कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्केस्ट्रा सपना र ‘सयपत्री’

किशोर गुरुङ

कला फाँटमा आधुनिक प्रविधिको प्रभाव दिन प्रतिदिन बढ्दो छ । संगीत विधामा पनि ‘भरचुअल रिआलिटी’ प्रविधि भित्रिसकेको छ । नेपालको अहिलेको एक प्रकारको अभावग्रस्त सांगीतिक अवस्थामा यस प्रविधिले अस्थायी राहत दिन सक्छ ।

यसमा बाजा बजाउने विभिन्न तरिका अपनाएर विभिन्न प्रकारका बाजाका आवाजहरू रेकर्ड गरिन्छ र कम्प्युटरमार्फत् ती आवाजलाई चाहेअनुरूप प्रयोग गर्न मिल्ने बनाइन्छ । यस प्रविधिलाई ‘स्याम्पल्ड साउन्ड’ भनेर पनि चिनिन्छ । वास्तविक बाजाहरूलाई वास्तविक वादकहरूले नै बजाएर तयार पारिएकाले निचोडको आवाज निकै प्रभावकारी हुन्छ । कतिपय अवस्थामा ‘स्याम्पल्ड’ र वास्तविक आवाज छुटाउन कठिन पर्छ । त्यसो त यो प्रविधिअन्तर्गत कुनै पनि आवाजलाई कम्प्युटरको दायरामा ल्याउन सकिन्छ । जस्तै : साधारण खोलाको आवाजलाई एकपल्ट रेकर्ड गरेपछि त्यसलाई खहरे खोलाको वा नदीको आवजमा परिणत गर्न मिल्छ ।

