अलविदा भन्नुअघि
अलविदा भन्नुअघि
यो धरतीको धूलोमाथि
माटाम्यै भएर उभिनेछु
र चुम्नेछु
माटोको निधार
यी नदीहरुमा मिसाउनेछु
मभित्रको सङ्लो रक्तधारा
र तिर्नेछु आमाको
थोपा–थोपा दूधको भारा
यी बयान र किस्साहरुभित्र
कहाँ छ त्यो ‘अकथ्य’ सत्य ?
नभेटेसम्म
मार्ने छैन थकाइ
चिर्नेछु यी भोका नंग्राहरुले झुठको कठोर छाती
र पस्नेछु
भाषाको मौन कुवाभित्र
ठीक–ठीक चिन्नेछु
हत्याअघिको अन्तिम क्षण चिहिरिएका
गलाहरुको छिल्लाछिल्ला आवाज !
एक योनी हुनुको ‘अपराध’ मा नृशंस निमोठिएका
फूलहरुको असह्य आर्त चीत्कार !
सिफारिस पत्रमा टाँसिएको निरीह नामजस्तो
आत्माहीन हुने छैन
बलहीन, वीर्यहीन
पौरूषहीन हुने छैन
सिर्फ आत्मप्रवञ्चनाले मखलेल
नार्सिसस छाया हुने छैन
मृत्युको किनार–किनार लठारिएर
लड्नेछु
जंगली हुाडारभन्दा सहस्र गुणा हिंस्रक
सिकारी दाह्राहरुसित
खोस्नेछु तिनका क्रूर पञ्जाबाट
‘लाटो’ सत्यको ओठ उघार्ने चाबी
थुतिएला मेरो जिब्रो
फिंजाउनेछु शब्दलाई वायुका पत्र–पत्रमा
काटिएलान् मेरा औंलाहरु
लेख्नेछु तथ्यलाई दुरूस्त ढुंगा–ढुंगामा
छिनालिएला
र बनाइएला मेरा गोडाहरुलाई उपायहीन
कीराजसरी घस्रँदै घस्रँदै पनि
म आइपुग्नेछु कसैगरी फर्केर
जीवनको विकट किल्लामा
तपाईंले भेटुन्जेल
अचल मुढो भएको होस् बरू यो देह
तर नहारोस् मेरो हृदय कुनै प्रपञ्चसँग
नगरोस् सम्झौता सत्यको मूल्यमा
जीवनदानको प्रस्तावसँग
साथीहरु,
यत्तिकै त म मर्ने छैन
यस्सै मर्न त म तयार छैन
बक् बिर्सेका समस्त ओठहरुले गाएको
न्यायको गीत नसुनी
मौन कुवाबाट उम्लँदै निस्केका आवाजको
उन्मुक्त नाच नहेरी
यसै त म माग्ने छैन
यो संसारसँग अलविदा !