क्युबामा चे र क्यास्त्रोको सम्झना

क्युबालीहरू ऐयासीमा बाँच्ने अवस्थामा पुगेका छैनन् तर बाँच्नलाई चाहिने आधारभूत सबै वस्तुहरू उनीहरूसँग छ । मैले भेटेका चौकीदार भन्छन्, ‘विश्वकी कुनै सुन्दरी रातभरि हवानाको सडकमा एक्लै हिँडी भने पनि कुनै असुरक्षा छैन । चोरी, बलात्कार, गुन्डागर्दी, डकैती गर्ने पनि मान्छेले नै हौँ तर हामीकहाँ त्यो समस्याका रूपमा छैन ।’
राम कार्की

चेग्वेभारा र फिडेल क्यास्त्रो मेरो राजनीतिक जीवनका एकदमै प्रिय व्यक्तित्वहरू हुन् । व्यक्ति प्रिय हुनका लागि ऊ भौतिक रूपमा निकटमा भइरहनु पर्दैन, त्यसका अरू नै भावनात्मक र वैचारिक कारण हुन्छन् ।

तर प्रिय चीजलाई नजिकबाट महसुस गर्ने चाहनाचाहिँ सबैमा हुन्छ । राजनीतिक यात्राको प्रारम्भिक चरणदेखि नै चे र फिडेलप्रति मेरो रुचि र सम्मान थियो । उनीहरूले क्रान्ति गरेर महाशक्ति अमेरिकाको नाकैमुन्तिर दशकौंको नाकाबन्दीमा पनि टिकाएको देश क्युबा जान मन पनि हुने नै भयो । 
समय र मौका मिलेसम्म एकपटक क्युबा पुग्न र फिडेल क्यास्त्रोसँग भेट्ने चाहना थियो । तर नमीठो संयोग के पर्‍यो भने फिडेल क्यास्त्रो बितेको केही महिनापछि मात्रै मलाई क्युबा जाने अवसर जुर्‍यो । अघिल्लो वर्षको मंसिरमा ९० वर्षको उमेरमा क्यास्त्रोको निधन भयो, मचाहिँ त्यसको तीन महिनापछि क्युबा पुगेँ ।
यता हामी माक्र्सवादी छौँ र माक्र्सवादलाई एउटा बनिबनाउ सूत्रका रूपमा ग्रहण गर्छौं । फिडेल माक्र्सवादलाई सूत्र नभएर मान्छेको हित गर्ने दर्शनका रूपमा आत्मसात् गर्छन् । कम्युनिस्ट नेताहरूकै कुरा गर्ने हो भने लेनिन मजदुर वर्गको कुरा गर्छन्, माओत्से तुङ किसानको विषयलाई महत्त्व दिन्छन् तर फिडेल र चे भने बारम्बार मान्छे भन्छन् । यो सामान्य अन्तर होइन, यसैबाट उनीहरूबीचको तात्त्विक दार्शनिक भिन्नता बुझ्न सकिन्छ । 
एउटा नेता विश्वसनीय भयो भने उसले जनतालाई कसरी परिचालित गर्न सक्छ भन्ने उदाहरण पनि क्यास्त्रोले देखाएका छन् । एक करोड पनि जनसंख्या नभएको देशले तीन लाख पचास हजार गुरिल्ला देशबाहिर मुक्तिका लागि लड्न पठाएको थियो । तिनीहरूमध्ये ठूलो संख्याले शहादत प्राप्त गर्‍यो । अमेरिकाको सबैभन्दा सानो राज्यभन्दा पनि सानो त्यो देशले अफ्रिका, ल्याटिन अमेरिकामा गएर ठूलो बलिदान गर्‍यो । युरोपेलीहरूको चलनजस्तो उनीहरू कहीँ कब्जा जमाएर बसेनन्, बरु देशहरू मुक्त भए र आफ्नै देशमा फर्के । आफ्नो देश टिकाउन क्यास्त्रोले जुन कारणले सके, त्यो जनताले उनीप्रति गरेको विश्वास थियो । सोभियत संघको पतनपछि क्युबाको अन्तिम घडी सुरु भयो भनेर पश्चिमा पत्रकारले पुस्तकै लेखे । तर त्यसलाई क्युबाको टिकाउले असत्य सावित गरिदियो । 
जति बेला नाकाबन्दीबाट क्युबा सताइएको थियो, त्यति बेला क्युबाका जनताको वजन ७ देखि १० पाउन्ड घटेको थियो भनिन्छ । किनभने उनीहरूसँग आफ्नो उत्पादन भनेको उखुबाहेक केही थिएन । त्यति बेला क्यास्त्रोले भने, जहाँ जे फल्छ, रोप, खाने कुरा रोप । त्यसपछि क्युबाका मानिसहरूले सहरमा पेटीमा छतमा यहाँसम्म कि गाडी राख्ने ग्यारेजमा पनि खेती गर्न थाले, खानेकुरा उब्जाउन थाले । त्यसको सात वर्षपछाडि संसारले मान्नुपर्‍यो कि संसारको सबैभन्दा बेस्ट अर्गानिक स्टेट क्युबा । आज अर्गानिक खानेकुराको निम्ति क्युबा प्रसिद्ध छ, जबकि क्रान्ति अगाडि क्युबा भनेको घाम ताप्ने र जुवा खेल्ने ठाउँ थियो । यश गर्ने ठाउँ । त्यो ठाउँलाई भेङ्गाडहरूको केन्द्रका रूपमा बदलिदिए क्यास्त्रोले । आज पनि क्युबाका मानिसहरू संसारमा बन्दुक लिएर गइराखेका छैनन्, स्टेथेस्कोप, ब्लड प्रेसर नाप्ने मेसिनसहित उनीहरू संसारभरि विचरण गरिरहेका छन् । 
क्यास्त्रोले केवल दर्शन, राजनीति र लडाइँको मात्रै कुरा गरेनन्, सबै महत्त्वपूर्ण तर खुद्रामसिना लाग्ने सबै विषयमा संसारका पुँजीपतिहरूसँग बहस गरिराखे । सम्पूर्ण प्राणी र ग्रहप्रतिको उनको चिन्ता, सोच र नीति अनुकरणीय छ । क्यास्त्रो खुला र पारदर्शी जीवन बाँचे । आफैं साइकलमा हिँडे ।
क्युबा पुग्दा मलाई ती आदर्श नेता क्यास्त्रोले छाडेको मुलुक त्यस्तै होला कि अर्कै होला भन्ने खुलदुली थियो । मनमा अलिअलि डर पनि थियो— मैले जुन सुन्दर क्युबा परिकल्पना गरेको छु, कतै मेरो विश्वास भत्किने त होइन ?
गत मार्च (फागुन) मा स्पेनमा आयोजित मोबाइलसम्बन्धी अन्तर्राष्ट्रिय कंग्रेसको मौका पारेर म क्युबा पुगेँ । यसबारे मैले हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेँ । केही क्युबाली मित्रहरूसँग मेरो पूर्वचिनजान भएकाले उनीहरूले मलाई पहिल्यै उपयुक्त समयमा भ्रमणमा आउनु भनेर निम्ता पठाएका थिए । प्रधानमन्त्रीले एउटा चिठी लेखिदिएपछि क्युबाप्रतिको सम्मानभाव बोकेर त्यहाँ पुगेँ । 
०००
क्युबाबारे बीबीसीलगायतका टीभीहरूमा समाचार देखाउँदा त्यहाँ अघोरै गरिबी र अभाव पनि देखाइन्थ्यो । म युरोपबाट क्युबा जान लागेकाले ससाना दैनिक आवश्यकताका वस्तुहरू पनि झोलामा हालेँ । त्यहाँको स्थिति कस्तो छ, भताभुंग पो होला कि भन्ने पनि लाग्यो । मैले पहिले नै भनेको थिएँ उनीहरूलाई–मलाई लजिङको मात्र व्यवस्था गरिदिँदा हुन्छ । खानापिनाको पैसा आफैं तिर्नुपर्ला, ट्याक्सी आफैँ चढौंला भन्ने सोचसहित अलिकति पैसा लिएर गएको थिएँ । दिमागमा यतिन्जेल साँचेको क्युबा त्यहाँ पुग्दा भताभुंग हुनुभन्दा बरु नगएकै बेस हुन्थ्यो कि भन्ने पनि मनमा लागिरहेको थियो । जवान र तन्दुरुस्त देखिएको साथी दस वर्षपछाडि भेट्दा बूढो, रोगी र थरथर कामिरहेको देख्नुपरेजस्तो होला कि भन्ने कताकता डर थियो । जे होस् म गएँ । 
हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिसकेपछि अंग्रेजी बोल्ने बुझ्ने मान्छे भेटिएन । अनि कोही त लिन आएको हुनुपर्ने । हामी जाँदा ढोकैमा कोही आइपुगेन । सामान कलेक्सन गर्ने ठाउँसम्म आइपुगियो तर कोही आइपुगेको छैन । 
मेरो श्रीमतीले भनिन्, ‘टोपी लगाउनु न टोपी ।’
मैले टोपी लगाएँ, तैपनि कोही आएन । 
प्रतीक्षा गर्ने त उनीहरूको बाहिर खास ठाउँ हुँदो रहेछ, त्यहाँ आइपुगेपछि तीन जना क्युबाली कमरेडहरू कुरिरहेका रहेछन् । हाम्रो लामो यात्रा भएर सामानहरू ठूलो–ठूलो थियो । बाहिर दुईवटा कार पनि रहेछ । ड्राइभरहरू दुवै सत्तरी नाघेका बूढाहरू थिए । डेबिट भन्ने दोभाषे पनि हाम्रा लागि छुट्याइएको रहेछ, जो पहिले कतिपय अफ्रिकी देशमा प्रथम सचिव भएर काम गरिसकेका र अंग्रेजीका ज्ञाता रहेछन् । पहिला दिल्ली दूतावासबाट नेपालका निम्ति काउन्सिलरका रूपमा रहिसकेका अर्को एक जना कमरेडलाई हामीसँग कुराकानी गर्न खटाइएको रहेछ । ती कमरेडहरू र दुइटा गाडी हामी क्युबा बसुन्जेल साथमा रहे । 
उनीहरूले नै हाम्रा लागि होटल व्यवस्था गरेका रहेछन् । क्युबामा विभिन्न खालका होटल हुँदा रहेछन् । सरकारले विदेशीसँग मिलेर खोलेका ठूला होटल पनि रहेछन् । सरकारको आफ्नै पनि ठूलो होटल रहेछ । तर संसारभरिका सरकारका पाहुनाहरूलाई ठाउँ–ठाउँ राख्ने बेग्लै खालको होटलहरू बनाइएको रहेछ । सार्वजनिक यातायात सबै सरकारी रहेछ । हामीलाई लगेर ठीकठाक होटलमा राखियो, जहाँ बेडरुमबाहेक मान्छेहरू भेट्ने कोठाहरूसमेतको व्यवस्था थियो ।
क्युबा पुगेपछि मलाई युरोपको कुनै ठाउँमा पुगेजस्तो लाग्यो । उनीहरू भाषा जान्दैनन् तर उनीहरूको आतिथ्य सत्कार भावबाट नै निकै हार्दिक भएको देखिन्थ्यो । चार–पाँच दिन बस्दा उनीहरूबीचको आपसी व्यवहार पनि मैले ख्याल गरेर हेरेँ, एकदमै खुला चरित्रका हुँदा रहेछन् । उनीहरूको एउटा विशेषता ठूलो ठूलो आवाजमा बोल्नु पनि रहेछ । मैले क्युबालीहरू आपसमा ठूलो–ठूलो स्वरमा बोलेको देखेँ । 
त्यहाँको सिस्टमले मान्छेलाई कसरी नियन्त्रण गरेको रहेछ भनेर हेर्न म बिहान सहर घुम्न निस्केँ । एक ठाउँ गएर चिया खाएँ र त्यहाँका मान्छेहरूसँग कुरा पनि गरेँ । त्यहाँ निजी स्तरका साना–साना होटलहरू पनि खुलेका रहेछन् । जसका आफन्तहरू अमेरिकामा छन्, उनीहरू आफन्तले पैसा पठाइदिने भएकाले सम्पन्न रहेछन् । क्युबामा दुइटा मुद्रा चल्दो रहेछ— पेसो र कुक । विदेशीहरूले डलरबाट कुक साट्नुपर्ने रहेछ । कुकको भाउचाहिँ डलर बराबरै छ । अनि चौबीस–पच्चीस पेसो बराबर एक कुक हुँदो रहेछ । 
हाम्रो दोभाषेलाई मैले सोधेँ, ‘तपाईंले महिनामा कति तलब पाउनुहुन्छ त ?’
उनले भने, ‘पाँच सय पेसो पाउँछु ।’
पाँच सय पेसो डलरमा रूपान्तरित गर्दा त केही पनि हुँदैन । 
मैले फेरि प्रश्न गरेँ, ‘त्यसले महिना चल्छ त ?’ उनले भने, ‘चल्छ ।’
उनले भने, ‘सात पेसोमा ग्यास, महिनामा दुईवटा चाहिने भएकाले चौध पेसोमा दुइटा ग्यास चलाउँछौँ । दस पेसोमा एक बोरा चामलले हाम्रो परिवारलाई पुग्छ, दस पेसोमा दाल पाइन्छ । नुन र चिनी पनि त्यस्तै सस्तो छ । विलासिताका सामान किन्न त पुग्दैन तर हामी राम्ररी चल्न सक्छौँ ।’
कपडा पनि त्यस्तै रहेछ । उनीहरूले लगाउने सर्टहरू मलाई पनि केही उपहार दिए । त्यसबाहेकका सामान किन्नु छ भने जस्तै क्रिम, मोस्चराइजर, स्याम्पु किन्नु छ भने कुकमा खर्च गर्नुपर्‍यो । तर त्यहीं उत्पादित कपडा धुने, नुहाउने साबुनहरू भने छ । उनीहरूका जीवनका अरू सबै आवश्यकता त्यसमा पनि शिक्षा र स्वास्थ्य सहज छ । पुराना घरहरू मर्मत गरिएको छ, नयाँ घरहरू पनि बनेका छन् । 
०००
त्यहाँ उनीहरूले मेरो भिजिटको सेड्युल नै बनाएका रहेछन् । मलाई दिइएको दोभाषे डेबिड लोपेज सियरा, ड्राइभर दुई जना थिए— जर्ज जे रियुस रेमेरिज र राफेल विल्सन रुइज । एभेलार्डो क्वेटे सोसा भन्ने डिप्लोम्याटचाहिँ एसिया र ओसियाना सेक्सनको डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन अफ द सीसी सीपीसी हुनुहुँदो रहेछ । बस्ने व्यवस्थाचाहिँ लजिङ एज द फोर्टी वान होटलमा थियो । त्योचाहिँ एसियाना र ओसियाना सेक्सन अफ दी इन्टरनेसनल डिपार्टमेन्टको होटल रहेछ ।
मेरो पहिलो भेट त्यहाँका सञ्चारमन्त्रीसँग भयो, उनको नाम रहेछ मेहमार मेसा रामोस । सञ्चारमन्त्री रामोससँग मैले त्यहाँको सञ्चारको अवस्थाबारे कुरा गरेँ । त्यहाँ उनीहरूसँग मोबाइल हातहात छैन । इन्टरनेट जहाँसुकै छैन तर हस्पिटल र स्कुलहरूमा भने छ । मैले मेरो टेलिफोनको इन्टरनेसनल रोमिङ गरेको थिएँ तर क्युबामा त्यसले काम गरेन । युरोपको एउटा सिमकार्ड थियो । त्यसले अलि–अलि काम गर्‍यो । उनीहरूले जेनेरल क्लालिभ टोस कार्सिया भन्ने हस्पिटलमा मलाई लिएर गए, त्यहाँको स्वास्थ्य आदिको अवस्था बुझ्नका निम्ति । हस्पिटलका व्यवस्थापक, प्रबन्धकहरूसँग भेटघाट भयो । त्यहाँ पुग्दाचाहिँ क्युबा युरोपभन्दा पनि सफा पाएँ । फ्रान्समा चाहिँ बाटोमा प्लास्टिक जलिरहेको पाएँ । पहिलो कुरा त सफाइ पनि रहेनछ युरोपमा, झन् अहिले युरोपले आप्रवासनको समस्या भोगिरहेको छ । 
क्युबालाई अमेरिकाले सबै कुरामा प्रतिबन्ध लगाएको छ । उनीहरूको कूटनीतिक सम्बन्ध सुरु भएको छ तर व्यापार अहिले पनि छैन । मैले क्युबन इन्स्टिच्युट अफ द फ्रेन्डसिप विथ द पिपुल (आइक्याप) भन्ने संस्थाको डेपुटी चियरम्यान इलिसिया कोरिडेरासँग भेटघाट गरेँ । त्यहाँ के देखियो भने प्राय: जो भेट्रानहरू छन्, क्युबाको क्रान्तिमा भाग लिएका कमान्डरहरू, उनीहरू चिफ छन् र हरेक चिफसँग दुई जना डेपुटीहरू छन् । ती डेपुटीहरूचाहिँ चालीसदेखि पचास वर्ष उमेरभित्रका छन् । मतलब सत्ताको हस्तान्तरण भइरहेको छ । विदेश मन्त्रालयमा पुगेर विदेशमन्त्रीसँग मेरो भेट भयो । उनका डेपुटी मार्सेलिनो मेडिनासँग बढी कुराकानी भयो, अन्तर्राष्ट्रिय सम्बन्धबारे । उनीहरू विश्व राजनीतिबारे राम्रो दख्खल राख्दा रहेछन् । अर्को रोचक के देखियो भने क्युबाको औसत मान्छे पनि संसारका बारेमा धेरै जानकारी राख्दोरहेछ । मैले भेटेका स्थानीय मान्छेसँगको कुराकानीबाट पनि यो थाहा भयो ।
क्युबामा लाउन, खान हिँड्न, डुल्न फेसन, आदिमा कहीँ–कतै प्रतिबन्ध छैन । महँगा फरारी कारहरू पनि कुदिरहेका छन्, टुरिस्टहरू हिँडिरहेका छन् हूलका हूल । बढी टुरिस्ट क्यानडाबाट आउँदा रहेछन् । क्युबाले केही लुकाएर, छुपाएर कहीँ राखेको छैन भन्ने देखिन्थ्यो, बरु ‘आउ सक्छौ भने मलाई परिवर्तन गर’ भन्नेजस्तो देखिन्थ्यो, त्यहाँ । क्युबा बन्द मुलुक भनेर बाहिर प्रचार गर्थे तर त्यो कहिल्यै बन्द रहेनछ । उसले युरोपलगायत संसारका विभिन्न देशहरूसँग कुनै न कुनै प्रकारले सम्बन्ध राखिरहेको रहेछ । त्यहाँ स्पेनिस, अफ्रिकी र केही चिनियाँ पृष्ठभूमिका मान्छेहरू छन् र केहीचाहिँ त्यहीँका पुराना आदिवासीहरू छन् । एउटै परिवार, हस्पिटल र स्कुलमा पनि विभिन्न रंगका मान्छेहरू भेटिन्छन् । बाबु कालो छ, आमा गोरी छन्, एउटा छोरो गोरो छ, एउटी छोरी काली छ परिवारमा । उनीहरूको पृष्ठभूमिको कुरा गर्दा ‘तपाईं अफ्रिकाली मूल हो ?’ भनेर सोध्दा ‘मूल त मन्कीबाट आएको हो भन्छन् तर मान्छेका रूपमा हामी क्युबाली हौँ’ भन्छन् उनीहरू । यो बुझाइ क्युबा बलियो हुनुको एउटा आधार बनेछ । के देखियो भने क्युबाको क्रान्तिले काला जातिप्रतिको सम्पूर्ण भेदभावलाई चाहिँ समाप्त पारिदिएछ । 
मैले डेबिडलाई उनकै कार्यालयमा काम गर्ने अर्को एक जना मान्छेको तलब कति हुन्छ भनेर सोधेँ । 
उनले भने, ‘पन्ध्र सय पेसो पाउँछन् ।’ 
‘तपाईं फस्ट सेक्रेटरी भएको मान्छे, पढेको मान्छे, तपाईंको पाँच सय, उनको पन्ध्र सय ?’ मैले भनेँ । 
उनले भने, ‘म त पार्टीको मान्छे हुँ त ।’
क्युबाको समाजवाद अडिने बलियो आधारचाहिँ त्यो रहेछ । अन्तचाहिँ पार्टीको मान्छे भएपछि बढी सुविधा लिने तर क्युबामा चाहिँ पार्टीको मान्छेले चाहिँ कम तलब लिएर काम गर्दारहेछन् ।
‘अनि यसो गर्दा पनि आउँछन् त पार्टीको मान्छे ?’ मैले फेरि सोधेँ । 
‘त्यो त भौतिक सुविधा न हो, मान्छेको जीवनमा भौतिक सुविधा मात्रै सबै कुरा होइन, म जहाँ पनि जान्छु मलाई पार्टीको मान्छे भन्नासाथ जसरी सम्मान र आत्मीयता देखाइन्छ, त्यो त बडो गौरवको कुरो हो ।’ उनले भने । मैले त्यहाँका एक जना चौकीदारसँग लामो कुरा गरेँ । उनी अंग्रेजी पनि बोल्दा रहेछन् । त्यो चौकीदारको सूचना हेरेर नै थाहा पाउन सकिन्छ, क्युबामा मान्छेको योग्यता र सचेतता थाहा हुन्छ । त्यहाँ कि त मान्छे ग्य्राजुएट छ वा ग्य्रायुजेसन गरिरहेको छ । आयु असाध्यै बढेको छ । बेरोजगारी छैन, काम गर्ने उमेरका सबैजसोले काम गर्न पाएका छन् । 
क्युबामा म पाँच दिन बसेँ । सबैभन्दा उच्च स्तरको नेता जोसे रामन बालगुएर क्याबेरा (मेम्बर अफ द सेक्रेटरियट अफ कम्युनिस्ट पार्टी अफ क्युबा एन्ड हेड अफ इन्टरनेसनल रिलेसन डिपार्टमेन्ट) ले मलाई लन्च अफर गरेका थिए । जुआन कार्लोस मार्सन एगुएलेरा, जो जेनेरल कोअर्डिनेटर अफ द डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन अफ द सीसीसी सीपीसी थिए, उनीसँग पनि मेरो भेट र कुराकानी भयो । 
मैले त्यसपछि एन्ड्रिक जोसिक भेयोना– हाइएर पेडागोगिक इन्स्टिच्युटको भ्रमण गरेँ । यो शिक्षालय हो । मिटिङ अफ दी बोर्ड अफ इन्टरनेसनल नामक ऐतिहासिक ठाउँ गएँ । उनीहरूको युद्ध संग्रहालय, पुरानो राष्ट्रपतिको भवन पुगेँ । ओल्ड हवानाचाहिँ सांस्कृतिक भण्डार नै रहेछ ।
एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरू असुरक्षित महसुस गर्दैनन् । मान्छेबीच पारदर्शिता छ । वीरताको पर्यटन रहेछ, पर्यटकीय क्षेत्रमा जहाँ तपाईं पुग्नुहुन्छ, त्यहाँ–त्यहाँ चे ग्वेभाराले स्वागत गर्छन् । उनका भनाइका बोर्डहरू छन् । क्यास्त्रोले चाहिँ आफ्नो नाम कतै केही नराख्नू भनेका रहेछन्, उनका भनाइ देखिन्न । 
जब सोभियत रूस ढल्यो, क्युबाले क्युबालीलाई जो–जो अमेरिका जान चाहन्छौ जाऊ भनिदियो । कतिपय क्युबाली गए तर क्युबा खाली भएन । क्युबाको असाध्यै सानो जनसंख्या पलायन भयो । त्यो अति साधारण मान्छेलाई लिएर उनीहरूले क्युबा बनाए । क्युबाबाट सिक्ने कुरा उसको दार्शनिक पक्ष हो, उनीहरू मान्छेको बढी चिन्ता गर्छन् । क्युबामा करिब–करिब मान्छे–मान्छेबीच कुनै तहहरू देखिँदैन । 
