दोधार चिन्तन

कुमारी लामा

आफैंलाई आफ्नो प्रतिद्वन्द्वी ठानेर मेरो लेखक ऊसँग प्रतिस्पर्धा गर्ने गर्छ । एकपछिको अर्को लेखनले लेखिसकेको असन्तोषमा सधैँभरि गुनासो र संघर्ष गरिरहन्छ ।

दोधार चिन्तन


मीठो सत्य बोलिरहेछ साहित्यकार कृष्णचन्द्रसिंह प्रधानका यी भनाइले । प्रत्येक लेखक आफैंसँग प्रतिस्पर्धा गर्छ । अघिल्लोभन्दा राम्रो सिर्जना गर्नु र पाठकको मन जित्नु । सायद यही ध्याउन्नमा पुस्तकको निकै लामो सूची तयार पारिसक्छ लेखक । बाह्रौं कृतिका कृतिकार भइसकेका छन् श्रीओम श्रेष्ठ रोदन पनि । कवि, कथाकार, निबन्धकार, पत्रकार जे सम्बोधन पनि फिट हुन्छ उनका लागि । उनी लामो समयदेखि यी सबै क्षेत्रमा कर्मशील छन् । तर मेरो लागि भने उनी निबन्धकार नै हुन् । उनले निबन्ध नै धेरै लेखेका छन् । उनको पछिल्लो निबन्ध संग्रह हो
‘भनौँ कि नभनौँ’ ।
भनौँ कि नभनौँ, एक दोधार चिन्तन, कन्फ्युजन, अलिक अक्मकाइको अवस्था । हामी बाँच्दै गरेको परिवेश स्वयं काठमाडौंको कुइरिमण्डल आकाशजस्तै छ धूमिल अनि अस्वास्थ्यकर । यो दोधार लेखकको भोगाइ हो । उनको भोगाइमा सामेल भइदिन्छ हाम्रा भोगाइहरू पनि । हामी उही समय जो बाँच्दै छौँ । श्रीओमका अभिव्यक्ति बहुत् कोमल छन् । उनले छानेको विषय र प्रस्तुत गरेको शैली हेर्दा लाग्छ उनी साह्रै जतन गरी खेलाउँछन् विषय र शब्दहरू । उनी मूलत: अनुभूतिको गहिराइबाट अभिब्यक्त हुन्छन् । उनका आत्मपरक शैलीमा लेखिएका निबन्धहरू मुख्यत: मानवीय सम्बन्ध, संवेदना र उनका निजी अनुभूति केन्द्रित छन् ।
निबन्ध सिमानामा उँघिरहेको बिधा भएको हो कि जस्तो लाग्छ । केन्द्र र सीमा नाप्ने अनेकन मापदण्ड होलान् । सबैभन्द प्रस्ट देखिएको त बजार नै हो । निबन्ध सायद नबिक्ने बिधा हो । बिक्नुसँग खास सरोकार नराखी निरन्तर निबन्ध कर्ममै लाग्नु साहस हो लेखकको । रोशन शेरचन पनि उसैगरी खुरुखुरु लागिरहेका छन् यही कर्ममा । लाग्छ औँलामै गन्न सकिन्छ यस बिधालाई अँगालिबस्नेहरू । निर्बन्ध बिधा हुँदै हो निबन्ध तब न लेखक स्वतन्त्र छ जे, जसरी लेख्न पनि । तर श्रीओम असाध्यै अनुशासित लाग्छन् । सबै हिसाबले उनी वेल डिसिप्लिन्ड । उनले प्रयोग गर्ने भाषा बहुत नापतौल गरी प्रयोग गरेजस्तो लाग्छ । साह्रै शालीन शब्दहरू प्रयोग गर्छन् उनी । अलिकति अराजकता पस्किएको भए पनि हुन्थ्यो नि झैँ भएको हो पढ्दै गर्दा । ‘आग्लो नलगाउँदा’ नामक निबन्धमा उनी ‘कन्फेसनल मुड’मा देखिन्छन् । युवाकालीन प्रेमको विषय उजागर गर्ने कोसिस छ तर उनी समाउँछन् अमूर्त वर्णनको बाटो । केही भनूँजस्तो गर्दागर्दै उनलाई फेरि केही सामाजिक मान्यताहरूले थिचेझैँ लाग्छ । थोरै अराजक भइदिएको भए ? (एउटा पाठकीय थकथकाइ)
अमेरिका बसाइका केही संस्मरणहरू, केही ख्यातिप्राप्त व्यक्तिहरूसँगको सामीप्यको संस्मरण र केही ब्यक्तिगत भोगाइका फेहरिस्त । यही हुन् मुख्यत: श्रीओमका निबन्धका विषयहरू । जीवनका मसिना मानिएका कुराहरूप्रतिको उनको चनाखो दृष्टि र विश्लेषणले एकपटक सोच्न बाध्य पार्छन् । मेजर कि माइनर ? नामक निबन्धमा डाक्टरका लागि माइनर मानिएको अपरेसन पनि एउटा बिरामीका लागि कतिसम्म मेजर महसुस हुन सक्छ भन्ने उनको आफ्नै मुटुको अपरेसनसँग जोडेर बाँडेको अनुभूतिले पाठकलाई एक छिन चिन्तन गर्न बाध्य पार्छ । उनको निबन्धमा बारम्बार आइरहने कुरा भनेको अस्तित्व चेत हो । उनी अमेरिकामा पुगेका छन् तर देश र परिवारबाट टाढा हुनुको पीडाले गाँजिन्छन् । यही प्रसंगको निबन्ध उनको अघिल्लो संग्रह एक्लो परिचयमा पनि आएको छ । उनी धेरैको स्वप्ननगरी अमेरिकामा भएका अनेकन विकृतिका पाटाहरू खोतलिदिन्छन् । यस्तो खुला समाजमा पनि विद्यमान यौन हिंसाका कुरादेखि मानवीय कमजोरी र आपराधिक मनोविज्ञान लिएर हिँडिरहेका डेबिडजस्ताको प्रसंग ल्याउँछन् ।
उनको निबन्धलेखन यात्रालाई नियाल्दा लाग्छ, उनी अमूर्त र एकतमासे मनोसंवेगको चंगुलबाट अब सरल र स्पष्ट अभिव्यक्तिको मैदानमा उत्रिएका छन् । अघिल्ला संग्रहका उनका निबन्धहरू बढी आत्मकेन्द्रित र अस्तित्व चिन्तनसँग सम्बन्धित थिए भने अहिले उनी आफ्नो अनुभूतिसँगै समाजमा घटिरहेका विषयप्रति बढी सजग भएको देखिन्छ । तर यति हुँदाहुँदै पनि आशातीत रूपमा उनी आफैंबाट बाहिर निस्कन नसकेको हो कि जस्तो महसुस हुन्छ । आजका पाठक हरेक बिधामा ब्रेकथ्रु नै खोजिरहेका छन् । चाहे त्यो प्रस्तुतिको हिसाबले होस् या भाषाशैली या विषयको छनोटको हिसाबले नै किन नहोस् । उनका निबन्धहरू प्राय:जसो निकै कोमलतापूर्वक सँगालेका स्मृतिहरू या जीवनका केही खुट्किलाहरू उक्लने क्रममा आइपरेका गारा अप्ठ्यारा क्षणहरू या प्रवासमा रहँदा त्यहाँ देखेका या भोगेका केही घटनाहरू वरपर घुम्छन् । उनले छनोट गर्ने विषय या प्रस्तुतिमा कन्सिस्टेन्सी छ तर अलि फरक चाहने पाठकले खोजेको जस्तो मुटु या दिमाग हल्लाइदिने केही चीज भने मिस भएजस्तो लाग्छ ।
कृष्णचन्द्रसिंह प्रधानजस्तो नेपाली साहित्यका मूर्धन्य स्रष्टा, युद्ध साहित्य भित्र्याउने क्याप्टेन जनकबहादुर राणा, नेपाली साहित्यलाई बहुत प्रेम गर्ने एलबी क्षत्रीहरूसँगको भेटघाट, सामीप्य र सम्बन्धका कुरा उनका संस्मरणात्मक अनुभूतिहरूमा निकै प्रेमील ढंगमा आएका छन् । प्रेम प्रदर्शनको कीर्तिमान नामक निबन्धमा अमर प्रेमको प्रतीकको रूपमा लिइएको ताजमहलप्रतिको उनको फरक मत निकै चिन्तनीय छ । उनी भन्छन् :
ताजमहल प्रेममहल हैन, अझ गरिब जनताका लागि पीडाको महल हो । त्यसो त ताजमहल चिहानघर हो र चिहानघर सधैँ सबैका लागि भय र पीडादायी नै हुन्छ । (पृष्ठ १०६)
केही निबन्धहरूमा यसरी फरक तर तगडा विचार आउनु उनको निबन्धको सुन्दर पाटो हो । कतिपय निबन्धहरूमा जीवनको भित्री तहको महसुससहित पोखिएका दार्शनिक चिन्तन भेटिन्छन् जसले उनका निबन्धहरूमा फरक स्वाद भरेका छन् ।
भनौँ कि नभनौँभित्रका निबन्धहरू भावना र अनुभूतिको गर्तबाट निस्किएका कोमल अभिव्यक्तिहरू हुन् । तर लेखक अलि बढी नै आफूकेन्द्रित भइदिँदा समाजसँगको संवादमा अलिकति उदासीन लाग्छन् । आफ्नै मात्र भोगाइ, देखाइ र विशलेषणको पर्खाल अग्लिँदै गर्दा कतिपय निबन्धहरू एकालापजस्ता पनि भएका छन् ।
यस संग्रहका तीनवटा निबन्ध मात्र शीर्षक परिवर्तन भएर र एउटा उही शीर्षकमा विसं २०५४ सालमा प्रकाशित ‘अर्थहीन अर्थहरू’ नामक निबन्धसंग्रहबाट राखिएको छ । हुन त लेखकले आफ्नो लेखकीय भनाइमा यी निबन्धहरू बीस वर्षअगाडिका पनि छन् र पुनर्लेखन भएका पनि छन् भनेर ‘सेफल्यान्ड’ गरिसकेको अवस्थामा भए पनि अघिल्लो संग्रहमा आइसकेका केही निबन्धहरू यसरी दोहोरिएर आउँदा पाठकलाई भने अलि खल्लो लाग्न सक्छ । निबन्धका पाठकहरू अलि बढी नै अपेक्षा राख्छन् जस्तो लाग्छ उनीसँग । निबन्ध खुद्रे लेखोट र छापामा मात्रै सीमित भइसक्यो भनी समीक्षकहरूले संशय पोखिरहेको बेलामा श्रीओम श्रेष्ठ रोदनजस्तो निरन्तर निबन्ध कर्ममा लागिरहेको स्रष्टाबाट केही बढी नै अपेक्षा राख्नु स्वाभाविक होइन र ?

प्रकाशित : जेष्ठ २०, २०७४ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?