आवाजका व्यापारीहरूले अर्केस्ट्रा (वाद्यवृन्द) मा प्रयोग हुने बाजाका आवाज बिक्री गर्न थालेपछि अर्केस्टाको अभाव केही हदसम्म भए पनि टार्न सहज भएको छ । ठूला–ठूला ब्यानरका हलिउड फिल्महरूमा पनि ‘स्याम्पल्ड साउन्ड’ को प्रयोग अत्यधिक हुन थालिसकेको छ । यही प्रविधि अपनाएर मैले मेरो बुवा अम्बर गुरुङले रच्नुभएको अर्केस्ट्रा–सिर्जना ‘सयपत्री’ सामाजिक सञ्जालमार्फत् हालै सार्वजनिक गरेको छु । 
नेपालमा ऐतिहासिक रूपमा अर्केस्ट्रा स्थापना गरी कार्यक्रमहरू प्रस्तुत गर्ने शुभकार्य गरेका थिए नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले । ती ज्यादै राम्रा प्रयास थिए तर ती अर्केस्ट्रा स्थायी बन्न सकेनन् । रेडियो नेपालमा रहेको अकेस्ट्राको संरचना ज्यादै सानो भएकाले यसले वास्तविक रूप लिन सकेको थिएन । गोपाल योन्जन, चन्द्रराज शर्मा, बुवाले अर्केस्ट्रा रचनाहरू कथेका हुन्, निनमा ‘ब्याले’ (संवाद, गीत नभएको कथानक नृत्य) हरू पनि परेको छ । बुवाको कतिपय रचनामा म वादक थिएँ ।
‘सयपत्री’ रचनाको प्रसंग गाँस्छु । पञ्चायतकालमा शाही फिल्म संस्थानले निर्माण गर्न लागेको फिल्म ‘मनको बाँध’ मा नातिकाजी, शिवशंकर र बुवाले मिलीजुली संगीत दिनुपर्ने भयो । पाश्र्व संगीतको भार बुवामा पर्न गयो र गीतहरूमा संगीत भर्ने काम नातिकाजी र शिवशंकरमा । 
‘मनको बाँध’ को पाश्र्व संगीतको रेकर्डिङ बम्बईमा भएको थियो । संगीत समायोजन गरेका थिए मनोहरि सिहंले । त्यस जमानामा काठमाडांैमा चलेको हिन्दी पत्रिका थियो ‘दिनमान’, यसका समालोचकले ‘मनको बाँध’ को पाश्र्व संगीतको निकै प्रशंसा गरेका थिए । ‘सयपत्री’ रचनाको टुक्रा धुन नै शाही फिल्म संस्थानको हस्तक्षार धुन पनि बनेको थियो । पछि मात्र मैले थाहा पाएँ, ‘सयपत्री’ पनि बम्बैयाहरूले जस्ताको तस्तै चोरेर प्रयोग गरेका रहेछन् । ‘ए कान्छा’ भन्ने अम्बर गुरुङको शब्द र धुनको गीत आरडी बर्मनले चोरेको तथ्य धेरैलाई थाहा छ । तर, ‘सयपत्री’ पनि चोरिएको तथ्य धेरैले थाहा पाएका छैनन् भन्ने लाग्छ । यस्ता बौद्धिक सम्पत्तिको हनन विषयलाई छोएर काठमाडौं पोस्टमा ‘दी साउन्ड अफ साइलेन्स’ भन्ने एउटा लेख लेखेको थिएँ । यो हाम्रो अहोभाग्य हो कि अर्काको धुन चोर्नेजस्तो हीन काम नातिकाजी, अम्बर गुरुङ, गोपाल योञ्जन, शिवशंकर, बच्चु कैलाशजस्ता संगीतकारहरूले कहिले पनि गरेनन् । यस कुरोको बल्दो अनुभव मसँग छ— कारण, बच्चु कैलाशसँग बाहेक, अरू उल्लिखित संगीतकारहरूसँग नजिक बसेर काम गर्ने मौका जो पाएको थिएँ ।
‘मनको बाँध’ को पाश्र्व संगीत सिर्जना गर्दा बुवाले रिच्एड भागनर (१८१३–१८८३) ले प्रयोगमा ल्याएको ‘लाइतमोतिफ’ शैली अपनाउनुभएको छ । त्यो सिर्जनालाई मैले पहिलो अंक ‘अडाजिओ’ को रूपमा प्रस्तुत गरेको छु । दोस्रो अंक ‘अलेग्ग्रेटो’ को सिर्जना भने धेरै अघि भएको हो । यो रचनाको समय म धेरै सानो उमेरको थिएँ तर रेहर्सल गरेको र अभावग्रस्त अवस्थामा रहेर पनि स्टेज–प्रस्तुति गरेको सम्झना अझै छ । त्यस बखत बुवाको एक जना वादकले ‘बेस’ चियापत्तीको ठूलो बाकसमा डोरी बाँधेर बजाएको याद आउँछ । मैले नवप्रस्तुतिमा चियपत्तीको बाकसबाट बनाइएको ‘बेस’ को सट्टा ‘डबल बेस’ (कन्त्रा बेस) भन्ने बाजालाई ‘आको’ (रेट्ने) र ‘पिज्जिकाटो’ ((कोट्याउने) दुवै तरिकाबाट प्रयोगमा ल्याएको छु ।
‘अलेग्ग्रेटो’ दुई भागमा विभाजित छ । स्वरहरू छनोटको हिसाबले हेर्ने हो भने पहिलो भाग राग प्रणालीअन्तर्गतको ‘काफी थाट’ मा आधारित देखिन्छ तर पाश्चात्य कोणबाट हेर्ने हो भने त्यो भाग ‘डोरिएन मोड’ भनिने पौराणिक ग्रीक स्वर–संरचनामा आधारित देखिन्छ । ग्रीक दार्शनिकहरूको सोचाइ के थियो भने सबल नागरिक बनाउनका निम्ति मानसिक र शारीरिक विकास आवश्यक पर्छ र संगीतले मानसिक विकास गराउँछ भने व्यायामले शारीरिक विकास । प्लेटोले साढे दुई हजार वर्षअघि ‘रिपब्लिका’ ग्रन्थमा लेखेका छन् कि ‘डोरिएन’ र ‘फ्रिजियन’ स्वर–संरचनाको प्रयोगले सहनशीलता र साहसको विकास गराउँछ । यसरी दार्शनिक हिसाबले मानव बहादुरीसँग गाँसिएको स्वर–संरचना बुवाले आंशिक रूपमा ‘सयपत्री’ मा प्रयोग गर्नुभएको देखिन्छ ।
धेरै पछि बुवाबाट थाहा पाएँ, मनोहरि सिंहले ‘अलेग्ग्रेटो’ को दोस्रो अंकअन्तर्गतको ‘मेजर की’ मा बज्ने पाटो ‘नराखौं, त्यो गीतजस्तो सुनिन्छ’ भनेपछि हटाइएको रहेछ । त्यो पाटो मैले संलग्न गरेको छु (रिकर्डिङमा सुनिने समयको स्थान २:२०–२:५७) ।
अर्केस्ट्राको प्रसंगमा अर्को कुरो पनि सान्दर्भिक छ । नेपालमा ठूलो संरचना भएको अमेरिकी सिम्फोनी ‘लङ आइल्यन्ड युथ अर्केस्ट्रा’ ले सन् १९८४ मा प्रज्ञा प्रतिष्ठानको भवनमा दुई दिने भव्य कार्यक्रम प्रस्तुत गरेको थियो । अर्केस्ट्रामा ८० भन्दा धेरै वाद्यवादकहरू सामेल थिए । त्यस कार्यक्रममा मैले अर्केस्ट्रासँग मुख्य वादक बनेर गिटार ‘कनचेरतो’ बजाएको थिएँ । 
‘स्याम्पल्ड साउन्ड’ भन्दा अघि असीको दशकमा चम्केको ‘मिदी’ (म्युजिकल इन्स्ट्रुमेन्ट डिजिटल इन्टरफेस) प्रविधि नेपाल भित्र्याउँदा मैले एउटा एल्बमको कभरमा लेखेको रहेछु, ‘हाम्रोजस्तो देशमा उत्कृष्ट वाद्यवृन्दको अभाव जसरी खट्किरहेको छ र सम्भाव्य रिकर्डिङ कार्य देशबाहिर लखेटिएको छ, त्यहाँ यो ‘मिदी’ प्रविधिले ठूलो खाँचो टार्न सक्छ ।’ आखिर भयो पनि त्यस्तै तर वास्तविक जीवित अन्तर्राष्ट्रिय स्तरको अर्केस्ट्रा अभाव भने हाम्रो देशले अझै टार्न सकेको छैन । 
नेपालमै एउटा गतिलो अर्केस्ट्रा स्थापना हुनुपर्छ भन्ने जुन बुवाको साथै अन्य संगीतकार र संगीतप्रेमीहरूको सपना छ, त्यो त पूरा हुनु नै छ । ‘सयपत्री’ जस्ता रचनाले ‘भरचुअल रिआलिटी’ मा होइन जीवित ‘रिआलिटी’ मा बाँच्न पाउने दिन नेपालमा पनि आउनुपर्छ । त्यस अर्थमा ‘सयपत्री’ रचना हाम्रोनिम्ति सांगीतिक विकासको मार्गदर्शन पनि बनेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७४ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?