क्युबाको मेडिकल स्कुलमा अमेरिकी पनि आएर पढेका छन् । उनीहरूको शिक्षा र स्वास्थ्य बेजोड मानिँदो रहेछ । चीनमा जसरी संसारभरिका मान्छेहरू जान्छन्, त्यसरी नै क्युबामा पनि एल सल्भाडोर, ग्वाटेमाला, बोलिभिया, कोलम्बियाका मान्छे आएका आएै छन् । उनीहरू एउटै देशप्रति निर्भर छैनन् । प्रतिबन्धमा पनि जुन आत्मविश्वासका साथ क्युबा उभियो, त्यसैले उसलाई बँचायो । समाजवादलाई बचाउने भनेको मान्छेले रहेछ । मान्छेमा विकसित जीवन दर्शनले रहेछ । ठूला उद्योग, हातहतियार र आणविक शक्तिले समाजवाद जोगाउन नसक्ने रहेछ । उनीहरूको कम्युनिस्ट पार्टीप्रति आस्था र लगाव छ, त्यसमा उनीहरू गौरव गर्छन् । किनभने त्यसले क्युबाको समाज जोगाएको छ । हरेक ठाउँमा क्रान्तिको प्रतिरक्षा समितिहरू छन्, प्रत्येक टोलमा प्रत्येक गाउँमा, प्रत्येक गल्लीमा । त्यसको नाम कमिटी फर द डिफेन्स अफ रिभोलुसन हो । यो हरेक ठाउँमा, स्कुल, कलेज, गाउँमा गल्लीमा सबैतिर छ । 
क्युबालीहरू ऐयासीमा बाँच्ने अवस्थामा पुगेका छैनन् तर बाँच्नलाई चाहिने आधारभूत सबै वस्तुहरू उनीहरूसँग छ । मैले भेटेका चौकीदार भन्छन्, ‘विश्वकी कुनै सुन्दरी रातभरि हवानाको सडकमा एक्लै हिँडी भने पनि कुनै असुरक्षा छैन । चोरी, बलात्कार, गुन्डागर्दी, डकैती गर्ने पनि मान्छेले नै हौँ तर हामीकहाँ त्यो समस्याका रूपमा छैन ।’ यो सबै अनुभव लिँदा मलाई क्युबा गएर ठीक गरेछु भन्ने लाग्यो, पश्चात्ताप गर्नुपर्ने कुनै कारण भेटिनँ । मैले जुन क्युबा पालेर बसेको थिएँ, दिमागमा मैले ठीकै पालेको छु भन्ने लाग्यो । पुन: मलाई एकपटक क्यास्त्रो र चे ग्वेभारा पढ्न मन लागेको छ ।
अनुराधा गान्धी किताबको पछाडि छापिएको 
मलाई मन पर्ने एउटा कवितांश क्युबा भ्रमणमा घरीघरी सम्झिएँ :
नरुनु उभिएर मेरो चिहानछेउ
म त्यहाँ म सुत्ने गर्दिनँ 
म बहने गर्छु बताससरि, बहिरहेको छु
म चमक हुँ पारसमणिको, उजेली रहेको छु
पाक्दै गरेको बालीमा पस्ने सूर्यप्रकाश हुँ म
शरद ऋतुमा तप्कने स्निग्ध वर्षा हुँ म
म विनम्र तारा हुँ रातभरि चम्कन्छु
मेरो चिहानछेउ उभिएर नरुनु
म त्यहाँ छैन, साँचो कुरा म मर्दै मर्दिनँ ।

खास गरेर चे ग्वेभारा, क्यामिलो, सिनी फिजियज, फिडेल क्यास्त्रोहरू क्युबाली जनताको दिमागमा यो कवितामा झैँ बसेका छन् । उनीहरू मरेका छैनन् । त्यसले गर्दा जहाँ पनि उनीहरूको उपस्थिति अनुभूति हुन्छ । त्यो विस्मृतिमा पुर्‍याएपछि मात्रै क्युबाले अर्को बाटो लेला । क्युबालीले तिनलाई बिर्सिनै दिएका छैनन् । क्युबा भ्रमणपछि म विश्वासपूर्वक भन्न सक्छु, भविष्यमा पनि बिर्सिने छैनन् । 

Yamaha

Esewa Pasal

प्रकाशित : जेष्ठ २७, २०७४ १०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कूटनीतिक टकराव

चन्द्रशेखर अधिकारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन साताअघि साउदी अरब भ्रमण गरेर फर्के । लगत्तै एउटा खबर विश्वब्यापी बन्यो, ‘खाडी मुलुकहरूलाई इरानविरुद्ध एकजुट हुन ट्रम्पले आग्रह गरेका छन् ।’ सुन्नी बाहुल्य मुलुकहरूलाई सिया बाहुल्य क्षेत्रका निम्ति उनले एकजुट गराउन खोजेको खबर थियो त्यो । यसप्रति कतारले कडा आपत्ति जनायो ।

कतारी अमिर शेख तामिम बिन हमाद अलथानीले वक्तव्य नै दिए, जसलाई न अमेरिकाले मन परायो, न साउदी अरबले नै । उसै पनि साउदी–कतार सम्बन्ध इरान, इजिप्टका कारण पछिल्लो समय बिग्रिँदै गएको थियो । भलै, साउदीसँगै रहेर कतार यमनमा लडिरहेको छ ।
विश्वमा आतंकवादको प्रभावबाट टाढा रहेका मुलुक विरलै छन् । खाडी मुलुक त झन् यसबाट अछुतो छैनन् । आतंकवादीलाई संरक्षण गरेको आरोप केही खाडी मुलुकलाई पहिलेदेखि नै लाग्दै आएको छ । यही कारण नै खाडीको वर्तमान हैसियत र स्थिरता सधैं कायम रहन्छ/रहँदैन सन्देह छ । यही आरोप अहिले विश्वकै धनी मुलुक कतारलाई लागेको छ । अचम्म यो छ कि, खाडी सहकार्य परिषद् (जीसीसी) सम्बद्ध तीन मुलुकले नै कतारलाई यो आरोप लगाएका हुन् । आतंककारीसँग साँठगाँठ रहेको र इरानसँग निकट भएको भन्दै छिमेकी मुलुकहरूले उसलाई एक्लाएका हुन् । साउदीको पछि लागेर यूएई, बहराइन, इजिप्ट र यमनले कतारसँग एक साथ कूटनीतिक सम्बन्ध तोडेका छन् गत सोमबारदेखि । ६ मुलुकले कतारलाई अलकायदा, इस्लामिक राज्य र इरानको समर्थन गर्ने आतंकवादी समूहलाई सहयोग गरेको संगीन आरोप लगाएका छन् । कतारसँगको सबै पारवहन र सञ्चार सम्बन्ध टुटाइदिएका छन् । आफ्नो मुलुकमा भएका कतारी नागरिकलाई दुई साताभित्र मुलुक फिर्ने समय सीमा दिएका छन् । कतारले भने यो आरोप स्विकारेको छैन ।
वैदेशिक रोजागारीमा जाने नेपालीका लागि एउटा प्रमुख गन्तव्य मुलुक कतार त्यस्तो देश हो ‘जसको शब्दकोशमा गरिबी भन्ने शब्द नै छैन’ । त्यहाँका नागरिकले राज्यलाई करसमेत बुझाउन पर्दैन । तर अबको उसको यात्रा कस्तो होला ? छिमेकीहरूको यो कदमले उसले कस्तो कठिनाइ भोग्नुपर्ला ? अहिले यस सवाललाई विश्वभर चासोका साथ हेरिएको छ ।
सन् १९९५ मा विश्वकै सबैभन्दा बढी इन्धन उत्पादन र निर्यात गर्न थालेपछि कतारले पछाडि फर्किनुपरेको छैन । उक्त इन्धन उत्पादनमा कतारले इरानसँग सहकार्य गरेको छ । इन्धन रिजर्भको केही भाग इरानतर्फ पर्छ । त्यसैले उसले इरानको साथ लिएको हो । कतारलाई अहिले यही साथ भारी परेको छ ।
‘गल्फ किङ’ मानिने साउदी उक्त क्षेत्रमा आफूअनुकूल शासन लाद्न चाहन्छ । पहिलेदेखि नै साउदी–इरान सम्बन्ध राम्रो छैन । अमेरिकी पेनिट्रेसन रहेको कतार इरानको साथ छोड्दैन । अमेरिका इरानलाई रुचाउँदैन । र, इरान रूसको साथ लिएर अघि बढ्छ, यही माखेसाङ्लोमा अहिलेको कूटनीति जकडिएको धेरैको बुझाइ छ ।
सन् १९५१ मा बेलायतबाट स्वतन्त्र भएको कतार साउदीको ‘पिछलग्गु’ मुलुकको रूपमा चिनिन्थ्यो । अहिले बहराइन, ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई) र कुबेतलाई त्यो रूपमा बुझिन्छ । आफूलाई टेर्न छोडेर परराष्ट्र नीति अख्तियार गरेकोमा साउदी लामो समयदेखि कतारसँग असन्तुष्ट छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पश्चिम एसियाको यो क्षेत्रमा संघर्ष उल्झाउने काम गरेको साउदी अरबका लागि भारतीय राजदूत रहिसकेका तलमिज अहमदको बुझाइ छ । ‘राष्ट्रपति ट्रम्प जब साउदी आएर सुन्नी अरबको गठन गर्दै इरानको विरुद्ध एक बनाए जुन त्यस क्षेत्रका लागि निकै महँगो क्षेत्रीय विचलनको रूपमा रहने निश्चितप्राय: छ,’ उनले भारतीय पत्रिमा ‘इन्डियन एक्सप्रेस’ मा लेखेका छन्, ‘यो प्रयासलाई केही हदसम्म बाराक ओबामाले सन्तुलन गरेका थिए । अब यो क्षेत्र पनि त्रिपक्षीय शक्ति असन्तुलनको चपेटामा पर्नेछ ।’
गल्फ पर्सियनको माथि इरान र तल कतार छ । सिया बाहुल्य इरान लामो समयदेखि अशान्त छ । बुधबार इरानको संसद्मै आक्रमण भएको छ । इरान र साउदीको सम्बन्ध कहिल्यै सुमधुर छैन । इरानमा पश्चिमा शक्तिको दबदबा पनि उत्तिकै छ । तर, यी शक्तिहरूले इरानलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । इरानले पनि पश्चिमा चासोलाई बेवास्ता गर्ने गरेको छ । उसको पछाडि रुस मात्र छैन, चीनले पनि त्यहाँ आफ्नो प्रभाव बढाउँदै गएको छ । चीन नयाँ शैलीमा खाडीमा प्रवेश गरिरहेको छ ।
साउदीपछि इजरायल हुँदै अमेरिका फर्केका ट्रम्प र अमेरिकी स्वार्थ यहाँ जोडिएको छ । साउदी इरानसँगको सम्बन्धलाई जीसीसीको नीतिमा राखेर हेर्न चाहन्छ । तर कतारले यसलाई आफ्नो छुट्टै नीतिबाट हेर्दै आएको छ । सिया बाहुल्य खाडी द्वन्द्वमा फसिसकेको भए पनि सुन्नी बाहुल्य क्षेत्र (जीसीसी) केही शान्त छ । नयाँ परिस्थितिले जन्माएको प्रश्न हो, यो शान्ति कायम रहला त ?
सुन्नी बाहुल्य पनि द्वन्द्वमा फसेको खण्डमा यसको असर दक्षिण एसियामा पनि प्रवेश पर्ने जानकारहरूको धारणा छ । द्वन्द्वपछि अमेरिका र युरोप मात्र शान्ति भएको छ । अन्य विश्व सधैं अस्थिर बन्न पुगेको छ । यो इतिहासप्रति गम्भीर भएर कुवेतले अहिले साउदी अरबसँग छलफल अघि बढाएको छ ।
सतहमा धेरै कारण लामो समयदेखि रहेकाले यस क्षेत्रमा ‘नयाँ कूटनीतिक टकराव’ आरम्भ भएको विश्लेषण बीबीसी अरेबिकका आमिर रवासको छ । उनले लेखेका छन्, ‘खाडीको यो क्षेत्रमा उत्पन्न समस्यालाई ‘नयाँ कूटनीतिक मोड’ भन्दा उपयुक्त हुन्छ । जीसीसी मुलुकहरूको स्वर बाझिनु नै पनि एक दु:खद घटना हो ।’

कसरी आयो हालको संकट ?
वर्तमान संकट कतारका अमिर शेख तामिम बिन हमाद अलथानीको टिप्पणीबाट आरम्भ भएको हो । रियादबाट ट्रम्पको प्रस्थान भएको दुई दिनमा नै साउदीले उक्साएको टिप्पणी कतार अमिर शेख अलथानीले गरेका थिए । उनले साउदीलाई अमेरिकी पिछलग्गुको संज्ञा दिँदै इरानको वर्णन गरेका थिए । अमिरले हमास र हिजबुल्लाको प्रतिरोध आन्दोलनको रूपमा प्रशंसासमेत गरेका थिए । जुन साउदीले अहिले लगाएको आरोपको एक प्रमाण थियो । इरानप्रति पनि अमेरिकी शत्रुताको आलोचना गरेका थिए उनले । तर, कतारले त्यसलाई ह्याकरहरूले झूटो टिप्पणीहरू देशको सरकारी समाचार एजेन्सीमा प्रकाशित गरिदिएको भन्दै तिनलाई वायरहरूबाट मेटाएका छन् ।
तेहरानको उद्देश्यप्रति लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको साउदीलाई कतारी धारणाले बल पुर्‍यायो । र, आफू निकटकाहरूलाई एक बनाएर कतारविरुद्ध उत्रियो । साउदीले कतारलाई कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित आतंकवादी समूहका गतिविधिलाई सघाएको आरोप लगाउँदै आएको छ । यमनका हुथी विद्रोहीहरूलाई पनि समर्थन गरेको उसको आरोप छ । यमनमा भएको साउदी नेतृत्वको कारबाहीमा सहभागिता जनाउँदै आएको कतारले भनेको छ, ‘हामी अन्य देशका सार्वभौमसत्ताको सम्मान गर्छौं र तिनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं ।’ कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भने साउदी, यूएई र बहराइनले चालेका कदम ‘औचित्यहीन र आधारहीन तथा प्रमाणित हुनै नसक्ने आरोपहरूमा आधारित’ रहेको भनिएको छ ।
इरानको साथ दिएको कारण उनीहरू चिढिएको भन्ने भनाइलाई कतारले खण्डन गरेको छैन । तर आतंकवादी संगठनसँग साँठगाँठ नरहेको उसको अडान छ । अरब वसन्तको समयमा मुस्लिम ब्रदरहुड को पुनरुत्थानको समर्थन गरेको कतारप्रति इजिप्ट त्यतिबेलैदेखि चिढिएको थियो । इजिप्टका भूतपूर्व राष्ट्रपति मोहमद मोर्सी सन् २०१३ मा पदच्यूत भएपछि उनले इजिप्टमा मुस्लिम ब्रदरहुड अघि बढाएका छन् । सो समूहका सदस्यहरूलाई कतारले स्पेस दिएको आरोप छ । साउदी अरब र यूएईले मुस्लिम ब्रदरहुडलाई ‘आतंकवादी’ संगठनका रूपमा हेर्ने गरेका छन् ।
सन् २०१४ मा कतारले ब्रदरहुडको सदस्यलाई बचाउने काम गरेको आरोप लगाई आठ महिनासम्म साउदी, यूएई र बहराइनले आफ्नो राजदूत दोहाबाट फिर्ता बोलाएको थिए ।
साउदी र अमेरिकाबीच दुई साताअघि १ सय १० अर्ब डलरको रक्षा सम्झौता भयो । यसपछि पनि साउदी कतारविरुद्ध बढी आक्रामक बनेको बताइन्छ । अमेरिका इरानमा पछि पर्ने भएपछि उसले क्षेत्रीय राजनीतिको सहारा लिएको हुन सक्ने आकलन गरिएको छ । यसमा अमेरिका, रूस र चीनको मात्र नभएर भारत पनि जोडिएर यस क्षेत्रको कूटनीति अघि बढेको छ । विश्व नै यति बेला अर्थतन्त्रको राजनीतिमा छ । यो विषय जीसीसीले बुझ्न सक्नुपर्ने भनाइ अन्तर्राष्ट्रिय मामिला विज्ञ श्रीधर खत्रीको छ, ‘समस्यालाई केलाएर हेर्नुपर्ने हुन्छ । सम्बन्ध, भ्रमण र सम्पर्कको सूक्ष्म अध्ययनलाई नै जोड दिनुपर्छ । युद्धको चपेटा र मार बुझेका खाडी मुलुक आफैं यसमा सचेत हुन जरुरी छ ।’
साउदीले सीमा नाकाहरू बन्द गरिदिएको कारण खाद्यान्न संकट उत्पन्न हुन नदिन कतारले त्यसको वैकल्पिक व्यवस्था गरेको छ । उसले जस्तोसुकै वार्ता गर्न तयार रहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा स्वार्थ हावी हुन्छ । तत्काल वा दीर्घकालीन कुन खालको स्वार्थ हावी भएको छ त्यो बुझेर अघि बढ्न सक्नुपर्छ । अन्तर्राष्ट्रिय मामिला अध्येता चन्द्रदेव भट्ट भन्छन्, ‘दीर्घकाल वा तत्कालीन कुन स्वार्थ हावी भएको अझै अन्योल छ । तर यो क्षेत्र अस्थिर रहेको हेर्न कुनै शक्ति त्यहाँ हावी भने पक्कै भएको छ । यसमा जीसीसी स्वयं सचेत हुनुपर्छ । आतंकवादविरुद्ध उनीहरू स्वयं नै सचेत भएर लड्नुपर्छ । अन्यले त दोहोरो भूमिका खेलेको हुन सक्छ ।’
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले खाडी मुलुकहरूबीचको एकतामा जोड दिँदै देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । कतारलाई लिएर खाडी क्षेत्रमा बढ्दो संकटबारे उनले साउदी अरबका राजा सलमानसँग टेलिफोन वार्ता गरेको बताइएको छ । यसअघि अतिवादीहरूलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै कतारलाई एक्लाउने साउदी कदमको ट्रम्पले प्रशंसा गरेका थिए । ट्रम्पको ‘यू टर्न’ बाट समस्या समाधानको बाटोमा देखिएको छ ।

कतारको सफ्ट पावर अलजजिरा
साउदीले कतारमाथि सञ्चारलाई सफ्ट पावरको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ । बीबीसी, सीएनएनपछि बढी चर्चामा रहेको अलजजिरा टेलिभिजन कतारबाट प्रसारण हुन्छ । जुन सञ्चारमाध्यमलाई कतारले आफ्नो सफ्ट पावरका रूपमा अघि बढाएको आरोप उनीहरूको छ । जसको सीधा सम्पर्क आतंककारी संगठनका नेतृत्वसँग रहेको पनि आरोप लगाइको छ । आफ्ना सञ्चार माध्यमहरूको प्रयोग ‘देशद्रोह भड्काउने’ कार्यमा गर्ने गरेको आरोप साउदीले वक्तव्य मार्फत नै लगाएको छ । कतारी सञ्चार माध्यमहरूले मुस्लिम ब्रदरहुडका सदस्य मात्र होइन अन्य विद्रोहीलाई पनि आफ्नो धारणा राख्‍न दिने गरेका छन्, यसप्रति साउदीलगायतका मुलुकको आपत्ति छ । कतारीहरू भने यसलाई ‘मनगढन्ते र आधारहीन’ बताउँछन् ।

विश्वकप कूटनीति पनि
सन् २०२२ को विश्वकप कतारले गर्ने भएपछि बेलायतलगायत पश्चिमा राष्ट्रहरू बेखुस थिए । पश्चिमा राष्ट्रबाट खोसेर उसको पक्षमा निर्णय गराउन सफल कतार चार वर्षअघिदेखि नै पश्चिमाको तारोमा परेको हो । उनीहरूले कतारको धुपमा आफ्ना खेलाडी खेल्न नसक्ने बताउँदै आएका थिए । तर कतारले तापक्रम नै ‘मेन्टेन’ गर्ने रंगशाला बनाउने बताएपछि त्यहाँको मानवअधिकार र कामदारको विषयलाई उचालिएको थियो । उनीहरूले कामदार पठाउने मुलुकमा ‘लबिइङ’ गर्दै त्यहाँ श्रम सम्झौता उच्च मूल्यमा गर्न पहल गराए । कतिपयले नेपालमै आएर भने, ‘नेपाली र अन्य कामदारको रगतले पोतिएको रंगशालामा कसरी हाम्रा खेलाडी गएर खेल्न सक्छन् ?’

नेपालीबारे दीर्घकालीन सोच आवश्यक
जीसीसीमा देखिएको यो प्रकरणपछि त्यो क्षेत्र अस्थिर रहेको सन्देश स्पष्ट छ । कुनै पनि बेला त्यो क्षेत्रमा समस्या निम्तिन सक्छ । तर, हाम्रा कूटनीतिज्ञहरूले अवस्था सामान्य रहेको बताइरहेका छन् । राजदूत रमेश कोइरालाले समस्या परे नेपालीले सम्पर्क गर्न सक्ने धारणा व्यक्त गरेका छन् । कतार आफ्नो मुलुकमा कुनै खाद्यान्नदेखि कुनै संकट आउन नदिन लागिपरेको अवस्था छ । यति हुँदाहुँदै पनि भारतले सतर्कता अपनाउँदै आफ्ना नागरिकको बारेमा के गर्ने रणनीति तय गरिसकेको छ । नेपालले पनि खाडी क्षेत्रमा रहेका नेपालीहरू समस्यामा पर्दा के गर्न सकिन्छ, त्यसको रणनीतिक कदम चाल्न आवश्यक छ ।

प्रकाशित : जेष्ठ २७, २०७४ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT