चढ्नुजस्तै गाह्रो छ । नजिकको ठाउँ बताए ट्याक्सीले लैजान मान्दै मान्दैनन् । अझै ड्राइभर झर्केर दिन नै खराब गर्दिन बेर लाग्दैन । सहरको सार्वजनिक यातायात सुधार भए कसले समय टार्ने थियो र, हाम्रोमा पनि ।’ उसले भनी, ‘ट्याक्सीका कहानी छोड र साँझको रमाइलो बजार हिँड ।’ 
दिउँसो खुला देखिने छाङ्छुङ्का फुटपाथ चोक झमक्क साँझ पर्दा खानाका स्टलहरूले भरिइसकेका थिए । चाउमिनका अनेक प्रकारदेखि पोलेका सखरखण्ड र उसिनेका मकै खानेहरूको ताँती लाग्दै थियो । उसले फुड स्टलमा हात लम्काई । मैले फुटपाथमा केही खान्नँ, भने । उसले आश्वस्त पार्न खोजी, ‘खराब केही हुन्न । यी सबैले सहरी प्रशासनसँग लाइसेन्स लिएका छन् । कम पुँजी भएका र चोक छेउछाउ भएकाले स्थानीय स्वाद झल्किने व्यापार गरुन् भनेर यस्ता ठाउँ तोकिदिएको हो । खराब खानेकुरा बेचे कडा कानुन छ । तलमाथि गर्ने आँटै गर्दैनन् । भैगो तिमीलाई म केटीभी लैजान्छु ।’ कान्तिपुर टेलिभिजनलाई छोटकरीमा केटीभी भन्दै पन्ध्र वर्ष काम गरेको मलाई केटीभी लैजान्छु भनेर उसले फेरि छक्क पारी । चाङले भनी, ‘यो तिमीले काम गर्ने केटीभीसँग अलि–अलि मिल्छ । काराओकेको छोटकरीमा केटीभी भनिएको हो । चीनका ठूला–साना सहरमा ‘केटीभी’ निकै लोकप्रिय छन् । यस्ता सांगीतिक क्लबमा चीनमा धनाढ्य हुँदै गएका र तिनका छोराछोरीले मनग्य खर्च गर्छन् ।’ केटीभी पुगेर चाङले चार बोतल बियर किनी । मैले ‘धेरै भएन’ भनेर सोध्दा उसले जवाफ दिई, ‘दुई प्रतिशत मात्रै अल्कोहल हो । चारै बोतल एक्लै पिए पनि तिमी सजिलै हिँडेर घर जान सक्छौं ।’ 
फस्टाउँदो मनोरञ्जन बजारलाई अनुशासनमा राख्न जरैदेखि उपायहरू लगाएको देखिन्छ । धेरै बोतल पिउँदा राज्यलाई कर बढी उठ्ने, पियक्कडहरू पनि ढलिनहाल्ने । गजब तरिका लाग्यो । अर्कोतिर यसरी फस्टाएको मनोरञ्जन व्यापारबाट उठेको धेरै करले सहरहरूको विकासमा पनि ठूलो योगदान छ । केटीभीमा चिनियाँ र अंग्रेजी गीत गाउँदा गाउँदै रातिको बाह्र बजिसकेछ । केटीभीबाट बाहिरिँदा सडकमा चहलपहल अझै थियो । खाना बेच्ने पसलहरू भने उठिसकेछन् । ट्याक्सी बोलाउनै आँटेको उसले भनी, ‘पाँच मिनेटको बाटो हो । म गइहाल्छु हिँडेर, ट्याक्सी चाहिँदैन् ।’ यति राति केटी मान्छे एक्लै जाने, उसले भनी, ‘केही फरक पर्दैन । सडकमा पूरै सिसी क्यामेराको सर्भिलेन्स छ । कसले छुने आँट गरे केही गर्नुपहिल्यै पुलिस आइहाल्छ ।’ 
हुन पनि, आममानिसलाई अनुशासित बन भनेर जति भने पनि केही काम छैन । जबसम्म प्रविधि र सुरक्षा सेवाको भरपर्दो संयोजित व्यवस्था हुँदैन । जाँदाजाँदै चाङले दोहोर्‍याइ, ‘चिनियाँ समृद्धिको सूत्र यही हो, सहर उच्च आर्थिक वृद्धिका इन्जिन हुन भने गाउँ इन्जिन चलाउन चाहिने इन्धन ।’ मैले बुझेजस्तो गरें, ‘उत्पादन, खपत र त्यसबाट निस्कको चिनियाँ सामथ्र्यको संगम यही होला ।’ 
मैले फेरि नेपाल सम्झिएँ— नेपालमा भर्खर चुनिएका नयाँ स्थानीय सरकारहरूले यस्ता कैयौं तरिका लगाएर काम देखाउने मौका पाएका छन् । त्यसैले अब ढिलो नगरी मुहार फेरौं सहरको ।

Yamaha

प्रकाशित : जेष्ठ २०, २०७४ ०९:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ओबर प्रवेशका अवसर र चुनौती

हिमाल न्यौपाने

चिनियाँ सामथ्र्यको विस्तार मानिने बेल्ट एन्ड रोड इनिसियटिभ फ्रेमवर्क ‘ओबर’मा औपचारिक प्रवेशसँगै बेइजिङको बृहत फोरममा सहभागी भएर नेपालले एकैपटक दुइटा बाजी मारेको छ । पहिलो बाजी हो, भारतीय सतर्कतालाई थेगेर बेइजिङसँगको परम्परागत कसिलो सम्बन्धको सेतु चँ‘डेको छैन भन्ने सन्देश दिनु । ओबर चीनको रणनीतिक कदम भएकाले यस फ्रेमवर्कका सदस्यहरूले एकअर्काको अर्थ–राजनीतिकदेखि सामरिक साझेदारीमा जोडिएका छन् ।

यसको आधारमा हेर्दा नेपाल अब राष्ट्रिय सुरक्षाका दृष्टिकोणले दक्षिणमा आश्रित भइराख्नुपर्ने छैन । यस अनुसार नै नेपालले सावधानीपूर्वक चीनसँग सुरक्षा साझेदारीमा पाइला टेकिसकेको छ । दोस्रो बाजी हो, पूर्वाधार र जनसम्बन्ध विस्तारमा रहेको पश्चिमा केन्द्रित बहुराष्ट्रिय संस्थाहरूको आकर्षण या दबदबा अब निर्विकल्प रहेन । किनकि नेपाली प्रतिनिधिमण्डल पनि बेइजिङको भव्य फोरममा विकासोन्मुख देशका लागि घोषणा भएको ८७ अर्ब डलरको छुट्टै कोष र थप लगानीका लागि १ खर्ब १५ अर्ब डलरभन्दा बढीको लगानी प्रस्तावको साक्षी भइसकेका छन् । यसरी घोषित कोषबाट रकम लिएर विकासमा लगाउने अवसर आँखै अगाडि छ । 

तर यति हुँदाहुँदै पनि नेपाल ‘ससर्त समझदारी’ भनेकाले ओबरमा प्रवेशबाट प्राप्त हुनसक्ने अवसरका लागि थप प्रयास भने गर्नुपर्ने हुन्छ । किनभने नेपालले आनाकानी गरेको चिनियाँ मुद्रामा लगानी सकार्ने र स्वतन्त्र व्यापार सम्झौताजस्ता निकै महत्त्वपूर्ण कुरालाई थाती राख्दा लगानीको दर तत्काल बढ्ला भन्न सकिन्न । तैपनि बेइजिङ फोरमकै अवसरमा भएका थप दुई समझदारी अन्तरसीमा आर्थिक क्षेत्र निर्माण र स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तार सम्झौताले उत्तरी क्षेत्रको विकास र चिनियाँ यातायात सञ्जालमा जोडिएर पारवहन विकल्पको रूपमा फड्को मार्न सघाउनेछ । यसबाट दक्षिणी क्षेत्रमा रहेको ‌औद्योगिक उत्पादन तथा वितरणमा आधारित नेपालको अर्थ–राजनीतिक नक्सा बदलिन सक्छ । यसरी सुरुवातमा देखिएका कैयौं अवसरलाई छोप्न र त्यसको प्रतिफलले न्युन आम्दानीको धरापमा रहेको जीवनस्तर उकास्न काम गर्न सबै क्षेत्रबाट पहलसँगै दबाब बढाउनुपर्छ । 

अर्को मुख्य कुरा ओबर प्रवेशसँगै प्राप्त हुने अवसरका लागि अगाडि बढ्दा त्यसबाट निम्तिन सक्ने जोखिमलाई पनि उत्तिकै ध्यान दिन जरुरी छ । त्यस्तो जोखिम कम गर्ने सावधानी अपनाउने कुरामा हिच्किचाउन आवश्यक छैन । त्यस्तो सावधानी अपनाउनु अघि बेल्ट एन्ड रोडको रणनीतिक रिङमा प्रवेशपछिका चुनौतीलाई केलाउनु आवश्यक छ । यो प्रसंगमा एउटा चर्चित चिनियाँ उक्ति सान्दर्भिक छ– ‘नदी तर्न‘छ भने खुट्टाले पिँधको ढुंगा पहिल्याउँदै अघि बढ ।’ यो उक्ति ३७ वर्षअघि देङ स्याओ पिङले सयवर्षे लक्ष्यमा आधारित खुलापन र सुधारको लक्ष्यसँग जोडेर सबैभन्दा बढी दोहोर्‍याएका थिए । देङले तीव्र आर्थिक विकासको नयाँ चरणबाट गुजँ्रदा त्यसले सिर्जना गर्नसक्ने अवसरसँगै चुनौती पनि त्यतिकै हुन्छ भनी चिनियाँहरूलाई सचेत गराएका थिए । यसैले ओबर फ्रेमवर्कमा प्रवेश गर्दा नेपालका लागि पनि यो उक्ति निकै सान्दर्भिक छ । तीव्र आर्थिक विकासको चरणमा प्रवेश गर्दा पुँजी, प्रविधि र मानिसको तीव्र ओहोर–दोहोर हुन्छ । यसका असर चौतर्फी हुन्छन् । त्यस्ता असर थेग्न राष्ट्रिय हितमा प्रतिबद्ध नयाँ संस्था तथा नयाँ कानुन तथा नियमनको आवश्यकता पर्छ । त्यसैले चिनियाँ रणनीतिक कदम ओबरमा सामेल हुँदै गर्दा त्यसले पार्नसक्ने नकारात्मक प्रभावबारे समेत गहन बहस चलाउन जरुरी छ । त्यसमा पनि ओबर चिनियाँ आर्थिक, कूटनीतिक र सामरिक रणनीतिमा आधारित भएकाले यसले यो क्षेत्रमा अर्थपूर्ण चुनौती सिर्जना गर्नेछ । त्यस्ता अर्थपूर्ण चुनौती के–के हुनसक्छन् भन्ने कुरालाई नियालेर हेर्नुपर्छ । 


पहिलो चुनौती भनेकै यो बहुआयामिक रणनीतिमार्फत चिनियाँहरू के चाहन्छन् भन्ने नै हो । चिनियाँहरूको रणनीतिक चाहनाबारे चीनभित्रै प्राज्ञिकदेखि चियागफमा कैयौं बहस भएका छन् । जस्तै– चीनले ओबरलाई साविककै विश्व प्रणालीका नियमहरू ग्रहण गर्दै अघि बढाउनेछ या साविकका नियमहरू तोड्दै नयाँ नियमहरू सिर्जना गर्न अग्रसर हुन्छ भन्ने प्रश्न छ । चीनभित्रै पनि उठिरहेको यो बहस छिट्टै निक्र्याेलमा पुग्ने छैन । यसकै सेरोफेरोमा देखिने केही चुनौती हेरौं : पहिलो चुनौती, राजनीतिक अस्थिरता । 
ओबर चिनियाँ रणनीतिमा आधारित अर्थ–राजनीतिक औजार हो । यसको घोषित उद्देश्य नै समान गन्तव्यका लागि समुदायको निर्माण हो । यसरी हेर्दा सोझो अर्थमै जसले समुदाय निर्माणको पहल थाल्छ या नेतृत्व लिन्छ, समाजमा उसका मूल्य–मान्यता स्वत: हावी हुन्छ । त्यसैले यो रणनीतिमार्फत चीन साझेदार देशको आन्तरिक राजनीतिमा नमुछिए पनि आफ्नो हितरक्षाका लागि त्यहाँका आफूअनुकूल घरेलु राजनीतिक शक्तिहरूसँग नजिक रहन प्रयास गरिहाल्छ । त्यसमा पनि चिनियाँ कूटनीतिलाई मान्यतारहित कूटनीतिको रूपमा लिने गरिन्छ । यसलाई चिनियाँहरूले हस्तक्षेपरहित भनी व्याख्या गरे पनि अर्को अर्थमा फाइदाका लागि जसलाई पनि उपयोग गर्न तयार भइहाल्ने रूपमा बुझिन्छ । त्यसै पनि दक्षिण एसियामा भारतले चिनियाँ सामथ्र्यलाई सिधै टक्कर दिन सक्दैन । तर साना छिमेकीको हकमा राजनीतिक सामथ्र्य देखाउँदै आएको छ । यसको परिणाम पाकिस्तान बाहेक श्रीलंका र नेपालको हकमा राजनीतिक अस्थिरताको प्रमुख कारण चिनियाँ प्रभाव रोक्न भारतले अपनाउने प्रत्यक्ष सतर्कता हो भन्नेमा खासै मतभेद देखिँदैन । अझै नेपालको हकमा भारत र चीनको प्रतिस्पर्धा खुलेरै प्रकट हुन थालिसकेको छ । र यो राजनीतिक स्थिरता हैन कि अस्थिरताको कारक बनिरहेको छ । त्यसैले ओबरमा प्रवेशसँगै राजनीतिक दलहरूले चिनियाँ सहयोग या ऋणबाट हुने विकासलाई पार्टीगत उपयोगभन्दा पनि राष्ट्रिय स्वार्थ र आवश्यकताको रूपमा बुझ्न तयार हुनुपर्छ ।


दोस्रो चुनौती, भ्रष्टाचार । चिनियाँ ठूला कम्पनीहरू प्राय: दुइटा स्वार्थका लागि काम गर्छन् । एउटा नाफा हो भने अर्को सरकारी रणनीतिको संरक्षण । यो फ्रेमवर्क मार्फत लगानीका लागि आउने कम्पनीहरू त्यही स्वार्थमा काम गर्ने राज्य संरक्षित कम्पनीहरू हुन् । खासगरी रणनीतिक क्षेत्रहरू यातायात, ऊर्जा र सञ्चार तथा प्रविधि सरकार नियन्त्रित कम्पनीहरूको हातमा छ । यी कम्पनीहरू रणनीतिक स्वार्थ भएका देशमा जाने सरकारी रणनीतिलाई बल पुर्‍याउन आवश्यकताभन्दा बढी लगानी गर्न तयार हुन्छन् । यसले कमजोर नियमन भएका देशमा भ्रष्टाचारलाई बढावा दिन्छ । नेपाल जस्तै विकासको भोक जागेको सानो मुलुक लाओसको उदाहरण हेरौं– ओबर फ्रेमवर्कमै चीनले लाओसको रेलवेमा ६ अर्ब डलर लगानी गरेको छ । रेलवे कम्पनीले निर्माणपछि एक दशकसम्म घाटामै सञ्चालन हुने अनुमान सार्वजनिक गरेको छ । नेपालको हकमै पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हुने चिनियाँ लगानी र परियोजनाको आकारबारे वर्षौं विवाद भयो । नेपाल एयरलाइन्सले लिएका चिनियाँ विमानहरूले दिने आम्दानीभन्दा खर्च निकै बढी छ । उता ओबरका मुख्य केन्द्रहरू पाकिस्तानदेखि मध्यएसियाका कजाखस्तानमा भएका चिनियाँ लगानीसँग कैयौं राजनीतिक भ्रष्टाचारका घटना जोडिएका छन् । भ्रष्टाचारको जोखिम बढ्दै जाँदा यही नै राजनीतिक अस्थिरताको जड बन्न सक्छ ।


तेस्रो, सुरक्षा चिनियाँ विकासको मोडलमा सुरक्षासँगै गाँसिएर आउँछ । चिनियाँहरूले ठूला लगानीमा हुने स्थानीय सुरक्षालाई त्यति भरपर्दो मान्दैनन् । त्यसमा आफ्ना सुरक्षा संयन्त्रको संलग्नता चाहेको देखिन्छ । पूर्वाधारमा भएको उच्च लगानी सुरक्षा सामथ्र्यको रणनीतिक विस्तार हो भन्ने तर्क छ । श्रीलंकाको हम्बनटोटा र पाकिस्तानको ग्वादर बन्दरगाह निर्माणमा भएको ठूलो लगानीलाई चीनको सामरिक स्वार्थका रूपमा व्याख्या भइरहेको पाइन्छ । यसरी सामरिक कारण देखाउँदै पूर्वाधारमा हुने चिनियाँ लगानी रोक्न पश्चिमा र अन्य प्रतिस्पर्धी देशहरूले देखाउने सक्रियताले स्थानीय सुरक्षा संयन्त्रहरूमा नकारात्मक असर पर्न जान्छ । नेपालको सन्दर्भमा हालै भएको चीन–नेपाल संयुक्त सैन्य अभ्यासका क्रममा देखिएको दौडधुप यसकै परिणाम हो ।


चौथो, वातावरणीय ह्रास र स्थानीय संस्कृतिमा पर्ने दबाब । चीनले आफ्नो तीव्र आर्थिक विकास तथा ‌औद्योगीकरणमा भोगेको सबैभन्दा ठूलो समस्या नै वातावरणीय ह्रास हो । यसैलाई कम गर्न क्षेत्रीय सन्तुलनको अवधारणाभित्र ठूला उद्योगहरूलाई पश्चिम क्षेत्रमा स्थानान्तरण गर्न‘ ओबरको मुख्य उद्देश्यभित्र पर्छ । सी चिनफिङ राष्ट्रपति हुनु अघिल्लो वर्ष अर्थात सन् २०१२ मा मात्रै चीनभरि वातावरण प्रदूषणसँग जोडिएको झन्डै ५० हजार प्रदर्शन भएका थिए । चीनमा कैयौं नदी औद्योगिक प्रदूषणको सिकार बनेका छन् । यसैलाई थेग्न पनि चीनले ओबरमार्फत बृहत औद्योगिक स्थानान्तरणको काम गरिरहेको छ । यसरी हेर्दा नेपालको हकमा अन्तरसीमा आर्थिक क्षेत्रहरू निर्माण गर्दा आवश्यक ध्यान पुगेन भने ठूलो नोक्सानी व्यहोर्न‘पर्ने हुन्छ । किनभने उत्तरबाट दक्षिणतर्फ बगेका नदी र त्यस किनारमा रहेको बस्तीमा वातावरणीय ह्रासले जटिल समस्या निम्त्याउन सक्छ । अर्कोतिर ओबरमार्फत चीनले नरम रूपमा सभ्यताको आदान–प्रदानलाई निकै महत्त्व दिएको छ । ओबरको सुरुवाती अवधारणा र लक्ष्य नै चिनियाँ सभ्यताको पुनरोदय जोडिएकाले चीनबाट प्रवाह हुने सांस्कृतिक उत्पादनबाट स–साना मुलुकका लागि मौलिक संस्कृति जोगाउन सजिलो हुने छैन । त्यसमा पनि नेपालको हकमा भारतीय र पश्चिमा संस्कृतिको प्रभावले पहिले नै स्थानीय संस्कृति कमजोर भइसकेको छ । कमजोर भइसकेको सांस्कृतिक विरासतले चिनियाँ विशाल संस्कृतिको बहावलाई थेग्न निकै चुनौतीपूर्ण हुनेछ । 


यसैले ओबर प्रवेशसँगै नेपालले अवसरसँगै जोडिएर आउने चुनौतीलाई सामना गर्न द्विपक्षीय र राष्ट्रिय तहमा बलिया संयन्त्रहरू तयार गर्न‘ आवश्यक छ । त्यस्ता संयन्त्रहरूमा सरकारको साँघुरो दायराबाट बाहिर निस्केर बृहत नागरिक स्तर तथा प्राज्ञिक तहसमेत समेट्न जरुरी छ ।

प्रकाशित : जेष्ठ ४, २०७४ ०९:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT