१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘तक्मे बूढा’ को तरक्की

टेलिसिरियल, नेपाली फिल्म र देश–विदेशका करिब पाँच हजारभन्दा बढी स्टेज शोबाट दर्शक हँसाएका विल्सनविक्रम राईको कलाकारिता यात्रा अहिले नेपालमा मात्र सीमित छैन, बलिउडसम्म पुगेको छ ।
पर्वत पोर्तेल

विल्सनविक्रम राईलाई कलाकार बन्ने हुटहुटी सानैदेखि थियो । संयोगले लक्ष्मीनाथ शर्मा निर्देशित ‘साथी’ फिल्ममा छोटो भूमिका गर्ने मौका जुर्‍यो । उति बेला विल्सन मात्रै १० वर्षका थिए । साना साथीहरूसँग तास खेल्दै गरेको करिब ३० सेकेन्डको दृश्यमा विल्सन देखिन्छन् । उनको संवाद छैन । बोल्न नपाउँदै भागिहाल्नुपर्ने दृश्य छ ।

‘तक्मे बूढा’ को तरक्की

‘साथी’ फिल्म खेलेपछि यिनको कलिलो मस्तिष्कमा हिरो बन्ने भूत सवार भएछ । छरछिमेकमा बिहे, पूजा भयो कि नाच्न पुगिहाल्ने स्वभावका उनी फिल्म सुटिङका लागि हिरो–हिरोइन आए रे भन्नेबित्तिकै दौडिहाल्थे । अवसर मिलोस्, नमिलोस् यिनलाई मतलब थिएन । अवसर पाइहाल्दा खेलि पनि हाल्थे । नपाउँदा दु:ख मान्दैनथे । 
सानामा गाउँभर ‘मिथुन’ को छवि थियो । त्यो बेला मिथुन सुपरहिट डान्सर हिरो । त्यही भएर उनलाई गाउँलेले मिथुन भन्थे । उनी मख्ख पर्थे । ‘साथी फिल्मले मलाई फिल्मी क्षेत्रप्रति नशा जागेको हो,’ विल्सन सुनाउँछन्, ‘यो नसाले अहिले त एडिक्ट नै बनाइसक्यो ।’ यिनै विल्सनको अनुहार कलिउडमा मात्रै सीमित छैन, बलिउडमा पनि बिक्न सुरु भएको छ । 
विल्सनको बाल्यकाल अभावै अभावमा बित्यो । ९ वर्ष छँदै आमा गुमाए । संघर्ष धेरै गरे । हन्डर कति खाए कति । तर, पनि जीवनमा हरेस खाएनन् । आफ्नो रुचिको क्षेत्रमा निरन्तर लागि नै रहे । ‘प्रगतिको कारण निरन्तर मिहिनेत नै ठान्छु,’ विल्सनले अनुभव सुनाए, ‘कलाकार बन्न धेरै पापड बेल्नुपर्‍यो ।’ विल्सनले दुई छाक भातका लागि के गरेनन् ? डान्स रेस्टुरेन्टमा नाचे । चलचित्रमा हिरोहरूको पछाडि कोरस डान्स गरे । केही फिल्ममा अर्काको आवाज पनि डबिङ गरिहिँडे । फिल्ममा आफ्नो आवाज सुन्न धेरै फिल्महल चहारे । 
विगतमा यिनले फिल्म लाइनमा छिर्न भगीरथ प्रयत्न गरे । तर, सकेनन् । घरबाट विदेश जान दबाब आइरह्यो । घरपरिवारको दबाब झेल्न सकेनन् र सन् २००९ मा वैदेशिक रोजगारीका लागि मलेसिया हानिए । मलेसियामा एउटा होटलमा काम सुरु गरे । ‘दुई महिना बिताउन मलाई मरेतुल्य भो,’ विल्सनले वैदेशिक रोजगारीको पीडा पोखे, ‘बस्न नसक्ने भएर घर फर्किएँ ।’ 
मलेसियाबाट फर्किनेबित्तिकै यिनलाई एउटा अवसर आइलाग्यो । ‘बाटोमुनिको फूल’ बाट चर्चामा आएका निर्देशक सुरज सुब्बा नाल्बोले एउटा फिल्म बनाउन लागेका रहेछन् । ‘सायद’ नामको फिल्ममा अभिनयका लागि सुब्बाले आग्रह गरेछन् । पूर्वको धरानका सुब्बासँग विल्सनको चिनजान पुरानै थियो । पुरानो चिनजान त्यति बेला काम लागेछ । ‘सायदमा मौका पाउँदा जीवनकै ठूलो अवसर पाएको अनूभूति भयो,’ विल्सनले सुनाए, ‘त्यो अवसर मेरा लागि कोसेढुंगा बन्यो ।’ सुटिङ सकिएको लामो समयसम्म सायद रिलिज नै भएन । त्यति बेला विल्सन साह्रै निराश बने । भौंतारिँदै हिंडे । 
एक दिन अचानक भेट भयो कलाकार केदार घिमिरे उर्फ माग्ने बूढासँग । नेपाल टीभीबाट प्रसारण हुने ‘मेरी बास्सै’ शृंखलाको सुटिङमा केदार झापा आएका थिए । त्यही बेला संयोगले केदारसँग भेट भयो विल्सनको । झापा रहँदा विल्सनको प्रतिभाले केदारलाई मोहित बनाएछ । विल्सनले केदारलाई देखाउन त धेरै कला देखाए । तर, एउटा पृथक् खालको कलाले केदारको ध्यान खिच्यो । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको लवज विल्सनले जस्ताको तस्तै बोलेको सुनेपछि केदारलाई लागेछ, ‘यो लवज निकै बिक्छ ।’ 
त्यसपछि केदारले उनलाई मेरी बास्सैमा ‘ब्रेक’ दिए । केदारको गुनलाई कहिल्यै बिर्सन नसक्ने बताउँछन्, विल्सन । केदारलाई ‘गड फादर’ मान्छन् । देश–विदेशका कार्यक्रमहरूमा विल्सन केदारको गुनप्रति सधैं नतमस्तक बन्ने गर्छन् । भन्ने गर्छन्, ‘उनी (केदार) तपार्इंहरूका माग्ने बूढा होलान, मेरा त दिने बूढा हुन् ।’ लिम्बू लवजको ‘नाइन्टिन फोन्टिन...’ ले उनलाई देश–विदेशमा ज्यादै लोकप्रिय बनायो । करिब दुई दर्जन जति मुलुक घुमायो । केही करोड दाम दिलायो । विल्सनको परिचय नै फेरिएर तक्मे बूढा बन्यो । काम नपाएर सडकमा भौंतारिहिंड्ने विल्सन रातारात सेलिब्रिटी बने । विदेशबाट बाक्लै बोलावट हुन थाल्यो । 
हास्य टेलिसिरियल ‘मेरी बास्सै’ ले विल्सनविक्रम राईलाई कलाकारिता क्षेत्रमा ‘तक्मे बूढा’ को रूपमा स्थापित गरेपछि बल्ल ‘सायद’ को रिलिजको साइत आयो । ‘टेलिभिजन र स्टेजमा तक्मे बूढाको भूमिकामा मैले सफलता पाएँ,’ विल्सन बोले, ‘ठूलो पर्दामा सायदले मलाई माथि उठायो ।’ ‘सायद’ चलचित्रबाट यिनले एकै वर्षमा ६ वटा अवार्ड जिते । सायदमा उनको अभिनय देखेर धेरै निर्देशकले अफर गरे । त्यसपछि भकाभक फिल्म पाउन थाले । ‘अधकट्टी’ जस्ता अब्बल फिल्ममा अवसर पाए । अहिले आफ्नै लगानीमा ‘रातो घर’ नामक फिल्म निर्माण गरेका छन् । अभिनय पनि गरेका छन् । शुक्रबार रिलिज भएको यो फिल्मप्रति विल्सन ज्यादै उत्साहित देखिन्छन् । 

बलिउड यात्रा    
विल्सनले जीवनमा जति उतारचढाव बेहोरे, त्यति अरूले कमै भोगेका होलान् । कलाकारिता भनेपछि मरिमेट्ने यिनको स्वभाव छ । यो क्षेत्रमा आउन यिनले ज्यादै धेरै लगानी गरेका छन् । तर, त्यो लगानी खेर जान पाएको छैन । करिब २० वर्षअघि ‘साथी’ फिल्ममा बालकलाकारको रूपमा देखिएका विल्सनको कलाकारिता यात्रा अहिले नेपालमा मात्रै सीमित छैन । बलिउडसम्म पुगेको छ । 
मनीषा कोइराला, सुनिल थापा, मुरलीधरजस्ता धेरै कलाकारले झंै यिनले पनि बलिउडमा प्रतिभा देखाउने अवसर पाएका छन् । निर्देशक विनय शर्माको निर्देशनमा बनेको सिनेमा ‘भाई मस्ट बी क्रेजी’ मा अभिनेता शाहिद कपूर, सुनिल ग्रोभरलगायतका कलाकारहरूसँग काम गरिसके । उनको कामको चलचित्र निर्देशक शर्माले तारिफ गरेका थिए ।
यिनको पछिल्लो फिल्म ‘बोरिभाली का ब्रुस ली’ रिलिजको तयारीमा छ । हालै सार्वजनिक दुई मिनेट लामो टिजरमा विल्सनले राम्रो स्थान पाएको देखिन्छ । आयशा टाकियासँग अभिनय गरेका छन् यिनले । सिनेमाका चौकीदारसँगै कराते प्रशिक्षकको भूमिकामा यिनलाई देख्न सकिन्छ । ‘फिल्ममा सानै भूमिकाबाट पनि नेपाल र नेपालीलाई चिनाउने प्रयत्न गरेको छु,’ विल्सन भन्छन् । 
विल्सनलाई बलिउडमा फिल्म खेल्ने मौका एउटा सांगीतिक समूहले दिलाएको हो । केही समयअघि नेपालमा कन्सर्टका लागि आएको टोलीका एक जना सदस्यले विल्सनलाई फिल्मका लागि सिफारिस गरेका थिए । विल्सन बलिउड छिर्ने मौका खोजिरहेका थिए । अडिसनहरू दिँदै थिए । कन्सर्ट गर्न आएको टोलीसँग भेट हुनु नै विल्सनका लागि सौभाग्य भयो । उनले अर्की नायिका विपाशा वासुसँग पनि अभिनयको अवसर पाएका छन् । विपाशासँगको फिल्म खेल्ने मौका कलाकार सुनिल थापाले जुराइदिएका हुन् । एक चरण सुटिङ भएर रोकिएको फिल्म आगामी वर्ष रिलिज हुने अनुमान छ । ‘यसमा मेरो लिड क्यारेक्ट नै छ,’ विल्सन सुनाउँछन् । 
भिन्न–भिन्न भूमिका गर्न सक्ने क्षमताका विल्सन अभिनय मात्रै गर्दैनन् । नृत्य गर्न र गीत गाउन पनि उत्तिकै अब्बल छन् । यिनले गाएको ‘आई लभ यू सेन्तेरेम...’ बोलको गीत लोकप्रिय छ । पछिल्लो समय ‘चानापुल्टुङ नापुल्टुङ...’ बोलको गीत पनि धेरैले रुचाए । बहुमुखी क्षमताका विल्सन भर्खरै गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भए । ‘जनसेवा’ पदक पाएपछि विल्सन थप उत्साहित बनेका छन् । चलचित्र ‘सम्झना’ मा तेस्रोलिंगीको भूमिका गरेका विल्सनले ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘कसले चोर्‍यो मेरो मन’, ‘मेरो प्यारो माइतीघर’, ‘बस नं. १३६’, ‘छ एकान छ’, ‘सायद’, ‘अर्धकट्टी’, ‘वान वे’, ‘सम्झना’, ‘रिदम’, ‘फेसबुक’, ‘नेपथ्य’ जस्ता अब्बल फिल्ममा काम गरिसकेका छन् । देश–विदेशका करिब पाँच हजारभन्दा बढी स्टेज शोबाट दर्शक हँसाएका छन् । स्वदेशमा निकै ख्याति आर्जन गरिसकेका विल्सनको बलिउड यात्रा अझ लम्बिन्छ या टुंगिन्छ ? रिलिज तयारीमा रहेको ‘बोरिभाली का ब्रुस ली’ फिल्मको प्रदर्शनले छिनोफानो गर्ने नै छ । 

प्रकाशित : जेष्ठ २७, २०७४ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?